जनशक्ति विदेश पलायन भए भनिरहँदा नेपाल सरकार आफैँले पनि वैदेशिक रोजगार प्रवर्द्धनको नीति अवलम्बन गरेको छ । चितवनको प्रसंगमा, यहाँ पहिला १० वटा पीसीएल लेभलको स्टाफ नर्स तहमा काम गर्ने जनशक्ति निर्माण गर्ने कलेजहरू सञ्चालनमा थिए । २०७५ सालमा आएको राष्ट्रिय चिकित्सा शिक्षा ऐनपछि यहाँका थुप्रै पीसीएल कलेजहरू बन्द भए ।
सो ऐनभित्रको मापदण्डमा बाँधिन नसकेर २०७७ देखि बन्द भएका चितवनका पीसीएल कलेजका लगानीकर्ताहरू अझै पनि हुनुहुन्छ । त्यो घटनाका कारण यहाँ नर्सको जनशक्ति उत्पादनमा ठूलो प्रभाव पर्यो, कलेजले तयार गरेका जनशक्ति अलपत्र पर्ने समस्या पनि देखियो । यसरी बिनातयारी एक्कासी कानुन ल्याउँदा त्यसको सिधा असर जनशक्ति उत्पादनमा भयो भने त्यसले समग्र स्वास्थ सेवा क्षेत्रलाई नै गहिरो समस्यामा पार्यो ।
चितवनका अस्पतालहरूमा नर्सको जनशक्ति अहिलेसम्म जसोतसो सन्तुलनमा राख्न सकिएको छ तर अबको दुई/तीन वर्षपछि संकट देखिनेवाला छ । त्यसकारण, सरकारले यस्ता नीति बनाउँदा संकुचित हुनुभन्दा पनि उत्पादन, माग, वितरणको अवस्था र आवश्यकता पहिल्याएर बनाउनुपर्छ । नर्सिङ अध्ययनको प्रवर्द्धन गर्ने गरी उचित नीति बनाइएन भने नेपालले निकट भविष्यमा नर्सिङ क्षेत्रका जनशक्तिको संकट भोग्नुपर्ने निश्चित छ ।
चिकित्सा शिक्षा ऐनमा धेरै किसिमका सर्त राखिएपछि कलेजहरू बन्द हुन पुगेका थिए । सर्तहरूमध्ये सय/दुई सय शैयाको अस्पताल भयो भने नर्सिङ प्रोग्राम सञ्चालन गर्न पाउने भन्ने थियो । अहिले फेरि नेपाल मेडिकल काउन्सिलले नयाँ नीति तयार गरेको छ जसअनुसार कुनै पनि मेडिकल कलेजले स्नातक तह र त्योभन्दा माथिल्लो तहको प्रोग्राम चलाउन पाउने व्यवस्था छ । यो राम्रो कुरा हो, जनशक्ति उत्पादनमा यसले धेरै सहजता ल्याउँछ । एउटै ठाउँमा धेरैथरि शिक्षा प्रदान गर्न सकिन्छ, धेरै संख्यामा जनशक्ति उत्पादन गर्न सकिन्छ तर एकै ठाउँमा धेरैवटा अस्पताल सञ्चालन गर्न सकिँदैन । त्यसकारण, चिकित्सा शिक्षा क्षेत्रका लागि लचिलो मापदण्ड बनाउनुपर्छ । मापदण्ड पालना भएको छ कि छैन भनेर नियमन गर्ने पद्दती चाहिँ प्रभावकारी र बलियो बनाउनुपर्छ ।
यस्ता बहसमा स्वास्थ्य र शिक्षालाई महत्त्व दिइरहँदा अनुसन्धानको पाटोलाई पनि भुल्नु हुँदैन । के कारणले गर्दा गुणस्तरिय शिक्षा वा गुणस्तरिय सेवा प्रवाह भइरहेको छैन भन्नेबारे विभिन्न किसिमका अनुसन्धानमूलक नतिजाहरूले कहाँ-कहाँ के-के गर्नुपर्छ भनेर दिशानिर्देश गर्छन् । यस्ता अनुसन्धान हाम्रा विद्यार्थीहरूले नै गर्न सक्छन्, मात्र अनुसन्धानको नीति अँगाल्न जरुरी छ । प्रदेश सरकारअन्तर्गत बागमती प्रदेशको गौरवको आयोजना भनेर मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग हामीले शिक्षा, सेवा र अनुसन्धानलाई जोडेका छौं ।
-कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘चितवन चिन्तन’ मा मदन भण्डारी एकेडेमी अफ हेल्थ साइन्सेजकी सहप्राध्यापक डा. अधिकारीले व्यक्त गरेको भनाइको सम्पादित अंश
