[अर्काइभ] कांग्रेसमा उतिबेलै उठेको थियो युग सुहाउँदो नेतृत्वको बहस

सन्त नेता कृष्णप्रसाद भट्टराईले दुईमध्ये एउटा पद त्यागेमा गिरिजाप्रसादको व्यक्तिगत मान–प्रतिष्ठा पार्टी र दुनियाँमा महत्त्वपूर्ण हुने भन्दै त्याग गर्ने मानिस सर्वत्र पूजनीय हुने भनाइ सार्वजनिक गरेका थिए ।

जेष्ठ ११, २०८३

कान्तिपुर संवाददाता

[Archive] The debate on leadership appropriate to the era had already arisen in the Congress

What you should know

काठमाडौँ — कांग्रेसमा युग सुहाउँदो नेतृत्व र पुस्तान्तरणको बहस चलेको तीन दशक बितेको छ । कांग्रेसका संस्थापक नेताहरूले ५० को दशकमै पार्टीको नेतृत्व २१औं शताब्दीअनुरूप हुनुपर्ने धारणा अघि सारेका थिए । तर, त्यो धारणा पार्टीमा अझै सर्वस्विकार्य भएको छैन । 

पार्टीका संस्थापक नेता कृष्णप्रसाद भट्टराईले तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई उतिबेलै यस्तो प्रस्ताव गरेर नेतृत्व परिवर्तन समयानुकूल हुनुपर्ने धारणा सार्वजनिक गरेका थिए । उनले कोइरालालाई इंगित गर्दै भनेका थिए, ‘कांग्रेसलाई २१औं शताब्दीअनुरूपको पार्टी बनाउनुपर्छ । नेतृत्व अब नयाँ पिँढीमा जानुपर्छ ।’ आफूले राजनीतिक र नैतिक आधार बलियो बनाउन चाहेको भन्दै त्यही कारण शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफूले पनि मद्धत गरेको बताएका थिए । 

देउवा ०५२ भदौमा प्रधानमन्त्री भएका थिए । पार्टीभित्रको आपसी द्वन्द्व बढ्दै गएपछि केन्द्रीय समितिबाट राजीनामा दिएका भट्टराईले २०५४ पुस २ मा कान्तिपुरसँगको विशेष कुराकानीका क्रममा पार्टीमा आफूले छाड्ने कुरा क्रियाशील सदस्यताबाहेक केही नभएको भन्दै कांग्रेसका विषयमा गिरिजाबाबु र आफ्नो धारणा बाझिएको बताएका थिए । ‘संस्थापक भएकाले क्रियाशील सदस्यता त्याग्ने कुरा भएन, उत्तरदायित्वको पदमा म छँदा पनि छैन,’ उनले भनेका थिए । पार्टीका संस्थापक भट्टराई स्वयंले चलाएको यो बहस अहिले पनि जारी छ । पुराना पुस्ताका नेताहरूले अफूहरू पुनः नेतृत्वमा आउनुपर्ने माग गरिरहेका छन् । 

२०४८ मा प्रधानमन्त्री बनेदेखि नै गिरिजाप्रसादको कार्यशैली भट्टराईलाई मन परेको थिएन । गिरिजाप्रसादसँगको ५४ वर्षको मित्रता रहेको प्रसंग कोट्याउँदै उनले कांग्रेसको विषयमा उहाँ र आफ्नो धारणा बेग्लाबेग्लै भएको बताएका थिए । गिरिजाप्रसादले दुई पदमध्ये एउटा त्याग्नुपर्ने भनाइ उनको थियो । त्यतिबेला गिरिजाप्रसाद पार्टी सभापति र संसदीय दलको नेता थिए । [Archive] The debate on leadership appropriate to the era had already arisen in the Congress

सन्त नेता भट्टराईले दुईमध्ये एउटा पद त्यागेमा गिरिजाप्रसादको व्यक्तिगत मान–प्रतिष्ठा पार्टी र दुनियाँमा महत्त्वपूर्ण हुने भन्दै त्याग गर्ने मानिस सर्वत्र पूजनीय हुने भनाइ सार्वजनिक गरेका थिए । तर, उनले गिरिजाप्रसादले वैधानिक रूपमा जितेको सभापति पद त्याग गर्न नहुने बताएका थिए । उनले अप्रत्यक्ष रूपमा संसदीय दलको नेता त्याग्नुपर्ने आशय राखेका थिए । 

संसदमा भएको मतदानमा आफ्नै पार्टीका दुई जना सांसद अनुपस्थित भएपछि २०५३ फागुनमा देउवा प्रधानमन्त्रीबाट हटेका थिए । त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा प्रधानमन्त्री बन्ने दाउमा गिरिजाप्रसाद संसदीय दलको नेता बनेका थिए । तर, एमालेले राप्रपा संसदीय दलका नेता लाकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्रीमा समर्थन गरेपछि गिरिजाप्रसादको योजना असफल भएको थियो । 

२०५४ असोजमा चन्दलाई हटाएर कांग्रेसको समर्थनमा राप्रपा अध्यक्ष सूर्यबहादुर थापा प्रधानमन्त्री बनेका थिए । यद्यपि, कांग्रेसले मन्त्री बनाउने व्यक्तिको छनोट गर्न नसक्दा दुई महिनापछि मात्र मन्त्रिपरिषद्ले पूर्णता पाएको थियो । कांग्रेसले पठाउने मन्त्रीको नामावली र केन्द्रीय समितिमा मनोनीत भएका व्यक्तिहरूका बारेमा भट्टराईले गिरिजाप्रसादसँग असहमति राखेका थिए । २०४८ पछिको काठमाडौं क्षेत्र नम्बर १ को उपनिर्वाचनमा गिरिजाप्रसादले रेडियो नेपालबाट १७ मिनेटको वक्तव्य सार्वजनिक गरेको घटनादेखि भट्टराई गिरिजाप्रसादसँग सशंकित र असन्तुष्ट थिए ।

पद छाड्ने कुरामा गिरिजाप्रसादले वैधानिक कुरा उठाएको प्रसंगमा भट्टराईले कान्तिपुरसँगको कुराकानीमा भनेका थिए, ‘गिरिजाबाबु साढे तीन वर्ष प्रधानमन्त्री बन्नुभयो । त्यतिबेला पनि संसदमा बहुमत रहेको कांग्रेसको संसदीय दलमा भोटिङ भएन । पछि आएर गिरिजाबाबु बसेकै केन्द्रीय समितिले मलाई टिकट दिएर उपनिर्वाचनमा उम्मेदवार बनायो । तर, गिरिजाबाबुले प्रधानमन्त्रीको पदमै बसेर रेडियोमा १७ मिनेट भाषण गरी मेरो विरोध गर्नुभएको हो । वैधानिक प्रक्रियाको कुरा नगरौं ।’ 

भट्टराईले नेतृत्व नयाँ पुस्तामा सार्नुपर्ने भन्दै त्यस निम्ति ५४ वर्षदेखिको सुख–दुःखका आफ्ना अनन्य मित्र (गिरिजाप्रसाद)सँग पनि आफूले मत बाझिने धृष्टता गरेको बताएका थिए । गिरिजाप्रसाद २००० सालदेखिको साथी भएको प्रसंग कोट्याउँदै भट्टराईले ५० वर्षभन्दा बढी समयको मित्रताको कदर गर्ने बताएका थिए । ‘राजनीतिमा मेरो र उहाँबीचको मतभिन्नता देखिने कारण बेग्लै छ,’ उनले भनेका थिए । 

तीन दशकअघि संस्थापक नेताले नै समय सुहाउँदो नेतृत्व र पुस्ता परिवर्तन हुनुपर्ने प्रस्ताव अघि सारेको सन्दर्भसहित गिरिजाप्रसाद र भट्टराईबीचको आन्तरिक मनमुटावका विषयमा केन्द्रित भएर विश्वमणि पोखरेलले तयार गरेको समाचार कान्तिपुर दैनिकले ‘कांग्रेसको नेतृत्व नयाँ पिँढीमा सर्नुपर्छः भट्टराई’ शीर्षकमा ०५४ पुस ३ मा प्रकाशन गरेको थियो । त्यतिबेला कांग्रेसभित्र आपसी द्वन्द्व र गुटगत राजनीति झांगिँदै गएको थियो । त्यसैको परिणामस्वरूप भट्टराईले केन्द्रीय समितिबाटै राजीनामा दिएका थिए ।

प्रस्तुतिः ऋषिराम पौड्याल

कान्तिपुर अर्काइभ

कान्तिपुर

Link copied successfully