चितवनमा जेठ २० सम्म लम्बियो निषेधाज्ञा

जेष्ठ १२, २०७८

रमेशकुमार पौडेल

चितवन — कोरोना भाइरसको संक्रमण तीव्र भएसँगै चितवनमा लागेको निषेधाज्ञा जेठ २० गतेसम्म कायम रहने भएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बुधबार जारी गरेको सूचना अनुसार निषेधाज्ञा जेठ २० गतेसम्म लम्बिएको हो । कोरोनाको दोस्रो लहरमा संक्रमण तीव्र भएसँगै चितवनमा सुरुमा वैशाख १६ गते मध्यरातदेखि वैशाख ३१ गते मध्येरातसम्म निषेधाज्ञा जारी भएको थियो । 

त्यसपछि जेठ १३ गतेसम्म निषेधाज्ञा रहने भनिएको थियो । संक्रमण तीव्र नै रहेका कारण निषेधाज्ञाको समय थप्नु परेको प्रमुख जिल्ला अधिकारी लामिछानेले जारी गरेको सूचनामा उल्लेख छ । 

चितवन स्वास्थ्य कार्यालयका अनुसार बुधबारसम्म जिल्लामा निको हुन बाँकी सक्रिय संक्रमितको संख्या चार हजार ९२६ पुगेको छ । वैशाख १ मा सक्रिय संक्रमित जम्मा ९६ जना थिए । जिल्लामा कूल संक्रमितहरु १३ हजार १६५ पुगेका छन् । जसमध्ये बुधबारसम्म चितवनका २१० जना संक्रमितहरुले ज्यान गुमाएको चितवन स्वास्थ्य कार्यालयले जनाकारी दिएको छ ।  

कोरोना भाइरस

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully