२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

बुटवल सहर : सबैको रहर

नवलपरासीदेखि दाङसम्म र उत्तरका पहाडी जिल्ला पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, प्यूठान, बागलुङ, पर्वतसम्मको बुटवलको व्यापारिक साइनो शताब्दी पुरानो हो 

रूपन्देहीको उत्तर चुरे फेदमा अवस्थित बुटवलका परम्परागत नाम खस्यौली, बटौली, बुटौल हुन् । जुनसुकै नामले परिचित रहे पनि बुटवल इतिहासदेखि बसोबास र व्यापारको केन्द्र रहेकामा शंका छैन । विभिन्न तथ्यले बुटवल सयौं वर्षअगाडिदेखि गणराज्यको राजधानी र व्यापारिक नाका रहेको देखाउँछन् । त्यसको उदाहरण जितगढी किल्ला हो । उक्त किल्लामा नेपालले अंग्रेजलाई दुई सय वर्षअघि हराएको इतिहास छ । सेनवंशीय राजाले यसलाई शीतकालीन राजधानीका रूपमा प्रयोग गरेका थिए । बटौली नुन र कपडाको व्यापारसित पनि जोडिएको छ । 

बुटवल सहर : सबैको रहर

सहरबीचबाट महेन्द्र र सिद्धार्थ राजमार्ग विस्तारपछि बुटवलले एक सय वर्षअघि नै आधुनिक स्वरूप प्राप्त गरेको थियो । बुटवल विविधताले भरिपूर्ण सहर हो । ५ सय वर्षअगाडि पाल्पा राज्यका राजा मणिमुकुन्द सेनले काश्मीरबाट कशौधनलाई व्यापारका लागि यहाँ भित्र्याएको पाइन्छ । त्यही सेरोफेरोमा नेवार समुदाय पनि यहाँ आएका थिए । सडक विस्तारसँगै १९९५ सालमा मुस्ताङबाट थकालीहरू यहाँ आए । तत्कालीन समयमै व्यापार विनिमयमा बुटवल प्रख्यात थियो । पहाडबाट बिक्रीका लागि ल्याइएको घिउ प्रशोधन गरेर भारतलगायत मुलुकमा पठाइन्थ्यो । त्यसबेला ल्हासाको नुन, सुन, पहाडको जडीबुटी, घिउ, तेलजस्ता सामग्री बेच्ने थलो बटौली बनेको थियो ।

यसै सन्दर्भमा वि.सं. २०१६ मा बुटवल खस्यौली नगरपालिकाको स्थापना भयो । बहुदलीय व्यवस्था विघटन भएपछि यसलाई बुटवल खस्यौली नगर पञ्चायत बनाइयो । बहुदलीय व्यवस्था पुनःस्थापनापछि यसको नाम बुटवल नगरपालिका राखिएको थियो । २०७१ मंसिर १६ मा उप–महानगरपालिकामा स्तरोन्नति भएको बुटवल बस्नयोग्य सहरका रूपमा रहेको छ । उपमहानगरपालिकाभित्र औपचारिक बसोबास गर्नेको संख्या दुई लाख हाराहारीमा छ । अनौपचारिक रूपमा यहाँ बसोबास गर्नेको संख्या थप २ लाख रहेको अनुमान छ । लोकतन्त्र बहालीसँगै बुटवलले विकासमा फड्को मारिरहेको छ । देशकै मध्यभागमा पर्ने र सहज पहुँच भएकाले यो सहर सबैतिरको रोजाइमा परेकामा दुईमत छैन ।

बुटवललाई समानता, स्वाभिमान र अवसरसहितको बस्नयोग्य सहर बनाउने योजनासहित काम भइरहेको छ । सामरिक र ऐतिहासिक दृष्टिले मात्रै हैन, पर्यटकीय र व्यावसायिक दृष्टिले पनि उत्तिकै महत्त्वपूर्ण थलो हो । वास्तवमा, बुटवल रूपन्देहीको भूगोलमा मात्रै सीमित छैन, बर्दघाटदेखि पश्चिम दाङसम्मको भेग बुटवलबाट प्रभावित क्षेत्र हो । यस क्षेत्रको आर्थिक नेतृत्व बुटवलले गरिरहेको छ । चाहे त्यो विकासमा होस्, चाहे मानव संसाधनका क्षेत्रमा, बुटवलले अगुवाइ गरिरहेको छ । विकासका दृष्टिकोणले काठमाडौं उपत्यकाबाहिरका अग्रणी सहरमध्येको बुटवल एक हो ।

नवलपरासीदेखि दाङसम्म र उत्तरका पहाडी जिल्ला पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, प्यूठान, बागलुङ, पर्वतसम्मको बुटवलको व्यापारिक साइनो शताब्दी पुरानो हो । भौतिक पूर्वाधारको विकास र मानव संसाधनको विकासमा पनि बुटवलले राष्ट्रिय रूपमै नेतृत्व गर्ने क्षमता राख्छ । देशमा भएका महत्त्वपूर्ण परिवर्तन र उपलब्धिहरूमा बुटवलले नेतृत्वदायी भूमिका खेल्दै आएको छ । अन्तर्राष्ट्रिय सभाहल तथा प्रदर्शनी केन्द्र, झन्डै ६ अर्बको लगानीमा स्तरोन्नति हुँदै गरेको लुम्बिनी प्रादेशिक अस्पताल, सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दा, व्यवस्थित अटो भिलेज, ढुवानीग्राम, खेल पूर्वाधार, शैक्षिक पूर्वाधार, पूर्वपश्चिम राजमार्ग र सिद्धार्थ राजमार्गको संगमस्थल जस्ता भौतिक तथा सेवामूलक क्षेत्रको विकास र विस्तारले बुटवललाई अग्रणी नगरको रूपमा उभ्याउने प्रयास गरेका छन् ।

बुटवल उप–महानगरपालिकाले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र रोजगारीलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको छ । विकाससँगसँगै नगरको सौन्दर्यीकरण, सहरी व्यवस्थापन र सेवा–सुविधामा सुधार ल्याउनका लागि हामी संघ र प्रदेश सरकारसँग साझेदारी गर्दै अगाडि बढिरहेका छौं । सेवा प्रवाहलाई जनमुखी बनाउन घरदैलो सेवा सुरु गरेका छौं । बाआमासँग नगरप्रमुख कार्यक्रममार्फत ६० वर्षमाथिका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण तथा औषधि वितरण, अपांगता परिचयपत्र वितरण, सुत्केरी महिलाको स्वास्थ्य जाँच, पशुचौपायाको स्वास्थ्य परीक्षण तथा औषधि वितरणलगायतका कार्यक्रम नागरिकको घरदैलोमै पुर्‍याइएको छ । बुटवलले गृहिणी महिला तथा युवालाई स्वरोजगार बनाउँदै विदेश पलायन रोक्ने उद्देश्यले गृहिणी महिला स्वरोजगार कार्यक्रम, महिला उद्यमशीलता, युवा इलमजस्ता कार्यक्रममार्फत सीप र रोजगारसँग जोड्दै छौं । हामीले कफी बनाउने सीपदेखि प्लम्बिङ, वायरिङ, कम्प्युटर नेटवर्किङ, कपडा सिलाउने, सुनचाँदीका गहना बनाउने, टपरी बनाउने, चुरापोते बनाउनेजस्ता तालिम सञ्चालन गर्ने र स्वरोजगार हुन चाहनेहरूलाई थप प्रोत्साहन गर्ने काम गरिरहेका छौं । यस वर्ष १ हजार जना महिलालाई विभिन्न सीपमार्फत उद्यममा जोड्ने गरी काम भइरहेको छ ।

बुटवल यसै पनि शिक्षामा अब्बल क्षेत्र हो । माध्यमिक स्तरमा देशमै उत्कृष्टमध्येका कालिका मावि, नवीन औद्योगिक मावि, कान्ति माविजस्ता सार्वजनिक विद्यालय छन् । जहाँ विद्यार्थीलाई भर्नाका लागि पालो कुर्नुपर्ने अवस्था छ । निजी क्षेत्रबाट पनि उत्तिकै स्तरीय शिक्षा प्रदान भइरहेको छ । एसईई होस् वा उच्च शिक्षा– बुटवलले देशमै ख्याति कमाएको छ । हामीले आन्तरिक स्रोतबाट मात्रै यस वर्ष शिक्षामा साढे ८ करोडभन्दा बढी बजेट छुट्याएका छौं । प्राविधिक शिक्षामा बुटवल टेक्निकल इन्स्टिच्युटमा सिभिल इन्जिनियरिङतर्फ स्नातक तहको अध्ययन आरम्भका लागि काम अघि बढेको छ । बुटवल–१६ मा कृषिविज्ञान (बीएससीएजी) कलेज स्थापनाका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ ।

स्वास्थ्यमा हामी निर्वाचित भएर आएदेखि विशेष कार्यक्रम सञ्चालन गरेका छौं । टोलटोलमा प्राथमिक उपचार कार्यक्रम, पोषण, सुरक्षित मातृत्व, ज्येष्ठ नागरिक तथा किशोरकिशोरी लक्षित कार्यक्रम, स्वास्थ्य संस्थाहरूको स्तरोन्नति तथा गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकतामा राखिएको छ । ६० वर्षमाथिका ज्येष्ठ नागरिकको स्वास्थ्य उपचारलाई प्रभावकारी बनाउन बाआमासँग नगरप्रमुख कार्यक्रममार्फत चिकित्सकसहितको स्वास्थ्य टोली घरमै पुगेर स्वास्थ्य जाँच गर्ने र औषधि वितरण गर्ने कार्यक्रम सञ्चालनमा रहेको छ । गर्भवती महिलाको जाँच तथा निःशुल्क औषधि वितरण, सुत्केरी महिलालाई १४ दिनभित्रमा तीन पटक स्वास्थ्यकर्मी घरमै पुगी स्वास्थ्य जाँच गर्ने, दुग्धवर्द्धक जडीबुटी प्रदान गर्ने जस्ता कार्यक्रम सञ्चालित छन् । स्वस्थ शिशु पोषण कार्यक्रमअन्तर्गत नगरभित्रका सरकारी तथा सामुदायिक अस्पतालमा बच्चा जन्माउने आमाहरूलाई प्रोत्साहन स्वरूप दुई हजार रुपैयाँ र एचआईभी संक्रमित बालबालिकालाई मासिक ३ हजार पोषण खर्च प्रदान गर्दै आएका छौं ।

नगरमा अहिले १५–१५ बेडका अक्सिजन सुविधासहितका दुईवटा अस्पताल निर्माणाधीन छन् । बुटवल उप–महानगरपालिकाकै स्थानीय व्यवस्थापनमा रहेको आम्दा अस्पताललाई विशिष्टीकृत अस्पतालका रूपमा स्तरोन्नति गर्न ३ सय बेडमा स्तरोन्नति हुँदैछ । आगामी वर्ष बुटवलमा पीपीपी मोडेलमा १ सय शय्याको अस्पताल स्थापना गर्ने योजनासहित छलफल चलाइरहेका छौं ।

२०१० सालमा स्थापना भएको बुटवल औद्योगिक क्षेत्र पर्याप्त नभएपछि डेढ दशकअघि मोतीपुर औद्योगिक क्षेत्र स्थापना सुरु भयो । लामो समय विवादमा परेको त्यही मोतीपुर औद्योगिक क्षेत्र शिलान्यास भएर अलपत्र छ । औद्योगिक क्षेत्रको जग्गा विवादलाई मध्यमार्गी समाधान खोज्न बुटवल उप–महानगरपालिकाले समन्वयकारी भूमिका खेल्दै आएको छ । जग्गा यकिन गरी व्यवस्थापन गर्न ड्रोन प्रविधिबाट जग्गा नापजाँच गर्ने काम सकेर मन्त्रालयमा पुगिसकेको छ ।

बुटवल भौतिक पूर्वाधारमा अगाडि छ । हामीसँग राष्ट्रियस्तरका संरचनाहरू छन् । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तथा प्रदर्शनी हल छ । ढुवानी ग्राम, व्यवस्थित अटो भिलेज, खेल मैदानहरू बनेका छन् । लुम्बिनी प्रादेशिक अस्पताल, आम्दा अस्पतालका नयाँ भवनहरू बन्दै छन् । सपिङ मलहरू, ठूलठूला तारे होटलहरू सञ्चालनमा छन् भने केही निर्माणका क्रममा छन् । उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखेर पशु वधशाला सञ्चालनमा आउँदै छ । विद्यमान पार्किङको समस्या समाधान गर्न बुटवल उपमहानगरपालिका, नगर विकास कोष र मल्टी डेफोर्ट हार्मोनिक जेभीसँगको सहकार्यमा नगरले बहुतले पार्किङ भवन निर्माणका लागि परामर्शदातासँग सम्झौता गरिसकेको छ ।

राजमार्ग चौराहदेखि गोलपार्कसम्मको ६ लेन सडक छिट्टै सकिने अपेक्षा छ । बुटवल–नारायणगढ ६ लेन सडक स्तरोन्नति हुँदै छ । बुटवल–चन्द्रौटा सडक पनि ४ लेनमा स्तरोन्नति हुँदै छ । पूर्व–पश्चिम राजमार्ग र सिद्धार्थ राजमार्गको मिलन विन्दु पर्ने बुटवलबाट कुनै पनि क्षेत्रका लागि यातायात सुविधा लिन सकिन्छ । नगरका अधिकांश भित्री सडक पक्की र फराकिला बनेका छन्, केही निर्माणकै चरणमा छन् । बुटवलबाट लामो तथा छोटो दूरीका हरेक क्षेत्रका लागि गाडी छुट्छन् । जसका लागि हालको बसपार्क साँघुरो भएकाले प्रदेशस्तरको हरियाली बसपार्क बनाउने योजना ल्याइएको छ ।

अत्याधुनिक फोहोर प्रशोधन केन्द्र निर्माणका लागि बुटवल–१२ मा जग्गा प्राप्तिको चरणमा रहेको छ । बुटवलको विकासमा सरसफाइ र खानेपानी आयोजनाका लागि विश्व बैंकलगायतका ठूला लगानीकर्ता लगानी गर्न इच्छुक देखिएकाले छिट्टै यी आयोजना पनि अगाडि बढ्नेतर्फ उन्मुख छन् । बुटवलको खानेपानीका लागि २२ वर्षअघि सुरु गरिएको झुम्सा खानेपानी आयोजना अहिले पनि सुषुप्त अवस्थामा छ । मिनी मेलम्चीसरह बनेको यो आयोजनाको काम छिटो सक्न संघीय सरकारलाई पटक–पटक ध्यानाकर्षण गराइएको छ । छाडा चौपायाको समस्या निराकरणका लागि बुटवलको शिवनगर सामुदायिक वनमा गौचरनसहितको गौशाला सञ्चालनमा ल्याइएको छ ।

बुटवलका ऐतिहासिक, धार्मिक, पर्यटकीय सम्पदाहरूको प्रचारप्रसार गर्दै अन्य पर्यटकीय स्थलहरूसँग तिनलाई जोडेर पर्यटकीय विश्रामस्थलका रूपमा बुटवललाई विकास गर्ने लक्ष्य छ । बुद्ध जन्मस्थल लुम्बिनीदेखि बुटवलको जितगढी किल्ला, मणिमुकुन्दसेनको ग्रीष्मकालीन दरबार, आदिम मानव रामापिथेकसको अवेशष फेला परेको स्थल, सिद्धबाबा मन्दिर हुँदै बुटवललाई मुक्तिनाथसम्म जोड्ने पर्यटकीय रुट निर्माण गरी पर्यटन प्रवर्द्धन गर्ने योजना छन् । बुटवललाई देशकै उत्कृष्ट पर्यटकीय विश्रामस्थलका रूपमा स्थापित गर्न नगरको सौन्दर्यीकरण, सरसफाइ, हरियाली र उज्यालो सहर निर्माण अभियान चलाइएको छ ।

बुटवलमा हाल सञ्चालनमा आइसकेको बुटवल–बसन्तपुर जोड्ने लुम्बिनी केबलकार र सञ्चालनको तयारीमा रहेको बुटवल–नुवाकोट जोड्ने सिद्धार्थ केवलकारले यो क्षेत्रलाई अझ चलायमान बनाउने अपेक्षा लिइएको छ । निजी क्षेत्रले पनि आर्थिक केन्द्रका रूपमा रहेको बुटवल भविष्यमा सुन्दर पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुने अपेक्षासहित ठूला, स्तरीय तथा तारे होटलमा लगानी गरिरहेका छन् ।

(पाण्डेय बुटवल उप–महानगरपालिकाका प्रमुख हुन् ।)

प्रकाशित : चैत्र १८, २०८० ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?