वन्यजन्तु र मानव सम्बन्ध

हिमाल चढ्दा हिँड्न र समुद्रमा तैरिन जानिएन भने दुर्भाग्य प्रारम्भ हुन्छ भने जस्तै संरक्षणमा पनि समयानुकूल परिमार्जन गरेर रणनीति तय नगरे मानव–वन्यजन्तु द्वन्द्व बढ्नुका साथै दुर्लभ वन्यजन्तु लोप हुन सक्छन् 

कार्तिक ८, २०८१

वासु ढुंगाना 

Wildlife and human relations

दुर्लभ वन्यजन्तुको बासस्थान र प्राकृतिक विविधताका कारण चितवन राष्ट्रिय निकुञ्ज विश्वसम्पदा सूचीमा सूचीकृत भएको हो । निकुञ्ज स्थापना हुनुअघिबाट चितवनमा आदिवासी/जनजाति समुदायको बसोबास थियो । उनीहरू वनजंगल आसपास बसोबास गर्थे । कृषि कर्म र पशुपालनबाट जीविकोपार्जन सहज हुने भएकाले मानिसले पानीका मूल र घाँसपातका लागि वन रोज्ने गरेको बुझिन्छ । 

मानव सभ्यताको विकासक्रम पनि यस्तै देखिन्छ । जल, जंगल र जमिन मानव सभ्यता विकासका लागि अपरिहार्य हुन् । त्यसैले परम्परादेखि राष्ट्रिय निकुञ्ज र त्यसको समीपका बासिन्दाबीच अन्योन्याश्रित सम्बन्ध रहँदै आएको छ । यस्तो सम्बन्ध कहिलेकाहीं मानिसका लागि वरदान सावित हुन्छ । कहिलकाहीें अभिशाप बन्ने गरेको पाइन्छ । प्राकृतिक अवसरलाई हामीले कसरी सदुपयोग गर्न सक्छौं भन्ने कुराले वन्यजन्तु र मानव सम्बन्धका लाभ–हानिलाई व्याख्या गर्न सहज हुन्छ । वन्यजन्तु र प्रकृतिलाई अवसरमा परिणत गर्न सके त्यसले मुलुकलाई नै सम्पन्नतातर्फ उन्मुख बनाउँछन् । हाम्रो मुलुकले लाभ लिन सक्ने क्षेत्रमध्ये वन्यजन्तु पर्यटन पहिलो हो । 

विश्वमा मरुभूमि र समुद्र मात्र भएका मुलुकले त्यसकै सदुपयोग गरेर तेल उत्पादनबाट सम्पन्न बनेका उदाहरण प्रशस्त छन् । त्यसैले प्राकृतिक सम्पदालाई सन्तुलित रूपले उपयोग गरे लाभ र नगरेमा क्षति बेहोर्नुपर्ने हुन सक्छ । चितवन निकुञ्जको कुरा गर्नुपर्दा १७/१८ वर्षअघिसम्म मानव–वन्यजन्तु द्वन्द्व कम थियो । वन्यजन्तुको आक्रमणबाट वर्षमा ५/६ जना व्यक्तिले ज्यान गुमाउने गरेका थिए । अहिले वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउनेको संख्या बर्सेनि २० जनासम्म हुने गर्छ । पछिल्लो पटक वन्यजन्तुबाट मध्यवर्ती क्षेत्रमा हानि बढेको छ । यो ठूलो क्षति हो । यसले मानवमा वन्यजन्तुप्रति आक्रोश बढाउँछ ।

त्यसैले संरक्षणमा चुनौती थपिएको छ । वन्यजन्तुबाट हानि कम गर्नेतर्फ सरोकारवाला जुट्न जरुरी छ । वन्यजन्तुकै कारण चितवनदेखि नवलपुरसम्म पर्यटन फस्टाएको छ । यसरी हेर्दा वन्यजन्तुले सिर्जना गर्ने अवसर अरू क्षेत्रमा भन्दा ठूलै देखिएको छ । चितवनको हकमा वन्यजन्तु र प्राकृतिक विविधता ठूलो उपहार हुन् । चितवन निकुञ्जको स्थापनापूर्व नै यहाँका वन्यजन्तु विश्वका लागि आकर्षण बनिसकेका थिए । निकुञ्ज स्थापना हुनुभन्दा ८ वर्षअघि सफारी पर्यटनमार्फत पर्यटक आकर्षित गर्न टाइगर टप्स होटल सञ्चालनमा आइसकेको थियो । टाइगर टप्सले चितवनमा सफारी पर्यटनको जग बसालेको हो भने निकुञ्ज र वन्यजन्तु पर्यटनको ‘ब्रान्डिङ’ गरेको हो । अहिले पनि वन्यजन्तु सफारीको प्रमुख गन्तव्य चितवन निकुञ्ज हो । ‘इको–टुरिजम’का माध्यमबाट यहाँका बासिन्दालाई लाभान्वित तुल्याउन सकिएको छ । 

चितवनको वन क्षेत्र अत्यन्त व्यवस्थित तरिकाले संरक्षित छ । चितवन निकुञ्ज र आसपासका वन पारिस्थितिकीय प्रणाली (इको सिस्टम), पानीका घोल र जलवायु परिवर्तनमा सन्तुलन कायम गर्ने गरी संरक्षित छन् । वन्यजन्तु नभएको भए यति सघन ढंगले संरक्षण सम्भव हुन्थेन । मध्यवर्ती सामुदायिक वनसित निकुञ्ज गाँसिएको छ । निकुञ्जका उपभोक्ता स्थानीय बासिन्दा हुन् । स्थानीय बासिन्दाले सामुदायिक वन संरक्षण गरेका हुन् । अहिले सामुदायिक वन वन्यजन्तु र पन्छीको बासस्थान बनेका छन् ।

सामुदायिक वनमा पर्यटकीय गतिविधि बढेका छन् । चितवन र पर्सा निकुञ्जसित भारतको वाल्मीकि टाइगर रिजर्भ जोडिएको छ । तीन वटै संरक्षित क्षेत्र गरेर ४ हजार स्क्वायर किलोमिटर वन क्षेत्र बनेको छ । यसले वन्यजन्तुको बासस्थान र क्रीडास्थल फराकिलो बनेको छ । उल्लिखित तीनवटै संरक्षित क्षेत्र पाटे बाघका लागि उपयुक्त बासस्थान हुन् । यिनले वन्यजन्तुप्रेमीलाई आकर्षित गरिरहेका छन् । वन्यजन्तुबाट मानवले बेहोर्नुपरिरहेको क्षति धेरै छ । पशुबस्तु, मानव ज्यान हानि र भौतिक क्षतिको अवस्था भीमकाय छ । यसरी सम्पदाबाट क्षति बेहोरेरै पनि यहाँका सर्वसाधारणले वन्यजन्तुलाई माया र संरक्षण गरिरहेका छन् । वन्यजन्तु–मानव सम्बन्धको यो सकारात्मक पाटो हो । 

सदुपयोग गर्न सके वन्यजन्तु वरदान हुन् । यिनको संरक्षण गरेर न्यायोचित लाभ लिन सकिन्छ । पहिले विदेशबाट घुम्न आएका पाहुनालाई बास बसाउँदा–बसाउँदै अहिले चितवन र आसपासको पर्यटन क्षेत्र व्यापक बनिरहेको छ । क्षेत्र बिस्तारसँगै निकुञ्ज घुम्ने पर्यटकको संख्या बढिरहेको छ । गत आर्थिक वर्षमा निकुञ्ज प्रवेशका लागि टिकट काट्ने पर्यटकको संख्या ३ लाख ६ हजार थियो । बाटोघाटो सुधार, प्रकोप र महामारीको अवस्था नहुने हो भने पर्यटक आगमन बढ्ने देखिन्छ । वन्यजन्तुप्रतिको आकर्षण देखेरै मध्यवर्ती क्षेत्रमा ठूलो लगानीका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त ‘ब्रान्ड’का होटल/रिसोर्ट सञ्चालन भइरहेका छन् । यस्ता होटल सञ्चालनले पर्यटक खपत क्षमता वृद्धि हुनुका साथै राजस्व आम्दानी बढिरहेको छ । सुविधासम्पन्न पूर्वाधार र सेवाको गुणस्तरमा वृद्धि भइरहेको छ । 

पहिले झुपडीबाट सुरु भएको चितवनको पर्यटन अहिले अन्तर्राष्ट्रियस्तरको बनेको छ । पहिले निकुञ्जभित्र रहेका होटल अहिले मध्यवर्तीमा खुलेका छन् । टाइगर टप्स होटल अहिले पनि निकुञ्जभित्र जीर्ण अवस्थामा छ । मचान, आइल्यान्डलगायत होटलले निकुञ्जबाहिर रिसोर्ट सञ्चालन गरेर सेवा दिइरहेका छन् । यस्ता होटलका कारण स्थानीयले रोजगारीका अवसर पाइरहेका छन् ।

यहाँ होटल/रिसोर्टमा सीप सिकेर वैदेशिक रोजगारीमा जाने व्यक्तिले विदेशमा पनि स्तरीय काम पाउने गरेका छन् । हामीले पर्यटनलाई विविधीकरण गरेर जानुपर्छ । पर्यटकीय सेवामा सुधार गर्नुपर्छ । पर्यटनबाट प्राप्त लाभलाई न्यायोचित हिसाबले समुदायमा वितरण गर्नुपर्छ । यसले वन्यजन्तु संरक्षणमा टेवा पुर्‍याउँछ । प्राकृतिक विपत्तिलाई नियन्त्रण गरेर वन्यजन्तु जोगाउनुपर्छ । पालुवा जनावरबाट वन्यजन्तुमा रोग सर्न दिनुहुँदैन । 

वन्यजन्तुको दिगो संरक्षणका लागि परम्परागत शैली/काममा परिवर्तन जरुरी छ । संरक्षणमा देखिएका चुनौती समाधानका लागि सरोकारवाला मिलेर अगाडि बढ्नुपर्छ । अबका दिनमा सिमसार र घाँसे मैदान व्यवस्थापन अनि चोरी–सिकार नियन्त्रणमा केन्द्रित हुनुपर्छ । चितवनमा बसाइँ सरेर आउने क्रम तीव्र छ । १० वर्षको अवधिमा चितवनको जनसंख्या ३४ प्रतिशतले वृद्धि भएको छ । यसैगरी जनसंख्या वृद्धि भए चितवन र नवलपुरले मानव चाप धान्न नसक्ने देखिन्छ । अहिले अनियन्त्रित पूर्वाधार निर्माण भइरहेका छन् । महानगर, नगरपालिका र गाउँपालिकाले यसप्रति ध्यान दिन जरुरी छ । यसरी बनिरहेका पूर्वाधारले नदी प्रणालीलाई स्वस्थ राख्छन् भन्ने विश्वास गर्न सकिन्न । 

राप्ती र नारायणी चितवन निकुञ्ज भएर बग्छन् । यी नदी प्रदूर्षित भए त्यसको असर वन्यजन्तुमा पर्छ । नदी स्वच्छतामा ध्यान नदिएका कारण ठूलो समस्या आउने देखिन्छ । जस्ताको तस्तै निकुञ्ज संरक्षण गर्ने मानसिकताबाट बाहिरिनुपर्छ । प्रत्येक वर्गमिटर व्यवस्थित संरक्षण गर्नुपर्छ । त्यसका लागि हाम्रा संरक्षण अधिकृतले उच्चशिक्षा हासिल गरिसकेपछि विश्वमा संरक्षण शिक्षा पढाइ हुने ठूला विश्वविद्यालयमा पठाएर थप अध्ययनको अवसर दिनुपर्छ । यसरी ज्ञान हासिल गरेमा संरक्षणमा अतिरिक्त पहल हुन्छ । मध्यवर्तीमा पनि वन्यजन्तुमैत्री खेती प्रणाली र उद्यमलाई विकास गरिनुपर्छ । अर्गानिक र प्रकृतिमैत्री खेतीपातीले पर्यटक पनि आकर्षित गर्न 

सकिन्छ । उत्पादनको गुणस्तर वृद्धिमा ध्यान दिनुपर्छ । हिमाल चढ्दा हिँड्न र समुद्रमा तैरिन जानिएन भने दुर्भाग्य प्रारम्भ हुन्छ भनेजस्तै संरक्षणमा पनि समयानुकूल परिमार्जन गरेर रणनीति तय नगरे मानव–वन्यजन्तु द्वन्द्व बढ्नुका साथै दुर्लभ वन्यजन्तु लोप हुन सक्छन् । वन, वनस्पति र वन्यजन्तुको कुशलतापूर्वक उपयोग गरिएन भने हाम्रो दुर्भाग्य प्रारम्भ हुन सक्छ । मानव–वन्यजन्तुको उपयोगिता र सम्बन्धबारे किसान, उपभोक्ता र नागरिकलाई बुझाउन जरुरी छ । 

वासु

Link copied successfully