तत्कालीन महासचिव माधवकुमार नेपाल र वामदेव गौतमले एउटै मञ्च वा फरक मञ्च जहाँ बोले पनि धुपौरे, राष्ट्रघाती, महाराष्ट्रघाती, अमेरिका र भारतपरस्त, पञ्चायती मण्डलेजस्ता शब्दले एउटाले अर्कोलाई गालीगलौज गरिरहन्थे ।
What you should know
काठमाडौँ — विसं २०४९ मा भएको पाँचौं महाधिवेशनमा सीपी मैनालीले प्रस्तुत गरेको नौलो जनवादबाट सुरु भएको फरक मत झांगिँदै गएर राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाउनेदेखि महाकाली सन्धिसम्म पुग्दा एमाले नेताहरूबीचको विवादको खाडल निकै गहिरो भएको थियो ।
२०५४ माघ १२–१८ मा नेपालगन्जमा हुन लागेको छैटौं राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा तत्कालीन एमाले महासचिव माधवकुमार नेपाल र पूर्वउपमहासचिव वामदेव गौतमले तयार गरेको दस्तावेजसम्बन्धी छलफलको क्रममा नीति, सिद्धान्त र भावी कार्यदिशाभन्दा बढी व्यक्तिगत गालीगलौज र एकले अर्काको कमजोरी उजागर गर्ने होडबाजी नै चलेको थियो । एक प्रकारले एकले अर्कोलाई खुइल्याइरहेको पाइन्थ्यो ।![[Archive] The unnatural abuse seen in UML to reach leadership...](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/page1kpr-pus-21-uml-0262026030256-1000x0.jpg)
दस्तावेजसम्बन्धी छलफल भने सार्वजनिक रूपमा हुने गरेको थियो । महासचिव नेपालले जुन नेताको दस्तावेज पारित हुन्छ, नीति र नेतृत्व पनि त्यसको हुने दाबी गरेका थिए । गौतमले भने आफूले तयार गरेको दस्तावेज उचित भएको भन्दै नेपालले क्रान्तिकारिताका नाममा जनतालाई गुमराहमा पारेको बताउने गरेका थिए ।
०५४ पुस २० मा जनकपुरमा आयोजित छलफलमा महासचिव नेपालले गौतमको दस्तावेजलाई ‘मण्डले प्रवृत्ति’को भएको आरोप लगाएका थिए । गौतमले आफूलाई राष्ट्रघाती भन्ने गरेको गुनासो गर्दै आएका नेपालले उक्त कार्यक्रममा भनेका थिए, ‘गौतमजीको राष्ट्रवाद झ्वाँकबाट आएको मौसमी राष्ट्रवाद हो, जो सरकारमा आएपछि निदाउँछ ।’ गौतमले भने महासचिव नेपाल बहुमत पक्षको भएका कारण दस्तावेज जे लेखे पनि सही हुने प्रवृत्ति गलत भएको चर्चा गर्दै जनकपुर कार्यक्रममा असन्तुष्टि पोखेका थिए । उनले नेपाल र केपी शर्मा ओलीको हठका कारण आफूले फरक मत प्रस्तुत गर्नुपरेको स्पष्टीकरण दिएका थिए । ![[Archive] The unnatural abuse seen in UML to reach leadership...](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/page1kpr-uml-23-0262026030302-1000x0.jpg)
महाकाली सन्धिको मतदानमा संसदमा फरक मत राखेको गौतम समूहले सबैभन्दा धेरै त्यही ‘इस्यु’मा फरक धारको नेतृत्व गर्दै आएको थियो । ०५३ फागुनमा शेरबहादुर देउवाको सरकार ढलेपछि चन्दलाई प्रधानमन्त्री बनाउने सन्दर्भमा गौतम र नेपाल पक्षबीच एक प्रकारले जबरजस्ती सहमति भएको थियो । पार्टी अध्यक्ष मनमोहन अधिकारी, महासचिव नेपाल, स्थायी समिति सदस्य ओलीसहितका नेताहरू चन्दलाई नेतृृत्व दिने विषयमा सकारात्मक थिएनन् । गौतम भने चन्द नेतृत्वको सरकारमा गृहमन्त्री भएपछि झन् शक्तिशाली भएका थिए ।
तर चन्द सरकार पनि २०५४ असोजमा ढलेपछि एमाले नेताहरू महाधिवेशनमा पेस हुने दस्तावेजसम्बन्धी बहसमा जुटेका थिए । तर उनीहरूको बहस दस्तावेजमा भन्दा बढी एउटाले अर्कोलाई खुइल्याउने विषयमा केन्द्रित हुने गरेको थियो । उनीहरू एउटै मञ्च वा फरक मञ्च जहाँ बोले पनि धुपौरे, राष्ट्रघाती, महाराष्ट्रघाती, अमेरिका र भारतपरस्त, पञ्चायती मण्डले जस्ता शब्दले एउटाले अर्कोलाई गालीगलौज गरिरहन्थे । गौतमले कुनै बेला महासचिव नेपालविरुद्ध अविश्वास प्रस्ताव ल्याएर महासचिवबाट हटाउने प्रयास गरेको तुस पनि कायम थियो । फाटो बढ्दै जानुमा उक्त विषय पनि जोडिएको थियो । उक्त घटनाले नेपाल र गौतमबीच व्यक्तिगत टकरावलाई बढावा दिएको थियो । ![[Archive] The unnatural abuse seen in UML to reach leadership...](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/page1kpr-pus-20-0262026030252-1000x0.jpg)
महासचिव नेपालले सबैभन्दा धेरै आरोप गौतममाथि लगाउने गरेका थिए । उनले गौतमको हातमा पार्टी जानु भनेको धुपौरेको हातमा जानु हो भन्दै आलोचना गरेका थिए । नेपालले जनकपुरको सभामा एउटै मञ्चमा रहेका गौतमप्रति लक्षित गर्दै भनेका थिए, ‘धुपौरेहरूको भीडमा हाम्रो पार्टी नहराओस् ।’ ०५४ पुस २२ मा काठमाडौंमा आयोजित छलफलमा नेपालले गौतमप्रति लक्षित गर्दै प्रश्न गरेका थिए, ‘महाकाली सन्धि अनुमोदन गर्दा माधवकुमार नेपाल र केपी शर्मा ओलीले राष्ट्रघात गरेका छन् भन्ने लागेको छ भने किन भारतीय प्रधानमन्त्री बोलाएर मसुमुसु हाँस्दै सन्धिको कागजपत्र आदान–प्रदान गर्नुभयो ? ह्वीप उल्लंघन गर्ने बेलाको अन्तरआत्मा सन्धि आदान–प्रदान गर्ने बेलामा कहाँ गएको थियो ?’
नेपालले पार्टीको निर्णय विपरीत गौतमको दस्तावेजमा अमेरिकालाई साम्राज्यवादी र भारतलाई क्षेत्रीय प्रभुत्ववादी भनेकामा असन्तुष्टि जनाएका थिए । गौतमले भने सरकारमा जानकै लागि अमेरिकालाई खुसी पार्नुपर्छ भन्ने नरहेको भन्दै नेपालको भनाइको प्रतिवाद गरेका थिए । नेपालले गौतमको राष्ट्रवाद कहिले सुत्ने र कहिले उठ्ने गरेको भन्दै भनेका थिए, ‘माधव नेपालको राष्ट्रियता सधैं जाग्ने गर्छ ।’
एमालेको छैटौं महाधिवेशनपूर्व नेताहरूबीच भएको छलफलका क्रममा व्यक्त विचार तथा एकले अर्कालाई गरेको आलोचनालाई मुख्य विषय बनाएर तयार गरेको समाचारलाई कान्तिपुरले २०५४ पुस २३ मा प्रकाशन गरेको थियो । उक्त साताभर एमाले नेताहरूले बोलेका विषय र आरोप–प्रत्यारोपले छापाहरू भरिएका थिए ।
कान्तिपुरले ‘एमाले महासचिवद्वारा अल्पमत पक्षले महाकाली सन्धिमा महाघात गर्न खोजेको आरोप,’ ‘धुपौरेहरूको भीडमा हाम्रो पार्टी नहराओस् :नेपाल’, ‘बहुमतको दस्तावेजले जनतालाई गुमराहमा पारेको छः गौतम’, ‘विचार पारित हुने पक्षले पार्टी नेतृत्व बनाउनुपर्छः नेपाल’, ‘मतभेद हुनासाथ वार कि पारको स्थिति बनाउनु हुँदैनः गौतम’ शीर्षकमा २०५४ पुस २०, २१ र २३ मा समाचार प्रकाशन गरेको थियो । नेताहरूबीचको व्यक्तिगत बहसले एमाले पार्टी फुट्ने त होइन भन्ने चर्चासमेत हुने गरेको थियो ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] The unnatural abuse seen in UML to reach leadership...](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/page1kpr-uml-000-0262026030301-1000x0.jpg&w=1001&h=0)