चेपाङ समुदायलाई शिक्षामा अग्रसर गराउन चितवनको सरकारी पहल मात्र पर्याप्त छैन, यहाँ केही मनकारी र सामाजिक संस्थाको पहलले विद्यालय जाने चेपाङ बालबालिकाको संख्या बढिरहेको छ
चितवन, मकवानपुर र धादिङका पहाडी क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदाय अहिले परिवर्तनको संघारमा छन् । लामो समय खोरिया खनेर गुजारा गर्दै आएको उक्त समुदायको जीवनशैली परिवर्तन हुँदै छ । पहाडमै सीमित चेपाङ समुदाय फैलिने क्रममा छ ।
राज्यका अंग र सामाजिक संघसंस्थाको पहलले शिक्षा, स्वास्थ्यमा सुधार देखिन थालेको छ । केही वर्षअघिसम्म यो समुदायका बालबालिका पढाइबाट वञ्चित थिए । चेपाङ समुदायको आर्थिक अवस्थाले समेत बालबालिकालाई स्तरीय शिक्षा प्रदान गर्ने अवस्था थिएन । स्वास्थ्योपचारमा पहुँच थिएन । सुरक्षित सुत्केरी र ज्वरो आउँदा सिटामोलसमेत प्राप्त गर्थेनन् । अहिले यी अवस्थामा बिस्तारै सुधार हुँदै छ ।
अति सीमान्तकृत चेपाङ समुदायमा अहिले पनि शतप्रतिशत राज्यले प्रदान गर्ने आधारभूत सेवासुविधा पुग्न सकेको छैन । तर प्रविधिको विस्तार र चेतनाका कारण क्रमिक रूपमा यो समुदायको नयाँ पुस्ता परम्परागत भीरपाखाको दैनिकीबाट बाहिरिएर परिवर्तनमा अग्रसर छ । नयाँ पुस्ता परिवर्तनको दिशामा अग्रसर देखिन थालेको छ ।
पछिल्लो समय मुलुकका संरचनागत परिवर्तन र संवैधानिक व्यवस्थाले यो समुदायलाई नेतृत्व तहमा पुर्याएको छ । नेतृत्वमा पुगेपछि उनीहरूले अवसर पनि देख्न थालेका छन् । राज्यका निकायमा चेपाङ समुदायका व्यक्तिको पहुँच बढ्न थालेको छ । शिक्षाको कमीले गर्दा चेपाङ समुदायका व्यक्तिले प्राप्त अवसर सदुपयोग गर्न सकेका थिएनन्, पछिल्लो समय शिक्षित जमात बढिरहेकाले अवसर कसरी सदुपयोग गर्न सकिन्छ भन्ने चेतनासमेत चेपाङ समुदायमा बढ्न थालको छ । एक समय चेपाङले लेखपढ गर्ने कुरा सपना जस्तो लाग्थ्यो । शिक्षा भनेको हुनेखानेको हो जस्तो लाग्थ्यो । गाउँमा प्राथमिक तहका विद्यालय भए पनि हाम्रो समुदायका बालबालिकाका लागि माध्यमिक तहको अध्ययन नै फलामको चिउरासरह हुने गर्थ्यो । अहिले गाउँगाउँमा माध्यमिक र उच्च शिक्षा अध्ययनका लागि पूर्वाधार बनिसकेका छैनन् । तर चेपाङमा पनि पढ्नुपर्छ भन्ने मान्यताको विकास भएकाले शिक्षामा सहभागिता बढिरहेको छ ।
चेपाङ समुदायलाई शिक्षामा अग्रसर गराउन चितवनको सरकारी पहल मात्र पर्याप्त छैन । यहाँ केही मनकारी र सामाजिक संस्थाको पहलले विद्यालय जाने चेपाङ बालबालिकाको संख्या बढिरहेको छ । चेपाङ समुदायको बाध्यता र विवशता देखेर खुलेका सामाजिक संस्थाले शिक्षालाई प्राथमिकता दिएका छन् । ती संस्थाका कारण विद्यालयको मुख देख्ने धेरै छन् । पछिल्लो समय पहाडी क्षेत्रमा समेत बाटोघाटो निर्माण र विद्यालयका सेवा, सुविधामा सुधार र स्तरोन्नतिले पनि पढ्ने वातावरण तयार गरेको देखिन्छ ।
२०६८ सालको जनगणना तथ्यांकअनुसार चेपाङ समुदायमा २३ प्रतिशत व्यक्तिमात्रै साक्षर थिए । आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन २०७७/७८ अनुसार साक्षर चेपाङको संख्या ४८ दशमलव ८८ प्रतिशत पुगेको देखाएको छ । यसले पनि सीमान्तकृत समुदायको विकासका लागि शिक्षाको आवश्यकता र यसले ल्याउने परिवर्तनको जरुरीलाई प्रस्ट्याउँछ । शिक्षामा आएको सुधार, राज्यका निकायमा चेपाङ समुदायको उपस्थितिमा सुधार भए पनि अझै हाम्रासामु चुनौतीको चाङ छ ।
समुदायलाई अगाडि बढाउन शिक्षा पहिलो प्राथमिकता हो । तर चेपाङ समुदायको बसोबास रहेको क्षेत्रको भौगोलिक विकटता, विद्यालयको कमी र आर्थिक अभावले चेपाङ बालबालिका र युवालाई निर्धक्क अगाडि बढ्ने वातावरण बन्न सकेको छैन । अझै पनि चेपाङ बस्तीमा चेतनाको अभाव छ । विकट भूगोल र गरिबी चेपाङ समुदायको उन्नतिका लागि बाधाका रूपमा छन् । अझै विद्यालय पुग्न बालबालिकाले घण्टौं पैदल यात्रा गर्नुपर्ने बाध्यता हटेको छैन । जसले गर्दा धेरै बालबालिका विद्यालय जाँदैनन् । विद्यालय नगएपछि बालविवाह र बाल मजदुरीको फन्दामा पर्ने गरेका छन् ।
सरकारले माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिएको छ । अहिले स्थानीय तहको संरचनागत पहुँच घरघरसम्म स्थापित भएको छ । त्यसैले चेपाङ समुदायको शैक्षिक अवस्था सुधारका लागि पालिकाले नै पहल गर्नुपर्ने देखिएको छ ।
चेपाङ बालबालिकाको शैक्षिक सुधारका लागि केही गैरसरकारी संस्थाले गरिरहेको पहल उल्लेख्य छ । ९ वर्षदेखि लक्ष्मी प्रतिष्ठानले राप्ती नगरपालिका–१२ र १३ मा शैक्षिक सुधारका लागि परियोजना सञ्चालन गर्दै आएको छ । चेपाङ समुदायका बालबालिकाको शिक्षामा पहुँच पुर्याउने उद्देश्यले कान्दामा निःशुल्क कुमार–बलराम छात्रावास सञ्चालन गरिरहेको छ । उक्त छात्रावासका कारण धेरै बालबालिकाले शिक्षाको अवसर प्राप्त गरेका छन् ।
कान्दा र आसपासका बालबालिकालाई शिक्षाको अवसर प्रदान गर्न ५ वर्षदेखि काभ्रेको चौंरीदेउराली–४, धुसिनीमा निःशुल्क कुमार–बलराम स्मृति छात्रावास सञ्चालन गर्दै आएको छ । दुवै स्थानमा गरी अहिलेसम्म १ सय ९० जना बालबालिकाले शिक्षाको अवसर पाइरहेका छन् । चितवनको रत्ननगर नगरपालिकाको मंगलापुरमा एक दशकभन्दा लामो समयदेखि गामबेंसीको चेपाङ केन्द्रले चेपाङ बालबालिकाका लागि निःशुल्क छात्रावास सञ्चालन गरिरहेको छ ।
उक्त छात्रावासमा अहिले पनि एक सय ५० बालबालिकाले आवासीय सुविधासहित अध्ययन गरिरहेका छन् । उक्त छात्रावासमा बसेर अध्ययन गरेका केही व्यक्ति अहिले उच्च शिक्षा पूरा गरेर चेपाङ गाउँमै स्वास्थ्य, शिक्षा र प्राविधिक क्षेत्रमा काम गरिरहेका छन् । शिक्षाको अवसर पाएपछि सरकार र गैरसरकारी क्षेत्रमा चेपाङ समुदायका युवाको प्रवेश भएको छ । आफ्नो अधिकार र हकबारे जानकारी भएपछि चेपाङ समुदाय सचेत बनेका छन् । पहिले घाँस दाउरा र मजदुरीमा सीमित समुदायका व्यक्तिले विभिन्न उद्यम सञ्चालन गरेर जीविकोपार्जन गर्न थालेका छन् । त्यसले केही वर्षअघिसम्म भीरपाखामा सीमित समुदाय फैलिन थालेको छ ।
