१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

कोरोनाको नयाँ स्वरूप : चासो किन आवश्यक ?

नेपालमा कोरोना भाइरसको नयाँ स्वरूप फैलन नदिने प्रयास थाल्न ढिला भइसकेको छ । त्यसअघि शंकास्पद व्यक्तिहरूमा भाइरसको ‘जिनोम सिक्वेन्सिङ’को विश्लेषण गरी भित्रिए/नभित्रिएको यकिन गर्नुपर्छ ।
शेरबहादुर पुन

कोरोना भाइरसको नयाँ स्वरूप ‘भेरियन्ट अफ कन्सर्न (भीओसी–२०२०१२/०१’ बेलायतमा सार्वजनिक भएसँगै विश्व तरंगित भएको छ । तरंगको मुख्य कारण यसको फैलने क्षमता अघिल्लो भाइरसभन्दा ७४ प्रतिशतसम्म बढी हुनु र बेलायतमा अधिकांश संक्रमितमा यही नयाँ स्वरूपको भाइरस पाइनु हो ।

कोरोनाको नयाँ स्वरूप : चासो किन आवश्यक ?

उक्त भाइरस भित्रने चिन्तामा नेपालसहित विभिन्न राष्ट्रले बेलायत आवतजावतमा प्रतिबन्ध लगाएका छन् । बेलायतमा कात्तिकदेखि नै नयाँ स्वरूपको भाइरस देखिन सुरु भएकोमा नेपालले पुस ७ बाट मात्र यात्रा प्रतिबन्ध लगाएको हो । तसर्थ नयाँ भेरियन्टको भाइरस त्यसअगाडि नै नेपाल प्रवेश गरिसकेकाहरूबाट भित्रने सम्भावना कति होला ? प्रश्न खडा भएको छ । यो लेख तयार पार्दासम्म छिमेकी भारतमै बीस जनामा यो नयाँ भेरियन्टको संक्रमण भइसकेको मिडियाले सार्वजनिक गरेका छन् । नेपालमा कोरोनाको सुरुआती चरणमा पनि अत्यधिक संक्रमितहरू भारतको सीमा हुँदै प्रवेश गरेकाहरू थिए ।

कोरोना भाइरसको जिनमा प्राकृतिक रूपमै समयक्रमअनुसार स–साना परिवर्तन हुने गरेको विभिन्न अनुसन्धानले देखाएका छन् । तर हालै बेलायतमा देखिएको नयाँ भेरियन्टको जिन परिवर्तनचाहिँ अस्वाभाविक पाइएको छ । यो परिवर्तन भाइरसको बाहिरी सतहमा हुने स्पाइक प्रोटिनमा पनि देखिएको छ जुन भाइरस प्रवेश गराउन सबैभन्दा महत्त्वपूर्ण मानिन्छ । यही परिवर्तनका कारण यो भाइरसमा संक्रमण गर्ने क्षमता अघिल्लोमा भन्दा धेरै रहेको वैज्ञानिकहरूको भनाइ छ । तर, उनीहरूले अघिल्लो र पछिल्लोबीचको तात्त्विक भिन्नता स्पष्ट रूपमा बताउन सकेका छैनन् ।

अहिलेसम्म नयाँ भेरियन्ट अघिल्लो भाइरसभन्दा बढी घातक भएको प्रमाणित भइसकेको छैन । भारतमा पनि बेलायतबाट आएका नयाँ भेरियन्टका संक्रमितमा कडा लक्षण नदेखिएको सञ्चारमाध्यमले उल्लेख गरिरहेका छन् ।

अर्को सबैको जिज्ञासा भनेको हाल विकास गरिँदै आएका खोपहरूको प्रभावकारिता कोरोनाको जिनमा देखिएको परिवर्तनसँग सम्बन्धित छ । भाइरसको जिनमा यसरी नै परिवर्तन हुँदै गए खोपको प्रभावकारिता विकासकर्ताहरूले दाबी गरेजत्तिकै नहुन सक्छ । फ्लु भाइरसमा निरन्तर जिनमा परिवर्तन हुने हुँदा फ्लु भ्याक्सिनको प्रभावकारिता पनि उच्च देखिँदैन ।

कुनै पनि देशमा प्रकोप वा महामारी देखिए यातायातको सहज पहुँचका कारण नेपालसम्म नआउला भन्न सकिँदैन । विश्व स्वास्थ्य संगठनले पछिल्लोपटक सन् २००९ सालमा स्वाइन फ्लुका नामले चिनिने ‘एचवानएनवान पीडीएम ०९’ लाई पेन्डेमिक महामारी घोषणा गरेको थियो । अमेरिकामा अप्रिलमा देखिएको उक्त फ्लुको भाइरस दुई महिना नबित्दै (जुनमा) नेपाल भित्रिसकेको थियो । तसर्थ कोरोना भाइरसको नयाँ स्वरूप भित्रन नदिने प्रयास थाल्न ढिला भइसकेको छ । त्यसअघि शंकास्पदहरूमा भाइरसको जिनोम सिक्वेन्सिङको विश्लेषण गरी भित्रिए/नभित्रिएको यकिन गर्नुपर्छ । हालै बेलायतबाट आएकाहरूमध्ये केहीमा कोरोना पोजिटिभ देखिएको नेपाल सरकारले सार्वजनिक गरेको छ । तर भाइरसको जिनोम सिक्वेन्सिङ नगरिएकाले उनीहरू नेपालमै संक्रमित भए वा बेलायतमा भनेर यकिन गर्न सकिएको छैन । बेलायतमै संक्रमित भएका रहेछन् भने त्यो नयाँ स्वरूपको कोरोना हुन सक्ने प्रबल सम्भावना छ ।

नेपालमा हालै संसद् विघटनसँगै जुलुस र र्‍याली बढेका छन् । यसले कोरोना नियन्त्रण अभियानमा अवरोध गरेको छ । यस्ता क्रियाकलापले जनस्वास्थ्यका मापदण्ड व्यवहारमा लागू हुने सम्भावना क्षीण हुनेछ । अहिले पनि देशभर दैनिक झन्डै पाँच सयदेखि हजारको हाराहारीमा नयाँ संक्रमित पुष्टि हुने क्रम जारी छ । सभा, जुलुस, छलफलहरूबाट संक्रमण झन् फैलने सम्भावना बढेर जान्छ । बेलायतमा देखिएको नयाँ स्वरूपको भाइरस नेपाल भित्रिएको रहेछ भने कोरोनाको अर्को लहर सुरु नहोला भन्न सकिँदैन । बेलायतमा पनि क्रिसमस मनाउँदा जनस्वास्थ्यका मापदण्ड बेवास्ता गरिएकाले भाइरस फैलिएको र संक्रमितले अस्पताल भरिभराउ भएको चिकित्सकको अनुमान छ ।

नेपालमा जिनोम सिक्वेन्सिङ प्रविधि नहुँदा नयाँ स्वरूपको भाइरस तत्काल पहिचान गरिहाल्न सजिलो छैन । हुन त यो पंक्तिकारले नेपालमा पहिलो लकडाउनको अन्त्यसम्म ९९ प्रतिशतभन्दा बढी लक्षणविहीन संक्रमित देखिँदै आएकोमा त्यसपछि अचानक लक्षणसहितका संक्रमित देखिँदा भाइरसको स्वरूपमा परिवर्तन आएको हुन सक्ने भनी शंका उठाएको थियो ।

भाइरसको जिन बेलायत वा अरू देशमा मात्र हुनुपर्छ भन्ने छैन । नेपालमा पनि कोरोना भाइरस लामो समयदेखि ‘सर्कुलेसन’ भइरहेको र प्राकृतिक रूपमा जिनमा परिवर्तन पनि भइराख्ने हुनाले त्यस बेलाको भाइरसको जिनोम सिक्वेन्सिङ गर्न सके जिन परिवर्तन भए/नभएको हेर्न सकिने र त्यसैअनुसार योजना र रणनीति बनाउन मार्गनिर्देश गर्न सकिने पंक्तिकारको विश्वास थियो ।

कोरोना अन्तिम महामारी पक्कै हुनेछैन । तसर्थ भविष्यमा देखिन सक्ने अन्य संक्रामक भाइरसको जिनमा देखिन सक्ने परिवर्तन पत्ता लगाउन पनि जिनोम सिक्वेन्सिङ प्रविधि आवश्यक पर्छ । २१औं शताब्दीमा देखिने प्रकोप र महामारीसँग जुध्न भाइरसको स्वरूपमा हुन सक्ने परिवर्तनलाई बेलैमा विश्लेषण गर्न सकिए रणनीति बनाउन सहयोगी हुनेछ । बेलायतले जिनोम सिक्वेन्सिङ प्रविधिबाट बेलैमा भाइरस परिवर्तनबारे जानकारी लिन सक्दा विश्वका अरू देशलाई पनि समयमै सजग हुन मद्दत पुगेको छ ।

(पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्)

प्रकाशित : पुस १६, २०७७ १३:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?