हिमाल चढ्दा हिँड्न र समुद्रमा तैरिन जानिएन भने दुर्भाग्य प्रारम्भ हुन्छ भने जस्तै संरक्षणमा पनि समयानुकूल परिमार्जन गरेर रणनीति तय नगरे मानव–वन्यजन्तु द्वन्द्व बढ्नुका साथै दुर्लभ वन्यजन्तु लोप हुन सक्छन्
दुर्लभ वन्यजन्तुको बासस्थान र प्राकृतिक विविधताका कारण चितवन राष्ट्रिय निकुञ्ज विश्वसम्पदा सूचीमा सूचीकृत भएको हो । निकुञ्ज स्थापना हुनुअघिबाट चितवनमा आदिवासी/जनजाति समुदायको बसोबास थियो । उनीहरू वनजंगल आसपास बसोबास गर्थे । कृषि कर्म र पशुपालनबाट जीविकोपार्जन सहज हुने भएकाले मानिसले पानीका मूल र घाँसपातका लागि वन रोज्ने गरेको बुझिन्छ ।
मानव सभ्यताको विकासक्रम पनि यस्तै देखिन्छ । जल, जंगल र जमिन मानव सभ्यता विकासका लागि अपरिहार्य हुन् । त्यसैले परम्परादेखि राष्ट्रिय निकुञ्ज र त्यसको समीपका बासिन्दाबीच अन्योन्याश्रित सम्बन्ध रहँदै आएको छ । यस्तो सम्बन्ध कहिलेकाहीं मानिसका लागि वरदान सावित हुन्छ । कहिलकाहीें अभिशाप बन्ने गरेको पाइन्छ । प्राकृतिक अवसरलाई हामीले कसरी सदुपयोग गर्न सक्छौं भन्ने कुराले वन्यजन्तु र मानव सम्बन्धका लाभ–हानिलाई व्याख्या गर्न सहज हुन्छ । वन्यजन्तु र प्रकृतिलाई अवसरमा परिणत गर्न सके त्यसले मुलुकलाई नै सम्पन्नतातर्फ उन्मुख बनाउँछन् । हाम्रो मुलुकले लाभ लिन सक्ने क्षेत्रमध्ये वन्यजन्तु पर्यटन पहिलो हो ।
विश्वमा मरुभूमि र समुद्र मात्र भएका मुलुकले त्यसकै सदुपयोग गरेर तेल उत्पादनबाट सम्पन्न बनेका उदाहरण प्रशस्त छन् । त्यसैले प्राकृतिक सम्पदालाई सन्तुलित रूपले उपयोग गरे लाभ र नगरेमा क्षति बेहोर्नुपर्ने हुन सक्छ । चितवन निकुञ्जको कुरा गर्नुपर्दा १७/१८ वर्षअघिसम्म मानव–वन्यजन्तु द्वन्द्व कम थियो । वन्यजन्तुको आक्रमणबाट वर्षमा ५/६ जना व्यक्तिले ज्यान गुमाउने गरेका थिए । अहिले वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउनेको संख्या बर्सेनि २० जनासम्म हुने गर्छ । पछिल्लो पटक वन्यजन्तुबाट मध्यवर्ती क्षेत्रमा हानि बढेको छ । यो ठूलो क्षति हो । यसले मानवमा वन्यजन्तुप्रति आक्रोश बढाउँछ ।
त्यसैले संरक्षणमा चुनौती थपिएको छ । वन्यजन्तुबाट हानि कम गर्नेतर्फ सरोकारवाला जुट्न जरुरी छ । वन्यजन्तुकै कारण चितवनदेखि नवलपुरसम्म पर्यटन फस्टाएको छ । यसरी हेर्दा वन्यजन्तुले सिर्जना गर्ने अवसर अरू क्षेत्रमा भन्दा ठूलै देखिएको छ । चितवनको हकमा वन्यजन्तु र प्राकृतिक विविधता ठूलो उपहार हुन् । चितवन निकुञ्जको स्थापनापूर्व नै यहाँका वन्यजन्तु विश्वका लागि आकर्षण बनिसकेका थिए । निकुञ्ज स्थापना हुनुभन्दा ८ वर्षअघि सफारी पर्यटनमार्फत पर्यटक आकर्षित गर्न टाइगर टप्स होटल सञ्चालनमा आइसकेको थियो । टाइगर टप्सले चितवनमा सफारी पर्यटनको जग बसालेको हो भने निकुञ्ज र वन्यजन्तु पर्यटनको ‘ब्रान्डिङ’ गरेको हो । अहिले पनि वन्यजन्तु सफारीको प्रमुख गन्तव्य चितवन निकुञ्ज हो । ‘इको–टुरिजम’का माध्यमबाट यहाँका बासिन्दालाई लाभान्वित तुल्याउन सकिएको छ ।
चितवनको वन क्षेत्र अत्यन्त व्यवस्थित तरिकाले संरक्षित छ । चितवन निकुञ्ज र आसपासका वन पारिस्थितिकीय प्रणाली (इको सिस्टम), पानीका घोल र जलवायु परिवर्तनमा सन्तुलन कायम गर्ने गरी संरक्षित छन् । वन्यजन्तु नभएको भए यति सघन ढंगले संरक्षण सम्भव हुन्थेन । मध्यवर्ती सामुदायिक वनसित निकुञ्ज गाँसिएको छ । निकुञ्जका उपभोक्ता स्थानीय बासिन्दा हुन् । स्थानीय बासिन्दाले सामुदायिक वन संरक्षण गरेका हुन् । अहिले सामुदायिक वन वन्यजन्तु र पन्छीको बासस्थान बनेका छन् ।
सामुदायिक वनमा पर्यटकीय गतिविधि बढेका छन् । चितवन र पर्सा निकुञ्जसित भारतको वाल्मीकि टाइगर रिजर्भ जोडिएको छ । तीन वटै संरक्षित क्षेत्र गरेर ४ हजार स्क्वायर किलोमिटर वन क्षेत्र बनेको छ । यसले वन्यजन्तुको बासस्थान र क्रीडास्थल फराकिलो बनेको छ । उल्लिखित तीनवटै संरक्षित क्षेत्र पाटे बाघका लागि उपयुक्त बासस्थान हुन् । यिनले वन्यजन्तुप्रेमीलाई आकर्षित गरिरहेका छन् । वन्यजन्तुबाट मानवले बेहोर्नुपरिरहेको क्षति धेरै छ । पशुबस्तु, मानव ज्यान हानि र भौतिक क्षतिको अवस्था भीमकाय छ । यसरी सम्पदाबाट क्षति बेहोरेरै पनि यहाँका सर्वसाधारणले वन्यजन्तुलाई माया र संरक्षण गरिरहेका छन् । वन्यजन्तु–मानव सम्बन्धको यो सकारात्मक पाटो हो ।
सदुपयोग गर्न सके वन्यजन्तु वरदान हुन् । यिनको संरक्षण गरेर न्यायोचित लाभ लिन सकिन्छ । पहिले विदेशबाट घुम्न आएका पाहुनालाई बास बसाउँदा–बसाउँदै अहिले चितवन र आसपासको पर्यटन क्षेत्र व्यापक बनिरहेको छ । क्षेत्र बिस्तारसँगै निकुञ्ज घुम्ने पर्यटकको संख्या बढिरहेको छ । गत आर्थिक वर्षमा निकुञ्ज प्रवेशका लागि टिकट काट्ने पर्यटकको संख्या ३ लाख ६ हजार थियो । बाटोघाटो सुधार, प्रकोप र महामारीको अवस्था नहुने हो भने पर्यटक आगमन बढ्ने देखिन्छ । वन्यजन्तुप्रतिको आकर्षण देखेरै मध्यवर्ती क्षेत्रमा ठूलो लगानीका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त ‘ब्रान्ड’का होटल/रिसोर्ट सञ्चालन भइरहेका छन् । यस्ता होटल सञ्चालनले पर्यटक खपत क्षमता वृद्धि हुनुका साथै राजस्व आम्दानी बढिरहेको छ । सुविधासम्पन्न पूर्वाधार र सेवाको गुणस्तरमा वृद्धि भइरहेको छ ।
पहिले झुपडीबाट सुरु भएको चितवनको पर्यटन अहिले अन्तर्राष्ट्रियस्तरको बनेको छ । पहिले निकुञ्जभित्र रहेका होटल अहिले मध्यवर्तीमा खुलेका छन् । टाइगर टप्स होटल अहिले पनि निकुञ्जभित्र जीर्ण अवस्थामा छ । मचान, आइल्यान्डलगायत होटलले निकुञ्जबाहिर रिसोर्ट सञ्चालन गरेर सेवा दिइरहेका छन् । यस्ता होटलका कारण स्थानीयले रोजगारीका अवसर पाइरहेका छन् ।
यहाँ होटल/रिसोर्टमा सीप सिकेर वैदेशिक रोजगारीमा जाने व्यक्तिले विदेशमा पनि स्तरीय काम पाउने गरेका छन् । हामीले पर्यटनलाई विविधीकरण गरेर जानुपर्छ । पर्यटकीय सेवामा सुधार गर्नुपर्छ । पर्यटनबाट प्राप्त लाभलाई न्यायोचित हिसाबले समुदायमा वितरण गर्नुपर्छ । यसले वन्यजन्तु संरक्षणमा टेवा पुर्याउँछ । प्राकृतिक विपत्तिलाई नियन्त्रण गरेर वन्यजन्तु जोगाउनुपर्छ । पालुवा जनावरबाट वन्यजन्तुमा रोग सर्न दिनुहुँदैन ।
वन्यजन्तुको दिगो संरक्षणका लागि परम्परागत शैली/काममा परिवर्तन जरुरी छ । संरक्षणमा देखिएका चुनौती समाधानका लागि सरोकारवाला मिलेर अगाडि बढ्नुपर्छ । अबका दिनमा सिमसार र घाँसे मैदान व्यवस्थापन अनि चोरी–सिकार नियन्त्रणमा केन्द्रित हुनुपर्छ । चितवनमा बसाइँ सरेर आउने क्रम तीव्र छ । १० वर्षको अवधिमा चितवनको जनसंख्या ३४ प्रतिशतले वृद्धि भएको छ । यसैगरी जनसंख्या वृद्धि भए चितवन र नवलपुरले मानव चाप धान्न नसक्ने देखिन्छ । अहिले अनियन्त्रित पूर्वाधार निर्माण भइरहेका छन् । महानगर, नगरपालिका र गाउँपालिकाले यसप्रति ध्यान दिन जरुरी छ । यसरी बनिरहेका पूर्वाधारले नदी प्रणालीलाई स्वस्थ राख्छन् भन्ने विश्वास गर्न सकिन्न ।
राप्ती र नारायणी चितवन निकुञ्ज भएर बग्छन् । यी नदी प्रदूर्षित भए त्यसको असर वन्यजन्तुमा पर्छ । नदी स्वच्छतामा ध्यान नदिएका कारण ठूलो समस्या आउने देखिन्छ । जस्ताको तस्तै निकुञ्ज संरक्षण गर्ने मानसिकताबाट बाहिरिनुपर्छ । प्रत्येक वर्गमिटर व्यवस्थित संरक्षण गर्नुपर्छ । त्यसका लागि हाम्रा संरक्षण अधिकृतले उच्चशिक्षा हासिल गरिसकेपछि विश्वमा संरक्षण शिक्षा पढाइ हुने ठूला विश्वविद्यालयमा पठाएर थप अध्ययनको अवसर दिनुपर्छ । यसरी ज्ञान हासिल गरेमा संरक्षणमा अतिरिक्त पहल हुन्छ । मध्यवर्तीमा पनि वन्यजन्तुमैत्री खेती प्रणाली र उद्यमलाई विकास गरिनुपर्छ । अर्गानिक र प्रकृतिमैत्री खेतीपातीले पर्यटक पनि आकर्षित गर्न
सकिन्छ । उत्पादनको गुणस्तर वृद्धिमा ध्यान दिनुपर्छ । हिमाल चढ्दा हिँड्न र समुद्रमा तैरिन जानिएन भने दुर्भाग्य प्रारम्भ हुन्छ भनेजस्तै संरक्षणमा पनि समयानुकूल परिमार्जन गरेर रणनीति तय नगरे मानव–वन्यजन्तु द्वन्द्व बढ्नुका साथै दुर्लभ वन्यजन्तु लोप हुन सक्छन् । वन, वनस्पति र वन्यजन्तुको कुशलतापूर्वक उपयोग गरिएन भने हाम्रो दुर्भाग्य प्रारम्भ हुन सक्छ । मानव–वन्यजन्तुको उपयोगिता र सम्बन्धबारे किसान, उपभोक्ता र नागरिकलाई बुझाउन जरुरी छ ।
