निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना हुन सकेन : मानव अधिकार आयोग 

यही फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा आयोगले अनुगमन टोलीहरु बनाई ४२ जिल्लाहरुमा निर्वाचनपूर्वको अनुगमन गरेपछि आचारसंहिता पालना नभएको पाइएको उल्लेख गरेको छ

फाल्गुन १७, २०८२

कान्तिपुर संवाददाता

Election code of conduct not fully followed: Human Rights Commission

What you should know

काठमाडौँ — राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचन आचारसंहिताको पूर्ण परिपालना हुन नसकेको टिप्पणी गरेको छ । आयोगले अनुमगनपछि यस्तो टिप्पणी गरेको हो । 

यही फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा आयोगले अनुगमन टोलीहरु बनाई ४२ जिल्लाहरुमा निर्वाचनपूर्वको अनुगमन गरेपछि आचारसंहिता पालना नभएको पाइएको उल्लेख गरेको छ । प्रवक्ता टिकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा,  ‘आयोगले गरेको निर्वाचनपूर्वको अनुगमनको क्रममा उम्मेदवारहरुबाट निर्वाचन आचारसंहिताको पूर्ण परिपालना हुन नसकेको पाइएको छ । देशका विभिन्न भागमा र्‍याली तथा सभाहरुमा बालबालिका सहभागी हुनु, पत्रकारहरुमाथि धम्की तथा कुटपिट हुनु, आचारसंहिताविपरीत भौतिक रुपमा चुनाव चिह्नको प्रयोग भएको छ ।’ 

आयोगको केन्द्रीय तथा प्रदेश कार्यालयहरुबाट खटिएको अनुगमन टोलीले निर्वाचन अधिकृतको कार्यालयबाट भएको निर्वाचन तयारी, आचारसंहिताको पालनाको स्थिति, शान्ति सुरक्षाको अवस्थालगायतका विषयमा प्रमुख निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायसँग छलफलसमेत गरेको थियो । अनुगमनका क्रममा राजनीतिक दल, उम्मेदवार तथा मतदाताहरुसँग समेत आयोगले जानकारी लिएको थियो ।

आयोगले आगामी निर्वाचनको दिन फागुन २१ गते पनि विभिन्न अनुगमन टोली बनाई देशैभर अनुगमन गर्ने जनाएको छ । ‘बिनाअनुमति व्यक्तिका घरहरुमा प्रचार सामग्री र झन्डा टाँगिनु, स्थानीय निकाय तथा प्रदेश सरकारका पदाधिकारीहरु निर्वाचनको प्रचारप्रसारमा सहभागी हुनु, उम्मेदवारहरुले अनुमतिबिना बढी सवारीसाधन प्रयोग गर्नु, मतदाताहरुलाई अनुचित प्रभाव पार्ने प्रयास गरिनु, दलका कार्यकर्ता र समर्थकहरुले सामाजिक सञ्जालको दुरुपयोग गरी एक आपसमा गालीगलौज गरेको देखियो,’ आयोगको विज्ञप्तिमा भनिएको छ, ‘सीमान्तकृत समुदायमा पर्याप्त मतदाता शिक्षा पुग्न नसक्नुजस्ता तथ्यहरु पाइएका छन् । तथापि दलका नेता र उम्मेदवारहरु बिचको आपसी सौहार्दता, सुरक्षा निकायको सुरक्षा सतर्कता तथा निर्वाचन अधिकारी र स्थानीय प्रशासनबाट भएको निर्वाचनको तयारीजस्ता विषयलाई आयोगले सकारात्मक रुपमा लिएको छ ।’ 

आसन्न निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र मानव अधिकारमैत्री रुपमा सम्पन्न गर्न सबैको भूमिका महत्वपूर्ण रहने हुँदा सबै पक्षहरुले धैर्यता र संयमता अपनाउन, समाजिक सञ्जालको दुरुपयोग नगर्न, गालीगलौज गर्ने प्रकारका सामग्री उत्पादन र प्रकाशन/प्रसारण नगर्न आयोगले अनुरोध गरेको छ । 

‘शान्ति सुरक्षालाई थप मजबुत बनाउन, संभावित अवाञ्छित गतिविधिहरु हुन नदिन तथा निर्वाचन आचारसंहिताको पूर्ण परिपालना गरी निर्वाचनलाई मानव अधिकारमैत्री बनाई नागरिकको मानव अधिकारको सम्मान गर्न आयोग नेपाल सरकारलगायत सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछ,’ आयोगको विज्ञप्तिमा भनिएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully