कमला नदीमा निर्माणाधीन पुल भासिएपछि छानबिन गर्न निर्देशन

असार १८, २०७८

कान्तिपुर संवाददाता

जनकपुर — हुलाकी सडक खण्डको कमला नदीमा निर्माणाधीन पुल भासिएको घटनाको छानबिन गर्न प्रदेश २ को भौतिक पूर्वाधार मन्त्रालयले सडक विभागलाई निर्देशन दिएको छ ।

मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले सडक विभागलाई पुल भासिनुको कारणबारे सत्य बुझ्न छानबिन समिति गठनको निर्देशन दिएका हुन् । ‘पलको डिजाइन, प्रयोग भएको निर्माण सामग्रीसहितका विषयमा सत्यतथ्य बुझ्न सडक विभागलाई छानबिन समिति बनाउन निर्देशन दिएको छु । कहीकतै अनियमितता भएको छ भन्ने दोषीमाथि कारबाही हुन्छ,’ सचिव श्रेष्ठ भने ।

धनुषा र सिरहा जिल्ला जोड्ने हुलाकी सडकको कमला नदीमा निर्माणाधीन पुलको पिलर बिहीबार सामान्य बाढीमा भासिएको थियो । १० वर्षअघि शिलान्यास गरिएको पुल यसै महिना हस्तान्तरण गर्ने तयारी थियो । केही दिनअघि उक्त पुल निरीक्षण गर्न गएका सर्वोच्चको आदेशद्वारा पदमुक्त गरिएका संघीय सरकारका संस्कृति, पर्यटनमन्त्री उमाशंकर अरगरियाले निर्माणमा संलग्न कम्पनीले गुणस्तरीय काम गरेको उल्लेख गर्दै यसै महिनाभित्र पुलको उद्घाटन हुने घोषणा गरेका थिए ।

उद्घाटन नहुँदै भासिएको कमला पुलको स्थलगत निरीक्षण गर्न शुक्रबार धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला, प्रहरी उपरीक्षक प्रकाश रानाभाट, कमला नदी नियन्त्रण डिभिजन कार्यालयका डिभिजनल प्रमुख एकराज भट्टराई, नेपाल रेडक्रस सोसाइटी धनुषाका सभापति नरेशप्रसाद सिंह तथा हुलाकी सडक डिभिजन कार्यालय जनकपुरका इन्जिनियर बेचनकुमार भण्डारीसहितको टोली त्यहाँ पुगेको थियो ।

धनुषा र सिरहाको सीमाको रूपमा रहेको कमला नदीमा निर्माणाधीन पुलको शिलान्यास २०६८ साल मंसिरमा तत्कालीन भौतिक पूर्वाधार मन्त्री हृदयेश त्रिपाठीले गरेका थिए । तीन वर्षमा निर्माण सम्पन्न हुने समझौता भए पनि हालसम्म निर्माण पूरा भएको थिएन । कमला नगरपालिकाका बासिन्दा तथा पूर्वसामान्य प्रशासनमन्त्री रामचन्द्र झा शुक्रबार आफ्नो फेसबुकमा लामो स्टेटस लेख्दै ठेकेदारको राजनीतिक कनेक्सनका कारण गुणस्तरहीन निर्माण भएको आरोप लगाएका छन् । आफूहरुले सार्वजनिक निर्माण सरोकार समाज गठन गरी कमला पुलको निर्माण यथाशीघ्र सम्पन्न गर्न तथा गुणस्तरीय काम गर्न गराउन सरोकारवाला निकायलाई पटकपटक ध्यानाकर्षण गराएको उल्लेख गरेका छन् ।

ठेकेदार पप्पु कन्स्ट्रक्सनसँग भएको समझौतामा तीन वर्षभित्र पुल निर्माण भई सक्नुपर्ने उल्लेख थियो । करिब २५ करोडको लागतमा निर्माण हुन लागेको पुलको प्रथम ठेकेदार पप्पु कन्सट्रक्सन कालोसूचीमा परेपछि लुम्बनी कन्स्ट्रक्सनले कामलाई निरन्तरता दिएको थियो । धनुषा सदरमुकाम जनकपुर र सिरहा जोड्ने हुलाकी सडक लगभग तयारी अवस्थामा छ । हुलाकी सडकबाट जनकपुर–सिरहाको दूरी ३२ किलोमिटर मात्र छ । पुल निर्माण नहुँदा सर्वसाधारणलाई ढल्केवर–चोहरर्वा हुँदै सिरहा जानुपर्छ । जसको दूरी झन्डै १ सय किलोमिटर छ ।

यो पनि पढ्नुहोस्ः 

निर्माणाधीन कमला पुल भासियो

बाढी-पहिरो

कान्तिपुर

Link copied successfully