प्रहरीले हेटौंडाबाट काठमाडौंतर्फ जाने सबै सवारी साधनहरू हेटौंडामा नै रोकेको छ ।
हेटौंडा — शुक्रबार रातीदेखिको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण हेटौडा–काठमाडौं जोड्ने तीन वटा सडक मार्ग अवरुद्ध भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार दिउँसो हेटौंडा–काठमाडौं छोटो मार्गअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–४, महालक्ष्मीखोलामा ढुंगा–माटो, लेदोसहितको पहिरोका कारण सडक अवरुद्ध बनेको छ ।
यसैगरी इन्द्रसरोवर गाउँपालिका–३, सिस्नेरी बजार नजिकै डोढारे खोलामा पानीको बहाव बढेसँगै शनिबार दिउँसोदेखि कुलेखानी–सिस्नेरी–फर्पिङ खण्ड अवरुद्ध बनेको छ ।
यस्तै, कान्तिलोकपथ सडकखण्डमा शनिबार दिउँसो भीमफेदी गाउँपालिका–८, बगुवाखोला नजिकै पहिरोका कारण सडक अवरुद्ध बनेको छ ।
मौसम पूर्वानुमान महाशाखाले शनिबारदेखि सोमबारसम्म भारी वर्षा जारी रहने पूर्वानुमान गरेसँगै गृह मन्त्रालयको आदेशपछि प्रहरीले हेटौंडाबाट काठमाडौंतर्फ जाने सबै सवारी साधनहरू हेटौंडामा नै रोकेको छ ।
