सिन्धुली — सिन्धुलीमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । कमलामाई नगरपालिका–६ की ८४ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि सिन्धुली अस्पतालमा भर्ना भई उपचाररत ती महिलाको आइतबार राति मृत्यु भएको अस्पतालका व्यवस्थापक बिमल श्रेष्ठले जानकारी दिए ।
उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि ती महिलालाई सिन्धुली अस्पतालले थप उपचारका लागि शुक्रबार धुलिखेल अस्पताल पठाएको थियो । धुलिखेल अस्पतालले पीसीआर परीक्षणका लागि स्वाब लिएर बिरामीलाई घर फिर्ता पठाएको थियो ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शनिबार राति सिन्धुली अस्पताल ल्याई उपचार सुरु गरिएको थियो । मृत्युपछि आएको रिपोर्टमा कोरोना पुष्टि भएको हो ।
