असहमति हुने बित्तिकै एउटा नेताले अर्कोलाई खुइल्याउने प्रवृत्ति कम्युनिस्ट पार्टीहरूको पुरानो रोगजस्तै बन्ने गरेको छ ।
What you should know
काठमाडौँ — कम्युनिस्ट पार्टीभित्र आन्तरिक गुटबन्दी बढेपछि सुरु हुने आरोप–प्रत्यारोप निकै पेचिलो बन्ने गरेको छ । २०४६ पछि सांगठनिक रूपमा निकै सशक्त देखिएको एमालेका कतिपय विषय यस्तै आरोप–प्रत्यारोप र गुटबन्दीले सतहमा छताछुल्ल भएका उदाहरण भेटिन्छन् ।
आन्तरिक मनमुटावकै कारण पार्टीका कैयौं नेता–कार्यकर्ता पार्टीको मूल प्रवाह छाडेर अन्यत्र गएका छन् । २०७४ को संसदीय निर्वाचनमा नेकपा बनेपछिको विभाजन त्यत्तिमै दुःखदायी बनेको छ । यस्तो प्रवृत्ति लगभग सबै दलमा भए पनि विशेषतः कम्युनिस्ट पार्टीभित्रको शक्ति संघर्षले राजनीतिक रूपमा कमजोर बनाउने मात्र होइन, एउटै पार्टीमा बस्न नसक्ने परिस्थिति बन्ने गरेको छ ।
सीपी मैनाली, माधवकुमार नेपाल, झलनाथ खनाल, राधाकृष्ण मैनालीलगायतका कैयौं नेताहरू नै आन्तरिक कलहले एमालेको मूल प्रवाहसँग टाढिएका छन् । असहमति हुने बित्तिकै एउटा नेताले अर्कोलाई खुइल्याउने प्रवृत्ति कम्युनिस्ट पार्टीहरूको पुरानो रोगजस्तै बन्ने गरेको छ । ![[Archive] That story of Duryodhana, Draupadi and corruption within the UML...](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/bamdev-19-1152026075236-1000x0.jpg)
प्रजातन्त्र प्राप्तिपछि अहिलेसम्म देखिएको दलहरूबीचको आन्तरिक समस्याबाट ग्रस्त कम्युनिस्ट पार्टीहरूमध्येको एमाले एउटा उदाहरण हो । एमालेभित्रको शक्ति संघर्ष जनताको बहुदलीय जनवाद कि नौलौ जनवाद भन्ने २०४९ मा भएको पाँचौं महाधिवेशनबाट सुरु भएको हो ।
तीन दशकअघिको उक्त महाधिवेशनमा प्रस्तुत गरेको दस्तावेजअन्तर्गत एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीको जनताको बहुदलीय जनवाद र तत्कालीन मालेका पूर्वमहासचिव सीपी मैनालीले प्रस्तुत गरेको नौलौ जनवादबाट सुरु भएको विवाद झांगिँदै गएर महाकाली सन्धि र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग ०५२ मा गरिएको सत्ता समीकरणसम्म पुग्दा नेताहरूबीच निकै ठूलो खाडल बनेको थियो । विवाद बढ्दै गएपछि एमालेले ०५१ को नौ महिने शासनकालमा सीपीलाई मन्त्रीबाटै हटाएको सन्दर्भदेखि ०५३ मा महाकाली सन्धिसम्म पुग्दा विभाजनको मनस्थिति निकै गहिरिएको थियो ।
०५४ मा पुग्दा सांसदहरूले गाडी सुविधा लिएको, सत्तामा जान सांसदहरूलाई सुरा–सुन्दरी उपलब्ध गराएको, आर्थिक चलखेल गरेको र नेताहरूले सम्पत्ति कमाएको जस्ता विषय जल्दोबल्दो रूपमा उठेका थिए । पार्टीका पूर्वउपमहासचिव वामदेव गौतम महाकाली सन्धिको विरोधीका रूपमा चिनिएका र नौलो जनवाद पक्षधर सीपी मैनालीलगायतका नेताहरू एकातिर र महासचिव माधवकुमार नेपाल अर्कातिर उभिने अवस्था बनेको थियो ।
वामदेवले राप्रपासँग मिलेर सरकार बनाउने प्रक्रियाको नेतृत्व गरेका थिए भने पार्टीका अध्यक्ष मनमोहन अधिकारी, महासचिव नेपालसहितका नेताहरू त्यसविरुद्ध थिए । वामदेवले ०५३ मा नेपाललाई महासचिवबाटै हट्नुपर्नेसम्मको प्रस्ताव अघि सारेका थिए । तर सकेनन् । यद्यपि ०५३ चैतमा राप्रपासँग सत्ता समीकरण भएपछि वामदेव गृहमन्त्री बनेर शक्तिशाली भएका थिए । उनी गृहमन्त्री बनेर पार्टीमा हावी हुन लागेकामा एमालेका एकाथरी नेताहरू सन्तुष्ट थिएनन् । सत्तामा बसेको पाँच महिनापछि यसको आन्तरिक विवादको असर देखिन थालेको थियो । ![[Archive] That story of Duryodhana, Draupadi and corruption within the UML...](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/page1kpr-cp-26-1152026075245-1000x0.jpg)
त्यसपछि वामदेवलाई कमजोर बनाउने खेल सुरु भएको थियो । महासचिव नेपाललाई बलियो बनाउन ०५४ भदौमा एमालेको केन्द्रीय सचिवालयमा हेरफेर गरिएको थियो । पाँच महिनाअघि वामदेवको बहुमत रहेको सचिवालयमा नेपालले सदस्यहरू हेरफेर गराएर केन्द्रीय सचिवालयमा आफ्नो पकड मजबुत बनाएका थिए । गृहमन्त्री वामदेवका कारण पार्टी विवादमा परेको कारण देखाएर सचिवालयलाई नेपालको पक्षमा बहुमत हुने गरी सदस्यहरू हेरफेर गरिएको थियो । त्यतिबेला एमालेका मन्त्रीहरूले गरेको कामका विषयमा धेरै त्रुटि भेटिएको महसुस केन्द्रीय कमिटीले गरेको थियो । उक्त त्रुटिको बढी जम्मेवार वामदेवलाई बनाइएको थियो ।
सरकारमा गएपछि वामदेव सर्वशक्तिमान बनेको र पार्टीभन्दा पनि आफू केन्द्रित गतिविधि गरेको आरोप लगाइएको थियो । पार्टी र नेताहरू अलोकप्रिय बन्दै गएको महसुस गरेर केन्द्रीय कमिटीले सांसद सुविधाबापत लिएको पजेरो फिर्ता गर्ने, नेताहरूको सम्पत्ति छानबिन गर्नेजस्ता निर्णय गरेको थियो । नेतृत्व चोख्याएर लोकप्रियता कायम राख्ने भन्दै यस्तो निर्णय गरिएको थियो । छैटौं महाधिवेशन र सम्भावित मध्यावधि निर्वाचनलाई केन्द्र बनाएर यस्तो निर्णय गरिएको थियो ।
गाडी फिर्ता गर्ने निर्णय गरे पनि कतिपय नेताहरूले गाडी बेचिएको र त्यसको पैसा पनि छोराछोरी पढाउने तथा खेत किन्ने काममा खर्च भएकाले कसरी फिर्ता गर्ने भन्दै गुनासो गरेका थिए । कतिपय नेताहरूले महासचिव नेपालले यस्तो गाडी सुविधा नलिएकाले फिर्ता गर्ने निर्णय गरेको भन्दै रिसाएका थिए ।
सीपीको गर्जन : दुर्योधन र द्रौपदीको कथा
नौलो जनवादको नेतृत्व गरेका सीपीले पार्टीमा नैतिकताको पक्षमा लड्ने बलियो गुट नभएको बताएका थिए । उनले पार्टीमा दुर्योधन र दु:शासन प्रवृत्ति हावी भएको बताएका थिए । काठमाडौंमा ०५४ भदौ २५ मा आयोजित एक औपचारिक कार्यक्रममा उनले सबै दलमा पद र सुविधाको लोभ देखाएर जरो गाड्ने प्रवृत्ति हावी भएको बताएका थिए ।
सीपीले पार्टीका नेताहरूले नै आफ्नो बदनाम गरेको गुनासो पनि गरेका थिए । उनले भनेका थिए, ‘कुनै फोटो पत्रकारले भिरालोबाट आफ्नो घरको फोटो खिचेर बदनाम गरिएको छ ।’ उनले पार्टीमा आफूजस्ता मान्छेहरू दुर्योधनले द्रौपदीको चीरहरण गरेको हेरिरहेको प्रसंग जोडेका थिए । उनी नौलो जनवाद पक्षधरका भएकाले पार्टीमा जबज पक्षधरले बहुमतका नाममा पेलिएको गुनासो गर्थे । एमालेकै नेता रामनाथ ढकालले पार्टीमा डण्डा लगाउन थालिएको बताएका थिए । उनले डण्डाले पार्टी नचल्ने बताएका थिए ।
एमालेभित्रको शक्ति संघर्ष बढ्दै गएको, सांसद सुविधाको गाडी फिर्ता गर्ने विषय पेचिलो बनेको, वामदेवलाई कमजोर बनाउन महासचिव नेपाललाई बलियो बनाउन सचिवालय सदस्यहरू हेरफेर गरेको, पार्टी शुद्धीकरणका नाममा एकाथरीलाई पाखा लगाउन खोजेको जस्ता विषयमा केन्द्रित भएर तयार गरेको समाचार कान्तिपुर दैनिकले विभिन्न शीर्षकमा प्रकाशन गरेको थियो ।
०५४ भदौ १९ मा ‘एमालेमा महासचिवलाई सरकारलाई अंकुश लगाउने अधिकार, वामदेवको पकड कमजोर’ शीर्षक समाचार प्रकाशन भएको थियो । त्यस्तै २६ भदौमा ‘एमालेमा दुःशासन प्रवृत्ति हावीः सीपी’ शीर्षकमा समाचार प्रकाशन गरिएको थियो । कान्तिपुरले गाडी सुविधा फिर्ता गर्ने विषयमा केन्द्रित भएर भदौ ३० मा सन्देशमूलक कार्टुन प्रकाशन गरेको थियो ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] That story of Duryodhana, Draupadi and corruption within the UML...](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/page1kpr-30-cartoon-1152026075240-1000x0.jpg&w=1001&h=0)