पूर्वगृहमन्त्रीसमेत रहेका गौतमलाई महासचिव नेपालले भारतीय प्रधानमन्त्री इन्द्रकुमार गुजराल नेपाल आएका बेला महाकाली सन्धिको कागजात किन आदान–प्रदान गरेको भन्दै प्रश्न गरेका थिए । गौतमले भने महाकाली सन्धि पारित हुने समयमा भारतीय दूतावासबाट ल्याएको पत्र देखाएर कृत्रिम बहुमत देखाएको आरोप नेपालमाथि लगाएका थिए ।
What you should know
काठमाडौँ — विसं २०५३ असोज ४ को राती नेपाल–भारतबीचको महाकाली सन्धि संसदको दुईतिहाइ बहुमतबाट अनुमोदन भएपछि एमालेभित्रको विवाद बिस्तारै चुलिँदै गएको थियो । महाकाली सन्धि पक्षधर एमाले महासचिव माधवकुमार नेपाल र सन्धिको विपक्षमा उभिएका पार्टीका पूर्वउपमहासचिव वामदेव गौतमसहितका नेताहरूले सार्वजनिक रूपमा दिइरहेको अभिव्यक्तिले पार्टीभित्रको मनमुटाव मत्थर हुनेभन्दा पनि एकअर्काप्रतिको अविश्वासको खाडल फराकिलो बन्दै गएको थियो ।
महासचिव नेपालले गौतमले महाकाली सन्धिका विषयमा राखेको अडानलाई ‘मण्डले राष्ट्रवाद’को संज्ञा दिएका थिए । गौतमले भने महाकालीको राष्ट्रघाती सन्धिमा हस्ताक्षर गरेको भन्दै महासचिव पक्षको कडा आलोचना गर्दै आएका थिए । ०५४ पुस १२ मा काठमाडौंमा आयोजित एक औपचारिक कार्यक्रममा गौतम र नेपालबीचको आरोप–प्रत्यारोप रोचक र घोचक मात्र थिएन, कम्युनिस्ट पार्टीका नेताहरूले कुनै एजेन्डामा असहमत हुने बित्तिकै आफूहरूबीच कुन हदसम्मको गालीगलौजमा उत्रन्छन् भन्ने सन्देश पनि दिएको थियो ।
नेपालका कम्युनिस्ट पार्टीहरूले सबैभन्दा धेरै लगाउने नारा ‘भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवाद’ हो । महासचिव नेपालले गौतमलाई भारतीय दूतावासमा पुगेर महाकाली सन्धिको पक्षमा लाग्ने सहमति गरेको खुलासासमेत गरेका थिए । एमाले महासचिवले नै आफ्नो पार्टीका नेता गौतमलाई दूतावास छिरेको प्रसंग कोट्याएर भित्रभित्रै भारतीय नेताहरूसँग साँठगाँठ गरिरहेको सन्देश दिएका थिए ।
उक्त कार्यक्रममा महासचिव नेपालले भाषणका क्रममा भनेका थिए, ‘वामदेव कमरेड आफैं भारतीय दूतावासमा पुगेर राजदूतसँग सहमत भएर आउनु भएको हो ।’ गौतमले महाकाली सन्धिमा राष्ट्रघात भएको आरोप लगाएपछि नेपालले उक्त जवाफ दिएका थिए । उनीहरूले एकले अर्काको गोप्य घटना सार्वजनिक गर्दै भारतीय नेता र दूतावाससँगको निकटताको सन्दर्भ जोडेका थिए । ![[Archive] The spat between Madhav and Bamdev, calling them 'traitors and Mandalay nationalists'...](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/page1kpr-pus-13-2752026051827-1000x0.jpg)
पूर्वगृहमन्त्रीसमेत रहेका गौतमलाई महासचिव नेपालले भारतीय प्रधानमन्त्री इन्द्रकुमार गुजराल नेपाल आएका बेला महाकाली सन्धिको कागजात किन आदान–प्रदान गरेको भन्दै प्रश्न गरेका थिए । गौतमले भने महाकाली सन्धि पारित हुने समयमा भारतीय दूतावासबाट ल्याएको पत्र देखाएर कृत्रिम बहुमत देखाएको आरोप नेपालमाथि लगाएका थिए ।
तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र गृहमन्त्री वामदेव गौतमले सन्धिको कागजात भारतीय प्रधानमन्त्रीलाई हस्तान्तरण गरेपछि मात्र सन्धि लागू हुने भएकाले महासचिव नेपालले गौतमलाई प्रश्न गरेका थिए । पार्टीको भ्रातृसंस्था प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय कार्यकर्ता भेलामा दुवै नेताले एकअर्कालाई दोषी करार गरेरै आफ्नो मन्तव्य टुंग्याएका थिए । भाषणका क्रममा महासचिव नेपालले गौतमलाई निकै घोचपेच गरेका थिए ।
नेपालले लगाएको आरोपको जवाफ दिँदै गौतमले संसदले पास गरेको संकल्प प्रस्तावलाई सन्धिको अंग बनाउन भारतले आनाकानी गरेकाले सन्धि राष्ट्रघाती भएको बताएका थिए । उनले भारतकै कारण सन्धिको डीपीआर तयार नभएको चर्चा गर्दै पार्टीले हतारमा सन्धि अनुमोदन गर्नुपर्ने कारण के थियो भनेर प्रश्न गरेका थिए ।
नेपालले गौतमलाई प्रतिप्रश्न गर्दै भनेका थिए, ‘सन्धि आदान–प्रदान समारोहमा सानदार उपस्थित भएर पनि संकल्प अनुसार नभई पत्र अदान–प्रदान हुन सक्दैन भन्ने आँट किन भएन ? सरकार छाड्ने आँट किन भएन ? यस्तो राष्ट्रवादीले भारतसँग युद्ध नै गर्नुपर्थ्यो भने किन घोषणा नगरेको त ?’ नेपालले दुई दिनको चटके कुरा नगर्न भन्दै गौतमको राष्ट्रवादलाई नक्कली भनेका थिए ।
गौतमले नेपाललाई महासचिवको उत्तेजनापूर्ण भाषणप्रति असहमत रहेको भन्दै भारतसँग युद्ध गर्नुपर्छ भन्ने पक्षमा आफू नरहेको बताएका थिए । नेपालले संसदले पारित गरेको संकल्प स्विकार नगरेमा भारतलाई सन्धिको कागजात नदिन आफूले तत्कालीन प्रधानमन्त्री चन्द र गृहमन्त्री गौतमलाई सल्लाह दिए पनि अटेर गरेको बताएका थिए । गौतमले भने आफूलाई कसैले पनि त्यस्तो सल्लाह नदिएको दाबी गरेका थिए ।
नेपालले महाकाली सन्धिका बेला गौतमले पार्टीको ह्वीप नमानेको प्रसंग कोट्याउँदै तिखो आलोचना गरेका थिए । त्यसको जवाफमा गौतमले महाकाली सन्धि अनुमोदनका बेला ‘राष्ट्रप्रेमी भावनाबाट प्रेरित भएर अनुशासन उल्लंघन हुन पुगेको’ बताएका थिए । नेपालले भने एमाले राष्ट्रवादी र क्रान्तिकारी पार्टी लागेन भने छोड्न पाइने भन्दै गौतमलाई जनताको आवाज र पार्टीको निर्णय तोड्न नपाइने चेतावनी दिएका थिए । उनले गौतमलाई सार्वजनिक रूपमा चेतावनी दिँदै भनेका थिए, ‘एमाले क्रान्तिकारी नलागेमा अर्कै क्रान्तिकारी पार्टीमा लागे हुन्छ । तर पार्टीमा बसुन्जेल यसको भूमिकालाई कम आँक्न मिल्दैन ।’ नेपालले महाकाली सन्धि आफैंमा त्रुटिपूर्ण नभएको दाबी गरेका थिए ।
भारतसँगको विद्युत् व्यापार सम्झौतालाई दुईतिहाइले पास गर्नुपर्नेमा साधारण बहुमतले गर्न खोजेको भन्दै नेपालले गौतमको आलोचना गरेका थिए । उनले भनेका थिए, ‘एमाले सम्मिलित सरकारले हुलमुलमा पारित गर्न खोज्यो, त्यही हो राष्ट्रियता ?’ गौतमले भने दुईतिहाइबाट पारित गराउनुपर्छ भन्ने आफूलाई थाहा नभएको स्पष्टीकरण दिएका थिए । प्रस्ताव पेस गरेको दिन आफू छिट्टै हिँडेको भन्दै गौतमले आफूलाई थाहा नभएकाले आत्मालोचना गर्न तयार रहेको बताएका थिए । गौतमले चन्द नेतृत्वको सरकारलाई राष्ट्रवादी भनेर आफ्नो दस्तावेजमा लेखेको प्रति नेपालले असन्तुष्टि जनाएका थिए । उनको तर्क थियो, ‘चन्द सम्मिलित हुनासाथ सरकार राष्ट्रवादी भइहाल्छ ?’
नेपालले गौतमलाई मण्डले राष्ट्रवादको लहैलहैमा लागेर एमालेलाई फसाउन नहुने भन्दै प्रतिक्रियावादीको चाल बुझ्नुपर्ने सुझाव दिएका थिए । गौतमले भने पार्टीमा पेस गरेको राजनीतिक प्रतिवेदनमा महासचिव नेपालले ‘अमेरिकी साम्राज्यवाद र भारतीय ‘क्षेत्रीय प्रभुत्ववाद’ को विरोध नगरेको आरोप लगाएका थिए । नेपालले कसैलाई तोकेर साम्राज्यवादी र विस्तारवादी भन्ने भन्दा गुण र दोषका आधारमा आलोचना गर्ने सहमति पार्टीमा भएको स्मरण गराएका थिए ।
नेपालले आफूलाई खाँट्टी साम्राज्यवादविरोधी र अरूलाई साम्राज्यवादी पक्षधर देखाउन राजनीतिक बेइमानी गरेर फरक दस्तावेज ल्याएको आरोप लगाएका थिए । नेताद्वयले केही समयअघि केन्द्रीय समितिमा पेस गरेको दस्तावेजका विषयलाई औपचारिक कार्यक्रममा भाषणको विषय बनाएका थिए । नेपाल र गौतमले त्यो दिन गरेको भाषणमा केन्द्रित भएर पत्रकार गुणराज लुइँटेलले तयार गरेको समाचार कान्तिपुर दैनिकले २०५४ पुस १३ मा ‘महाकाली सन्धिमा वामदेवको नक्कली राष्ट्रवादः नेपाल, हतारले सन्धि पारित गर्नुको औचित्य थिएनः वामदेव’ शीर्षकमा प्रकाशन गरेको थियो ।
खासमा महाकाली सन्धि संसदबाट अनुमोदन गराउने विषयमा एमाले दुई भागमा विभाजन भएको थियो । त्यसै बेलादेखि पार्टीमा मनमुटाव गहिरिएको थियो । एमालेको पाँचौं महाधिवेशनमा पेस भएको मदन भण्डारीको जनताको बहुदलीय जनवाद र सीपी मैनालीको नौलो जनवाद पक्षधरहरूबीचको विभाजन झांगिएर महाकाली सन्धिसम्म पुग्दा नेताहरूबीचको खाडल निकै गहिरो भएको थियो ।
राप्रपा नेता चन्दलाई प्रधानमन्त्री बनाउन गौतमले निर्वाह गरेको भूमिकाप्रति पनि महासचिव नेपाल पक्ष असन्तुष्ट थियो । त्यसैले ०५३ फागुनमा प्रधानमन्त्री बनेका चन्द र गृहमन्त्री बनेका गौतम सरकारप्रति एमालेको मूल नेतृत्व खुसी थिएन । कांग्रेसको समर्थनमा चन्द नेतृत्वको सरकारलाई ७ महिनामा ढालिएको थियो । चन्दको बदला राप्रपा अध्यक्ष सूर्यबहादुर थापा ०५४ असोज २० मा प्रधानमन्त्री नियुक्त भएका थिए ।
महाकाली सन्धि ०५३ असोजमा शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला संसदबाट अनुमोदन भएको थियो । सन्धिका कागजात चन्द प्रधानमन्त्री र गौतम गृहमन्त्री हुँदा भारतीय प्रधानमन्त्रीलाई ०५४ जेठमा हस्तान्तरण गरिएको थियो । त्यतिबेला भारतका प्रधानमन्त्री गुजराल नेपाल आएका थिए । गौतम र नेपालबीच सोही सन्दर्भलाई लिएर ‘राष्ट्रवादी र राष्ट्रघाती’को आरोप–प्रत्यारोप चलेको हो ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] The spat between Madhav and Bamdev, calling them 'traitors and Mandalay nationalists'...](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/page1kpr-pus-1-2752026051826-1000x0.jpg&w=1001&h=0)