परिवर्तित समय, बद्लिँदो परिवेश अनि सुविधा भोगी उपभोक्तासामू रिक्सावालाहरूको केही जोर चलेन । सहरमा ई–रिक्साहरूको आगमन भयो । पसिना पुछ्दै रिक्सा हुइँक्याउनेहरु पलायन भए । अनि यिनै ई–रिक्साहरूको एकछत्र बढ्दै गयो ।
What you should know
झापा — व्यस्त सानो सहरमा मध्याह्न चर्को गर्मीको प्रवाह नगरी दौडिरहेका छन् । उप्किएको राजमार्गमा धुलो उडाउँदै गुडिरहेका छन् यात्रुवाहक सवारी र किनमेलका गाउँबाट सहर आइपुगेका मान्छेको ताँती लाग्छ । यही व्यस्त सहरको एउटा कुनामा रोकेर राखिएको छ एउटा (सिटी सफारी) ई–रिक्सा ।
कुनैबेला ई–रिक्सा चलाएरै दिनको ३५ सयसम्म कमाइ हुन्थ्यो, अहिले मुस्किलले ६–७ सय कमाउँछुयात्रु पर्खिएर बसिरहेका छन्, मेचीनगर–७ का चेतराज बस्नेत (६१) । बस्नेत उनै हुन् । जसले ई–रिक्सा किन्दा यो इँटाभट्टा सहरमा केवल मान्छेले हातले चलाउने रिक्साको मात्रै बाहुल्य थियो । ब्याट्री चार्ज गरेर चल्ने ई–रिक्सा फाट्टफुट्ट मात्रै राजमार्गमा देखा पर्थे । ‘मैले ७२ सालतिर यो ई–रिक्सा किने । त्यतिबेला सहरमा पाइडलवाला रिक्साको राज थियो । ब्याट्रीबाट चल्ने साधन आएकै थिएनन्,’ उनले ई–रिक्सा भित्रैबाट सुनाए, ‘यहाँ ई–रिक्सा हाल्नु हुँदैन । हाम्रो रोजीरोटी खोसिन्छ भनेर रिक्सावालाहरूले आवाज उठाइरहेको समय थियो त्यो ।’ उनले भने जस्तै २०७० पछि नेपाली सहरमा ब्याट्रीबाट चल्ने ई–रिक्सा भित्रियो । जुन समय रिक्सावालाहरूले ई–रिक्सा हाल्नु हुँदैन भनेर आवाज उठाइरहेका थिए । परिवर्तित समय, बद्लिँदो परिवेश अनि सुविधा भोगी उपभोक्तासामू रिक्सावालाहरूको केही जोर चलेन । सहरमा ई–रिक्साहरूको आगमन भयो । पसिना पुछ्दै रिक्सा हुइँक्याउनेहरु पलायन भए । अनि यिनै ई–रिक्साहरूको एकछत्र बढ्दै गयो ।
पाइडल रिक्सावालहरू हराए । चेतराज बस्नेतहरू सहर पसे । आज बस्नेतले सहरका भित्री सडक तथा राजमार्गमा यात्रु ओसारेको एक दशकको समयमा उनले ई–रिक्सा चलाएरै दिनको २५ सय देखि ३५ सय रुपैयाँसम्म कमाए । कुनै समय थियो उनी झिसमिसेमै इँटाभट्टा सहर आइपुग्थे । बेलुकी बत्ती नबालुन्जेलसम्म ई–रिक्सा चलाउँथे । साँझ घर पुग्दा खल्तीमा दुई हजारभन्दा धेरै नै रकम हुन्थ्यो ।
तर, आज समय त्यस्तो छैन । सहरमा पेट्रोलबाट छरितो गरी चल्ने अटोहरू आएका छन् । ई–रिक्सा नै पनि औंलामा गनी नसक्नु गरी थपिएका छन् । पूर्व–पश्चिम राजमार्गलाई एसियन हाइवे बनाउने भनेर भत्काइएको छ । कुनै समय ई–रिक्सा कमाएरै दिनको ३५ सयसम्म कमाउने उनको खल्तीमा आज मुस्किलले दिनको ५–६ सय रुपैयाँ बच्छ । जसमा उनी चित्त बुझाइरहेका छन् । ‘त्यसमा पनि बाटो यसरी बिग्रिएको छ । बाटो नै बिग्रिएपछि ई–रिक्सा पनि बिग्रिएको बिग्रै गर्छ । दुई–तीन दिनमै ५–६ सय रुपैयाँ त बनाउन मै खर्च हुन्छ,’ मुहारमा निराशा झल्काउँदै उनले वेदना सुनाए, ‘हामी गरी खाने वर्गलाई साह्रै गाह्रो छ । हाम्रो पीडा कसले सुन्ने ?’ तर, आजकल सहरमा ई–रिक्सा गनिनसक्नु गरी थपिएका छन् मात्रै । ई–रिक्सा चलाउने अधिकांशसँग लाइसेन्स छैन । जसरी ७२ सालयता निरन्तर ई–रिक्सा चलाइरहेका बस्नेतसँग छैन । ‘म त बुढो भइसको । मैले ई–रिक्सा चलाइरहँदा लाइसेन्सको खासै खोजी पनि हुँदैनथ्यो,’ उनी भन्छन्, ‘ई–रिक्साको संख्या बढ्दै गएपछि दुर्घटना पनि बढ्यो । अनि लाइसेन्सको पनि खोजी हुन थाल्यो ।’ उनले भने जस्तै आज हरेक सहरमा ई–रिक्साको संख्या थेगिनसक्नु गरी बढेको छ । जसरी पूर्वी सीमावर्ती सहर इँटाभट्टामा मात्रै करिब डेढ सय बढी संख्यामा ई–रिक्सा छन् । जबकि यो सहर देशका प्रमुख सहरहरूको तुलनामा सानो हो ।
सहरमा थेगिनसक्नु छन् ई–रिक्सा, अधिकांशसँग छैन लाइसेन्स त्यसो त ई–रिक्सा चलाउनेहरु लाइसेन्सविहीन मात्रै पनि छैनन् । राजमार्गमा यात्राका क्रममा भेटिएका हर्क श्रेष्ठ (३४), हरि राजवंशी (५६), बुद्धि कट्टेल (५०) लगायतले लाइसेन्स बनाएका छन् । सँगै उनीहरूले यहीँ ई–रिक्साबाट कमाएको पैसाले घर पनि चलाइरहेका छन् । आयाबारीमा भेटिएका हर्क श्रेष्ठको घरमा तीन जनाको परिवार छ । श्रीमती घरमै बस्छिन् । छोरी सानै छिन् । युकेजीमा पढ्छिन् ।
यी तीन जनाको परिवार चल्ने आधार भनेकै हर्कले ई–रिक्साबाट कमाएको रकम हो । ‘सात वर्ष भयो मैले यो ई–रिक्सा किनेको । सुरुमा त राम्रै कमाइ थियो,’ उनी भन्छन्, ‘अहिले खासै छैन । दिनभरिमा त्यहीँ ६–७ सय रुपैयाँ बच्छ । त्यसैले छोरी पढाउन, घर चलाउन पुगेको छ ।’
श्रेष्ठले लाइसेन्स बनाएको पनि तीन वर्ष भयो । दुई पटक ट्रायल दिएपछि उनले लाइसेन्स पाए । ‘लाइसेन्स नहुँदा राजमार्गमा कुदाउन गाह्रो थियो । अहिले लाइसेन्स बनाएपछि सहज भएको छ,’ उनले सुनाए । काँकरभिट्टामा भेटिएका हरि कट्टेलले ई–रिक्सा चलाउन थालेको करिब तीन वर्ष पुग्न लाग्यो । आठ वर्ष दुबई बसेर फर्किएका कट्टेलले अब देशमै केही गर्नुपर्छ भन्ने सोचे ।
विदेशमा कमाएको पैसा थियो । ई–रिक्सामा राम्रै कमाई पनि देखे उनले । ‘सबैले ई–रिक्सा चलाएको देखो । राम्रै कमाई हुने रहेछ भनेर किनेको हुा,’ उनी सुनाउँछन्, ‘सुरुमा त हजार रुपैयाँसम्म कमाई भयो पनि । तर, जसरी ई–रिक्साको संख्या बढ्दै गयो । कमाई पनि घट्दै गयो ।’ अहिले उनी दिनको ६–७ सय रुपैयाँसम्म कमाउँछन् । जसले उनको ५ जनाको परिवारको (बुबा, आमा, श्रीमती, छोरा र म) घरखर्च चलाउन पुगेको छ ।
यहाँ जसरी ई–रिक्साहरूले रिक्सालाई विस्थापित बनाए । त्यसैगरी पेट्रोलबाट चल्ने अटोलगायतका सवारीले ई–रिक्सालाई पनि विस्थापित बनाउँदै छन् । तर, सहरमा जसरी ई–रिक्साको संख्या बढ्दै गयो । सो अनुरूप ई–रिक्सा चालकसँग लाइसेन्स भने छैन । पूर्व–पश्चिम राजमार्गमा गुड्ने ई–रिक्सा चालकसँग लाइसेन्स परीक्षण गर्दा ६० देखि ७० प्रतिशतसँग मात्रै लाइसेन्स पाइने गरेको बताउँछन् जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख गणेश पौडेल ।
अझ भित्री सडकहरूमा परीक्षण गर्दा आधा भन्दा धेरै ई–रिक्सा चालकसँग लाइसेन्स हुँदैन । जसले राजमार्गमा दुर्घटना जोखिम बढाइरहेको उनको भनाई छ । ‘राजमार्ग साँघुरो छ । अझ भत्काइएको पनि छ । ठूला सवारी र तीन चक्के सवारीको स्पिड पनि मिल्दैन,’ उनी भन्छन्, ‘लाइसेन्स नभएका सवारीलाई सबै मिलेर निरुत्साहित गर्नुपर्छ ।’
ई–रिक्सासँग सम्बन्धित समाचारहरु :
