चितवनको साहित्यिक चरित्र

चितवनको साहित्यको चर्चा गर्दा मध्यपहाडी जिल्लाहरूको साहित्य आफैं जोडिएर आउँछ, जन्मका आधारले मानिस एक ठाउँको हुन्छ, कर्मका आधारले विभिन्न ठाउँको 

कार्तिक ८, २०८१

अमर न्याैपाने

Literary character of Chitwan

स्रष्टाहरूको निश्चित भूगोल हुँदैन । कुनै पनि स्रष्टा कुनै पनि स्थान विशेषको हुँदैन । त्यसैले फलानो जिल्लाको या प्रदेशको साहित्य भनेर भौगोलिक सीमा छुट्याए झैं साहित्यिक सीमा छुट्याउन गाह्रो छ । त्यसमा पनि चितवनको त झनै गाह्रो छ । 

थारू र चेपाङहरूको मूलथलो रहेको चितवन बसोबास विस्तारका दृष्टिले नयाँ ठाउँ हो । चितवनको पहाडी क्षेत्रमा चेपाङ र जनजाति तथा मैदानमा खोला र नदी किनारतिर थारू जातिको पातलो बस्ती भए पनि जंगल फँडानी गरेर व्यवस्थित बस्ती बस्न थालेको २०१३ सालको राप्तीदुन विकास परियोजना लागू भएपछि हो । नारायणगढमा भने १९७० देखि नै बसोबास सुरु भएको हो । पहाडबाट यहाँ घिउ बेच्न र नुनतेल, लुगाफाटा तथा घरायसी सामान किन्न आउनेहरूको बजार थियो ।

गर्मी र जंगलैजंगल भएकाले पहाडबाट झरेकाहरूलाई यहाँ औलो लाग्थ्यो । पहाडमा खानलाउन र परिवार पाल्न दुःख हुनेहरू औलोको जोखिम मोलेर चितवन झरे । विशेषगरी कास्की, लमजुङ, तनहुँ, गोरखा, बागलुङ, स्याङ्जा, पर्वत, धादिङ आदि जिल्लाका मानिसहरू बसाइँ सरे ।

बसाइँ सर्दा उनीहरूले आफूसँगै आफ्नो परिवार मात्र ल्याएनन्, आफ्नो संस्कृति, परम्परा, रहनसहन, साहित्य, मौखिक आख्यान पनि सँगै ल्याए । पहाडका अनेक ठाउँ, जाति र संस्कृतिका मानिसहरूको मिश्रणले चितवन द्रुत गतिमा समृद्ध बन्दै गयो ।

चितवनको साहित्यको चर्चा गर्दा मध्यपहाडी जिल्लाहरूको साहित्य आफैं जोडिएर आउँछ । जन्मका आधारले मानिस एक ठाउँको हुन्छ, कर्मका आधारले विभिन्न ठाउँको हुन्छ । त्यसैले चितवनको साहित्य छुट्याएर चर्चा गर्न मिल्दैन । यहाँ गरिएको चर्चालाई चितवनमा बसेर कर्म गरेका साहित्यकारहरू सम्झनुपर्छ । मेरै कुरा गर्ने हो भने पुर्ख्यौली थलो कास्की हो भने जन्म, औपचारिक अध्ययन र कर्मका हिसाबले चितवन । अहिले धेरै कर्म काठमाडौं बसेर गरिरहेछु । कहिलेकाहीं स्थलगत अध्ययन र लेखनका सिलसिलामा अन्य जिल्लामा पनि गएर काम गर्छु । 

जे होस्, चितवनको अधिकांश बसोबास नयाँ हो तर साहित्य सिर्जन परम्परासँग जोडिएर आउँछ । झाडी फाँडेर बस्नुपर्ने र आधारभूत सुविधा पनि नभएको ठाउँ भएकाले तीसको दशकसम्म सामान्य बासस्थान र आधारभूत सुविधा प्राप्तिको संघर्षमा नै मानिसहरूको समय बित्यो । समथर भूभाग, खेतीयोग्य जमिन र थपिँदै गएका सुविधाका कारण विस्तारै पहाडका सम्पन्न मानिसहरू पनि यहाँ बसाइँ सर्न थाले । पछि आउनेहरूले जमिन किन्नुपर्‍यो । अझ पछि आउनेहरूले महँगोमा किन्नुपर्‍यो । 

बसोबास, बाटोघाटो, शिक्षा, स्वास्थ्य र यातायातको सुविधा थपिँदै जाँदा चितवन गुल्जार हुँदै गयो । आफैं बस्ती बसाएर बस्नुपरेकाले मानिसहरूसँग दुःखका धेरै कथा छन्, संघर्ष र जोखिमका व्यथा छन्, प्राप्ति र सफलताका गाथा छन् । ती धेरैजसो लेखिन बाँकी छ ।

बाँकी ती कथा कतिपय मौखिक रूपमा नै सीमित छन् भने धेरैजसो पुराना मानिसहरूको अवसानसँगै सकिए । पढेलेखेका केहीले डायरीमा लेखेर आफैंसँग राखेका हुँदा हुन् । जे होस्, चितवनको साहित्य सिर्जन परम्परालाई थारू र चेपाङ जातिका अलिखित लोकसाहित्य र पहाडबाट बसाइँ आउँदा पहाडेहरूले सँगै ल्याएका मौखिक कथा यहाँको साहित्यको पृष्ठभूमि हो । कलानाथ अधिकारीले संकलन गरी लिपिबद्ध गरेको जितिया पावनी (थारू लोककथा) थारू भाषामै २०१६ मा प्रकाशनमा आयो । यो नै पहिलो साहित्यिक पुस्तक हो ।

२०२२ मा रामपुरमा भएको राष्ट्रिय साहित्य गोष्ठी, २०२४ मा भएको चितवन जिल्ला स्तरीय साहित्य गोष्ठी जस्ता साहित्यिक कार्यक्रम र २०२१ मा प्रकाशित चितवनको चिनो साहित्यिक पत्रिका प्रस्थानबिन्दु हो । २०२५ को दोभान, २०२६ को नौलो राँको, २०२७ को छहरो, २०२८ को मारुनी जस्ता साहित्यिक पत्रिकाहरूको प्रकाशनले यहाँ साहित्य लेखनको पृष्ठभूमि तयार पारेका थिए । 

त्यो बेला यहाँ कुनै साहित्यिक संघसंस्था थिएनन्, जसले व्यक्तिभित्र लुकेर रहेको साहित्यिक प्रतिभा संस्थागत गरून् । तर शैक्षिक संस्था, पुस्तकालय र अन्य केही संस्थाका माध्यमबाट छिटपुट साहित्यिक कार्यक्रम भने हुन्थे । बेलाबेला अत्यन्त न्यून संख्यामा किताब प्रकाशित हुन्थे । २०३६ को जनमतसंग्रह र २०४२ सालको सत्याग्रहमा प्रजातान्त्रिक परिवर्तनका लागि चितवन सक्रिय रह्यो । नयाँ ठाउँमा आएका पुराना र यहाँ जन्मिएका नयाँ मानिसहरूमा परिवर्तनको नयाँ चेतना थियो । त्यो बेला प्रजातान्त्रिक परिवर्तनका लागि विद्रोहका आवाजहरू साहित्यका माध्यमबाट पनि अभिव्यक्त हुन थाले ।

२०४० को दशकपछि मात्र चितवनमा साहित्यिक संस्थाहरू स्थापना भए । यद्यपि ठूलै बजार भइसकेको नारायणगढमा २०१८ मै विभिन्न जातजाति, भाषभाषी र समुदायका कला संरक्षण र प्रकाशनका लागि १४ कट्ठा जमिनमा आधुनिक सभाहलसहितको नारायणी कला मन्दिरको स्थापना भयो । यहाँ साहित्यिक गतिविधि पनि हुने भएकाले यसले संस्थागत भूमिका खेलेको छ । साहित्यिक संस्थाहरूमा साहित्य संगम चितवन (२०४४), चितवन साहित्य परिषद् (२०४५) यहाँका पुराना हुन् । त्यसपछि आजसम्म यहाँ निष्क्रिय र सक्रिय, दर्ता भएका र नभएका गरी झन्डै पाँच दर्जन साहित्यिक संस्था छन् ।

यही पृष्ठभूमिमा २०४६ सम्म आइपुग्दा चितवनको साहित्य क्रमिक रूपमा विकास र विस्तार हुँदै गयो । २०४६ सालको परिवर्तनमा नवचेतनाका साथ यहाँका साहित्यकारहरू पनि सक्रिय रहे । त्यसपछि प्रवृत्तिगत दृष्टिले पनि यहाँको साहित्य राष्ट्रिय प्रवृत्तिसँग मिल्दोजुल्दो हुँदै गयो । यहाँका साहित्यिक संस्थाहरूले राष्ट्रियस्तरका कार्यक्रमहरू गर्छन् र साहित्यकारहरूलाई थुप्रै पुरस्कार प्रदान गरेर लेखनका लागि प्रेरणा दिन्छन् ।

***

आफूलाई व्यक्त गर्ने सबैभन्दा सहज, सरल र संक्षिप्त माध्यम कविता हो । यहाँ बसाइँ सरेका पहाडेहरू, कतिपयले आफ्ना भावना र दुःखसुख मौखिक रूपमा सिलोक बनाएर भाका हाल्थे भने लेखपढ गर्न नजाने पनि कतिपयले आफैं सिलोक रचेर गाउँथे । यस्ता अलिखित सिलोकहरू सुनेरै म हुर्केको हुँ । ती सिलोकमा आफ्ना पारिवारिक र सामाजिक कथाव्यथा, संघर्ष, प्रेम र बिछोडको भावसघनता हुन्थे ।

चितवनको साहित्यिक इतिहासलाई नेपाली साहित्यको इतिहाससँगसँगै डोर्‍याएर ल्याउन मिल्दैन । किनभने, नेपाली साहित्यको इतिहास सुरुवात भएको सवा सय वर्षपछि मात्र चितवनमा साहित्य सिर्जनाको सुरुवात भएको हो । त्यसैले नेपाली साहित्यको माझपछि चितवनको साहित्यिक इतिहास सुरुवात भयो । यहाँ परम्परा र आधुनिकता सँगसँगै हिँडे ।

प्रारम्भमा विशेषतः छन्दोबद्ध नै धेरै सिर्जना गरिए तर गद्य कविताले चाँडै आफ्नो प्रभाव छोड्यो । आफ्ना भावना र विचार शब्दबन्धनबिना अभिव्यक्त गर्न पाइने हुँदा विस्तारै धेरैले गद्य कविता लेख्न थाले ।

चितवनमा कति कवि छन् भन्ने यकिन गर्न गाह्रो छ तर राष्ट्रिय रूपमा चिनिएका कविहरू थोरै छन् । अरू स्थानमा जस्तै यहाँ पनि रहरले कविता लेख्नेहरू धेरै छन् । त्यसमा पनि विशेष कविता लेख्ने विशिष्ट कवि थोरै छन् । चितवनमा कविता/काव्य प्रकाशित गर्ने कविहरूको संख्या दुई सयभन्दा धेरै छ भने कविता/काव्यका पुस्तक तीन सयभन्दा बढी छन् ।

प्रशासनिक रूपमा नारायणीपारि गैंडाकोटदेखि कावासोतीसम्म अलग जिल्ला र प्रदेश भए पनि त्यहाँका मानिसहरू व्यावहारिक रूपले चितवनसँग नजिक छन् । साहित्यिक रूपमा पनि चितवनसँग नै जोडिएका छन् । अझ गैंडाकोटका प्रायः साहित्यकारहरू चितवनकै साहित्यिक संस्था र कार्यक्रममा सक्रिय संलग्न छन् । डेढ दशकअघिसम्म काठमाडौं बाहिर बस्ने साहित्यकारहरूमा मोफसलहीन भाव उच्च थियो । राष्ट्रियस्तरको साहित्यकार बन्न काठमाडौं नै जानुपर्छ भन्ने थियो । धेरैजसोले साहित्यिक प्रकाशनका लागि काठमाडौं गएर अवसर खोज्थे । 

विस्तारै संसारलाई नै इन्टरनेटका कारण सामाजिक सञ्जालले एउटै स्क्रिनमा अटाइदिएपछि अहिले मोफलसहीनता लगभग अन्त्य भएको छ । एउटा कुशल लेखकले संसारको जुनसुकै कुनामा बसेर संसारको जुनसुकै कुनामा रहेकाहरूका लागि लेख्न सक्छ । अरू जिल्लामा जस्तै चितवनमा पनि केन्द्र र विश्वप्रसिद्ध साहित्यकारहरूको प्रभाव परेको छ, यसले नै समयअनुसार अघि बढ्नका लागि प्रेरणा दिएको छ । अवसर र प्रकाशनका दृष्टिले केन्द्र र मोफसलको धारणा लगभग भत्किइसकेको छ ।

यहाँ लेखिने कविता/काव्य/गजल/गीत आदिका प्रवृत्ति केन्द्रीय रूपमा जस्तो धार चल्दै आए लगभग त्यस्तै छन् । पहाडबाट झरेर यहाँ आएकाहरू धेरैले आफ्नो जरा नै समाएर लेखेका छन् । आखिर बाहिर देखिने हाँगा र पातहरूमा, फूल र फलहरूमा जराबाट आएको रस हुन्छ । जराकै कारण तिनमा जीवन सम्भव भएको हुन्छ ।

आआफ्नो ठाउँको प्रकृति, संस्कृति, व्यक्ति, परिवार र समाज संघर्ष, प्रेम, विद्रोह, आशा, निराशा आदि भाव कवितामा लेखेको पाइन्छ । यहाँ धेरै कवि भएकाले चितवनमा कैलाशनगर, रामबाग, गुलाफबाग, नारायणपुर, फूलबारीका केही उच्च भूभागलाई समेटेर उत्साही कविहरूले नाम दिए– कविडाँडा । यसको पण्डित्याइँ कवि सुरेन्द्र अस्तफलले गरेका हुन् । 

विभिन्न राजनीतिक परिवर्तन र समाज परिवर्तनमा पनि यहाँका कविहरू जागरुक छन् । विशेषगरी कविताका माध्यमबाट विद्रोह र चेतनाको आवाज गुन्जाउँछन् । चितवनको साहित्यमा राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय प्रभाव पनि छ । अध्ययनका हिसाबले चितवन विश्वसाहित्यसँग जोडिएको छ, प्रकाशनका हिसाबले भने जोडिन बाँकी छ ।

२०५०/६० को दशकतिर आफू पनि कतिपय कार्यक्रममा सहभागी भएका नाताले यहाँका केही सीमाका बारेमा लेख्छु । अवस्था कस्तो थियो भने जुनसुकै कार्यक्रम भए पनि कविता पाठ अवश्य गरिन्थ्यो, दुईचार जनाले मात्र होइन उपस्थित प्रायः सबैले । खाजा जेसुकै होस् चिया अनिवार्य भए जस्तै कार्यक्रम जेसुकै होस् कविता अनिवार्य जस्तो थियो । पुस्तक विमोचनको कार्यक्रम होस् या पुरस्कार अर्पणको, अन्तर्क्रिया कार्यक्रम होस् या कुनै लेखकको जन्मजयन्ती अथवा श्रद्धाञ्जली— प्रायः कार्यक्रममा उपस्थित सबैले सम्बन्धित विषयमा कविता सुनाउँथे । दर्शकदीर्घामा दुईचार जना भइन्जेलसम्म पनि कविहरू कविता सुनाइरहेका हुन्थे । कविताप्रतिको मोह र सुनाउने लालसा यसप्रकारको थियो । अहिले कार्यक्रमहरू अलि विशिष्ट हुँदै आएका छन् ।

***

यो आख्यानको समय हो । पहिलेपहिले महाभारत जस्ता महाआख्यान पनि कवितात्मक रूपमा लेखिन्थे । साहित्यइतरका विषय पनि छन्दमा लेखिन्थे । सहजबोध र पठनका लागि महाकथाहरू आख्यानात्मक रूपमा लेखिन थाले । संसारभरि अहिले यही प्रवृत्ति देखिएको छ ।चितवनमा पनि यतिबेला आख्यान लेखिने क्रम बढेको छ । दुईतीन दशकअघिसम्म कविता र गजलमा केन्द्रित चितवन यतिबेला आख्यान केन्द्रित बनेको छ ।

गुणात्मकभन्दा संख्यात्मक रूपले धेरै हुनु नेपालको जस्तै विशेषता चितवनको पनि छ । संख्याले नै गुणलाई आफ्नो गर्भमा राखेको हुन्छ ।आजसम्म ११ दर्जन हाराहारीमा आख्यानका किताब प्रकाशित छन् । तिनले फरकफरक प्रवृत्ति बोकेका छन् । सबैका आख्यानका मुख्य आधार समाज, परिवार र परिवारभित्रको निजी प्रवृत्ति रहेका छन् । समाज र राजनीतिक परिवर्तनका लागि नवचेतनासहितको विद्रोह, स्वैरकल्पना, अनुसन्धानात्मकता, स्थानीयता, नारीवादी चेतना, वैदेशिक पीडा, आप्रवासी चेतना, पर्यावरणीय चेतना, दलित तथा आदिवासी चेतना, राजनीतिक द्वन्द्व र युद्ध, मनोविज्ञान, आप्रवासी चेतना, हास्यव्यंग्यात्मकता आदि प्रवृत्ति चितवनका आख्यानमा पाइन्छन् । यी विशेषता राष्ट्रिय प्रवृत्तिसँग मिल्छन् ।

हरिहर खलानकृत २०३७ मा प्रकाशित अजम्बरी गाउँ चितवनको पहिलो कथासंग्रह हो भने रामबाबु घिमिरेकृत २०३४ मा प्रकाशित रित्तो आकाश पहिलो उपन्यास हो । आजसम्म चार दर्जनभन्दा धेरै कथासंग्रह र पाँच दर्जनभन्दा धेरै उपन्यास यहाँबाट प्रकाशित छन् ।लघुकथा लेखन भने कथा र उपन्यासभन्दा पछि सुरु भएको देखिन्छ । २०५६ मा आत्मावतार शीर्षकको डा. सूर्यमणि अधिकारीकृत लघुकथासंग्रह पहिलो हो । त्यसपछि पुगनपुग दुई दर्जन लघुकथासंग्रह यहाँबाट प्रकाशित भएका छन् । सुरुमा आख्यान लेखनको गति सुस्त भए पनि अहिले तीव्र भएको छ । फुटकर कथाहरू प्रशस्त छापिने गरेका छन् । तिनका कतिपय प्रवृत्तिले राष्ट्रियस्तरमा प्रभाव पारेका छन् ।

***

कविता र आख्यानको तुलनामा मात्र होइन आफैंमा पनि निबन्ध सिर्जना देशकै जस्तो चितवनमा पनि अत्यन्त कम रहेको छ । अहिले निबन्धलाई संस्मरण र आत्मकथा तथा जीवनीले धानेका छन् ।

यति हुँदाहुँदै पनि छ दर्जनभन्दा धेरै निबन्ध पुस्तक लेखिएका छन् । प्रारम्भमा २०३८ मा रणेन्द्र बरालीको नेपालमा अछुत जातिको संघर्ष (केही योद्धाहरूको परिचय) लाई मानिन्छ । केही आत्मपरक, केही विवरणात्मक, केही वस्तुपरक र केही जीवनीपरक लेखन गरिएका छन् । रामबाबु घिमिरे, कपिल अज्ञात, राधा पौडेल आदि लेखकले निबन्धलाई विशिष्ट बनाएका छन् । यहाँ छ दर्जनभन्दा बढी निबन्ध प्रकाशित छन् ।

***

नाटक लेखन र मञ्चनमा चितवन धेरै पछि छ । यहाँ नारायणी कला मन्दिर जस्तो संस्था भएर पनि नियमित नाटक मञ्चन हुँदैन । मञ्चनको क्रम सुस्त भएपछि लेखन पनि सुस्त हुने नै भयो । पछिल्लो चरणमा सामाजिक यथार्थवादी खालका नाटक लेखन र मञ्चन गराएर पुष्प आचार्यले चितवनमा नाटकको नर्सरी जोगाएका छन् ।

एक महानगर र छ नगरपालिका भएको ठाउँमा एउटा मात्र नियमित नाटक मञ्चन गर्ने थिएटर नहुनु विडम्बना नै मान्नुपर्छ । नाटक लेखन र मञ्चन एउटा सभ्यता हो, संस्कार हो । नारायणगढका पुराना बासिन्दा वरिष्ठ कलाकार तथा नाट्यनिर्देशक ऋद्धिचरण श्रेष्ठका अनुसार २०१६ मा दार्जिलिङका एक जना लेखकले लेखेको विजय शीर्षकको नाटक नारायणगढमा मञ्चन भएको इतिहास छ । 

नारायणी कला मन्दिर भएकाले छ दशकको इतिहासमा जम्माजम्मी पाँच दर्जन नाटक मञ्चन भएका छन् । यहाँ काठमाडौंबाट समेत रंगकर्मीहरू आएर नाटक मञ्चन गरेका छन् । माधव घिमिरेको गीति नाटक मालतीमंगलेदेखि रामलाल जोशीको कथामा आधारित नाटक वीरबहादुर हुन् ।करिब दुई दर्जन जति नाटकका पुस्तक चितवनमा प्रकाशित छन् । ती नाटक धेरैजसो सामाजिक यथार्थवादी छन् । पछिल्लो समयमा नाटक लेखन र मञ्चनको प्राण धान्ने काम पुष्प आचार्य एवं मुकुन्द खलपात्रको समूहले गरेका छन् ।

***

समालोचनामा चितवनको उपस्थिति राष्ट्रियस्तरको छ । विशेषगरी साहित्यका अध्यापकहरूले समालोचनालाई सशक्त बनाएका छन् । पछिल्लो समयमा निसमालोचनाको प्रवृत्ति बढेको छ । अनुवाद, बालसाहित्यमा भने गति सुस्त देखिन्छ । जेहोस्, चितवनको साहित्यिक प्रभाव राष्ट्रियस्तरको देखिन्छ । यहाँ पठनसंस्कृति पनि उत्तिकै मौलाएको छ । 

अमर नेपाल प्रज्ञा-प्रतिष्ठानको प्राज्ञ अमर न्याैपाने मदन पुरस्कार विजेता साहित्यकार हुन् । उनकाे सेतो धर्ती, पानीको घाम, करोडौं कस्तुरी लगायतका पुस्तक प्रकाशित छन् ।

Link copied successfully