२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

सिर्सिया सुक्खा बन्दरगाहमा २३ सय कन्टेनर थन्किए, लामो दूरीका ढुवानी बन्द

घट्यो राजस्व
शंकर आचार्य

पर्सा — लकडाउनका कारण वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा २ हजार ३ मालबाहक कन्टेनर थन्किएका छन् । बन्दरगाहस्थित भन्सार कार्यालय प्रमुख उमेश श्रेष्ठका अनुसार, तेस्रो मुलुकबाट भारतका बिभिन्न बन्दरगाहहरु हुँदै आएका कन्टेनरहरु गन्तव्यसम्म लैजाने क्रम बन्द रहेकाले यहाँ थन्किएका हुन् ।

सिर्सिया सुक्खा बन्दरगाहमा २३ सय कन्टेनर थन्किए, लामो दूरीका ढुवानी बन्द

'नजिकका कारखानामा जाने कन्टेनर ढुवानी भए पनि टाढा लैजानुपर्नेको ढुवानी बन्द छ,' उनले भने, 'दैनिक १ सय ५० देखि दुई सय वटाको संख्यामा मात्र यहाँबाट कन्टेनर बाहिरिएका छन् ।' भारतबाट मालबाहक रेल आउने क्रम जारी रहेको उनले बताए । 'अझै पनि २० वटा मालबाहक रेल्वे र्‍याक बाटोमा छन्, ती आएपछि करीब २५ सय कन्टेनर थपिनेछन्,' उनले भने । कन्टेनरमा मिल-मेसिनरी सामान, कारखानाका कच्चा पदार्थ र बिभिन्न तयारी मालवस्तु ल्याइन्छ ।

लकडाउनका कारण भन्सारको कारोबार प्रभावित भएपछि राजस्व संकलन पनि घटेको छ । प्रमुख श्रेष्ठका अनुसार सामान्य अवस्थामा दिनको करिब १० करोड रूपैयाँसम्म राजस्व असयली गर्दै आएको यो भन्सारले हाल दैनिक ३ करोड रुपैयाँभन्दा बढी संकलन गर्न सकेको छैन । चालु महिनाको गत बुधबार सम्मदउ ३ अर्ब ३४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । जुन मासिक लक्ष्यको करीब ५० प्रतिशत मात्र हो ।

यता वीरगन्ज आइसिपी भन्सार कार्यालयको कामकाज पनि प्रभावित भएको छ । वीरगन्ज नाकातर्फ भन्सार कार्यालयबाट हाल मालवस्तुको आयात ठप्प छ । आइसिपी भन्सार भने चालु रहेको कार्यालयका सूचना अधिकृत विमल साह बताउँछन् । पेट्रोलियम पदार्थको आयात घट्दो अवस्थामा छ भने खाना पकाउने एलपिजी ग्यासको आयात भने नियमित रुपमा भइरहेको उनले बताए । एक सातायता मंगलबार सम्ममा यो नाका हुँदै २ सय ५४ बुलेट ग्यास भित्रिएको छ ।

मालवस्तु छुटाउन आउने सेवाग्राही निकै कम भएकाले यो भन्सारको राजस्व असुली पनि प्रभावित भएको साहले बताए । चैत महिनामा १५ अर्ब ७ करोड १८ लाख रुपैया राजस्व असुलीको लक्ष्यमा बुधबार सम्ममा ४ अर्ब ८८ करोड २ लाख रुपैया मात्र असुली भएको छ । जुन मासिक लक्ष्यको ३२.३८ प्रतिशत मात्र हो ।

चालु आर्थिक वर्षका लागि यो भन्सारको वार्षिक राजस्व असूली लक्ष्य १ खर्ब ८८ अर्बको छ । तर बुधबार सम्ममा कूल ९९ अर्ब ९६ करोड २० लाख रुपैयाँ मात्र यो भन्सारले संकलन गरेको छ । जुन वार्षिक लक्ष्यको ५३ प्रतिशत मात्र हो ।

प्रकाशित : चैत्र २०, २०७६ १२:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?