माओवादी जनयुद्धका स्थलगत कमाण्डर तथा नीति निर्माता रामबहादुर थापामाथि पार्टीभित्रकै एक महिलासँग अनैतिक यौन सम्बन्ध राखेको, आफू चर्चामा आउन विविध घटना गराएको, अहंवादी, व्यक्तिवादी र अराजकतावादी प्रवृत्ति देखाएको जस्ता आरोप लगाइएको थियो ।
What you should know
काठमाडौँ — सत्ता र शक्तिको मात लागेपछि दलहरूबीच आपसी द्वन्द्व बढ्ने गरेको अनगिन्ती घटना छन् । साढे तीन दशकको संसदीय अभ्यासका क्रममा यस्तो प्रवृत्ति सबैजसो राजनीतिक दलमा देखिने गरेका कैयौं उदाहरण भेटिन्छन् । प्रजातान्त्रिक मात्र होइन, कम्युनिस्ट पार्टीहरूमा पनि सत्ताले आपसी झगडा सिर्जना गराउँदै आएको छ । अचेल कम्युनिस्ट पार्टीहरू कमजोर हुँदै जानुको मुख्य कारणमध्ये सत्ता उन्माद पनि एक हो भन्न थालिएको छ ।
कहिलेकाहीँ सत्ता र शक्ति अभ्यास गर्नेभन्दा पनि ज्यानै जोखिममा राखेर राजनीतिक परिवर्तनका लागि सशस्त्र विद्रोह सञ्चालन गरिरहेका बेला पनि दलहरूमा आपसी द्वन्द्व सिर्जना भएका घटनालाई भने अनौठो मान्न सकिन्छ । ज्यानै आहुति दिन तयार भएर बन्दुक बोकेर हिँडेका बेला पनि माओवादीभित्र चर्किएको शक्ति संघर्ष गतिलो उदाहरण मान्न सकिन्छ । त्यस बेलाको संघर्षले कम्युनिस्ट पार्टीको आन्तरिक झगडा कुन हदसम्म हुने गरेको रहेछ भन्ने अनुमान गर्न कठिन थिएन । त्यसमा पनि आरोपितले खेप्नुपर्ने दोष कुन हदसम्मको हुने गरेको थियो, त्यो उदाहरण पनि चाखलाग्दो भेटिन्छ ।
कुरा २०५४ मंसिरको हो । माओवादी सशस्त्र विद्रोह सुरु भएको २२ महिनामा माओवादी जनयुद्धका स्थलगत कमाण्डर तथा नीति निर्माता रामबहादुर थापालाई कारबाही गरेको सूचना बिस्तारै सार्वजनिक भइरहेको थियो । त्यतिबेला सशस्त्र विद्रोहको समय भएकाले माओवादीभित्रको यथार्थ जानकारी थाहा पाउन कठिन हुन्थ्यो । कतिपय सूचना माओवादी र सुरक्षाकर्मी आफैं सिर्जना गरेर सञ्चारकर्मीलाई दिन्थे । जसलाई त्यतिबेला ‘ब्ल्याक प्रोपगान्डा’ पनि भनिन्थ्यो । ०५२ फागुनमा सुरु भएको सशस्त्र विद्रोहका गतिविधिमा ०५४ मा पुग्दा केही शिथिलता जस्तो पनि देखिएको थियो । ![[Archive] When questions of morality were raised against Ram Bahadur Thapa...](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/page1kpr-mansir-17-2054-2152026073921-1000x0.jpg)
माओवादीको उच्च स्रोत उदृत गर्दै प्रकाशन गरेको समाचारअनुसार ०५४ मंसिर दोस्रो सातासम्म पुग्दा पार्टीका शीर्ष नेताहरूबीच नै आन्तरिक कलह बढ्दै गएको थियो । त्यतिबेला केही महिनादेखि पार्टीले सञ्चालन गर्दै आएको विद्रोहका गतिविधिमा पनि शिथिलता आउनुको कारण नेताहरूबीचको शक्ति संघर्ष भएको अनुमान गरिएको थियो । त्यस बेला पार्टीमा मोहन वैद्य र पुष्पकमल दाहालको पकड थियो ।
नेताद्वयको पकडका कारण आफूलाई चित्त नबुझ्ने अन्य नेताको अस्तित्व नस्विकार्ने गरेको भनाइ बेलाबेलामा सार्वजनिक हुने गरेको थियो । दाहाल र वैद्यले त्यतिबेला जनवादी सत्ता स्थापना गर्ने लक्ष्यभन्दा पनि माओवादी पार्टीको प्रचारमा बढी लागेको भनाइ एकाथरी नेताहरूको थियो । रामबहादुर थापा भने फिल्डमा जाने र कार्यकर्तालाई ‘एक्सन’मा उतार्ने नेताका रूपमा परिचित थिए । प्रतिक्रियावादीहरूप्रति आक्रामक क्षमताका कारण कार्यकर्तामाझ लोकप्रिय हुन थालेपछि थापासँग तर्सिएर दाहाल र वैद्य मिलेर कारबाहीको डन्डा चलाएको भनाइ स्रोतको थियो । थापामाथि उनीहरूले निकै संवेदनशील र गम्भीर आरोप लगाएर कारबाही गरेका थिए ।
दाहाल स्रोतका अनुसार थापामाथि पार्टीभित्रकै एक महिलासँग अनैतिक यौन सम्बन्ध राखेको, पार्टीभन्दा आफूकेन्द्रित गतिविधि सञ्चालन गरेको, आफू चर्चामा आउन विविध घटना गराएको, अहंवादी, व्यक्तिवादी र अराजकतावादी प्रवृत्ति देखाएको जस्ता आरोप लगाइएको थियो । सोही आरोपमा कारबाही गरेको स्रोतले जानकारी दिएको थियो । ‘अभियान’ नामक पत्रिकामा दाहालले दिएको अन्तर्वार्तामा उक्त आरोप लागेकाले कारबाही गरेको अप्रत्यक्ष रूपमा स्विकारिएको थियो । सोही आधारले पनि थापामाथि कारबाही गरेको पुष्टि भएको थियो ।
आफूमाथि यौनलगायतका काण्ड जोडेर कारबाही गरेकामा थापाले नेतृत्वको विरोध गरिरहेका थिए । तर उनले कार्यकर्तालाई भने वैचारिक कारणले कारबाहीमा परेको बताउने गरेका थिए । सूत्रहरूका अनुसार थापाले नेताहरूलाई युद्ध क्षेत्रभन्दा टाढा रहेर जनयुद्धको नीति बनाएकामा विरोध गरेको बताएका थिए । उनले फिल्डमै गएर नीति बनाउनुपर्ने माग राखेको स्रोतले बताएको थियो । जनयुद्धबाट पछि हट्न खोजेको अभियोगमा डा. बाबुराम भट्टराई र भक्तबहादुर श्रेष्ठलाई कारबाही गरेको केही समयपछि थापामाथिको कारबाहीको विषय बाहिर आएको थियो । यसबाट युद्धका बेलासमेत गुटगत राजनीति हावी भएको पुष्टि भएको थियो । दुई वर्षअघि एकता केन्द्र विभाजन भएर गठन भएको नेकपा माओवादीभित्रको कलहले सशस्त्र विद्रोहलाई असर गर्ने बताउने गरिन्थ्यो । एकता केन्द्र फुट्नुअघि पनि त्यसका केही केन्द्रीय सदस्यको यौन काण्डको विषय चर्चामा आएको थियो ।
माओवादीभित्र पनि जनयुद्धका स्थलगत कार्यकर्ता (खासगरी जंगलमा खटिएका) हरूको यौन सम्बन्धका घटनाहरूले उक्त पार्टी वृत्तमा बेलाबेलामा समस्या उत्पन्न गरेको स्रोतहरूले बताउने गरेका थिए । नेतृत्व तहमा देखिएको शक्ति संघर्ष र यौनका घटनाले सशस्त्र विद्रोहमा समेत असर पर्न सक्ने भन्दै एकाथरी कार्यकर्तामा निराशा छाएको थियो । त्यसैले कार्यकर्ताले नेतृत्वको आलोचना गर्न थालेका थिए ।
सशस्त्र आन्दोलनका बेला माओवादीभित्र देखिएको आन्तरिक संघर्ष र नेताहरूलाई कारबाही गरेको सन्दर्भलाई आधार बनाएर तयार गरेको समाचार कान्तिपुर दैनिकले २०५४ मंसिर १७ मा ‘माओवादी नेताहरूको शक्ति संघर्षले जनयुद्ध प्रभावित’ शीर्षकमा प्रकाशन गरेको थियो । नेताहरूबीचको संघर्षले युद्धकै बेला पनि उनीहरू गुट र शक्तिको आडमा थिए भन्ने सन्देश गएको थियो । त्यतिबेला कारबाहीमा परेका डा. भट्टराई र थापाले अन्ततः अहिले माओवादी छाडिसकेका छन् । कारबाही गर्ने समूहका नेता वैद्य पनि माओवादीबाट अलग भइसकेका छन् । थापा अहिले एमाले संसदीय दलको नेता छन् ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] When questions of morality were raised against Ram Bahadur Thapa...](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/third-party/badal-1532026112301-1000x0-2152026073829-1000x0.jpg&w=1001&h=0)