सामाजिक संघसंस्था र अगुवाहरूले गलैंचाको विषयलाई अतिरञ्जित तरिकाले प्रचार गरिरहेको आरोप उद्योगीहरूले लगाएका थिए । भारतीय गलैंचालाई नेपाली भनेर वीरगन्ज नाकाबाट निर्यात भएको दाबी एकाथरी व्यवसायीको थियो ।
What you should know
काठमाडौँ — आर्थिक वर्ष २०५१/५२ मा नेपालबाट निर्यात हुने पहिलो उत्पादन गलैंचा थियो । त्यतिबेला बर्सेनि १३ देखि १४ अर्बको गलैंचा निर्यात हुन्थ्यो । जबकि, आव ०५१/५२ का लागि तत्कालीन अर्थमन्त्री महेश आचार्यले अध्यादेशमार्फत सार्वजनिक गरेको कुल वार्षिक बजेट ४२ अर्ब ६९ करोडको थियो । अर्थात् नेपालको कुल बजेटको ३३ प्रतिशतभन्दा बढी रकम निर्यात व्यापारबाट नेपाल भित्रिने गरेको थियो । त्यतिबेला गलैंचा उद्योग विदेशी मुद्रा भित्र्याउने प्रमुख स्रोत थियो ।
निर्यात व्यापारको करिब ६० प्रतिशत व्यापार गलैंचाले थेगेको थियो । नेपाली गलैंचाको प्रमुख व्यापारिक गन्तव्य जर्मनी थियो । अमेरिकालगायतका मुलुकमा पनि गलैंचा निर्यात हुन थालेको थियो । तर, नेपालमा बालबालिकाको श्रमबाट गलैंचा बुनेको सन्देश लगातार प्रसारण गरिएको थियो । त्यसमा विदेशी सञ्चारमाध्यम पनि लागेका थिए । नेपालका विभिन्न संघसंस्थाले गलैंचा मजदुर र बालश्रमका विषयमा राष्ट्रिय/अन्तर्राष्ट्रिय फोरमहरूमा प्रश्न गरिरहेका थिए ।
सरकारले नै गलैंचा कारखानाका कारण काठमाडौं उपत्यकामा फोहर बढेको, खानेपानी अभाव भएको जस्ता विषय समस्याका रूपमा अघि सारेको थियो । छिट्टै नाफा कमाउने नाममा केही उद्योगीले व्यक्तिगत स्वार्थ राख्दा गलैंचाको गुणस्तरमा ह्रास आउँदा निर्यातप्रतिको विश्वासमा ह्रास हुँदै आएको थियो । सरकारकै निर्देशनमा कतिपय गलैंचा कारखाना मकवानपुरलगायतका उपत्यका नजिकैका जग्गामा स्थानान्तरण गरिएका थिए । एकप्रकारले गलैंचा उत्पादन र निकासीका विषयमा लगभग सबै शक्ति एकजस्तै देखिन्थे । सरकारले सहजीकरण गरेजस्तो गरे पनि आफैंले नकारात्मक सन्देश दिइरहेको थियो । ![[Archive] This is how Nepali carpet exports were declining...](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/pagepus-8-2652026025826-1000x0.jpg)
सामाजिक संघसंस्था र अगुवाहरूले गलैंचाको विषयलाई अतिरञ्जित तरिकाले प्रचार गरिरहेको आरोप उद्योगीहरूले लगाएका थिए । भारतीय गलैंचालाई नेपाली भनेर वीरगन्ज नाकाबाट निर्यात भएको दाबी एकाथरी व्यवसायीको थियो । वीरगन्जबाट निकासी हुने गलैंचामा १५ प्रतिशतले वृद्धि हुनुले पनि यसको पुष्टि गरेको थियो । नेपाली उत्पादन भन्दै वीरगन्जबाट निर्यात गर्न खोज्दा भारतीय गलैंचा बरामदसमेत भएको थियो । त्यतिबेला गलैंचा कारखानामा काठमाडौं उपत्यकाका मात्र हजारौं जनाले रोजगारी पाएका थिए । निर्यात व्यापारबाट मुलुकले विदेशी मुद्रा भित्र्याइरहेको थियो ।
तर लगातार नकारात्मक सन्देश प्रवाह हुँदै गएपछि गलैंचा उत्पादन र निर्यात क्रमशः घट्दै गएर आव ०५२/५३ मा पुग्दा व्यापारको आकार घटेर वार्षिक १० अर्बमा झरेको थियो । ०५१/०५२ मा गलैंचाको वार्षिक निर्यात ३३ लाख २५ हजार १ सय २३ वर्गमिटर थियो । दुई वर्षमा अर्थात् ०५३/५४ मा घट्दै गएर २८ लाख ९१ हजार २ सय २५ वर्गमिटर निर्यात भएको थियो । व्यापार प्रवर्द्धन केन्द्रले नेपालको गलैंचा निर्यात व्यापार क्रमशः घट्दै गएको तथ्यांक प्रस्तुत गरेको थियो । आव ०५३/५४ को पहिलो चार महिनामा ९ लाख ८६ हजार ७१ वर्गमिटर गलैंचा निर्यात भएकामा ०५४/५५ को चार महिनामा ८ लाख ५२ हजार ४ सय ८८ वर्गमिटर निर्यात भएको थियो । त्यसमा पनि केन्द्रीय गलैंचा उद्योग संघले वास्तविक निकासी परिणामभन्दा तथ्यांकमा देखाइएको परिणाम धेरै भएको बताएको थियो ।
आर्थिक वर्ष ०५४/५५ को पुससम्म पुग्दा गलैंचाको अर्डर निकै घटेको थियो । निर्यात तथा केन्द्रीय गलैंचा उद्योग संघका अध्यक्ष जफत अहमदले अर्डर घटेपछि धेरै उद्योग बन्द भएको भन्दै १ हजार २ सय उद्योग पनि नाजुक अवस्थामा चलिरहेको बताएका थिए ।
विदेशी गलैंचालाई नेपाली भनेर निर्यात गर्न सुरु गरेको दाबी गर्दै अध्यक्ष अहमदले यसको अनुसन्धान हुनुपर्ने माग गरेका थिए । नेपाली गलैंचाको स्तर घट्दै जानु र जर्मनीको अर्थतन्त्रमा मन्दी आउनुले पनि निर्यात व्यापारमा ह्रास आएको एकाथरी व्यवसायीको विश्लेषण थियो । नेपाली गलैंचाको मुख्य निर्यात हुने गन्तव्य मुलुक जर्मनी थियो । केही व्यापारीले नाकाहरूमा निम्नस्तरको गलैंचालाई नेपाली गलैंचा भन्दै लेबल लगाएर पठाउने गरेपछि गुणस्तरमा ह्रास आएको व्यवसायीको भनाइ थियो । व्यापार प्रवर्द्धनका लागि सरकारले उद्योगीहरूलाई विदेश पठाउँदा आफ्नै व्यापारलाई पश्रय दिएको आवाज उठिरहेको थियो । वाणिज्य मन्त्रालयका तत्कालीन सहसचिव डा. गोविन्द रेग्मीले सरकारी पहल नगरिए मुलुकको अर्थतन्त्रमा यसले ठूलो प्रभाव पार्ने बताएका थिए । संघका अध्यक्ष अहमदले गलैंचाको साख जोगाउन नसके सबै उद्योग बन्द हुने चिन्ता व्यक्त गरेका थिए । उनले नेपालमा हस्तकला मन्त्रालय बन्नुपर्ने भन्दै गलैंचालाई अमेरिकी बजारमा प्रतिस्पर्धा गर्ने जनशक्ति उत्पादन गर्नुपर्ने बताएका थिए । स्तरीय गलैंचा उत्पादन गरेमा अमेरिकी बजारमा प्रतिस्पर्धा गर्न सकिने दाबी उनको थियो ।
नेपालको निर्यात व्यापारमा अग्रणी स्थानमा रहेको, विदेशी मुद्रा आर्जन गरिरहेको र हजारौंले रोजगारी पाएको गलैंचा उद्योग धराशायी भएको सन्दर्भमा पत्रकार सरोज अर्यालले तयार गरेको समाचार कान्तिपुर दैनिकले २०५४ पुस ८ मा ‘६ महिनादेखि गलैंचा निर्यातमा ह्रास’ शीर्षकमा प्रकाशन गरेको थियो । उतिबेला गलैंचापछि पस्मिना नेपालले निर्यात गरिरहेको अर्को महत्त्वपूृर्ण उत्पादन थियो । अहिले यी दुवै उत्पादन काम चलाउमा परिणत भएका छन् । भन्सार विभागको तथ्यांक अनुसार चालु आवको १० महिनामा नेपालको व्यापार घाटा १४ खर्ब ४३ अर्ब ६७ करोड पुगेको छ । यस अवधिमा विभिन्न मुलुकबाट १६ खर्ब ९२ अर्ब ६४ करोडको आयात गरेकामा २ खर्ब ४८ अर्ब ९६ करोड निर्यात गरेको जानकारी भन्सार विभागले दिएको छ ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] This is how Nepali carpet exports were declining...](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/third-party/galaichha-0682025013553-1000x0-2652026025800-1000x0.jpg&w=1001&h=0)