आयात रोकेर मात्र समस्या समाधान हुँदैन- विविधा - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आयात रोकेर मात्र समस्या समाधान हुँदैन

विष्णु अग्रवाल

काठमाडौँ — अहिले मुलुक ‘स्ट्यागफ्लेसन’ अवस्थामा छ । यस्तो गम्भीर अवस्थामा हामीले मुलुकको जटिल अवस्था देखाएर नागरिकको मनोबल घटाउने काम गरिरहेका छौं । नागरिकको मनोबल बढाउनुपर्नेमा कतैबाट पनि काम भएको देखिँदैन । उद्योगी व्यवसायी र लगानीकर्तालाई थप लगानी गर्न र व्यापार व्यवसाय बढाउन प्रेरित गर्नुपर्ने छ ।

अहिले सबै क्षेत्रको मागमा ठूलो कमी आइरहेको छ । मागमा कमी आउँदा उद्योग र व्यवसायीले कमाउन सक्दैनन् । कमाउन नसक्दा ऋणको साँवा ब्याज मात्र होइन कर्जा भुक्तानी गर्न र थप लगानी गर्न पनि सकिँदैन । नयाँ लगानी नभएपछि थप रोजगारी सिर्जना हुँदैन । यसो हुँदा समग्र अर्थतन्त्रमै समस्या हुन्छ ।

पछिल्ला दिनहरुमा पेट्रोलियम पदार्थलगायत केही वस्तुहरुको मूल्य घटिरहेको छ । पर्यटन र रेमिट्यान्समा पनि सुधार हुँदै गएको अवस्था छ । यहींकारण शोधनान्तर स्थितिमा पनि सुधार हुन थालेको छ । यद्यपि अझै पनि हामीले आयात नियन्त्रणको नीतिलाई अंगिकार गरिरहेका छौं । यसो हुँदा उद्योगी व्यवसायीलाई व्यवसाय विस्तार गर्न र लगानीकर्तालाई थप लगानी गर्न उत्साह मिल्दैन, लगानी गरौं भन्ने जोस हुँदैन । यसकारण अर्थतन्त्रमा सुधार ल्याउनका लागि उद्योगी व्यवसायीको मनोबल बढाउन जरुरी छ । स्वदेशी उत्पादन बढाउनकै लागि नेपाल उद्योग परिसंघले ‘मेक इन नेपाल’ कार्यक्रम सुरु गरेको छ । त्यो कार्यक्रममार्फत् करिब ३५ वटा वस्तु छनोट गरेर काम गरेका छौं । ती वस्तुहरुको उत्पादन बढाएको खण्डमा निर्यातको सम्भावना प्रशस्त छ । यो कार्यक्रमलाई सरकारले बजेटमा पनि सम्बोधन गरेको छ । हामीसँग साधन स्रोतको कमी छ । स्रोतको व्यवस्था गरी ती वस्तुको उत्पादन बढाएर ‘भ्यालु एड’मा निर्यात गर्न सक्छौं । यसो गर्दा एकातिर स्वदेशी उत्पादनमा वृद्धि हुन्छ, अर्कोतिर निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न सक्छौं ।

हाम्रो चाहना स्वदेशी उत्पादन बढोस्, विदेशबाट गैरआवासीय नेपालीमार्फत् धेरै भन्दा धेरै निक्षेप आओस, रेमिट्यान्स बढोस् भन्ने नै हो । तर, हाम्रा नीतिहरु यी विषयलाई प्रोत्साहन गर्ने खालका छैनन् । यी नीतिहरु हाम्रो चाहनाविपरित देखिएका छन् । यसकारण परिसंघले नेपाल सरकारसँग मिलेर मेक इन नेपालको अवधारणा ल्याएको हो । चालु आर्थिक वर्षको बजेटमा मेक इन नेपाल कार्यक्रमका धेरै सुझाव समेटिएको छ, यो सकारात्मक पक्ष हो । करिब ३० देखि ४० प्रतिशत सुझाव बजेटमा समावेश भएको छ । तर, कार्यन्वयनका लागि कार्यविधिलगायत अरु नीतिगत व्यवस्था हुन सकेको छैन ।

निर्यातका लागि सम्भावना भएका उद्योग पहिचान गरेर स्वदेशी उत्पादन बढाउन सकिन्छ । यसका लागि दिर्घकालीन योजना बनाएर अघि बढ्नुपर्छ । नेपालमा सूचना प्रविधिको क्षेत्रमा राम्रो सम्भावना छ । आइटी पार्कको पनि सम्भावना छ । यसमा भियतनाम र भारतबाट पनि सिक्नुपर्ने देखिन्छ । पर्यटन, शिक्षा, स्वास्थ्य र विद्युतमा पनि निर्यातको राम्रो सम्भावना छ । यी क्षेत्रलाई प्राथमिकता दिएर अघि बढ्दा निकट भविष्यमै निर्यात उल्लेख्य रुपमा वृद्धि गर्न सक्ने सम्भावना छ ।

- नेपाल उद्योग परिसंघका अध्यक्ष अग्रवालले कान्तिपुर कन्क्लेभ- २०२२ मा व्यक्त गरेको विचारको सम्पादित अंश ।


प्रकाशित : भाद्र ३०, २०७९ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्

भारतीय अर्केष्ट्राबाट उद्धार गरिएका ४ किशोरी स्वदेश फर्किए 

शंकर आचार्य

पर्सा — भारतको विभिन्न अर्केष्ट्राबाट उद्धार गरिएका ४ नेपाली किशोरीलाई सय दिन पछि स्वदेश फर्काइएको छ । माइती नेपाल वीरगन्ज आवधिक गृहले उनीहरुलाई बुधबार राति ९ बजे वीरगन्ज ल्याएको हो । उनीहरु भारत बिहारको मोतिहारीस्थित बालिकागृहमा आश्रित थिए ।

बिहारको रामवगढवा थानाको प्रहरी टोलीले उनीहरुलाई जुन ४ तारिखमा छापा मारी रामगढवाको कोठी रोडस्थित विभिन्न ४ वटा अर्केष्ट्राबाट उद्धार गरेको थियो । उद्धार गरिएका चेलीहरुका सिरहाका १५ र १७ वर्षीया तथा सुनसरीका १८ र २१ वर्षीया छन् । अर्केष्ट्राबाट ९ जनालाई उद्धार गरिएकोमा ४ जना त्यहाँ गरिएको मेडिकल टेष्ट पछि नाबालिक ठहरिएका थिए ।

उद्धार गरिएका सबै चेलीहरुलाई मोतिहारी जिल्ला अदालतले मुद्दाको कारबाही प्रक्रिया चलुन्जेल आश्रयका लागि बालकल्याण समिति मोतिहारीमार्फत बालिकागृहको जिम्मा लगाएको थियो । समितिले त्यसपछि माइती नेपाल वीरगन्ज आवधिक गृहलाई ती किशोरीहरुको विवरण पठाई ठेगाना तथा अभिभावकहरुबारे जिज्ञासा राखेको थियो । त्यसपछि माइती नेपालले ९ जनै किशोरीहरुको अभिभावकसँग सम्पर्क स्थापित गरेको थियो । ९ मध्ये ५ किशोरी ३ पटकमा गरी स्वदेश फर्किएका थिए भने बाँकी ४ जना एकै पटक स्वदेश फिर्ता ल्याइएका हुन् ।

स्वदेश फिर्ता ल्याइएका ४ किशोरीहरुका अभिभावक आउन ढिला हुने भएपछि माइती नेपाल वीरगन्ज आवधिक गृहले बिहीबार माइती नेपाल केन्द्रीय कार्यालय काठमाडौं पठाइदिएको गृहकी प्रमुख गोमा पौडेलले बताइन् । उनीहरुका अभिभावक काठमाडौं पुगेर छोरी जिम्मा लिनेछन् । माइती नेपाल वीरगन्ज आवधिक गृहले यस वर्षको जनवरीदेखि हालसम्म वीरगन्जस्थित नेपाल-भारत सीमा तथा भारतबाट समेत ६८ जनाको उद्धार गरिसकेको छ । ती मध्ये करिब डेढ दर्जन भारतीय अर्केष्ट्राबाट उद्धार गरी ल्याइएका हुन् ।

जनवरीमा १३, फेब्रुअरीमा ४, मार्चमा २२, अप्रिलमा २, मेमा ४, जुनमा ११, जुलाईमा ५, अगस्टमा ३ र सेप्टेम्बर महिनामा ४ किशोरी तथा बालिकाको उद्धार गरिएको छ ।

प्रकाशित : भाद्र ३०, २०७९ १६:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×