सहकारी ठगी र भीडको भाष्य

आश्विन २१, २०८१

राजेन्द्रसिंह भण्डारी

Cooperative cheating and crowd commentary

प्रहरी : तिमीले अर्काको भैंसी चोरेको हो ?चोरले चर्को स्वरमा भन्यो : मैले कसैको भैंसी चोरेको त के कुरा, अहिलेसम्म भैंसी देखेको पनि छैन । मैले त दाम्लो मात्रै तानेको हो, दाम्लोमा भैंसी आफैं अल्झिएर आयो त मेरो के दोष ? अझ मलाई चोरको आरोप लगाउने तिमी को ? म को हुँ, मेरो पहुँच कहाँसम्म छ भन्ने कुरा तिमीलाई थाहा छैन ? 

भैंसी चोरले प्रहरीलाई नै उल्टै हप्काएपछि प्रहरीले पनि न्वारनदेखिकै साहस जुटाएर फेरि प्रश्न गर्‍यो : उसो भए अर्काको दाम्लो किन तानेको त ?

चोर : के दाम्लो तान्नु अपराध हो ? दाम्लो तान्नु र भैंसी चोर्नुमा भेद छैन ? दाम्लो तान्दैमा मलाई भैंसी चोरको आरोप लगाउने ?

प्रहरी : त्यही दाम्लोसँगै अल्झिएर गएको भैंसी त तिम्रै गोठमा फेला पर्‍यो नि त ! 

चोर : मैले तानेकै दाम्लोमा भैंसी बाँध्ने को थियो ? यो विषयमा मलाईभन्दा बढी थाहा उसैलाई होला । मसँग यस विषयमा अनावश्यक कचकच नगर । 

प्रभावशाली पहुँचवाला चोरले इन्कारी बयान गरेर चोरीको भैंसीमा आफ्नै दाबी गरिसकेपछि चोर र प्रहरीबीचको सोधपुछ अघि बढ्न सकेन । यही विषयमा पछि गएर दाम्लो तान्नु र भैंसी चोर्नुको भेद छुट्याउन उच्चस्तरीय छानबिन समिति नै गठन गरियो ।

प्रहरी र भैंसी चोरबीचको संवाद प्रसंगलाई मेरा मित्र हेमन्त मल्ल, जो सुरक्षा र प्रहरी अनुसन्धानका विषयमा सार्वजनिक रूपमा आफ्ना धारणा निष्पक्ष पस्किने गर्नुहुन्छ, उहाँले सार्वजनिक गर्नुभएको व्यंग्यात्मक टिप्पणीलाई सान्दर्भिक परिमार्जनसहित यहाँ विषयानकूल बनाउन खोजिएको मात्र हो । 

वास्तवमा, सत्य–असत्यलाई तथ्यसंगत र न्यायसंगत हल गरिनुपर्ने विषयलाई अनावश्यक रूपमा राजनीतिक तर्कको विषय बनाएपछि अहिले सहकारी ठगीको विषय राजनीतिक टिप्पणी र चर्चाको विषय बन्न गएको देखिन्छ । पछिल्लो समय विचारको राजनीतिमा हुर्केका र फुर्केका पुराना ‘टेस्टेड एन्ड फेलियर’ नेताको पुनरावृत्तिलाई रोक्नैपर्ने अनिवार्य आवश्यकताको मुद्दालाई बजारको राजनीतिले विकल्पका रूपमा ठगी खाने र गरी खाने दुवै खाले वैकल्पिक पात्र जन्माएको छ । बजारको राजनीति माग र आपूर्तिमा मात्र केन्द्रित रहने भएकाले आमनागरिकको माग र आपूर्तिमा असन्तुलन उत्पन्न हुनासाथ वैकल्पिक पात्रको वास्तविक अनुहार क्रमश: देखा पर्दै जान्छ । ‘नो नट अगेन’ का राजनीतिक पात्रको विरोध र प्रतिरोधका लागि पठाइएका वैकल्पिक पात्र रविका पछिल्ला क्रियाकलाप र राजनीतिक भूमिकाले उनको राजनीतिक प्रवेशको उद्देश्य नै आफ्ना विगतका अपराधजन्य कर्मलाई सुरक्षित अवतरण गराउनु रहेको हो कि ? आशंका गर्न सकिन्छ । 

हाम्रो जस्तो मुलुकको राजनीतिमा गुणकारी र गुणवत्ताको हातमा राजकीय सत्ता जाने सम्भावना क्षीण भइसकेकाले सानदार झूट बोल्न सक्ने दोगला प्रवृत्तिका व्यक्तिले सत्ताको दाम्लोका माध्यमबाट नागरिकका सपना चोर्न सफल भएका देखिन्छन् । चाणक्य नीतिमा भनिएझैं, जुन देशका नेता दोगला चरित्रका हुने गर्छन्, त्यस्तो देशमा या त छिमेकीले या त भ्रष्टाचारीले शासन चलाउँछन् । राजनीतिमा को ठग को ठीक भन्ने सीमारेखा नै मेट्टिसकेपछि जो ठग उही ठीक भनेर समाजले पनि अनुमोदन गरिदिने प्रवृत्तिले ठगहरू दिनानुदिन हौंसिँदै गएका देखिन्छन् । कानुनी प्रक्रिया र अनुसन्धानले तथ्यबाट सत्यलाई उद्घाटित गर्नुपर्ने विषयमा पनि राजनीतिक तर्क र कुतर्कका आधारमा सबैले आ–आफ्नै किसिमले ठीक र ठगीको दाबी र आरोप लगाइरहेका देखिन्छन् । अहिले सहकारी ठगीमा रविको संलग्नताका विषयमा पनि अनुसन्धानबाट संकलित तथ्यलाई राजनीतिक रंग दिने अनुचित र असंगत प्रयास भइरहेको देखिन्छ । ठगी गरिएको र गराइएको विषय त उहिले नै स्थापित भइसकेको थियो, पदीय आडमा दबाउन खोजिएको विषयलाई अहिले फेरि हुलहुज्जतका आडमा विषयान्तर गर्न खोजिएको देखिन्छ । 

ठगी जस्ता आर्थिक प्रकृतिका अपराधमा मुख्यतया लिने, दिने र खाने तीन तहका व्यक्तिको संलग्नता रहन्छ । सहकारी ठगीमा पनि को कसको, के–कस्तो संलग्नता छ भन्ने कुरा त संसदीय छानबिन समितिको गठनपूर्व नै घटना सम्बद्ध तथ्यले सु–स्पष्ट रूपमा स्थापित गरिसकेको विषय हो । तर, सत्ता समीकरणले तथ्यकै व्याकरणमा प्रभाव पारिरहने अवस्थाका कारण यो प्रकरणलाई अनावश्यक रूपमा अन्तै मोड्न खोजिएको देखिन्छ । प्रहरीको अनुसन्धान राय प्रतिवेदन र सरकारी वकिलको अभियोग, अभियोजनबाट टुंग्याउनुपर्ने विषयलाई राजनीतिको सहमति, असहमतिको विषय बनाएर अनर्गल प्रचारमा ल्याइएका कारण सहकारी ठगीको मुद्दा र पीडित सर्वसाधारणको वास्तविक न्यायोचित मागको मुद्दा ओझेलमा पर्न गएको देखिन्छ । कानुनी रूपमा र व्यावहारिक चलनचल्तीका रूपमा पनि ठगी जस्ता आर्थिक अपराधलाई परिभाषित गर्दा अरूलाई झुक्यानमा पारेर आफ्नो दुनो सोझ्याउने आपराधिक कार्य नै ठगी हो । जसमा सबैभन्दा पहिला झुक्याउनका लागि योजना बनाउने व्यक्ति वा समूह तयार गरिन्छ । तदअनुरूप को कसले, के कसरी झुक्याउने र छक्याउने भनी कामको बाँडफाँट गरिन्छ । झुक्याउने योजनाको कथा–पटकथा तयार पार्ने मुख्य पात्रले दाम्लो आफ्नै हातमा लिएको हुन्छ र भैंसी भने अरूलाई नै चोर्न पठाउने गर्छ । यी सबै कामलाई नेतृत्व दिने व्यक्ति नै ठगी अपराधको ‘डिफ्याक्टो एक्टर’ अर्थात् घटनामा मुख्य भई बचन दिने पात्र हुने गर्छ । जसले पछि गएर अनुसन्धनात्मक र अभियोजनात्मक प्रक्रियाबाट ठहरिएबमोजिमको आपराधिक दायित्वलाई पनि मुख्य अपराधी र ठगी रकम मस्योटकर्ताको दायित्व बहन गर्नैपर्ने हुन्छ । किनभने घटनाको परिणाममा पनि निजले नै ठगीको रकमबाट अत्यधिक लाभ लिन सफल भएको हुन्छ । 

अहिले सार्वजनिक तथ्यले पनि ठगीबाट प्राप्त आफ्नो हक नपुग्ने अरू सर्वसाधारणको रकमलाई सबैभन्दा बढी भोगचलन र अपचलन गर्ने कार्यमा रविको भूमिका अग्रणी रहेको देखिन्छ । यो आफैंमा प्रमाणित तथ्य हो । यस्तो प्रमाणित तथ्यलाई पनि यो वा त्यो शब्दावलीको प्रयोग र असान्दर्भिक र अनुसन्धान प्रयोजनमा कानुनी हैसियत नै नराख्ने प्रतिवेदनको बुँदाको हवाला दिएर फेरि अर्को ठगी नगरौं । त्यसैले, भैंसी दाम्लोमा आफैं झुक्किएर आउने गर्दैन, अबोध भैंसीमा चतुर मानवको जस्तो झुक्याउने, छक्याउने कला हुँदैन भन्ने कुरा अब सबैले बुझिसकेका छन् । आफैं ठगीमा परिसकेका बाहेकका अन्य अन्धभक्तले पनि ढिलोचाँडो बुझ्ने नै छन् । यस्तो अवस्थामा भैंसीको टाउकोमा दोष थुपारेर आफूले अपचलन गरेको निमुखा नागरिकको श्रम पसिनाको रकम हिनामिना गरेको दायित्वबाट उम्किने दुष्प्रयास नगरौं । 

सहकारी ठगी प्रकरण

राजेन्द्रसिंह भण्डारी नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक हुन् ।

Link copied successfully