नेपालका अधिकांश जनसंख्या अस्वस्थकर हावामा श्वास फेर्न बाध्य छन् ।
सन् १९५२को डिसेम्बर ५ । लन्डन सहरको वायुमण्डल एकाएक बाक्लो तुवाँलोले ढाकियो । हिडँडुल गर्न नै मुस्किल हुने गरी सहर प्रदूषित मात्रै बनेन, सवारी साधानहरु रोकिए । रेलवे बन्द भयो । स्वास फेर्न गाह्रो भएर लन्डनबासीहरु निस्सासिए । यो क्रम झण्डै पाँच दिनसम्म जारी रह्यो ।
यो घटना यति भयानक बन्यो कि झन्डै ४ देखि १२ हजार लन्डनवासीले अकालमा ज्यान गुमाए । दूषित हावाका कारण मानव स्वास्थ्य मात्र नभई पशुपंक्षीहरू समेत प्रभावित भए ।
‘द ग्रेट स्मग अफ लन्डन’ नाम दिइएको यो घटनाबाट विश्व समुदायलये वायु प्रदूषणको चरम रुपलाई प्रत्यक्ष देख्न र भोग्न पुग्यो । प्रमुखतः कोइला लगायतका खनिज इन्धन बल्दा निस्कने विषाक्त कण र धुवाँबाट सिर्जित यो घटनाका कारण कयौं मानिसहरू श्वासप्रश्वाससम्बन्धी रोगबाट ग्रसित भए । यही घटनाबाट पाठ सिक्दै बेलायतले सन् १९५६ मा स्वच्छ हावा सम्बन्धी विषेश कानुन ल्यायो ।
२०औं शताब्दीमा पश्चिमा मुलुकहरूले खनिज इन्धनको अधिक प्रयोगबाट भोगेको वायुप्रदूषण समस्या हिजोआज भने एसियाली मुलुकहरूमा देखिन थालेको छ । २१औं शताब्दीको सुरुआती देखि नै यो समस्याबाट दक्षिणपूर्वी र दक्षिण एसियाली मुलुकहरू प्रताडित बन्न थाले ।
उदाहरणका लागि सन् २००६ मा एसियाली तुवाँलोको नामले चिनिने एक उच्च वायुप्रदूषणको घटनामा इन्डोनेशिया, मलेसिया, सिङ्गापुर, थाइल्याण्ड लगायतका देशहरू प्रभावित भए । यसैगरी विगत केही दशकयता दक्षिण एसियाली देशहरू नेपाल, भारत, पाकिस्तान, बंगलादेश उच्च वायु प्रदूषणको चपटेमा पर्ने गरेका छन् ।
‘ग्लोबल वर्डन अफ डिजिज’ले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार विश्वभर करिब १२ प्रतिशत मानव मृत्युको कारण केबल वायु प्रदूषण रहेको देखिन्छ । नेपालमा यो अवस्था अझ गम्भीर छ जहाँ कारिब १८ प्रतिशत मानव मृत्युको कारण केबल वायु प्रदूषणका रहेको छ ।
फोहोरमैला खुला रुपमा जलाइँदै
वायु प्रदूषणका कारण मानव स्वास्थ्यमा परेको गम्भिर प्रभाव सँगै यो विषयमा नेपालमा व्यापक बहस हुने गरेकोछ । दक्षिण एसियामा मनसून सुरु हुनुपूर्व सुख्खा मौसममा वन डढेलो, कृषिजन्य जैविक पदार्थको खुला दहनमा बृद्धि हुँदा वायुप्रदूषण बढ्ने गरेको पाइन्छ । तर वर्षा सुरु भए लगत्तै वायुको गुणस्तरमा सुधार हुन्छ र वायु प्रदूषणको मुद्दा पनि सेलाउने गर्छ ।
वर्षभरी नै दूषित हावामा स्वास फेर्छन् नेपाली
मनसुनको सुरुवातसँगै काठमाडौं उपत्यकाको वायुको गुणस्तरमा केही सुधार हुने भएता पनि प्रदूषणस्तर भने विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)को मापदण्डभन्दा निकै बढी हुने गरेको छ । उक्त मापदण्ड अनुसार हावामा २.५ माइक्रोन वा सोभन्दा सानो व्यास भएका कण(पीएम २.५)को वार्षिक औसत मात्रा प्रति घनमिटरमा ५ माइक्रोग्राम वा त्योभन्दा कम हुनुपर्छ । पीएम २.५ हावामा तैरने सूक्ष्म कणहरू हुन् जुन स्वासप्रश्वासको क्रममा फोक्सोसम्म पुग्न सक्छन् । खनिज इन्धन, काठ दाउरा बाल्दा र कृषि क्षेत्रबाट यस्ता कणहरू उत्सर्जित हुन्छन् ।
वातावरण विभागले सन् २०२३ मा वायुप्रदूषण सम्बन्धी सार्वजनिक गरेको प्रतिवेदनमा काठमाडौं उपत्यका र तराईका भू–भागमा हिउँद र सुख्खायाममा वायु गुणस्तर निकै खस्किने गरेको उल्लेख छ । प्रतिवेदनमा कञ्चनपुर, धनगढी, रारा, नेपालगन्ज, दाङ, पोखरा, काठमाडौं उपत्यका, सिमरा, जनकपुर, विराटनगर, धनकुटा र दमक लगायतका स्थानहरूमा सन् २०२१ मा पिएम–२.५ को वार्षिक औसत मात्रा १७ देखि ७० माइक्रोग्राम प्रति घनमिटरसम्म मापन गरिएको उल्लेख छ । यो भनेको डब्लूएचओको मापदण्डभन्दा साढे ३ देखि १४ गुणासम्म ज्यादा हो ।
चन्द्रागिरीको एक बनक्षेत्रमा कोइला उत्पादनका लागि गरिएको जैविक पदार्थको खुला दहन
यहाँ उल्लेख गरिएको तथ्यांक सन् २०२१लाई आधार मानेर विभागले निकालेको प्रतिवेदन हो । त्यसवर्ष कोभिड–१९ महामारीका कारण सिंगो मुलुक लकडाउनको अवस्थामा थियो । लकडाउन नभएका सामान्य वर्षहरूमा वायु गुणस्तर अझै नाजुक भएको हुनसक्ने सहज अनुमान गर्न सकिन्छ । यो तथ्यांकलाई नेपालको वायु गुणस्तर सम्बन्धी समग्र चित्र मान्ने हो भने देशको शत प्रतिशत जनसंख्या अस्वथकर हावामा श्वास फेर्न बाध्य छन् ।
अर्कोतर्फ, नेपालको वायु गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्डमा विभिन्न ९ प्रकारका मुख्य प्रदूषकहरूको मात्रालाई नियमन गरिएको भएता पनि हाल सञ्चालन भइराखेका वायु गुणस्तर मापन केन्द्रहरूमा भने तीमध्ये केहि प्रदूषकहरू, विशेषतः पीएम (कणजन्य प्रदूषक) मात्र मापन गरिराखिएको छ ।
नियमन गरिएका मध्ये धेरै ग्यासजन्य प्रदूषकहरू जस्तै नाइट्रोजन डाइअक्साइड, सल्फर डाइअक्साइड, कार्बन मोनोअक्साइड, बेन्जिन, ओजोन आदिको मापन धेरै केन्द्रहरूमा अझै सुरुवात भएको छैन । यसकारण नेपालमा वायुप्रदूषणको अवस्थाको मूल्याकंन धेरैजसो पीएमको मात्रामा मात्र आधारित छ । यसर्थ पीएमका अलवा ग्यासजन्य प्रदूषकहरूको पनि मापन गर्न जरुरी देखिन्छ ।
नेपालका अलवा विभिन्न दक्षिण एसियाली सहरहरूको पीएम२.५ को तथ्यांक विश्लेषण गर्दा सन् २०२१ को वार्षिक औसत मात्रा ढाकामा ९८, नयाँ दिल्लीमा ९९ र इस्लामावादमा ५२ माइक्रोग्राम प्रति घनमिटर मापन भएको पाइएको छ । यस तथ्यांकबाट वायुप्रदुषणको अवस्था नेपालमा मात्र नभई अन्य दक्षिण एसियाली देशहरूमा समेत चिन्ताजनक छ भन्ने स्पष्ट हुन्छ ।
नेपालमा सुख्खा मौसममा मात्र नभइ अन्य महिनाहरूमा समेत वायु गुणस्तर प्राय अस्वस्थकर हुने गरेकाले पछिल्ला केही दशकहरू देखि नै यो एउटा प्रमुख जनस्वास्थ्य तथा पर्यावरणीय समस्याको रुपमा रहिआएको र उच्च प्रदूषणका घटना (सिभियर पोलुशन एपिसोड) हरू समेत वर्षेनि दोहोरिराख्नुले यस चुनौतीको गहन विश्लेषण र ठोस कदमको आवश्यकता रहेको संकेत गर्दछ ।
वायु प्रदूषणलाई मृत्युको मौन कारकको रुपमा लिने गरिन्छ । तर नेपालको सन्दर्भमा वायुप्रदूषणको जोखिम धेरै नै छ ।
ग्लोबल बर्डन अफ डिजिजको प्रतिवेदन अनुसार सन् २०२१मा मात्र नेपालभर वायुप्रदूषणका कारण झण्डै ४८ हजार ५ सय मानिसहरूको अकालमा ज्यान गुमाए । सन् २०२१ मा वायुप्रदूणका कारण भएको अकाल मृत्युको यो संख्या कोभिड–१९ महामारीका कारण नेपालमा हालसम्म भएको जम्मा मृत्यु संख्याको तीन गुणाभन्दा बढी हो ।
यद्यपी जहाँ अकाल मृत्युको सवाल रहन्छ, त्यहाँ संख्या गौण रहनुपर्छ । तथापी अकाल मृत्यु संख्या (मोर्टालिटी बर्डन) र जोखिम कारकको अवधि (परसिस्टेन्स) को आधारमा तुलना गर्ने हो भने नेपालमा वायुप्रदूषणलाई कोभिड–१९ महामारी भन्दा पनि कैयन गुणा ठूलो जनस्वाथ्य जोखिमको कारक मान्न सकिन्छ ।
वायु गुणस्तर सुधार सम्भव छ
नेपालमा घरायसी इन्धनको प्रयोग, उद्योग कलकारखाना तथा सवारी साधन, कृषिजन्य जैविक पदार्थको खुला दहन, वन डढेलो, ठोस फोहोरमैलाको दहन आदि वायूप्रदूषणका प्रमुख स्रोतहरू हुन् । तर यी क्षेत्रबाट कति मात्रामा प्रदूषकहरू उत्सर्जन हुन्छ भन्ने यथेष्ट र अद्यावधिक तथ्यांक उपलब्ध छैन । यसकारण नेपालमा वायुप्रदूषणका प्रमुख स्रोतहरू पहिचान गरी नियमन तथा नियन्त्रण गर्नका लागि पूर्ण र अद्यावधिक इमिसन इन्भेन्ट्री प्रणालीको स्थापना गर्नु अपरिहार्य छ ।
यसको अलवा विशिष्ट मौसमी अवस्थामा भारत लगायत अन्य दक्षिण एसियाली देशहरूबाट हावाको वहावसँगै आउने प्रदूषकहरूले पनि नेपालको वायु गुणस्तरमा उल्लेख्य प्रभाव पार्ने गरेको अध्ययनहरूले पुष्टि गरेका छन् । तथापी सीमापारका प्रदूषण स्रोतहरूको समग्र नेपालमा कति प्रभाव पर्छ भन्ने तथ्यांक भने उपलब्ध छैन ।
वायुप्रदूषण विश्वव्यापी र दशकौं पुरानो पर्यावरणीय समस्या हो । यसर्थ वायुप्रदूषण नियन्त्रणसम्बन्धी प्रशस्तै प्रविधि तथा नीतिहरूको संसारभर अध्ययन अनुसन्धान र प्रयोग भइआएको छ । प्राविधिक र नीतिगत साधनहरू प्रयोग गरी संसारका धेरै विकसित राष्ट्रहरूले वायु गुणस्तरमा उल्लेख्य सुधार गरेका छन् ।
करिब एक दशक अगाडिसम्म वायुप्रदूषणको विकराल अवस्थासँग जुधिराखेको मुलुक चीनले सन् २०१३ देखि २०१७ बीच पाँच वर्षको छोटो अवधिमै स्वच्छ हावा सम्बन्धी कार्ययोजनामार्फत आफ्ना मुख्य सहरहरूमा पीएम–२.५ को वार्षिक औसत मात्रा ३० प्रतिशत भन्दा बढीले घटाउन सफल भएको थियो ।
उच्च प्रदुषणको समयमा बाक्लो तुवाँलोले ढाकिएको काठमाडौँको वायुमण्डल
नेपाल जस्तो विकाससिल देशले यो समस्याको हल गर्न चीन जस्ता सफल राष्ट्रहरूबाट विज्ञान, प्रविधि तथा नीति सम्बन्धी सिकाइ लिएर अगाडि बढ्ने अवसर छ । विश्वका धेरै विकसित देशहरूले २० औं शताब्दीमा अँगालेको खनिज इन्धनमा आधारित विकासको पथबाट जुन वायुप्रदूषण लगायतका पर्यावरणीय समस्या भोगेर त्यसलाई सुधार गर्नका लागि धेरै उर्जा र समय खर्चिनु पर्यो, त्यसबाट नेपाल जस्तो विकासशिल देशले सिकेर दिगो र वातावरणमैत्री विकासको दीर्घकालीन योजना र तत्काल प्रदूषणबाट जनस्वास्थ्य संरक्षणका लागि अल्पकालिन योजना तर्जूमा गरी कार्यान्वयन गर्नु आवश्यक छ ।
कैयन वायुप्रदूषण र हरितगृह ग्यासका उत्सर्जन स्रोतहरू एउटै हुन्छन् । यी दुवै विश्वव्यापी जलवायु परिवर्तन निकट सम्बन्धित समस्या हुन् । त्यसैले वायुप्रदूषण र हरितगृह ग्याँस उत्सर्जन नियन्त्रण सम्बन्धी प्रयासहरू एकीकृत योजना मार्फत अगाडी बढाउँदा दुवै क्षेत्रमा लक्ष्य हासिल गर्न आर्थिक तथा प्राविधिक दुवै रुपमा ज्यादा सहज हुन्छ ।
र, अन्त्यमा वायुप्रदूषण आफैमा एक बहुआयामिक समस्या भएकोले हाल यस सम्बन्धी कार्य गरिराखेको प्रमुख सरकारी निकाय वातावरण विभाग एक्लैबाट यो समस्याको पूर्ण समाधान असम्भवप्राय छ । यसर्थ, वायुप्रदूषण नियन्त्रण सम्बन्धी कार्ययोजना निर्माण र कार्यान्वयन लागि सरोकारवाला सबै निकायहरूको भूमिका रहन्छ । यसका लागि दीर्घकालीन योजना निर्माण गर्न विषय विज्ञ, वैज्ञानिक, नीतिनिर्माता लगायत अन्य साझेदार पक्षहरूसमेत समेटेर विशेष प्राविधिक कार्य समूह (टास्क फोर्स) निर्माण गरेर अघि बढ्न सकिन्छ ।
वायुप्रदूषण नेपालको मात्र समस्या होइन । यो वर्षौं देखि निरन्तर बल्झिँदै गरेको दक्षिण एसियाली क्षेत्रकै साझा वातावरणीय चुनौती हो । समग्र दक्षिण एसिया क्षेत्र वायुप्रदूषणका हिसाबले विश्वकै एक हटस्पटका रुपमा परिचित छ । यसर्थ नेपालको भौगोलिक अवस्थितीका कारण पनि यहाँ वायुप्रदूषण नियन्त्रण गर्नका लागि देशभित्रको मात्र प्रयास अपर्याप्त हुन्छ । यसका लागि भारत, पाकिस्तान आदि जस्ता छिमेकी राष्ट्रहरूसँगको अन्तरदेशिय सहकार्य पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।
(धिताल त्रिभुवन विश्वविद्यालयको वातावरण विज्ञानका उपप्राध्यापक र पोखरेल वातावरणविद् हुन् । )
