अन्तरिमकालका गृहमन्त्री योगप्रसाद उपाध्यायले उनलाई प्रजिअ बनाएका थिए । त्यतिबेला आफ्नो भान्जी भएकाले उषालाई प्रजिअ बनाएको आरोप पनि लगाइयो । उषाले त्यसको स्पष्टीकरण दिँदै भनेकी थिइन्, ‘गृहमन्त्रीको भान्जी त के दश पुस्ताको नाता पनि जोडिँदैन ।’
What you should know
काठमाडौँ — निजामती सेवामा महिलाहरू उच्च पदमा पुग्नु नै त्यतिबेला निकै ठूलो सफलता मानिन्थ्यो । त्यसमा पनि प्रमुख जिल्ला अधिकारी (प्रजिअ) बनेर जिल्ला हाँक्ने कुरालाई असामान्यजस्तै मान्ने गरिन्थ्यो । झनै राजधानी काठमाडौंको प्रजिअ हुने विषय चानचुने कुरा थिएन । किनकि, अहिले पनि काठमाडौं प्रजिअलाई अन्य जिल्लाको तुलनामा ‘दक्ष पात्र’का रूपमा बुझ्ने गरिन्छ ।
आजभन्दा झण्डै २९ वर्षअघि महिला प्रजिअ हुनु आफैंमा सहज थिएन, त्यसमा पनि काठमाडौं हाँक्ने कुरा चुनौतीपूर्ण थियो । त्यही चुनौतीको सामना गर्ने आँट उषा नेपालले गरेकी थिइन् । सरकारले २०५४ मा उनलाई काठमाडौंको प्रजिअ बनाएको थियो ।
अहिले महिलाहरू कुनै जिल्लाको प्रजिअ हुने विषय गौण मानिन्छ । मन्त्रालय नै महिला सचिवले हाँक्न थालेको अहिलेको अवस्थामा प्रजिअ हुनुलाई निजामती सेवामा सामान्य विषय मानिन्छ । तर, आजभन्दा झण्डै चार दशकअघि महिलाले उच्च शिक्षा पढ्ने र लोकसेवा पास गरेर निजामती सेवाको सहसचिव पदमा पुग्ने विषय सामाजिक रूपमै पनि अनौठोजस्तै मानिन्थ्यो ।
निजामती सेवामा महिलाको उपस्थिति र तीन दशकअघिको सामाजिक परिवेशमा उषा कसरी भइन् प्रजिअ ? सहसचिव तहमा कसरी पुगिन्, धेरैले अचम्म पनि मान्ने गरेका थिए । ![[Archive] This is how Usha Nepal became the country's first female district administrator](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/page1kpr-pus-21-0162026114227-1000x0.jpg)
पुरुषहरूको बाहुल्य रहेको निजामती सेवाबाट उनलाई पहिलो पटक २०४७ मा गठन भएको कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारका गृहमन्त्री योगप्रसाद उपाध्यायले भक्तपुरको प्रजिअ बनाएका थिए । त्यसपछि उनले बाँके, ललितपुर, सोलुखुम्बु, मुस्ताङ, पर्साको प्रजिअ हुने अवसर पाएकी थिइन् ।
उनलाई २०५४ मा सूर्यबहादुर थापा प्रधानमन्त्री भएका बेला तत्कालीन गृहमन्त्री खुमबहादुर खड्काको कार्यकालमा काठमाडौंको प्रजिअ हुने कि मन्त्रालय बस्ने भन्ने रोज्न लगाइएको थियो । उनलाई त्यतिबेलासम्म लामो समय अतिरिक्त समूहमा राखिएको थियो । उनले आफूलाई अतिरिक्त समूहमा राखेकामा देशले आफूमाथि गरेको लगानीमा खेलाँची गरिएको बताएकी थिइन् । ‘प्रथम श्रेणीको अधिकृत भएर पनि मैले नौ महिनाजति कुर्सी–टेबलविहीन हुनुपर्यो । काम त परे जाओस्, मैले त्यो समयमा हल्लेर बस्नुपर्यो,’ उनले रोष प्रकट गरेकी थिइन् ।
विवाह गरेपछि मात्रै म्याट्रिक (अहिलेको एसईई) पास गरेकी उनको घर विराटनगरमा रात्रीकालीन कलेज मात्र थियो । काठमाडौंमा महिला छात्रवास थिएन । विराटनगरमा बुहारीलाई रातीको कलेजमा पढ्न पठाउने कुरा सहज थिएन । पढ्ने इच्छा धेरै भएकाले परिवारलाई करकापमा पारेर उनले भारतको हिन्दु विश्व विद्यालयबाट स्नातक उत्तीर्ण गरेकी थिइन् ।
मनोविज्ञानमा स्नातक गरेकी उनले कोलम्बो प्लान पाइन् । तर, परिवारले स्विकार गर्न सकेन । किनकि, कोलम्बो प्लानमा पढेर फर्केपछि सरकारले जहाँ पठायो, त्यहीँ जानुपर्छ भन्ने तर्क परिवारको थियो । उनलाई प्लानमा नजान भन्दै घर–परिवार र इष्टमित्रले पढाइ छाड्न दबाब दिएका थिए । सरकारले खटाएको स्थानमा जताततै जाँदा कुलको इज्जत जाने भनाइ परिवार र आफन्तको थियो । तर, उनले मानिनन् र पढ्न गइन् ।
पढाइ सकेर फर्केपछि उनले विराटनगरमा नर्सरी स्कुल खोलेर पढाउन थालिन् । दुई वर्षजति पढाएपछि उनलाई साथीहरूले भनेका थिए, ‘तिमी विराटनगर मात्र बस्यौं भने भान्से बाहुनी मात्र हुन्छ्यौ ।’ साथीहरूले सल्लाह दिएकै बेला त्रि–चन्द्र कलेजले कोलम्बो प्लानअन्तर्गत पढेर फर्केकालाई पढाउन आउन आह्वान गरेको थियो ।
परिवारको असहमति हुँदाहुँदै उनले काठमाडौं आएर त्रि–चन्द्र र रत्नराज्य कलेजमा पढाउन थालेकी थिइन् । पढाउँदा पढाउँदै विकासको काममा लाग्ने इच्छा जागेपछि उनी धनकुटास्थित महिला प्रशिक्षण केन्द्र प्रमुख भएर काम गर्न थालिन् । उनका अनुसार अल्लो, ट्वीडका कोटहरू र रंगीबिरंगी ढाका बनाउन महिलाहरूले त्यही बेला सिकेका थिए । उनीहरूले बुनेका सामग्री काठमाडौंमा ल्याएर बिक्री गर्न थालियो ।
उनी उपसचिव भएपछि ०४६ को राजनीतिक परिवर्तन भएको थियो । त्यसपछि महिललाई पनि अघि बढाउनुपर्छ भन्ने मान्यताको विकास हुँदै गयो । अन्तरिमकालका गृहमन्त्री योगप्रसादले उनलाई प्रजिअ बनाए । आफ्नो भान्जी भएकाले उषालाई प्रजिअ बनाएको आरोप पनि लाग्यो । उषाले त्यसको स्पष्टीकरण दिँदै भनेकी थिइन्, ‘गृहमन्त्रीको भान्जी त के दश पुस्ताको नाता पनि जोडिँदैन ।’
काठमाडौंको प्रजिअ भएपछि उनले कान्तिपुरसँग भनेकी थिइन्, ‘म आफ्नै योग्यता र प्रशासनिक दक्षताका आधारमा प्रजिअ बनेकी हुँ ।’ उनले आफू विभिन्न जिल्लामा प्रजिअ हुँदा धेरै महिलाले समस्या लिएर आएको घटना सुनाएकी थिइन् । खासगरी महिलाले बोक्सीको आरोप खेप्नुपरेको, श्रीमान्ले हेला गरेर माइत बसेको, श्रीमान्ले अर्के बिहे गरेको जस्ता समस्या लिएर महिलाहरू आउने गरेको घटना उनले सुनाएकी थिइन् ।
‘आफू पनि महिला भएका कारण पनि होला, उनीहरूले आफ्नो समस्या ढुक्कसँग राख्थे र न्यायको पनि अपेक्षा गर्थे,’ उनले सम्झने गरेकी थिइन् । तर, मुलुकमा न्यायका लागि ठोस कानुन नभएको अनुभव गरेकी उनले त्यतिबेला भनेकी थिइन्, ‘छोरीलाई अंश दिने कुराभन्दा पहिलो प्राथमिकता समाजले भोग्दै आएको व्यावहारिक समस्या हुल गर्नुपर्छ । अधिकारको कुरामा पढेलेखेका नारीवादीहरू लाग्नुपर्छ,’ उनी भन्ने गर्थिन् ।
नेपालमा पढेलेखेका महिला अरूमा आश्रित हुनुपरेको अनुभव सुनाउँदै उनले कामकाजी महिलाहरू पनि कामको सिलसिलामा अन्यत्र जानुपरेमा श्रीमान्लाई सोध्नुपर्ने बाध्यता हट्न नसकेको सुनाएकी थिइन् । उनले महिलाले आफैं निर्णय गर्न नसकी श्रीमान्लाई सोध्नुपर्छ भन्ने गरेको प्रसंग जोड्दै यस्तो प्रवृत्ति महिला समानताका लागि बाधक भएको बताएकी थिइन् । उनीभन्दा पछि दुई जना महिला प्रजिअ बनेका थिए ।
निजामती सेवाकी पहिलो महिला प्रजिअ बनेको घटना मात्र होइन, काठमाडौंमा पहिलो महिला प्रजिअ बनेको सन्दर्भसहितको विषय जोडेर उषासँगको कुराकानीका आधारमा पत्रकार रमा पराजुीलीले तयार गरेको समाचार कान्तिपुर दैनिकले २०५४ पुस २१ मा ‘प्रथम महिला प्रजिअ भन्नुहुन्छ, म आफ्नै योग्यता र दक्षताले प्रजिअ बनेकी हुँ’ शीर्षकमा प्रकाशन गरेको थियो । उक्त समाचारले आजभन्दा तीन दशअघि नेपालमा निजामती सेवामा महिला कर्मचारीको प्रतिनिधित्वको अवस्था, उनीहरूमाथि हुने अन्याय उजागर गरेको मात्र होइन, महिलाले पनि प्रजिअ चलाउन सक्छिन् भन्ने सन्देश दिएको थियो ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] This is how Usha Nepal became the country's first female district administrator](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/third-party/pjr0038fwrgaf3ubd-0162026114209-1000x0.jpg&w=1001&h=0)