विसं २००१ मा भद्रगोल जेल तोडेर भागेका गणेशमान सिंहले जीवनको झण्डै ६ दशकभन्दा बढी समय प्रजातन्त्रका लागि अनेक संघर्ष गर्दै बिताए । राणा र पञ्चायतकालमा उनले गरेको संघर्षको कथा निकै कहालिलाग्दो थियो । २०४६ सालको परिवर्तनको नेतृत्व पनि उनैले गरेका थिए ।
What you should know
काठमाडौँ — राजाले प्रधानमन्त्री बन्न आग्रह गर्दा पनि अस्विकार गरेर त्याग र समर्पणको उदाहरण बनेका व्यक्तित्व थिए– गणेशमान सिंह । उनले ८२ वर्षको उमेरसम्म प्रजातन्त्रका लागि संघर्ष गर्दै आए । जस्तोसुकै कठिन परिस्थितिमा पनि स्वतन्त्रताका लागि अडिग उनलाई पञ्चायतले मृत्युदण्डसम्मको सजाय सुनाएको थियो ।
विसं २००१ मा भद्रगोल जेल तोडेर भागेका उनले जीवनको झण्डै ६ दशक भन्दा बढी समय प्रजातन्त्रका लागि अनेक संघर्ष गर्दै बिताए । राणा र पञ्चायतकालमा उनले गरेको संघर्षको कथा निकै कहालिलाग्दो थियो । २०४६ सालको परिवर्तनको नेतृत्व गरेका उनै गणेशमान सिंहले सर्वोच्च नेता, फादर अफ डेमोक्रेसी, लौह पुरुष, वीर गणेशमान, सर्वमान्य नेताजस्ता उपमा पाएका थिए ।
प्रजातन्त्र प्राप्तिपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले गरेका कतिपय कामप्रति असहमति राख्दै आएका गणेशमानले २०५१ सालमा पार्टी नै परित्याग गरेको घोषणा गरेका थिए । तर उनलाई कांग्रेसको २०५३ को महाधिवेशनले सर्वोच्च नेताको उच्च सम्मान प्रदान गरेको थियो । कांग्रेस र वामपन्थी शक्ति मिलेर मात्र पञ्चायत ढाल्न सकिन्छ भन्ने मान्यता राख्थे सिंह ।![[Archive] The moment the tireless warrior of democracy passed away...](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/page1kpr-ashoj-3-2054-4-1452026072222-1000x0.jpg)
०४६ को राजनीतिक आन्दोलन उनकै अगुवाइमा सफल भएको थियो । प्रजातान्ति्रक आन्दोलनको सिंगो इतिहास बनेका गणेशमानको ०५४ असोज २ को बिहान आफ्नै निवास काठमाडौं चाक्सीबारीमा देहावसान भएको थियो । ऐतिहासिक जनआन्दोलनका कमाण्डरको देहावसानले मुलुक नै एक प्रकारले स्तब्ध भएको थियो ।
२००७ सालमा राणा–कांग्रेस मन्त्रिमण्डलमा उद्योग तथा वाणिज्य मन्त्री बनेका उनी २००८ मा कांग्रेसका तत्कालीन नेता मातृकाप्रसाद कोइरालाको नेतृत्वको सरकारको कृषि, भूमि तथा खाद्यमन्त्री बनेका थिए । पहिलो आमनिर्वाचनमा सांसद बनेर बीपी कोइरालाको नेतृत्वमा बनेको मन्त्रिमण्डलमा निर्माण तथा यातायात मन्त्री बनेका उनले लाभको पद पाएको त्यो नै अन्तिम अवसर थियो । त्यसपछि उनी लाभको पदमा कहिल्यै बसेनन् । त्याग र समर्पणको पर्याय बनेका गणेशमानको देहावसान भएको दिनलाई नेपालको इतिहासमा निकै दुःखदायी घटनाका रूपमा हेरिएको थियो ।![[Archive] The moment the tireless warrior of democracy passed away...](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/page1kpr-ashoj-3-2054-2-1452026072215-1000x0.jpg)
उच्च रक्तचाप, मधुमेह, पिसाबको कठिनाइ, घुँडा र गर्दनमा समस्यासम्बन्धी रोगबाट लामो समयदेखि पीडित थिए । ०५१ मा भरतपुरमा जहाज दुर्घटनापछि उनलाई ढाड र घाँटीको रोग थपिएको थियो । उनको निधन हृदयघातबाट भएको थियो । उनको आफ्नो शयनकक्षमै देहावसान भएको थियो । तर उनको देहावसान कतिबेला भएको थियो, परिवारसमेत अनभिज्ञ थियो । किनकि, नजिकै सुतेकी छोरी डा. मिता सिंहले पनि पत्तो पाएकी थिइनन् । बिहान उठेर हेर्दा मात्र आफ्नो पिताको निधन भएको थाहा पाएकी थिइन् ।
मुलुक नै शोकाकूल
गणेशमानको निधनले मुलुक नै एक प्रकारले शोकमा डुबेको थियो । उनको देहावसानको खबर रेडियो नेपालको समाचारबाट सबैले थाहा पाएका थिए । खबर थाहा हुनेबित्तिकै काठमाडौं क्षेत्रपाटीको चाक्सीबारी निवासमा मुलुकका उच्च व्यक्तित्वसहित सर्वसाधारणको भीड लागेको थियो । राजनीतिक दल, राजा वीरेन्द्र, विदेशी कूटनीतिज्ञहरू, विभिन्न पेसाकर्मी र सर्वसाधारणले उनको निधनले प्रजातान्ति्रक आन्दोलनमा एक अपूरणीय क्षति भएकामा चिन्ता व्यक्त गरेका थिए ।![[Archive] The moment the tireless warrior of democracy passed away...](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/page1kpr-ashoj-3-2054-1-1452026072211-1000x0.jpg)
सरकारले उनलाई राजकीय सम्मान दिने निर्णय गरेको थियो । राजा वीरेन्द्रले शोक वक्तव्य जारी गर्दै प्रजातन्त्रका लागि समर्पित व्यक्तित्वको निधनले आफूलाई दुःख लागेको बताएका थिए । कांग्रेस केन्द्रीय समितको बैठक सिंह निवास चाक्सीबारीमा बसेको थियो । बैठकले सर्वसाधारणले श्रद्धाञ्जली अर्पण गर्न पाऊन् भनेर उनको पार्थिव शरीरलाई दुई दिन चाक्सीबारीमा राख्ने निर्णय गरेको थियो । उनको शोक पुस्तिकामा एकै दिन ५० हजार जनाले हस्ताक्षर गरेका थिए ।
उनको मृत्युमा एमाले महासचिव माधवकुमार नेपालले वक्तव्य जारी गरेर गणेशमान सिंह मूल्य र मान्यताको राजनीतिका लागि आजीवन संघर्षरत, प्रजातन्त्र पुनर्स्थापनाका लागि निरन्तर क्रियाशील र स्वतन्त्र, समानता तथा भ्रातृत्वका मान्यतामा सधैं अडिग शिखर पुरुष भएको बताएका थिए ।
गणेशमानको देहावसान र मुलुकभर शोकको अवस्था सिर्जना भएको सन्दर्भ जोड्दै उनको योगदानमा आधारित भएर तयार गरेको समाचार कान्तिपुर दैनिकले विभिन्न शीर्षकमा २०५४ असोज ३ मा प्रकाशन गरेको थियो । कान्तिपुरले एकै दिन ‘जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको निधन’, ‘सिंहको अवसान नेपाली राजनीतिमा एउटा विशाल रिक्तता’ र ‘सिंहको राजनीतिक जीवनका महत्त्वपूर्ण घटनाक्रम’ लगायतका शीर्षकमा प्रकाशन गरेको थियो ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] The moment the tireless warrior of democracy passed away...](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/third-party/ganesman-2592021064658-1452026072140-1000x0.jpg&w=1001&h=0)