आसन्न प्रतिनिधिसभा निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै दोलखामा वरिष्ठ उपरीक्षक(एसएसपी) खटाइएको छ ।
दोलखा — आसन्न प्रतिनिधिसभा निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै दोलखामा वरिष्ठ उपरीक्षक(एसएसपी) खटाइएको छ । दोलखामा निर्वाचनमा सुरक्षा संवेदनशीलताको आधारमा प्रहरी प्रधान कार्यालयले दोलखामा पहिलो पटक एसएसपीसहितको टोलीलाई खटाएको हो । निर्वाचनमा सुरक्षाका दृष्टिकोणले चुनौतीपूर्ण भएकाले दोलखामा उच्च अधिकारीको कमाण्डमा प्रहरी परिचालन गरिएको हो ।
दोलखामा एसएसपी सोमेन्द्रसिंह राठौरलाई खटाइएको छ । उनी काठमाडौं उपत्यका प्रहरी कार्यालयमा कार्यरत छन् । राठौर आइतबार नै दोलखा आइपुगिसकेका छन् ।
दोलखा जिल्लामा विगतका निर्वाचनमा हिंसात्मक घटनासहित बुथ कब्जा भएका घटनाले शान्तिपूर्ण निर्वाचनका लागि यसपटक उच्च अधिकारीलाई जिल्लामा खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दोलखामा डीएसपीको कमाण्ड हुने गर्दछ । निर्वाचन दिन जिल्लामा झडप हुने मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखी त्यहाँ सिनियर प्रहरी अधिकृतलाई खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । त्यस क्षेत्रमा जनपदसहित नेपाली सेना र ससस्त्र प्रहरीका उच्च अधिकृत खटाइएको छ ।
