शनिबार दिउँसो करिब ३ बजेको समयमा ५४ किलोमा ढुंगासहितको पहिरो झरेको ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
काभ्रे — जिल्लास्थित अरनिको राजमार्ग अन्तर्गत ५४ किलोमा ढुंगासहित पहिरो झरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ । शुक्रबार रातिदेखि निरन्तर परिरहेको पानीका कारण राजमार्गको पाँचखाल–दोलालघाट सडकखण्ड अन्तर्गत ५४ किलोमा ढुंगा सहितको पहिरो झरिरहेको कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुले जानकारी दिए ।
उनका अनुसार, शनिबार दिउँसो करिब ३ बजेको समयमा ५४ किलोमा ढुंगा सहितको पहिरो झरेको हो । उक्त राजमार्गकै धुलिखेल–खावा सडक खण्डको तिरतरे धारामा पनि ढुंगासहितको पहिरो झरिरहेको उनले बताए । वर्षासँगैको पहिरोको जोखिमलाई मध्यनजर गर्दै त्यहाँ सवारी सञ्चालनमा रोक लगाइएको उनले बताए । उनका अनुसार, सवारीहरू धुलिखेलमा होल्ड गरेर राखिएको छ ।
त्यस्तै, बीपी राजमार्ग अन्तर्गत विभिन्न स्थानमा पहिरो झरेको उनले जानकारी दिए । उनका अनुसार, रोशी खोलामा पानीको बहाव ३ गुणाले बढी रहेको र खोला कटान भएर बीपी राजमार्गसम्मै आउने सम्भावना उच्च रहेको देखिन्छ । अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्किन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।
सम्बन्धित अन्य समाचार : लाइभ अपडेट : वर्षाको विपत्ति- देशैभर कहाँ के भइरहेकाे छ?
