चेपाङ बाहुल्य बस्तीमा कुलमान, ‘स्वीच अन’ गर्दा खैराङ बस्ती पहिलोपटक झलमल्ल

टुकी र दियालोको उज्यालोमा जीवन व्यतीत गर्दै आएका दुर्गम बस्तीका चेपाङलगायत अन्य समुदायको घरमा सोमबारदेखि बिजुली

चैत्र ११, २०८१

प्रताप विष्ट

Kulman in Chepang Bahulya settlement, Khairang settlement was disturbed for the first time when 'switch on'

हेटौंडा — मकवानपुरको चेपाङ बाहुल्य विकट गाउँपालिका नेपाल विद्युत् प्राधिकरणको ‘चेपाङ बिजुली कार्यक्रम’अन्तर्गत झलमल्ल भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सोमबार एक समारोहबीच राक्सिराङ गाउँपालिका-९ खैराङमा रहेको ट्रान्समिटरको ‘स्वीच अन’ गरेर खैराङका बस्तीलाई झलमल्ल बनाए । उनले राक्सिराङ-९ खैराङकी फूलमाया चेपाङको घरको विद्युत्‌को मिटर पनि ‘अन’ गरेका थिए । 

मकवानपुरकै दुर्गम खैराङमा २०७६/०७७ देखि नै चेपाङलाई बिजुली कार्यक्रम अघि बढाइएको थियो । गाउँपालिकाले आफ्नै स्रोतसाधनले धिमा गतिमा विद्युत् पोल गाड्ने र तार तान्ने काम गरिरहेको थियो । जब प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले उक्त अभियानलाई साथ दिए, तब खैराङलगायत राक्सिराङ गाउँपालिकाका सबै वडामा विद्युत्‌को पहुँच पुग्यो । ‘कुलमान घिसिङको साथ पाएकाले सिंगो राक्सिराङ झलमल्ल हुन सम्भव भएको हो,' गाउँपालिका अध्यक्ष राजकुमार मल्लले  भने । 

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले ३०३ वटा विद्युत्‌ मिटर उक्त वडाका विपन्न चेपाङलाई नि:शुल्क वितरण गरेका थिए । टुकी र दियालोको उज्यालोमा जीवन व्यतीत गर्दै आएका खैराङलगायत राक्सिराङका दुर्गम बस्तीका ९ वटै वडाका  चेपाङलगायत अन्य समुदायको घरमा सोमबारदेखि बिजुली बल्न थालेको छ । २०७८ को जनगणनाअनुसार २५ हजार ९ सय ९६ जनसंख्या रहेको उक्त पालिकामा ५ हजार ४४ घरधुरी छन् । ती सबै घरमा विद्युत् पहुँच पुगेको छ । 

दुर्गम पालिकाको घरघरमा विद्युतीकरण गर्न सहयोग पुर्‍याउने घिसिङलाई गाउँपालिकाले सम्मानसमेत गरेको छ । कार्यकारी निर्देशक घिसिङले दुर्गम गाउँका चेपाङको छाप्रो/छाप्रोमा विद्युत् पुर्‍याउन पाउँदा आफुलाई खुसी लागेको बताए । पालिकाले सम्झेर आफूलाई खैराङमा ल्याएर सम्मान गरेकामा खुसी व्यक्त गर्दै उनले भने, ‘यो सम्मानले ऊर्जा दिएको छ ।'

प्रताप

Link copied successfully