भरतपुर महानगरपालिकाभित्र गोन्द्राङदेखि पुल्चोकसम्म चार लेन मुख्य र दुई लेन सर्भिस लेन सडक निर्माण ९० प्रतिशत सकिसकेको छ, बाइपास सडक चार लेनमा विस्तार गरिएको छ, भरतपुर महानगर बृहत् चक्रपथ सडक निर्माण गर्न लागिपरेको छ
भण्डाराका बालकृष्ण थपलियाले राप्ती नगरपालिका–१३, कान्दास्थित कान्देश्वरी आधारभूत विद्यालयमा पढाउन थालेको २२ वर्ष भयो । अहिलेसम्म कान्दामा सडक पुगेको छैन । नगरपालिकाभित्र पर्ने गाउँ नै अहिलेसम्म सडक पूर्वाधारबाट वञ्चित छ । २०५९ सालतिर उनी शिक्षकका रूपमा कान्दा पुगेका थिए । त्यो बेला घरबाट सबेरै पैदल हिँड्दा राति अबेर कान्दा पुगिन्थ्यो ।
२०६६ सालमा चितवनको भण्डाराबाट धादिङको मलेखु जोड्ने गरी सडकको ट्र्याक खोल्न थालियो । यही सालमा थाकलटारसम्म सडक पुग्यो । त्यहाँसम्म मोटरसाइकलमा पुगेर थप ६ घण्टा पैदल हिँड्नु पर्थ्यो । २०७२ सालतिर यहुरालीटारसम्म सडक पुग्यो । त्यहाँबाट फेरि कान्दा पुग्न चार घण्टा पैदल हिँड्नैपर्थ्यो । २०७४ सालमा ट्र्याक खोलेर सडक कालिटार पुर्याइए पनि कान्दासम्म पुग्न पैदल हिँड्नुको विकल्प रहेन । अहिले कालिटार नजिकै भजेउरासम्म सडक पुगेको छ । त्यहाँबाट साढे दुई घण्टा पैदल हिँडेपछि मात्र कान्दा पुगिन्छ । ‘कान्दालाई अझै सडक पूर्वाधारले छुन सकेको छैन,’ थपलिया भन्छन्, ‘तर पहिलाभन्दा अहिले धेरै सहज भएको छ ।’
अहिले बिहान ६ बजे घरबाट हिँड्दा १० बजे विद्यालय पुगिने उनी सुनाउँछन् । ‘पहिला विद्यालय भ्याउन अघिल्लो दिन नै घरबाट हिँड्नुपर्थ्यो,’ उनी भन्छन्, ‘सडकले सहज त बनाएको छ, तर यसको स्तरोन्नतिमा ध्यान दिइएको छैन ।’ जहाँ सडक पुगेको छ, त्यहाँको उत्पादनले बजार पाएको छ । अहिले सडक पुगेको ठाउँका स्थानीयले सिमी, पिँडालु, फर्सी, स्कुस, तरुल बेचेर आम्दानी गरिरहेका छन् । तरकारी फलाएर घर खर्च धान्नेहरू बढ्दै गएका छन् । यो क्षेत्रमा चेपाङ समुदायको बसोबास बाक्लो छ ।
पहिला दिनभर डोकोमा उत्पादन बोकेर बिक्री गर्न भण्डारा लग्नुपर्थ्यो । समयमै बजार नपुग्दा उत्पादन खेर जान्थ्यो । अहिले त्यो समस्या छैन । ‘सडक पुगेपछि स्थानीय आयआर्जनमा सक्रिय छन्, कृषिमा आकर्षित भएका छन्,’ थपलिया भन्छन्, ‘नुन, तेल र खाद्यान्न जोहो गर्न सकेका छन् ।’ यहाँको उत्पादन भण्डारा र मलेखु जाने गरेको छ । सडक पुगेपछि गाउँमै बजार पसल खुलेका छन् । पहिला केही किन्न परे चितवनको भण्डारा र धादिङको चरौंदी पुग्न पर्थ्यो ।
पूर्व–पश्चिम राजमार्ग र पृथ्वी राजमार्ग जोड्ने भण्डारा–मलेखु चेपाङ मार्गको निर्माणले गति लिन भने सकेको छैन । सडकको कुल दूरी ६६ किलोमिटर छ । बर्खामा विभिन्न खण्डमा पहिरो खसेर यातायात ठप्प बन्ने गरेको छ । सडक चितवनतर्फ ३६ र धादिङतर्फ ३० किमि पर्छ । हालसम्म दुवै खण्डमा गरेर २१ किमि मात्र कालोपत्र भएको छ । सडक बनाए पनि बर्खामा यातायात नचल्ने राप्ती–१३ का वडाध्यक्ष अशोककुमार चेपाङले बताए । ‘भण्डाराबाट थाकलटारसम्म मात्र सडक सहज छ,’ उनी भन्छन्, ‘संघ सरकारबाट यो मार्ग उपेक्षामा परेको छ ।’
वैकल्पिक सडक भएर पनि यो मार्ग ओझेलमा परेको हुन सक्ने सडक डिभिजन भरतपुरका प्रमुख नारायणप्रसाद लामिछानेले बताए । ‘यो सडक धेरै ठाउँमा कच्ची छ, पछिल्लो समय वैकल्पिक मार्गहरू निर्माण भइरहेकाले यो प्राथमिकतामा नपरेको हुन सक्छ,’ उनले भने, ‘बजेट भए स्तरोन्नति गर्न सकिन्छ, कालोपत्रे तहको बनाउन ३ अर्ब रुपैयाँ लाग्छ ।’ वैकल्पिक मार्ग बन्न सके पनि अहिले सरकारको कम चासोमा परेको उनको भनाइ छ । यो सडक दुई लेनको छ ।
यता इच्छाकामना गाउँपालिका–२ स्थित तोलाङका विकास गुरुङ पृथ्वी राजमार्गसँग जोडेर फिस्लिङ–शक्तिखोर सडक बनेपछि गाउँ–सहर गर्न सजिलो भएको सुनाउँछन् । ‘सडक नहुँदा गाउँ–गाउँबाट तरकारी डोकोमा बोकेर फिस्लिङ लग्नुपर्थ्यो, पैदल हिँडेर जान तीन घण्टा लाग्थ्यो,’ उनी भन्छन्, ‘अहिले गाडीमा एक घण्टामा बजार पुगिन्छ ।’
उनका अनुसार २०६५ सालदेखि सडकको ट्र्याक खोल्न थालिएको थियो । डोडे र ढाप सुन्तला फल्ने गाउँ हुन् । सुरुमा सडक नहुँदा डोकोमा बोकेर यहाँका सुन्तला बजार झारिन्थ्यो । ‘अहिले सडक भएपछि गाउँमा सुन्तला, तरकारी लगाउने बढेका छन्,’ उनले भने, ‘सडककै कारण आर्थिक आयआर्जन गर्नेहरूको संख्या थपिँदै गएको छ ।’
धादिङको मझिमटारदेखि चितवनको शक्तिखोर जोड्ने गरी १० किमि सुरुङ निर्माण गर्ने गरी पूर्वसम्भाव्यता अध्ययन भइरहेको सडक विभागका सहायक प्रवक्ता अमितकुमार शर्माले बताए । ‘फिस्लिङ–शक्तिखोर सडक ४५ किमि छ, जसमध्ये ८ किमि ग्राभेल गरिएको छ,’ उनले भने, ‘एसियाली विकास बैंक (एडीबी) को सहयोगमा ग्रामीण सडक सुधार आयोजनाअन्तर्गत ३७ किमि कालोपत्र गरिएको छ ।’
केही–केही ठाउँमा समस्या रहेको र त्यहाँ कालोपत्र हुन नसकेको उनले सुनाए । ‘सडकमा पर्ने खोल्साखोल्सीमा समस्या छ,’ उनले भने, ‘सडक सहज हुँदा चितवनको पुरानो सदरमुकाम उपरदाङगढी हुँदै डेढ घण्टामा शक्तिखोर निस्कन समस्या छैन ।’
यो एक लेन सडक हो । कतिपय ठाउँमा नयाँ ट्र्याक छ । यो सडकमा साना सवारीसाधन चलाउन उपयुक्त हुने उनको भनाइ छ । ‘यसले समय र इन्धनको बचत हुनेछ । यसलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिनेछ,’ उनले भने, ‘ट्र्याक ०७४/७५ सालमा खुलेको हो ।’ धादिङ र चितवनको सीमा क्षेत्र मोवाखोलाबाट गएको बाटो बाँसकोटमा जोडिन्छ । यो सडकको धेरै काम सकिसकेको उनको भनाइ छ ।
सडक डिभिजन भरतपुरका प्रमुख लामिछानेका अनुसार भरतपुर महानगरपालिकाभित्र गोन्द्राङदेखि पुल्चोकसम्म चार लेन मुख्य र दुई लेन सर्भिस लेन सडक निर्माण ९० प्रतिशत सकिसकेको छ । बढीमा तीन महिनाभित्र यसको काम सकिसक्ने उनको दाबी छ । बाइपास सडक चार लेनमा विस्तार गरिएको छ । ‘महानगरमा चक्रपथ बनाउने अवधारणाअनुसार भरतपुर महानगर बृहत् चक्रपथ सडक निर्माण गर्न लागिएको हो,’ उनले भने, ‘यसमा भइरहेका सडकहरूलाई जोडेर काम गरिएको छ ।’ यसको दूरी करिब ८८ किमि छ । जसमा धेरैजसो सडक कालोपत्र भइसकेको छ ।
‘भरतपुरको गोन्द्राङबाट जंगल छेउछेउ सीतामाई मन्दिर निस्कन्छ, त्यहाँबाट पटिहानी, जगतपुर, मेघौली शिवघाट हुँदै पुल्चोक आउँछ,’ उनी भन्छन्, ‘आँपटारीबाट जंगल हुँदै गोन्द्राङमै आएर टुगिनेछ, यसको काम ७० प्रतिशतभन्दा बढी सकिसकेको छ ।’ पृथ्वी राजमार्गमा पर्ने मोवाखोला तरेपछि धादिङबाट चितवन र पूर्वपश्चिम राजमार्गको लोथर खोला तरेपछि मकवानपुरबाट चितवन सुरु हुन्छ ।
ठोरी–भरतपुर–मुग्लिन सडक राष्ट्रिय राजमार्गभित्र पर्छ । चितवनको ठिमुराबाट देवघाट हुँदै गैंडाकोट जोड्न मिल्ने गरी सडकको अध्ययन गरिँदै छ । ‘गैंडाकोटदेखि ठिमुराको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तहकै अध्ययन हुँदै छ,’ सडक विभागका सहायक प्रवक्ता अमितकुमार शर्माले भने, ‘जसको दूरी १० किलोमिटर छ ।’ यसलाई दुई लेनको सडक बनाइने छ । ‘यो वैकल्पिक सहायक राजमार्गभित्र पर्छ,’ उनले भने, ‘पछि यसलाई गैंडाकोटदेखि देवघाट–ठिमुरा–गाईघाट हुँदै मुग्लिन निस्किन मिल्ने गरी जोड्न सकिनेछ ।’
भरतपुरबाट माडी हुँदै ठोरी जोड्ने गरी हुलाकी राजमार्ग निर्माण गरिँदै छ । चितवन निकुञ्जका कारण रेखांकन संशोधन गरेर यो सडकलाई पूर्णता दिइँदै छ । सुरुको रेखांकन परिवर्तन गरेर निकुञ्जको मध्यवर्ती क्षेत्र भएर जाने बगईदेखि कुसुम खोला हँॅँदै ठोरी १६.५ किमि र रिउ खोला (वनकट्टा) देखि र ध्रुवाघाटको राप्तीमा नयाँ पुल निर्माण गरी जगतपुर जोड्ने गरी ७.३ किमि हुलाकी राजमार्ग निर्माण गरिनेछ । त्यस्तै पूर्वपश्चिम विद्युतीय रेलमार्गले पनि भरतपुरलाई छुनेछ । भरतपुर महानगरका भित्री सडक प्रायः सबै कालोपत्रे गरिएका छन् । सडक पूर्वाधारमा चितवन अघि रहेको जानकार सुनाउँछन् ।
