स्वास्थ्य र शिक्षामा पहुँचदेखि उत्पादनको बजारीकरणसम्म

चैत्र १८, २०८०

कान्तिपुर संवाददाता

From access to health and education to marketing of products

पश्चिम नवलपरासी, रूपन्देही र कपिलवस्तुका जनप्रतिनिधिले सर्वसाधारणको शिक्षा र स्वास्थ्यमा पहुँच बढाउनुका अतिरिक्त आफ्ना उत्पादनलाई बजारीकरण गर्ने काममा पनि सहजीकरणको भूमिका निर्वाह गरिरहेका छन् । नमुना पालिकादेखि सुन्दर सहरसम्मका योजना अघि सारेर उनीहरू क्रियाशील छन् ।

पूर्वाधार निर्माणदेखि स्थानीय तहमै न्याय सम्पादन गर्ने, गृहिणी महिलालाई स्वरोजगारसम्म जोड्ने काममा सरिक जनप्रतिनिधि र सरोकारवालाका प्रतिनिधिमूलक धारणा :

‘ब्युटिफुल सहर बनाउँदै छौं’

From access to health and education to marketing of products

इस्तियाक अहमद खाँ

प्रमुख, सिद्धार्थनगर नगरपालिका, रूपन्देही

रूपन्देहीको सदरमुकाम भैरहवालाई ब्युटिफुल नगर बनाउँदै छौं । सबैको शिक्षा र स्वास्थ्यमा पहुँच बढाउन ध्यान दिएका छौं । भौतिक पूर्वाधार, कृषि, सामाजिकलगायत क्षेत्रमा विकासको गति बढाइएको छ । नगरको विकासका लागि एसियाली विकास बैंकको फुटपाथ, नालासहितको २५ किलोमिटर बढी सडक र डन्डा नदीलाई करिडोरका रूपमा विकास गर्नका लागि ठूला परियोजना भित्र्याउन सफल भएका छौं । नगरको सौन्दर्यलाई जोड दिएका छौं । देशको संस्कृति झल्किने गरी स्वागतद्वार निर्माण भइरहेका छन् । उज्यालो नगर बनाउन हाइमास्ट लाइट र सडक बत्ती जडान गरिएको छ ।

‘बजार चलायमान बनाइनुपर्छ’

From access to health and education to marketing of productsराजेश अग्रवाल

उद्योग समिति सभापति, नेपाल उद्योग वाणिज्य महासंघ

यतिबेला बजारमा माग नभएकाले उत्पादन हुन सकेको छैन । उद्योगहरू धराशायी भएका छन् । आर्थिक मन्दीले गर्दा आमउपभोक्ताले सकेसम्म पैसा बचत गर्ने र खर्च कम गर्ने प्रवृत्ति बढ्न थालेको छ । सञ्चालनमा रहेका उद्योग पनि ३० देखि ४० प्रतिशतमात्र क्षमतामा चलेका छन् । बैंकहरू धेरै भएको अवस्थामा नेपाल राष्ट्र बैंकले सन्तुलन मिलाउन मर्जरको नीति लिएजस्तै उद्योग क्षेत्रमा पनि माग र आपूर्तिलाई सन्तुलन हुने गरी सञ्चालन गर्ने खालको कानुन तत्काल ल्याई कार्यान्वयन गर्नु पर्‍यो ।

‘पूर्वाधार निर्माणमा जोड दिएका छौं’ 

From access to health and education to marketing of products

ध्रुवनारायण चौधरी

अध्यक्ष, मायादेवी गाउँपालिका, रूपन्देही 

स्थानीय जनतालाई प्रदान गर्ने सेवा प्रवाह, सुशासन, सुरक्षा, संरक्षण र नियमन लगायतका कार्य संविधानतः स्थानीय तहमा अधिकार प्राप्त भएको सन्दर्भमा हामीले हाम्रा जिम्मेवारीलाई गम्भीर रूपमा बोध गरेका छौं । शिक्षा क्षेत्रमा पूर्वाधारको विकाससँगसँगै पुस्तकालय, साइन्स ल्याब, खानेपानी, कोभिडका लागि सेनिटाइज, मास्कलगायत सबै कुरा सम्पूर्ण विद्यालयमा पुर्‍याइएको छ । साँघुरा सडकलाई फराकिलो गरी कालेपत्र र ढलान गरिएको छ । मायादेवी गाउँपालिकालाई पूर्ण खोप घोषणा गरी गर्भवती महिलालाई पौष्टिक आहार र नियमित चेकजाँचको व्यवस्था गरिएको छ ।

‘सिँचाइको व्यवस्था नै हाम्रो लक्ष्य हो’

From access to health and education to marketing of products

बालकृष्ण त्रिपाठी

अध्यक्ष, कोटहीमाई गाउँपालिका, रूपन्देही

कोटहीमाई गाउँपालिका रूपन्देही जिल्लाको कम विकसित गाउँपालिकामध्ये एक हो । यसको भू–बनोट समथर र एकै खालको छ । कृषिको सम्भावना भए पनि १२ महिना प्रशस्त पानीको स्रोत नहुँदा समस्या छ । पालिका पूर्ण रूपले कृषिमै आधारित रहेको हुँदा कृषि क्षेत्रलाई नै प्रवर्द्धन गर्नका लागि विभिन्न आकर्षक योजना लागू गरेका छौं । कृषकलाई सिँचाइ प्रयोजनका लागि निःशुल्क विद्युत् उपलब्ध गराइनेछ । 

‘सडक पूर्वाधारमा जोड दिएका छौं’

From access to health and education to marketing of products

ध्रुवप्रसाद खरेल

प्रमुख, देवदह नगरपालिका, रूपन्देही

देवदह नगरपालिकाले भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीदेखि झन्डै ६५ किलोमिटरको दूरीमा रहेको देवदहलाई जोडेर पर्यटन र पूर्वाधार विकासको क्षेत्रमा काम गरिरहेको छ । यहाँका पुराना भग्नावशेष दरबारको उत्खननका लागि लुम्बिनी विकास कोषसँगको प्राविधिक सहयोगमा काम भइरहेको छ ।

एक हजार वर्षभन्दा पुरानो पाकडीको रूखका कुनै पनि हाँगा अहिलेसम्म सुकेका छैनन् । यस रूखमा चरा नबस्ने मात्रै होइन, गुँड पनि लगाउँदैनन् । दर्जनौं विशेषता रहेको पाँकडी रूख हेर्न अहिले दिनहुँ पर्यटकको भीड लाग्ने गरेको छ । यसको संरक्षण र विकासका लागि नगरपालिकाले प्राथमिकताका साथ योजना अघि सारेर पूर्वाधार निर्माणका काम भइरहेका छन् । शिक्षा, स्वास्थ्य, कृषिका क्षेत्रमा पनि नगरपालिकाले प्राथमिकताका साथ योजना अघि बढाएको छ ।

‘गैडहवालाई पर्यटनको केन्द्र बनाउँदै छौं’

From access to health and education to marketing of products

सुरेन्द्र पौड्याल

अध्यक्ष, गैडहवा गाउँपालिका, रूपन्देही

गैडहवा तालको विकास, यशोधरा पार्क निर्माण, सूर्यपुरा बहुमुखी क्याम्पसको भवन र १५ शय्याको अस्पताललाई पालिकाको गौरवका योजनाका रूपमा अघि सारेको छ ।

गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट ८ किलोमिटरको दूरीमा रहेको र २७ हेक्टर क्षेत्रफलमा फैलिएको गैडहवा ताललाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने गरी गाउँपालिकाले प्राथमिकतामा राखेर योजनाबद्ध रूपमा काम गरिरहेको छ । लुम्बिनीबाट १२ किलोमिटरको दूरीमा गैडहवा–६ मा यशोधरा पार्क निर्माणको काम अघि बढेको छ । पार्कमा यशोधराको मूर्ति निर्माण गरेर लुम्बिनी आउने बुद्ध धर्मावलम्बीलाई यशोधरा पार्कसम्म पुर्‍याउने लक्ष्यका साथ काम गरिरहेका छौं ।

‘घर–घरमै सेवा पुर्‍याइरहेका छौं’

From access to health and education to marketing of products

विष्णुप्रसाद बस्याल

अध्यक्ष, शुद्धोधन गाउँपालिका, रूपन्देही

पालिकाले पेपरलेस कार्यक्रम अघि बढाएको छ । चैतभित्रै वडा नं. २ बाट पेपरलेस गाउँपालिकाको काम सुरु हुनेछ । सुरुमा सबै प्रकारका सिफारिस अनलाइन सेवाबाट सुरु गर्ने तयारी छ । त्यसका लागि एसिया फाउन्डेसनले प्राविधिक सहयोग गरेको छ । पालिकाले बहुउद्देश्यीय कृषि तथा पर्यटकीय योजना पनि अघि सारेको छ । पालिकाभित्रका सबै सीमसार क्षेत्रमा पोखरी निर्माण गर्ने र त्यसलाई सिँचाइ, माछापालन र पर्यटकीय गन्तव्य बनाउने गरी काम अघि बढेको छ ।

‘सिँचाइमा जोड दिएका छौं’

From access to health and education to marketing of products

थानेश्वर घिमिरे

अध्यक्ष, सियारी गाउँपालिका, रूपन्देही

सियारी गाउँपालिकाले कृषिलाई पहिलो प्राथमिकतामा राखेर योजना कार्यान्वयन गरिरहेको छ । किसानलाई सहज सिँचाइ सुविधा दिने उद्देश्यले पालिकाले दानव नदीमा दयानगर लिफ्ट सिँचाइ आयोजना र तिनाउ नदीमा सीतापुर लिफ्ट सिँचाइ आयोजना सञ्चालन गरिरहेको छ । साढे दुई सय बिघा जमिनमा पर्याप्त सिँचाइ सुविधा पुग्ने गरी दुवै आयोजनाको काम तीव्र रूपमा भइरहेको छ ।

गाउँपालिकाले अर्को प्राथमिकताको योजनामा १३ किलोमिटर लामो रिङरोडलाई अघि बढाएको छ । त्यस्तै पहिलो ग्रामीण स्वास्थ्य सेवाका रूपमा ग्रामीण फिजियोथेरापी सेवा सुरु गरेको छ । सियारीले छाडा चौपाया नियन्त्रणका लागि  गौशाला व्यवस्थापन गरिरहेको छ ।

‘सुशासनमा जोड दिएका छौं’

From access to health and education to marketing of products

विमला अर्याल

प्रमुख, सुनवल नगरपालिका, पश्चिम नवलपरासी

स्थानीय तहको कामलाई जनउत्तरदायी बनाउन सुशासनमा जोड दिएका छौं । विकास निर्माणको कामलाई पनि प्राथमिकता र आवश्यकता पहिचान गरेर योजना तर्जुमा गर्ने अभ्यास सुरु गरेका छौं । करको दर बढाउनुभन्दा पनि करको दायरालाई फराकिलो बनाउने, योजनाको अधिकांश काम वडाबाट नै हुने गरी संयन्त्र तयार छ । कृषि पेसालाई निर्वाहमुखीबाट व्यावसायिक बनाउने र त्यसका लागि सिँचाइ तथा प्रविधिमैत्री बनाउने योजना सञ्चालनमा छ । विद्यालय उमेर समूहमा अध्ययन गर्न नपाएका महिलाका लागि छुट्टै महिला विद्यालय सञ्चालनमा ल्याएका छौं । 

‘रामग्रामलाई पिस सिटी बनाउँछौं’

From access to health and education to marketing of products

धनपत यादव

प्रमुख, रामग्राम नगरपालिका, पश्चिम नवलपरासी

भगवान् गौतम बुद्धको अस्तुधातु रहेको पवित्रस्थल रामग्राम नगरपालिकालाई ‘पिस सिटी’का रूपमा विकास गर्ने अभियानमा छौं । त्यसका लागि यो क्षेत्रको शिक्षा, स्वास्थ्य, सञ्चार, रोजगारी र उद्यमशीलतामा जोड दिएका छौं । औद्योगीकरणको तीव्र विकास भइरहेको नगर क्षेत्रलाई थप व्यवस्थित बनाउन दीर्घकालीन योजनालाई अगाडि बढाएका छौं । टुक्रे योजनाभन्दा ठूला योजना र जनताले विकासको महसुस गर्ने गरी काम अगाडि बढेको छ । 

‘कृषिलाई प्रविधिमैत्री बनाउँदै छौं’

From access to health and education to marketing of products

उमेश यादव

अध्यक्ष, प्रतापपुर गाउँपालिका, पश्चिम नवलपरासी 

हाम्रो गाउँपालिका उखु र केरा खेतीका लागि निकै नै उर्वर भूमि हो । यो खेतीलाई प्रविधिमैत्री बनाउने र किसानको उत्पादनलाई बजारीकरणतर्फ ध्यान दिएका छौं । संघीयतापछि स्थानीय तह नै नागरिकको सबैभन्दा नजिकको सरकार भएको हँॅदा स्थानीय तह सुशासनमुखी बन्न सके आमनागरिकसहित सबैले संघीयता र सरकार दुवैको अनुभूति गर्ने गरी काम भइरहेको छ । विकास निर्माणको कामलाई स्थानीय तहको स्रोतबाट हुन नसक्ने कामलाई आवश्यक पहल गरेर संघ सरकारलाई झकझकाउने गरिएको छ ।

‘उद्योगमा रोजगारीका अवसर’

From access to health and education to marketing of products

शत्रुघन ढकाल (एसपी)

सञ्चालक, ब्रजेश्वरी इन्डस्ट्रिज 

पश्चिम नवलपरासी औद्योगिक क्षेत्रका लागि उपयुक्त छ । भारतसँगको सिमाना जोडिएको, भन्सारको सहज पहुँच भएका कारण भुमही–भैरहवा खण्डमा अहिले धमाधम उद्योग खुलिरहेका छन् । यस क्षेत्रमा रोजगारीको अवसर बढेको छ । आर्थिक विकासको हबका रूपमा यो क्षेत्र विकास गर्न तीनै तहका सरकार लागिपर्न आवश्यक छ । यहाँ स्वरोजगारमुखी उद्योगदेखि बहुराष्ट्रिय कम्पनी खुल्ने क्रम यहाँ जारी छ । पश्चिम नवलपरासी पूर्व–पश्चिम राजमार्गको मध्यभागमा पर्ने भएकाले उद्योग सञ्चालनका लागि यो क्षेत्र सहज बन्दै छ ।

‘बजारीकरणमा जोड दिएका छौं’

From access to health and education to marketing of products

बैजुप्रसाद गुप्ता (दीपक)

अध्यक्ष, पाल्हीनन्दन गाउँपालिका, पश्चिम नवलपरासी 

यो मेरो जनप्रतिनिधिका रूपमा दोस्रो कार्यकाल हो । पहिलो पटक जनतालाई गरेको वाचाअनुसार पालिकाको स्रोत र साधनले भ्याएसम्म काम गरियो । अहिले फेरि जनताले पालिकाको विकास र समृद्धिका लागि निर्वाचित गराएका छन् । ग्रामीण भेग भएकाले शिक्षा, स्वास्थ्य र कृषिको क्षेत्रमा हामीले बहुवर्षीय योजना बनाएर काम गरेका छौं । स्थानीय उत्पादनको बजारीकरणलाई जोड दिएका छौं ।

‘बुद्ध नगरीको प्रवेशद्वार बनाउँदै छौं’

From access to health and education to marketing of products

सुदीप पौडेल

प्रमुख, कपिलवस्तु नगरपालिका, कपिलवस्तु

कपिलवस्तु नगर क्षेत्रभित्र प्रवेश हुनासाथै शाक्य वंशीय राजधानी पुगेको अनुभूति हुने गरी काम गरिरहेका छौं । मुख्य प्रवेश मार्ग सडक ३० मिटर चौडा गरेर कालोपत्र भएको छ । जमुवारदेखि भिक्षुचोकसम्म पुग्ने मुख्य सडकका बीचमा बुद्धको परिवारका विभिन्न व्यक्तिका मूर्ति राखेर पर्यटकलाई बुद्धस्थल प्रवेश गरेको झल्को दिने काम भइरहेको छ । तिलौराकोटभित्र जमिनमुनि रहेको भग्नावशेषलाई रिप्लिका बनाएर रामघाट नजिकै देखाउने योजना बनाइएको छ । निःशुल्क शिक्षाका साथै आधारभूत स्वास्थ्य सेवा सुविधाबाट कोही वञ्चित हुन नपरोस् भनेर नगर क्षेत्रका १३ हजार घरघुरीलाई स्वास्थ्य बिमाका लागि लाग्ने रकममा ५० प्रतिशत अनुदान दिएका छौं ।

‘सचेत नागरिक परिचयपत्र वितरण’ 

From access to health and education to marketing of products

गोपाल थापा

अध्यक्ष, विजयनगर गाउँपालिका, कपिलवस्तु

आगामी वैशाख १ बाट सचेत नागरिक परिचयपत्र वितरण गर्दै छौं ।  बालबालिकाको अनिवार्य विद्यालय भर्ना, बालविवाह तथा बालश्रम अन्त्य गर्ने इन्डिकेटर राखेका छौं । स्वास्थ्य संस्थामा गर्भवती चेकजाँच र डेलिभरी गराउने इन्डिकेटर छ । गाउँपालिकाले ४ वर्षमा गरिब विपन्नलाई ७ सय बढी शौचालय बनाएको छ । अहिले पनि ७ सय ५० शौचालय बनाइँदैछ । यससँगै गाउँपालिका पूर्ण सरसफाइ गाउँपालिका घोषणा गर्न पनि सहयोग पुग्छ । विजयनगर गाउँपालिका सडक सञ्जालले जोडिएको छ । सिँचाइ र व्यावसायिक माछापालनका लागि सार्वजनिक ताल–तलैला संरक्षण गरिएको छ । 

‘नगरलाई सौन्दर्ययुक्त बनाउँदै’

From access to health and education to marketing of products

रजतप्रताप शाह

प्रमुख, कृष्णनगर नगरपालिका, कपिलवस्तु

भारतको राष्ट्रिय रेल नेटवर्कसँग जोडिएको क्षेत्र भएकाले नेपालका धेरै ठाउँबाट नागरिक यहाँ आउने गर्छन् । कृष्णनगरको पहिचान स्थापित गर्न बजारमा ठूलो कृष्ण भगवान्को मूर्ति बनाउँदै छौं । सीमामा नेपालको कला संस्कृति झल्कने गरी गेट बनाउने योजना छ । कृष्णनगर–१ को छिनोट गाउँमा तीन करोडको पुल निर्माण गरेका छौं । डुमाई गाउँमा झोलुंगे पुल र बाटो बनाएर मुख्य सडकसित जोडिएको छ । बरइपुरमा २० करोड लागतमा पुल बनिरहेको छ । शिवराज अस्पतालको स्तरोन्नति भएको छ । बहादुरगन्जमा राघवेन्द्र गौरव बहुमुखी क्याम्पस सञ्चालनको तयारी छ । ३२ कोठे भवनका लागि राष्ट्रिय योजना आयोगले ४ करोड बजेट विनियोजन गरेको छ । सिँचाइका लागि १२ वटा डिप बोरिङ सञ्चालनका क्रममा छन् । 

‘नगरलाई हिलोमुक्त अभियान’ 

From access to health and education to marketing of products

अब्दुल कलाम

प्रमुख, महाराजगन्ज नगरपालिका, कपिलवस्तु

गाउँमा कालोपत्र, आरसीसी, पीसीसी र ग्य्राबल सडक बनाएर पालिकालाई हिलोमुक्त बनाएका छौं । महाराजगन्जमा १५ शय्याको नगर अस्पताल बनिरहेको छ । पडरिया, बर्दगी, गैडहवा र बनगाईमा १२/१२ कोठे विद्यालय भवन बनेका छन् । भलवारी र कजरहवामा बर्थिङ सेन्टर सञ्चालन भएका छन् । बरईपुर, बलरमवापुर र उदयपुरमा भवन बनेका छन् । करिब ८ किमि लामो महाराजगन्ज–बर्गदी–बर्गदा–पडिरिया–कठौतिया–कजरहवासम्म कालोपत्र सडक बनाइएको छ । ढाई किमि लामो सिंग्रहादेखि हदौनासम्म कालोपत्र गरिएको छ । गोठ तथा भकारो सुधारका लागि कृषकलाई सहयोग गर्ने गरिएको छ । नगरपालिकाले बहुवर्षे सडक योजना सञ्चालन गरेको छ । 

‘नगरबाटै ठूला योजना’

From access to health and education to marketing of products

केशव श्रेष्ठ

प्रमुख, बुद्धभूमि नगरपालिका, कपिलवस्तु

पालिकामा १७ किमि लामो टिक्कर–बुढडी–बिजगौरी डबल लेनको सडक कालोपत्र भइरहेको छ । ६५ करोडको बहुवर्षे योजना नगरपालिकाको आफ्नै बजेटमा निर्माण भइरहेको छ । बडहरामा १५ शय्याको अस्पताल निर्माण भइरहेको छ । बुढ्डी ताललाई पर्यटकीय गन्तव्यका रूपमा अगाडि बढाउन डीपीआरको काम सम्पन्न भएको छ । करिब एक अर्ब लागत रहेको योजनामा स्रोत जुटाउने काम भइरहेको छ । नगरका गर्भवती महिलालाई बुटवल, भैरहवा जान निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको छ । गुणस्तरीय शिक्षाका लागि विद्यार्थी संख्याका आधारमा शिक्षक दरबन्दी मिलान गरिएको छ । 

‘सबै वडामा एम्बुलेन्स सेवा’

From access to health and education to marketing of products

कमलेशशरण चौधरी

अध्यक्ष, शुद्धोधन गाउँपालिका, कपिलवस्तु

बालिकालाई विद्यालयसम्म पुग्न सहज बनाउन साइकल वितरण गरिएको छ । कक्षा ९ देखि १२ सम्म पढ्ने ८ सय ५९ जनालाई साइकल वितरण गरेपछि अहिले किशोरीको विद्यालय पहँॅुच बढेको छ । भुसुडीदेखि छपियासम्म १ करोड ३५ लाखमा ८ सय मिटर बाटो कालोपत्र भइरहेको छ । यहाँको समस्याका रूपमा रहेको सिँचाइलाई प्राथमिकतामा राखेर नीति बनाएका छौं । शिक्षा र स्वास्थ्यलाई केन्द्रमा राखेर काम भइरहेको छ । लवनी स्वास्थ्य चौकीलाई १९ करोडको लागतमा १० शय्याको अस्पताल बनाउँदै छौं । गाउँपालिकाका ६ वटै वडामा एम्बुलेन्स सुविधा पुर्‍याएका छौं ।

‘स्मार्ट विद्यालय सञ्चालन’ 

From access to health and education to marketing of products

शिवदयाल तिवारी

अध्यक्ष, यशोधरा गाउँपालिका, कपिलवस्तु

सर्वसुलभ रूपमा गुणस्तरीय शिक्षा प्रदान गर्न स्मार्ट विद्यालय योजना सञ्चालन गरेका छौं । यस वर्ष वडा नं. ४ को अमलोनहाको जनसेवा आधारभूत विद्यालयलाई छनोट गरेर काम सरु गरेका छौं । शिक्षा, पूर्वाधार, शैक्षिक सामग्री र अतिरिक्त क्रियाकलापमा नमुना बनाएर काम गर्दैछौं । वडा नं. ८ को मधुनगरादेखि वडा नं. ५ को सुठौलीसम्म ४ किमि कालोपत्र बाटो बनाएका छौं । वडा नं. ४ को पर्सोहियादेखि बैदोलीसम्म, वडा नं. ५ को मुडिलामा कालोपत्र बाटो बनाइएको छ । त्यस्तै वडा नं. ३ को वसन्तपुर र वडा नं. २ को भडेहरमा कालोपत्र बाटो बनाइएको छ । ४ करोड ७५ लाख लागतमा प्रशासनिक भवनको दुई तला थप गरिएको छ । १३ करोड लागतमा १५ शैय्याको दुईतले अस्पताल भवन निर्माण भइरहेको छ । वडा नं. १ को रजवापुरमा रघुनाथ आधारभूत विद्यालयमा १८ लाख लगतमा दुईकोठे पक्की भवन बनाइएको छ । 

‘पूर्वाधार विकासमै ध्यान’

From access to health and education to marketing of products

वलिउद्दिन मुसलमान

अध्यक्ष, मायादेवी गाउँपालिका, कपिलवस्तु

कमजोर भौतिक पूर्वाधार हुँदा अहिले हाम्रो ध्यान पूर्वाधार विकासमा केन्द्रित गरेका छौं । दिनरात पालिकालाई समुन्नत बनाउनेमै ध्यान दिइरहेका छौं । गाउँपालिकाका लागि नयाँ प्रशासनिक भवन निर्माण गरिएको छ । ८० लाख लागतमा सभाहल बनाइएको छ । वडा नं. १ को इमिलियामा २ करोड ४२ लाख लागतमा कृषि गोदाम निर्माण भइरहेको छ । वडा नं. ७ र कपिलवस्तु नगरपालिकाको पूर्वी भाग जोड्न ४ करोड ५० लाख रुपैयाँको लागतमा पक्की पुल बनाइएको छ । वसन्तपुर–वलुहवा–सिसवा–बरकुल जोड्ने ४ किमि सडक ५ करोड ४४ लाख लागतमा कालोपत्र बनाइएको छ । वडा नं. १ र ४ को वडा कार्यालय भवन निर्माण गरिएका छन् । 

‘नागरिक सहायता केन्द्र सञ्चालन गरेका छौं’

From access to health and education to marketing of products

अजय थापा

प्रमुख, शिवराज  नगरपालिका, कपिलवस्तु

सेवाग्राहीका लागि नागरिक सहायता कक्ष स्थापना गरिएको छ । उजुरी, राजस्व बुझाउने र सम्झौता बाहेकका काममा सहायता कक्षका कर्मचारीले फटाफटा पुगेर सघाउँछन् । कागजात नपुगेको भए फाँटबाट जानकारी ल्याएर सेवाग्राहीलाई सूचना दिन्छन् । सहायता कक्षमा टेलिभिजन, फ्रि वाईफाई, चिया र पानीको सुविधा छ । माध्यमिक तहसम्म निःशुल्क शिक्षा लागू गरिएको छ । बर्थिङ सेन्टरले रिफर गरेका गर्भवती र डाइलासिस गर्न जाने मृगौला रोगीका लागि बुटवल, भैरहवासम्म निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध छ । चन्द्रौटा आधारभूत अस्पतालमा चिकित्सक थपेर २४ सै घण्टा सेवा विस्तार गरिएको छ । आधारभूत अस्पतालमा शव परीक्षण केन्द्र सञ्चालन गरिएको छ । औषधिमा १५ प्रतिशत छुट दिइएको छ । वर्षको चार पटक ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गरिन्छ ।

‘बाटो, शिक्षा र स्वास्थ्य प्राथमिकतामा’

From access to health and education to marketing of products

रीता चौधरी

उपप्रमुख, वाणगंगा नगरपालिका, कपिलवस्तु

समृद्ध वाणगंगाको मूल आधार, आर्थिक सामाजिक रूपान्तरणसहितको पूर्वाधार भन्ने नारा राखेर वाणगंगा नगरपालिकाले काम गरिरहेको छ । वार्षिक ३ करोड खर्च गरेर लक्षित वर्गका निम्ति सीप विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन भइरहेको छ । विभिन्न सीपमूलक तालिम लिएर महिलाले उत्पादन गरेका सामग्रीको बजारीकरणका लागि यस वर्ष कोसेली घर बनाइँदैछ । यसका लागि एक सहकारी छनोट गरिएको छ । पिपरा अस्पताललाई नगर अस्पताल बनाइएको छ । नगरभित्रका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको जग्गा नापजाँचको काम ६ नं. वडाबाट शुभारम्भ गरिएको हो । बजार सुन्दरीकरण गरिएको छ । बाटो, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरेका छौं । 

‘व्यवसायीलाई प्रोत्साहन गरिनुपर्छ’

From access to health and education to marketing of products

पवन हलुवाई

पर्यटन व्यवसायी, भैरहवा

बैंकको चर्को ब्याजले व्यवसाय ठप्प हुने र लगानीकर्ता पलायन हुने अवस्था आयो । जसले गर्दा बैंकमा डिपोजिट थुप्रिन थालेको छ । ऋण लिने व्यवसायी घट्दै छन् । बैंकको ब्याज एकल अंकमा कायम गरिनुपर्छ । उद्यमी, व्यवसायीलाई हतोत्साहित गर्न थालिएको छ । युवा पलायन हुने क्रम बढ्दो छ । आर्थिक मन्दी, बैंकको चर्को ब्याजलगायत उद्योग व्यवसाय गर्ने खालको वातावरण नबनेमा अब विदेश पलायन हुने क्रम उद्यमी व्यवसायीको पनि सुरु हुनेछ । स्वदेशी उत्पादन र वस्तुलाई पहिलो प्राथमिकता दिइने नीति बनाइनुपर्छ । जुन राष्ट्रबाट नेपालको धेरै समस्या समाधान हुन सक्छन् ।

‘गृहिणी महिलालाई स्वरोजगारीमा ध्यान’

From access to health and education to marketing of products

सावित्रादेवी अर्याल

उपप्रमुख, बुटवल उपमहानगरपालिका, रूपन्देही

बुटवल उपमहानगरपालिकाले सेवाप्रवाह, सुविधा र जीविकोपार्जनलाई पहिलो प्राथमिकतामा राखेको छ । आमनागरिकका मुद्दाको तत्काल सुनुवाइदेखि नागरिक वडापत्रसम्म नगरपालिकाले पर्याप्त ध्यान पुर्‍याएको छ । अहिलेसम्म नेपाली भाषामा मात्र प्रकाशित हुने गरेको नागरिक वडापत्र अब नेवार, मगर र थारू भाषामा पनि प्रकाशित गर्ने तयारी भइरहेको छ । त्यसले नेवार, थारू र मगर समुदायलाई पनि नगरका सेवाप्रवाहको विषयमा जान्नका लागि सहयोग पुग्नेछ । नगरपालिकाको न्यायिक समितिमा अहिलेसम्म १ सय ५ मुद्दा दर्ता भएका छन् । तीमध्ये १ सय १ मुद्दाको न्यायिक समितिको इजलासबाटै मिलापत्र गराइएको छ । ४ वटा मुद्दा अदालत पुगेका छन् । उपमहानगरपालिकाले

नागरिकलाई आर्थिक पहुँचमा जोड्नका लागि उपप्रमुख उद्यमशीलता कार्यक्रम, गृहिणी महिला स्वरोजगार कार्यक्रम, मेयर युवा इलमजस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ । गृहिणी महिला स्वरोजगार कार्यक्रममा अहिलेसम्म १ हजार बढी महिला जोडिएका छन् । त्यस्तै उपप्रमुख उद्यमशीलता कार्यक्रममा विभिन्न १२ प्रकारका तालिम लिएर महिलाहरू स्वरोजगारमा जोडिएका छन् । नगरपालिकाले दिउँसो पढ्न नसक्ने तर पढ्ने तीव्र इच्छा भएकाहरूको सुविधाका लागि रात्रिकालीन विद्यालय सञ्चालन गरिरहेको छ । त्यस्तै नेपालमै पहिलो विद्यालयका रूपमा महिला साधना विद्यालय सञ्चालन भइरहेको छ । उक्त विद्यालयमा विद्यालय जानबाट वञ्चित रहेका गृहिणी महिलाले अध्ययन गर्दै आएका छन् । घरमै पढेर परीक्षा दिन मिल्ने गरी खुला विद्यालय अवधारणाअन्तर्गत कान्ति माविमा खुला विद्यालय पनि सञ्चालन गरिएको छ ।

‘न्याय सम्पादनमा जोड दिएका छौं’

From access to health and education to marketing of products

उमा अधिकारी

उपप्रमुख, सिद्धार्थनगर नगरपालिका, रूपन्देही

सिद्धार्थनगर नगरपालिकामा न्यायिक सम्पादन, अनुगमन, शारीरिक रूपमा अशक्त, महिला, बालबालिकालगायत क्षेत्रमा उत्कृष्ट कार्य गरिएको छ । सिद्धार्थनगरको न्याय सम्पादनलाई रूपन्देही जिल्ला अदालतले विभिन्न मूल्यांकनका आधारमा जिल्लामा सबैभन्दा उत्कृष्ट बताएको छ । मुद्दाको किनारा लगाउनलाई मेलमिलापमा जोड दिने गरिएको छ । सम्बन्धविच्छेद गरेकालाई पुनर्मिलन समेत गराइएको छ । शारीरिक रूपमा अशक्तहरूलाई सेवा सुविधाको पहुँचमा पुर्‍याउनका लागि मापदण्डअनुसार वर्गीकरण गरी अपाङ्गता कार्ड वितरण गर्ने गरिएको छ । शारीरिक रूपमा अशक्तहरूलाई सहायता सामग्री उपलब्ध गराइएको छ । महिलालाई आत्मनिर्भर बनाउन विभिन्न सामग्री उपलब्ध गराउनुका साथै विभिन्न महिला समूहले आफैंले उत्पादन गरेको अचार, जुत्ता, चप्पल, चुरा, पोते लगायतका सामग्री बिक्री स्थलका लागि कोसेली घर सञ्चालन गरिएको छ । सुत्केरी महिलालाई लक्षित गर्दै नगरमा उपप्रमुख सुत्केरी कोसेली भेटलाई निरन्तरता दिइएको छ ।

‘राज्यले उद्योगको प्रवर्द्धन गरेन’

From access to health and education to marketing of products

देवेन्द्र साहु

महाप्रबन्धक, पञ्चकन्या ग्रुप अफ इन्डस्ट्रिज 

उद्योग व्यवसाय देशको अर्थतन्त्रका मेरुदण्ड हुन् । नेपालजस्तो आयातमा निर्भर देशका लागि त उद्योग गर्न चाहने व्यक्तिलाई खोजीखोजी प्रोत्साहन गर्नुपर्छ । विगत २ वर्षदेखि देखिएको आर्थिक मन्दी, सरकारको पुँजीगत खर्च गर्ने क्षमतामा आएको ह्रास एवं राज्यको विभेदकारी कर नीतिका कारण यस क्षेत्रका निर्माण सामग्री उत्पादन गर्ने उद्योगहरू प्रत्यक्ष रूपमा मारमा परेका छन् । विश्वव्यापी मान्यताअनुरूप स्वास्थ्य तथा वातावरणमा असर गर्ने र विलासिताका वस्तु उत्पादनमा अन्तःशुल्क लाग्ने व्यवस्था रहेकामा नेपालमा राजस्व संकलनको साधनको रूपमा मात्रै वस्तुको प्रकृति नै नहेरी अन्तःशुल्क लगाइने गरिएको छ ।

फलामे छडको कच्चापदार्थ विलेट्सको आयातमा ५ प्रतिशत भन्सार महसुल र भन्सार बिन्दुमै २५०० प्रतिमेट्रिक टनका दरले अन्तःशुल्क लाग्छ । तर स्पन्जको आयातमा केवल १ प्रतिशत भन्सार महसुल लाग्छ भने अन्तःशुल्क पूरै छुट छ । स्पन्जबाट छड बनाउने इन्डक्सन भट्टीले वातावरणमा ठूलो प्रदूषण फैलाउने जानकारी रहँदा रहँदै सीमित उद्योगलाई मात्रै फाइदा हुने गरी ल्याइएको यस विभेदकारी नीतिका कारण रूपन्देही क्षेत्रमा ५ फलामे छड उद्योग बन्द तथा बिक्री भएकाले करिब ५ हजारको संख्यामा प्रत्यक्ष तथा अप्रत्यक्ष श्रमिक कटौतीमा परेका छन् । विशेष आर्थिक क्षेत्र (सेज) सफल हुन सकेको छैन ।

‘नमुना गाउँपालिका बनाइँदै’

From access to health and education to marketing of products

विद्याप्रसाद यादव

अध्यक्ष, रोहिणी गाउँपालिका, रूपन्देही

रोहिणी गाउँपालिकाको जनप्रतिनिधिका रूपमा निर्वाचित भइसकेपछि विशेष गरी शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार र कृषि क्षेत्रलाई प्राथमिकता दिँदै काम अघि बढाएका छौं । विभिन्न विद्यालयमा भवनहरूको निर्माण भइरहेको छ । गाउँपालिकाको शैक्षिक गुणस्तर सुधारका लागि कार्यविधि बनाएर सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको हेरफर गरिएको छ । गाउँपालिकामा क्याम्पस नभएकाले पाँचवर्षे कार्यकालमै क्याम्पस सञ्चालन गर्ने योजनाअनुरूप जग्गा व्यवस्थापन गरिसकेका छौं । विपन्न, जेहेन्दार विद्यार्थीलाई प्रोत्साहन गर्नका लागि साइकल वितरण गर्दै आएका छौं । विभिन्न वडामा सडक निर्माण (पीसीसी ढलान, पिच) भएका छन् । गाउँपालिकाभित्र रहेका विभिन्न ऐतिहासिक मन्दिरहरूको संरक्षण र विकासमा लागेका छौं । स्वास्थ्यका लागि बालिका बिमा कार्यक्रम सञ्चालन गरिएको छ । गाउँपालिकामा १५ शय्याको अस्पताल निर्माणका लागि टेन्डर आह्वान भइसकेको छ । विभिन्न वडामा स्वास्थ्य चौकी निर्माण भइरहेका छन् । कतिपय वडामा निर्माण सम्पन्न भइसकेका छन् ।

‘शिक्षा र स्वास्थ्य प्राथमिकतामा’

From access to health and education to marketing of products

शम्भुलाल श्रेष्ठ

प्रमुख, बर्दघाट नगरपालिका, पश्चिम नवलपरासी

स्थानीय तहमा सीमित स्रोत र साधन छन् । तर, जनचाहना धेरै छ । आफ्नो नगरको आवश्यकता अनुसार नीति निर्माण र विकास निर्माणको कामलाई अगाडि बढाउने प्रयास जारी छ । गर्नुपर्ने धेरै काम छन् तर स्रोत र राजस्व संकलन कम छ । शिक्षा, स्वास्थ्य र कृषिलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका छौं । ऐन, नियमावली र कार्यविधि बनाएर सेवा प्रवाहलाई व्यवस्थित गर्ने गरिएको छ । संघीयतापछि स्थानीय तह नै नागरिकको सबैभन्दा नजिकको सरकार भएको हुँदा स्थानीय तह सुशासनमुखी बन्न सके आमनागरिकसहित सबैले संघीयता र सरकार दुवैको अनुभूति गराउने काम जारी छ । 

‘पर्यटन र स्वरोजगारमुखी सीपलाई प्राथमिकता’

From access to health and education to marketing of products

टेकनारायण उपाध्याय

अध्यक्ष, सुस्ता गाउँपालिका, पश्चिम नवलपरासी 

सुस्ता गाउँपालिका विकास निर्माणका रूपमा पहिलेदेखि नै पछाडि परेको पालिका हो । भारतीय अतिक्रमणको चपेटामा परेको नारायणीपारिको क्षेत्रमा मुलुकको नै ध्यान केन्द्रित छ । तर, बजेट विनियोजन गर्दा संघ र प्रदेश सरकारबाट नै यो क्षेत्र कम प्राथमिकतामा परेको मेरो अनुभव छ । तर, हामीले स्थानीय सरकारको अधिकार क्षेत्रभित्र रहेर जनताको समस्यालाई समाधान गर्ने कोसिस गरेका छौं । कृषि क्षेत्रको उर्वर भूमि भएकाले शीत भण्डार निर्माण गरेका छौं । अधिकांश नागरिक कृषि पेसामा संलग्न भएकाले यसले कृषिलाई व्यवसायीकरण गर्नमा सहयोग पुर्‍याउँछ भन्ने हाम्रो लक्ष्य हो । नारायणी नदीमा पुल निर्माणको काम लगभग सम्पन्न भएको छ । यसले पनि सुस्ताका नागरिकले भोग्नुपरेको पीडालाई कम गर्छ । पर्यापर्यटन र स्वरोजगारमुखी सीपलाई प्राथमिकतामा राखिएको छ ।

कान्तिपुर

Link copied successfully