१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

बन्दाबन्दी खोल्नुअघि के गर्ने ?

अहिलेको अवस्थामा परीक्षणको मात्रा धेरै बढाउनुपर्ने देखिन्छ । परीक्षणको दायरा बढाउने सामर्थ्य हामीसँग छैन भने लक्षणको आधारमा सम्भावित बिरामीको पहिचान गरेर तुरुन्तै क्वारेन्टिनमा राख्नुपर्छ ।
डा. दिनेश न्यौपाने

कोभिड–१९ जस्ता रोगहरु मन्दिरमा बजाइने घण्टीको आकार (बेल सेप) जस्तो गरेर फैलन्छन् । एक जनाबाट सुरु हुने संक्रमण सुरुमा बिस्तारै र केही समयपछि ह्वात्तै माथि जान्छ । निकै माथि पुगेपछि केही समयका लागि प्रतिदिन लगभग एउटै संख्यामा रहिरहन्छ । संक्रमित हुनेको संख्या घटेसँगै ग्राफ पनि ओरालो झर्दै जान्छ । 

बन्दाबन्दी खोल्नुअघि के गर्ने ?

अधिकांश देशले यही ग्राफलाई आधार बनाएर बन्दाबन्दी लगायतका रणनीतिलाई खुकुलो पार्दै लगेका छन् । उदाहरणका लागि अमेरिकाले १४ दिनसम्म लगातार संक्रमितहरुको संख्या घट्दै गएमा बन्दाबन्दीलाई बिस्तारै खोल्न सकिने निर्देशिका नै जारी गरेको छ । तर देशको वास्तविक अवस्था कस्तो छ भन्न पर्याप्त मात्रामा रोगीहरुको पहिचान हुनु आवश्यक छ । यसैका लागि अधिकांश देशहरुले परीक्षणको संख्यालाई ह्वात्तै बढाएका छन् । साथै कन्टयाक ट्रेसिङ, क्वारेन्टिन र आइसोलेसनको क्षमतामा पनि वृद्धि गरेका छन् ।

हाम्रो जस्तो देशमा तथ्यांककै आधारमा यो रोगको अवस्था यस्तो छ भनेर भनिहाल्न सकिने अवस्था छैन । हाम्रो देशको ग्राफले निश्चित आकार नै ग्रहण गरेको छैन । उदाहरणका लागि एकैदिन ५० भन्दा बढी संक्रमति देखिए पनि त्यसको भोलि वा पर्सिपल्ट फाट्टफुट्ट संक्रमित भेटिएका छन् । यो रोगको हालसम्मको संक्रमण दरलाई हेर्दा एकैदिनमा यति ठूलो परिवर्तन हुने सम्भावना देखिँदैन । यसले रोग नभएको भन्दा पनि बिरामीको सम्पर्कमा रहेका अरु सम्भावित बिरामीको टेस्ट नभएको भन्ने आधारलाई बलियो प्रमाण दिन्छ ।

नेपालमा कोभिड–१९ को अहिले देखिएको संख्या अलिकति पनि यो संक्रमणको बारेमा चासो राख्नेहरुका लागि अप्रत्यासित होइन । यो संख्या अझै बढ्ने निश्चित छ । यसबाट अतालिएर वा डराएर केही हुनेवाला छैन । यसलाई सामाना नै गर्ने हो र जति सक्दो क्षति न्यूनीकरणमा हाम्रा प्रयास केन्द्रित गर्ने हो । हिजो भएका कमीकमजोरी सच्याएर सबै एक ढिक्का भएर अगाडि बढ्नुको विकल्प छैन ।

अहिलेको अवस्थामा परीक्षणको मात्रा धेरै बढाउनुपर्ने देखिन्छ । परीक्षणको दायरा बढाउने सामर्थ्य हामीसँग छैन भने लक्षणको आधारमा सम्भावित बिरामीको पहिचान गरेर तुरुन्तै क्वारेन्टिनमा राख्नुपर्छ । कसलाई टेस्ट गर्ने, कसलाई क्वारेन्टिनमा राख्ने भन्ने निर्क्यौल गर्न कन्ट्याक ट्रेसिङ गरिनुपर्छ । अहिले जसरी कन्ट्याक ट्रेसिङ भइरहेको छ, त्यो निकै अपुग देखिन्छ । यसलाई तुरुन्त बढाएर प्रभावकारी रुपमा परिचालन गरिनु आवश्यक छ । कम्तीमा २४ घण्टाभित्र बिरामीको सम्पर्कमा आएकालाई क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउनु जरुरी छ । सरकारले हालसालै जनस्वास्थ्यकर्मीको नेतृत्वमा हरेक पालिकामा कम्तीमा एउटा टोली परिचालन गर्ने भनेको छ, जुन निकै स्वागतयोग्य कुरा हो । यो तुरुन्तै लागू हुनुपर्‍यो । जति ढिला गर्छौं त्यति हामीलाई यसको व्यवस्थापन चुनौतीपूर्ण हुँदै जान्छ ।

नेपाल-भारत सीमामा गरिएको सिलबन्दी प्रभावकारी नभएको त घाम जस्तै छर्लंग छ । यस्तो अवस्थामा तुरुन्तै सीमा नाकामा व्यवस्थित क्वारेन्टिनस्थल निर्माण गरेर वा पहिचान गरेर व्यवस्थित रुपमा मुख्य नाकाबाट नेपालीलाई भित्र्याउँदा नै जोखिम कम गर्न सकिन्छ । क्वारेन्टिन समय पूरा गरिसकेपछि सम्बन्धित ठाउँमा लैजान यातायातको व्यवस्था र स्थानीय निकायसँग समन्वय गरिनुपर्छ ।

सरकारले उच्च जोखिममा रहेका क्षेत्रहरुमा थप कडाइकासाथ लकडाउन गर्नुपर्ने देखिन्छ । साथै प्रयोगशालामा गरिने परीक्षण किट र अन्य उपकरण, स्वास्थ्यकर्मीले लगाउने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) को उपलब्धतालाई पनि मुल प्राथमिकतामा राखेर काम गर्नुपर्छ ।

अहिलेको अवस्थामा कोरोनाका बिरामीलाई मात्र राखेर उपचार गरिने अस्पतालको अझ बढी आवश्यकता देखिन्छ । यहाँ कोभिड–१९ लक्षित अस्पताल भनेको कोभिडको मात्र उपचार गर्ने भनेर बुझ्नु हुँदैन । उदाहरणका लागि तत्कालै मुटुको अप्रेसन गर्नुपर्ने बिरामीलाई संक्रमण छ भने अहिले कहाँ र कसले उपचार गर्ने भन्ने स्पष्ट हुनु जरुरी छ । लामो समयसम्म कोरोना संक्रमितलाई अन्य बिरामीसँगै राख्दा अरु बिरामी र स्वास्थ्यकर्मीमा यो रोग सर्ने धेरै जोखिम हुन्छ ।

कोरोनालक्षित अस्पताल भनेको भौतिक पूर्वाधारमात्र होइन त्यहाँ काम गर्ने चिकित्सक, नर्सलगायत कर्मचारीलाई पनि आवश्यक तालिम दिएर मानसिक रुपमा तयार पार्नुपर्छ । उनीहरुको खाने, बस्ने लगायतका विविध सुविधाको व्यवस्था गर्नुपर्छ । जसले गर्दा संक्रमण हुने सम्भावना न्यूनीकरण गर्न सकियोस् । संक्रमित व्यक्तिहरु भेटिनेबित्तिकै केन्द्रीय र क्षेत्रीय अस्पतालमा कुदाउनुभन्दा सम्भव भएसम्म स्थानीय तहमा नै आइसोलेसनमा राखेर अवलोकन गर्दा सर्ने जोखिमलाई कम गर्न सकिन्छ । केहीलाई मात्र जटिल अवस्था देखिने हुनाले उनीहरुलाई मात्र निश्चित अस्पतालमा राखेर उपचार गर्नु उत्तम देखिन्छ । अहिले जस्तो बिरामी भेट्नेबित्तिकै त्यो क्षेत्रका सबैभन्दा राम्रा अस्पतालमा भर्ना गर्ने अभ्यासले संक्रमण झन् फैलने डर हुन्छ ।

करिब दुई महिनाको बन्दाबन्दी लगायतका अन्य रोकथामका कार्यक्रमले हामी आजको यो अवस्थामा छौं । सुरुको अवस्थालाई हामीले गम्भीर रुपमा लिएनौं । एउटा सुनौलो अवसर हामीले गुमाएकै हो । यसबीच भएका राजनीतिक खिचातानी तथा स्वास्थ्य सामग्री खरिद प्रकरणमा भएका ढिलासुस्तीले पनि अलिकति ओझेलमा परेकै हो । लकडाउनको पूर्ण पालना भएन । अर्को संक्रमित नै छैनन्, देखिन थालेपछि यसमा काम गरौंला भन्ने मानसिकताले पनि काम गरे जस्तो देखिन्छ । यसमा कसको के कति दोष छ, त्यो दोष केलाउने बेला अहिले होइन । फेरि पनि हामी जहाँ छौं, त्यहीँबाट जति सकिन्छ त्यति क्षतिलाई न्यूनीकरण गर्न आवश्यक कार्यक्रम ल्याउनु अहिलेको आवश्यकता हो ।

सरकारले केही गर्दै गरेन भन्ने होइन । धेरै राम्रा काम पनि भएका छन्, कति हुँदै पनि छन् । जनताबाट पनि लामो समयसम्म बन्दाबन्दीको पालना भएकै छ । तर अहिले जे भइरहेको छ, त्यसले नपुग्ने स्पष्टै छ । यो असाधारण परिस्थिति हो र साधारण रणनीतिले मात्र खासै ठूलो उपलब्धि हासिल हुन सक्दैन । यसमा धेरै मात्रात्मक र गुणात्मक सुधार गरिनु जरुरी छ । यही अवस्था रहिरह्यो भने न त हामी बन्दाबन्दी खोल्न सक्छौं न त कोभिड–१९ को नियन्त्रण नै गर्न सक्छौं ।

प्रकाशित : जेष्ठ ४, २०७७ १२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?