११० को मात्रै स्वाब परीक्षण
हेटौंडा — वाग्मती प्रदेशका १३ वटा जिल्लामा कोरोना भाइरसका (कोभिड—१९) रोकथाम, नियन्त्रण र उपचार गर्नका लागि २५ सय ३३ क्वारेन्टाइन र ६ सय १५ शय्या क्षमताको आइसोलेसन वार्ड निर्माण गरिएको छ ।
सबैभन्दा बढी आइसोलेसन वार्ड चितवनमा निर्माण गरिएको छ । १ सय ९६ वटा आइसोलेसन तयार भइसकेका छन् । १ सय ८२ शय्याको क्वारेन्टाइन निर्माण भइसकेको छ ।
चितवनस्थित कोरोना अस्पतालमा ९ जना आइसोलेसन वार्डमा छन । यसैगरी दोलखामा ५९ शय्याको आइसोलेसन वार्ड निर्माण गरिएको छ भने १ सय १८ वटा बेडको क्वारेन्टाइन निर्माण गरिएको छ । दोलखाका स्वास्थ्यकर्मीलाई ४८ थान पीपीई उपलब्ध गराइएको छ ।
सिन्धुलीका ९ वटै स्थानीय तहमा क्वारेन्टाइन निर्माण गरिएको छ । एक पालिकामा २ देखि ३९ सम्म क्वारेन्टाइन निर्माण गरिएको छ । सिन्धुलीमा १ सय ३ वटा क्वारेन्टाइन बेड तयार राखिएको छ । ५ वटा स्थानीय तहमा १४ वटा आइसोलेसन वार्ड निर्माण गरिएको छ । ४ वटा पालिकामा आइसोलेसन छैन । सिन्धुली अस्पतालमा रहेको आइसोलेसन वार्डमा २ जनाको उपचार भइरहेको छ । उनीहरूको स्वाब परीक्षणका लागि बुधबार काठमाडौं पठाइएको छ । सेल्फ क्वारेन्टाइनमा १० जना बसेका त्यहाँका अधिकारीले जनाएका छन् ।
यसैगरी नुवाकोटमा १० वटा आइसोलेसन वार्ड र एक सय ९१ शय्याको क्वारेन्टाइन निर्माण गरिएको छ । उक्त जिल्लामा विदेशबाट आएका १५ जना सेल्फ क्वारेन्टाइनमा छन् । उपत्याकासँग जोडिएको काभ्रे जिल्लामा २१ वटा आइसोलेसन वार्ड निर्माण गरिसकेको छ । नेपाली सेनालगायत स्थानीय तहको सक्रियतामा १ सय ४३ शय्याको क्वारेन्टाइनको निर्माण अन्तिम चरणमा पुगेको छ ।
वागमती प्रदेशको दुर्गम जिल्ला रसुवामा २ सय १६ शय्याको क्वारेन्टाइन बनाएको छ भने ५२ शय्याको आइसोलेसन निर्माण गरिएको छ ।
यसैबीच सिन्धुपाल्चोकमा १४३ शय्याको आइसोलेसन वार्ड तयार पारिसकेको छ । २ सय १३ बेड क्वारेन्टाइन निर्माण गरिएको छ । गाउँपालिकाहरूले क्वारेन्टाइन थप निर्माण गरिरहेका छन्। रामेछापमा २ सय २७ शय्याको क्वारेन्टाइन निर्माण गरिसकेको छ । २९ शय्याको आइसोलेसन तयारी अवस्थामा छ । यस जिल्लाका तेस्रो मुलुकबाट आएका ३६ जना क्वारेन्टाइनमा छन् भने एक जना आइसोलेसन वार्डमा छन ।
धादिङमा ६ शय्याको आइसोलेसन वार्ड निर्माण गरिएको छ । उक्त जिल्लामा ४६४ शैयाको क्वारेन्टाइन निर्माण गरिएको छ । विभिन्न मुलुकबाट आएका स्थानीय ३ महिलासहित ६९ जना क्वारेन्टाइनमा छन् ।
मकवानपुरमा अहिलेसम्म १ सय ८६ बेडको क्वारेन्टाइन निर्माण गरिसकेको छ । ३० बेडको आइसोलेसन पनि तयारी अवस्थामा छ । यस प्रदेशको १३ वटा जिल्लामा ३ सय २० वटा आईसियू तयारी अवस्थामा रहेको वाग्मती प्रदेशका सामाजिक विकास मन्त्रालयका प्रवक्ता दिपेन्द्र सुवेदीले जानकारी दिए ।
विभिन्न जिल्लाका क्वारेन्टाइनमा ६ सय ५४ व्यक्ति बसिरहेका छन् । प्रवक्ता सुवेदीका अनुसार यस प्रदेशका विभिन्न जिल्लाका १ सय ३३ जनाको स्वाब परीक्षण गरेकोमा १ सय १० नतिजा आइसकेको छ । सबैमा कोरोनाको लक्षण नेगेटिभ देखिएको छ ।
२३ जनाको रिपोर्ट आउन बाँकी छ । सबैभन्दा धेरै चितवन जिल्लामा स्वाब परीक्षण गरिएको छ । ५४ जनाको स्वाब परीक्षण गर्न पठाएकोमा ४५ जनाको रिपोर्ट आएको सुवेदीले जनाए ।