पोखरा — पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा थप एकजना प्रतिवादी पक्राउ परेकी छन् । कास्की प्रहरीले गुल्मी मुसिकोट नगरपालिका-४ स्थायी घर भई हाल ललितपुर-१५ खुमलटार बस्ने ३२ वर्षीया लिला पछाईलाई आइतबार पक्राउ गरेको हो ।
उनले गितेन्द्रबाबु (जीबी) राईसँग मिलेमतो गरी तीन करोड रूपैयाँभन्दा बढी रकम आफ्नो बैंक खातामा लगेर चल अचल सम्पत्ति खरिद गर्ने र शेयर कारोबारमा लगानी गर्ने गरेको आरोप छ ।
सहकारी संस्थाको सेयर, बचत तथा जगेडालगायत विभिन्न कोषमा हुनुपर्ने रकम सहकारी ऐन, नियमावली र संस्थाको विधानविपरीत हिनामिना एवं अपचलन गरी गैरकानुनी कार्य गरेको प्रहरीले बताएको छ । उनलाई जिल्ला अदालत कास्कीबाट ४ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।
सूर्यदर्शन ठगीमा ४४ जना विरूद्ध पक्राउ पूर्जी जारी भएकोमा हालसम्म ८ जना पक्राउ परका छन् ।
ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई सूर्यदर्शन ठगीको आरोपमा समेत पक्राउ पूर्जी जारी भएको थियो । उनी सहकारी स्थापनाताका सञ्चालक समितिमा थिए । भारतबाट पक्राउ परेका उनी हाल बागलुङ र पोखरामा रहेको इमेज सहकारी ठगी अभियोगमा बाग्लुङ प्रहरी कार्यालको हिरासतमा छन् ।
