चितवन — चार किलो र भोर्ले सेतीदोभानको पहिरो हटाउने काम सुरु भएसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा शनिबार बिहान १० बजे तिरबाट एकतर्फी गाडी चल्न थालेका छन् ।
पहिरो पूरै सफा गर्न समय लाग्ने भए पनि एकतर्फी गाडी चल्न सक्ने गरेर बाटो खुलेको भरतपुरको डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए ।
नारायणगढ–मुग्लिन खण्डमा गाडी चल्न सुरु भए पनि मुग्लिनपूर्व पृथ्वीराजमार्गको ठाउँठाउँमा पहिरो आएको हुँदा काठमाडौं जाउआउ गर्न अझै गाह्रो हुने खनालले बताए । बिहीबारदेखि नै यो सडकखण्डमा पहिरो खसिरहेको छ । शुक्रबार साँझ नारायणगढदेखि २० किलोमिटर पर भोर्ले सेतीदोभन र राति चार किलोमा फेरि थपिएको पहिरोले गाडी चल्न ठप्प भएको थियो ।
‘लामो समयदेखि रोकिएका गाडी कटाउन एकतर्फी बाटो खुला गरेका छौं । पहिरो पूरै हटाउन समय लाग्छ । पानी नथपिए र थप पहिरो नखसे तीन–चार बजेसम्म काम सक्ने लक्ष्य राखेका छौं,’ खनालले भने ।
