काभ्रे — कोरोना संक्रमितको संख्या दैनिक वृद्धि भएपछि बनेपा नगर क्षेत्र एक साताका लागि सिल गरिएको छ । नगर क्षेत्रमा अत्यन्तै जोखिमपूर्ण अवस्था भएकोले संक्रमणको श्रृंखला तोडी न्यूनिकरणका लागि चाल्नुपर्ने कदमबारे छलफल गर्न बसेको सरोकारवालाको बैठकले जेठ ४ गते मंगलबार राति १२ बजेदेखि जेठ १२ गते राति १२ बजेसम्म पूर्णरुपमा शिल गर्ने निर्णय भएको नगरप्रमुख लक्ष्मीनरसिं बादेले जानकारी दिए ।
नगरपालिकाले जारी गरेको सूचनामा उक्त अवधिमा खाद्यान, फलफूल, तरकारी, दुधजन्य पदार्थ तथा बैंक तथा वित्तिय संस्थाबाट प्रदान हुने सेवा पूर्ण रुपमा बन्द गर्ने उल्लेख छ । मर्निङ वाक गर्न समेत रोक लगाइएको छ ।
जिल्लामा रहेका सक्रिय कोरोना संक्रमितमध्ये सबैभन्दा धेरै बनेपामा नै छन् । आइतबारसम्म जिल्लाका एक हजार ९ सय ५४ संक्रमितमध्ये ७ सय ७६ बनेपाका छन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्र बनेपाका पसलहरु खुल्दा जोखिम अझै नघटेको भन्दै नगरपालिकाले यस्तो निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय काभ्रेले पनि जेष्ठ १२ गते राति १२ बजेसम्म जिल्लाभर लागू हुने गरी निषेध आदेश जारी गरेको छ ।
