पछिल्लो समय हाम्रा फिल्म अन्तर्राष्ट्रिय फेस्टिभलसम्म पुगे । तर तिनै फिल्मले नेपाली हलमा दर्शक भने कमाउन सकेनन् ।
काठमाडौँ — ‘कर्मा’ र ‘पिताम्बर’लाई हलहरूमा सुम्पिँदै विसं २०८१ ले यतिबेला बिदाइको अन्तिम हात हल्लाइरहेछ । नयाँ सालको पूर्वसन्ध्यामा केही दर्शक वर्षभरिको भागदौड बिसाउँदै सिनेमाघर पुगिरहेछन् । तर सिनेमाघरमा दर्शकको खचाखच छैन । व्यापारमा खासै बहार भर्न नसके पनि पातलिँदो दर्शकको संख्यामाझ ‘वसन्त’ मुस्काउने प्रयत्न गरिरहेछ ।
सालको अन्तिम दिनबाट फर्केर वर्ष ०८१ लाई नियाल्ने हो भने माहोल अलग्गै थियो । अन्धविश्वासी समाजको अँध्यारो समयको कथा भनेर फिल्म ‘बोक्सीको घर’ले नयाँ वर्षलाई स्वागत गरेको थियो । स्वागत पनि यसरी गर्यो, हुलका हुल दर्शक आँखाभरि पीडा र आक्रोशको ज्वारभाटा बोक्दै हलबाट निस्किए । महिलामाथि गरेको शोषण र दमन गर्ने बोक्सी प्रथासँग रिसाए । फिल्मको व्यापारको आँकडा पनि अनपेक्षित उकालो लाग्यो । फिल्मले १० करोडभन्दा माथिको व्यापार गर्यो । यो देखेर फिल्मकर्मीहरू मुस्कुराए । हँसाएर मात्र पैसा कमाइन्छ भन्ने धारणाबाट केही 'मेकर' निस्कँदै सोच्न थाले, ‘कथा त रुवाउने गरी पो भन्नुपर्छ ।’
न हँसाउने कथा भनेर पैसा कमाइने हो, न रुवाउने भनेर । जुनसुकै होस्, कथाले त दर्शकको मनलाई त ‘पूर्णबहादुरको सारंगी’ले झैं रेट्न सक्नुपर्यो । वर्षको अन्तिमसम्म आइपुग्दा हँसाउने र रुवाउने कथा भन्नुपर्छ भनेर वल्लो छेउ, पल्लो छेउ गर्ने मेकरहरूको पनि सायद चेत खुलिसक्यो । किनकि यसवर्ष ‘बोक्सीको घर’, ‘पूर्णबहादुरको सारंगी’ जस्ता फिल्मले पनि आफूलाई प्रमाणित गरे । सधैंझैं दर्शकहरु तानिरहने कमेडी विधाको फिल्म ‘छक्का पञ्जा’ले पनि दर्शक आकर्षित गरिरह्यो ।
नेपाली फिल्म क्षेत्रमा लामो समयदेखि शून्यप्राय: एक्सन विधाले पनि यसपटक राम्रै हस्तक्षेप गर्यो । हलहरूमा झुल्किनै नपाई ‘साङ्लो’ चुँडिएपछि टाढिएका विराज भट्ट निर्देशन र अभिनयमा कमब्याक गरे । र ’१२ गाउँ’ले फिल्म क्षेत्रमा रौनकसहितको दसैं मनायो । एक्सन विधाले पनि पुन:जीवन पायो भनियो । त्यसपछि एक्सन फिल्म निर्माणको लहरमा अन्य मेकर पनि जोडिए । यसपटक एउटै स्वादलाई मात्र दर्शकले पछ्याएनन् ।
‘घरज्वाइँ’मा मगर समुदायको कथा वाचन होस् वा ‘पूजार सार्की’मा जात व्यवस्थाविरुद्धको प्रस्तुति । दर्शकहरूका निम्ति फरक स्वादका सुन्दर कोसेलीहरू नै भए ।
फिल्म क्षेत्रमा ‘१२ गाउँ’ र छक्का ‘छक्का पञ्जा ५’ सँगै जसोतसो ‘ज्वाइँसाब’ले पनि दसैं मनाइरहेको थियो । त्यसपछि ‘पूर्णबहादुरको सारंगी’ले त सिंगो फिल्म क्षेत्रकै लागि दीपावली मनाइदियो । सुरुका दुई तीन दिन फिल्मले दर्शक पाएन । पछि यस्तोसम्म भयो कि, खचाखच हलमा दर्शकहरूले फिल्म पाएनन् । कति त अर्को दिनलाई साक्षी राखेर घर फर्किए । अनि अग्रिम बुकिङसहित सिट सुरक्षित राखे ।
बक्स अफिसको रिपोर्टअनुसार ‘पूर्णबहादुरको सारंगी’ले ४६ करोडभन्दा माथिको व्यापार गर्यो । तर विश्वभरको कमाइ जोड्दा निर्माण टिमको दाबीअनुसार फिल्मले ७५ करोडभन्दामाथिको आँकडा पार गरेको छ । यो फिल्मले व्यापारमा मात्र होइन, समीक्षात्मक हिसाबमा पनि बढी स्याबासी पायो ।
चल्तीका अनुहारले फिल्म चल्छ भन्ने भाष्य पनि यो फिल्मले तोडिदियो । अभिनेता विजय बरालले पहिलोपटक लिड रोलमा अभिनय गरे । उनको अभिनयको चौतर्फी प्रशंसा भयो । विजय मात्र होइन अभिनय कौशलमा अभिनेता महेश त्रिपाठीले पनि ‘लाज शरणम्’ र ‘फेरि रेशम फिरिरी’बाट स्याबासी पाए । ‘१२ गाउँ’को डेब्युसँगै अभिनेता समीर भट्टले अर्को हस्तक्षेप गरे ।
फिल्म क्षेत्रमा पुन: उतारचढाव दोहोरियो । यसबीच ‘एन्जिला’ र ‘लाज शरणम्’बाहेक अरु फिल्मलाई लगानी सुरक्षित गर्न पनि सकस पर्यो । ‘लाज शरणम्’ ४ करोडभन्दा माथि र ‘एन्जिला’ले ७ करोडभन्दा माथिको आँकडा पार गर्यो ।
एकाध फिल्मबाहेक अरु फिल्मले कुनै आशा जगाउन सकेनन् । उसो त विश्व घुमेका फिल्मका घरेलु व्यथा पनि छन् । जस्तो कि पछिल्लो समय नेपाली फिल्म अन्तर्राष्ट्रिय फेस्टिभलसम्म पुगे । नेपालीले खुसी मनाए । तर तिनै फिल्महरूले नेपाली हलमा दर्शक भने पाएनन् । हिजोका दिनमा मेकरहरूले फिल्मको मार्केटिङमा यो उपलब्धिलाई प्रयोग गर्थे । तर जति नै बल लगाए पनि फिल्मले घरेलु बक्स अफिसमा ठूलो प्रभाव भने पार्न सकिरहेको छैन ।
यसपटक अन्तरार्ष्ट्रिय फेस्टिभलमा बलियो उपस्थितिका साथ यात्रा गरेका ‘गाउँ आएको बाटो’, ‘शाम्बाला’ र ‘राजागन्ज’ जस्ता फिल्मले आलोचनासहितका प्रशंसा पाए । तर बक्स अफिसमा यस्ता अल्टरनेटिभ धारका सिनेमाहरूले अझै संघर्ष गर्नुपरेको बिडम्बना पनि देखिन्छ ।
फिल्म क्षेत्रको अर्को बिडम्बना यस वर्ष पनि कायम रह्यो । त्यो हो सेन्सर । सेन्सर बोर्डले दु:ख दिएको पछिल्लो फिल्म हो ‘राजागन्ज’ । सेन्सर बोर्डले 'प्रधानमन्त्री' भन्ने शब्दमै आपत्ति जनायो । त्यसमाथि हालका प्रधानमन्त्री केपी शर्मा ओलीले ०७२ सालमा गरेको भाषणको दृश्य समेट्दा निर्देशकले धम्की व्यहोर्नुपर्यो । अन्तत: फिल्मको मर्म मर्ने गरी सेन्सरले कैंची चलायो । 'अमेरिका' जस्ता शब्दमै त कैंची चलाउने सेन्सर बोर्ड यो वर्ष पनि सुध्रिएन । फिल्मकर्मीहरूको सिर्जना बुझेन वा बुझ्न चाहेन । यसको सिकार मेकरहरू भइरहे ।
समग्रमा यो वर्ष फिल्म क्षेत्रका निम्ति सुखद अनुभव नै रह्यो । अब आगामी वर्षका निम्ति रिलिज मिति तय गरेर बसेका थुप्रै फिल्म पाइपलाइनमा छन् । हरेक फिल्मकर्मीका लागि नवीन परीक्षा बोकेर, नवीन उत्साह र अठोट बोकेर नयाँ वर्ष ओर्लने तरखरमा छ । ०८२ मा आउने आउने कोसेलीका स्वाद कस्ता हुनेछन् त ? त्यसको प्रतीक्षा भने व्यग्र छ ।
