पहिरोले हेटौंडा–काठमाडौं जोड्ने चारवटा राजमार्ग अवरुद्ध

असार १९, २०७८

सुवास विडारी

मकवानपुर — तराईलाई संघीय राजधानीसँग जोड्ने छोटो मार्गका विभिन्न स्थानमा खसेको पहिरोले सडक अवरुद्ध भएको छ । हेटौंडा–काठमाडौं आवतजावत गर्ने चारवटा मार्गका विभिन्न दस स्थानमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

अविरल वर्षाका कारण शुक्रबार राति त्रिभुवन राजपथ, कुलेखानी–सिस्नेरी–काठमाडौं, कुलेखानी–फाखेल–काठमाडौं छोटो मार्ग र कान्ति लोकपथअन्तर्गत् सडक खण्डको विभिन्न स्थानमा पहिरो खसेको हो । 

त्रिभुवन राजपथ अन्तर्गत् भीमफेदी गाउँपालिका–१ बाघझोरा, भैंसे–पालुङ–नौबिसे सडक खण्डमा पर्ने भीमफेदी–९ अघोर, थाहा नगरपालिका–६ खानीगाउँ र थाहा–१२ गैरीगाउँमा पहिरो खसेको थियो । जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार त्रिभुवन राजपथको चार स्थानमा खसेका पहिरो हटाएर हाल एकतर्फी यातायात आवतजावत भइरहेको छ । ‘पहिरो हटाएर एकतर्फी सडक सुरु भएपनि बाघझोराको पानी बहाव र विभिन्न स्थानमा अझै ढुंगा झर्ने क्रम रोकिएको छैन । त्यसकारण अहिले सवारी सञ्चालनमा रोक लगाएका छौं,’ उनले भने । 

कुलेखानी–सिस्नेरी–काठमाडौं छोटो मार्गअन्तर्गत् भीमफेदी–२ पान्द्राङ, भीमफेदी–६, देउराली, कुलेखानी–फाखेल–काठमाडौं सडकखण्ड अन्तर्गत इन्द्रसरोवर गाउँपालिका–४ महालक्ष्मी खोला, इन्द्रसरोवर–२ कुलेखानीमा पहिरो जाँदा सडक अवरुद्ध बनेको छ । ‘हाल यो सडक खण्डको स्तरोन्नतिको काम भइरहेको कारण पनि धेरै स्थानमा पहिरो खसेको हो’, दासले भने ।

कान्ति लोकपथअन्तर्गत भीमफेदी–८, गंगटेस्थित कालोपहिरोमा पहिरोले कालोपत्रे बगाउँदा यसमार्ग पूर्णरुपमा बन्द भएको  छ । कान्ती लोकपथ अन्तर्गतकै ललितपुरको भट्टेडाँडामा पनि पहिरो गएका कारण काठमाडाैं उपत्यकाबाटसमेत सवारी आवतजावत रोकिएको छ । 

बाढी-पहिरो

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully