कोसीमा पानीको बहाव बढ्यो : ब्यारेजका ३० ढोका खोलियो

असार १९, २०७८

कान्तिपुर संवाददाता

विराटनगर — कोसी नदीमा पानीको बहाव २ लाख क्युसेक प्रतिसेकेन्ड नाघेको छ । केही दिनयता लगातार जलस्तर बढिरहेको कोसीमा पछिल्लो पटक गरिएको मापनमा जलस्तर बढेको पाइएको हो ।

कोसी ब्यारेजस्थित नियन्त्रण कक्षका अनुसार ब्यारेज भएर २ लाख ३१ हजार ६५५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएको छ ।

जलस्तर निरन्तर बढेपछि निकास दिनका लागि ब्यारेजका ५६ मध्ये ३० वटा ढोका खुला गरिएको छ । पानीको बहाव उच्च हुँदा ब्यारेजका संरचनामा क्षति पुग्न सक्ने जोखिम हुने गरेको छ । ६ दशकअघि ब्यारेज निर्माणताका १२ लाख क्युसेक प्रतिसेकेन्ड पानीको बहाव नियन्त्रण गर्न सक्ने भनिएको थियो । तर मास्तिरबाट बगेर आउने बालुवा र गेग्रयान ब्यारेजनजिक जम्मा भएकाले क्षमता घटेको प्राविधिकहरुले बताएका छन् ।

२०११ सालमा बनेको ब्यारेजको आयु ५० वर्षको भनिएको थियो । पछिल्ला दिन कतिपय संरचना क्षतिग्रस्त हुने गरेको छ । ब्यारेजलाई पटक-पटक मर्मत गर्दै सञ्चालन गर्ने गरिएको छ । नदीमा पानीको सतह बढ्दै जाँदा सतर्कतासूचक रातो बत्ती बाल्ने गरिएको छ । अझ खतरापूर्ण अवस्था आएको अवस्थामा साइरन बजाएर सर्तक गराउने गरिन्छ । सुनसरी प्रशासनले नदी आसपास क्षेत्रका बासिन्दालाई सजगता अपनाउन सूचित गरेको छ ।

पूर्वी पहाडी जिल्लाहरु अनि तराई क्षेत्रमै पनि केही दिनयता निरन्तर वर्षा भइरहेकाले कोसीमा जलस्तर बढेको हो । यसअघि बिहानै गरिएको मापनमा ब्यारेज भएर एक लाख ८० हजार क्युसेक भन्दा बढी पानीको बहाव पाइएको थियो ।

यस्तै शुक्रबार मध्यराति डेढ लाख क्युसेक प्रतिसेकेन्डभन्दा बढी पानी कोसी ब्यारेजमा बहाव मापन भएको थियो ।

बाढी-पहिरो

कान्तिपुर

Link copied successfully