रोल्पामा थप दुई जना कोरोना संक्रमितको मृत्यु

जेष्ठ ३, २०७८

काशीराम डाँगी

रोल्पा — कोरोना संक्रमणबाट रोल्पामा थप २ जना पुरुषको मृत्यु भएको छ । रोल्पा अस्पतालमा उपचाररतमध्ये एक जनाको आइतबार राति र अर्का एकको सोमबार मध्याह्न मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार कोरोना संक्रमणबाट गम्भीर बिरामी भएका लिबाङस्थित रोल्पा नगरपालिका–२ का ४३ वर्षीय पुरुष र परिवर्तन गाउँपालिकाका ४८ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी कुलबहादुर डाँगीले बताए । एकजनाको उपचारकै क्रममा र अर्काको थप उपचारका लागि जिल्लाबाहिर लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । 

दुवैजना ३ दिनअघि रोल्पा अस्पतालमा भर्ना भएका थिए । मृतकमध्ये एक जना रोल्पा नगरपालिका–२ स्थित पाउरोटी उद्यमी हुन् । बिरामी भएपछि चिकित्सकको सल्लाहले उनले लामो समय टाइफाइडको औषधि लिइरहेका थिए । निकै थलिएपछि मात्रै उनी कोरोना संक्रमण हुन सक्ने ठानेर अस्पताल भर्ना हुन गएका थिए ।

उपचारका लागि भर्ना भएका कोरोना संक्रमितमध्ये रोल्पा अस्पतालमा अहिलेसम्म ३ जनाको मृत्यु भइसकेको छ । 

कोरोनाका कारण रोल्पाका करिब एक दर्जनको मृत्यु भइसकेको छ । तर उपचारका क्रममा जिल्लाबाहिर मृत्यु भएकाले सबै प्रतिवेदन प्राप्त नभइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

कोरोना भाइरस

काशीराम डाँगी कान्तिपुरका रोल्पा संवाददाता हुन् ।

Link copied successfully