[अर्काइभ] भारतले अप्रत्याशित रूपमा महाकाली नदीको पानी पाउनुपर्ने प्रस्ताव राखेपछि...

नेपाल–भारतका अधिकारीहरू सम्मिलित विशेषज्ञहरूको समूह (ज्वाइन्ट ग्रुप अप एक्स्पर्ट) को बैठकमा भारतले अप्रत्याशित रूपमा तल्लो शारदा परियोजनामा प्रयोग भइरहेको महाकाली नदीको पानी सम्झौताअनुसार भारतले पाउनुपर्ने नयाँ प्रस्ताव राखेको थियो ।

वैशाख ३०, २०८३

कान्तिपुर संवाददाता

[Archive] After India unexpectedly proposed to get water from the Mahakali River...

What you should know

काठमाडौँ — महाकाली सन्धि २०५३ असोजमा संसद‍्बाट पारित भएको भए पनि कार्यान्वयनमा निकै जटिलता उत्पन्न भएको थियो । किनकि, सन्धिअनुसार दुवै मुलुकले पाउनुपर्ने सुविधा र सीमामा बन्ने संरचनाका विषयमा भने विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेर दुवै मुलुकले स्विकृत गरेका थिएनन् । सन्धि अनुमोदन भएको वर्ष बिते पनि प्रतिवेदन तयार नहुँदा दुवै देशका उच्च अधिकारीहरूबीच पटक–पटक वार्ता र छलफल भने भइरहेको थियो । 

डीपीआर स्वीकृत गर्नुपूर्व २०५४ भदौको अन्तिम साता छलफलका लागि काठमाडौं आएको भारतको विशेषज्ञ टोलीले सम्झौतामा उल्लेख भएको भन्दा फरक प्रकृतिका प्रस्ताव अघि सारेपछि नेपाल निकै अप्ठ्यारोमा परेको थियो । नयाँ र आश्चर्यजनक प्रस्तावले छलफलमा सहभागी नेपालका अधिकारीहरू महाकालीको विषयमा कसरी अघि बढ्ने भन्ने अलमलमा थिए ।

नेपाल–भारतका अधिकारीहरू सम्मिलित विशेषज्ञहरूको समूह (ज्वाइन्ट ग्रुप अप एक्स्पर्ट) को बैठकमा भारतले अप्रत्याशित रूपमा तल्लो शारदा परियोजनामा प्रयोग भइरहेको महाकाली नदीको पानी सम्झौताअनुसार भारतले पाउनुपर्ने नयाँ प्रस्ताव राखेको थियो । जबकि महाकाली सम्झौतामा उपभोगमा असर नपर्ने गरी पानीमा समान हक हुने प्रावधान रहेको थियो । तल्लो शारदा परियोजना नेपालको सीमाभन्दा करिब १ सय ६० किमि दक्षिणतर्फ भारतमा रहेको थियो ।

भारतले यसअघिका बैठकमा पञ्चेश्वर र तल्लो शारदाको विषयमा कुनै पनि प्रस्ताव राखेको थिएन । बैठकमा भारतीय अधिकारीहरूले नेपालको संसद्ले पारित गरेको महाकाली सन्धि र संसद्ले अनुमोदन गरिसकेपछि गठित संयुक्त अनुगमन समितिले तयार गरेको निर्देशिकामा पानीको बाँडफाँटको विषय एकापसमा बाझिएको दाबी गरेका थिए ।[Archive] After India unexpectedly proposed to get water from the Mahakali River...

भारतको केन्द्रीय जल संशाधन नियोगका अध्यक्षको नेतृत्वमा आएको ११ जना जल विशेषज्ञ तथा दुई जना भारतीय राजदूतका प्रतिनिधिसमेत १३ जना र नेपाली अधिकारीहरूबीच तीन दिनसम्म वार्ता भएको थियो । छलफलमा नेपालले तयार पारेको डीपीआर प्रस्तुत गरेको थियो । तर, भारतले तल्लो शारदामा प्रयोग भइरहेको पानीसमेत गणना गर्नुपर्ने प्रस्ताव राखेपछि वार्ता निष्कर्षविहीन भएको थियो । छलफल पानीको विषयमा केन्द्रित भएपछि दुवै पक्ष निष्कर्षमा पुग्न सकेका थिएनन् । त्यसैले भारतले उक्त विषयमा वार्ता गर्न भारत बोलाएको थियो । 

भारतको प्रस्तावलाई लिएर नेपाली जलविशेषज्ञ टोलीले राजनीतिक तहमा वार्ता सुरु गरेका थिए । भारतले राखेका प्रस्तावहरूमाथि मन्त्रिपरिषद्मा छलफल गरेर मात्र विशेषज्ञ टोली उता पठाउने रणनीति नेपालले लिएको थियो । तर, साताभित्र टोली भारत जाने भनिए पनि मन्त्रिपरिषद्मा छलफल अघि बढाइएको थिएन । किनकि, नेपालको राजनीतिक नेतृत्व र विशेषज्ञहरू भारतले राखेको यस्तो प्रस्तावबाट अलमलमा परेका थिए । नेपालका विशेषज्ञहरूले सरकारलाई भारतको प्रस्तावलाई राजनीतिक रूपमा समाधान गर्नुपर्ने सुझाव दिएका थिए ।

महाकाली सन्धि संसद्‍बाट बहुमतले पारित भए पनि कार्यान्वयनमा देखिएको जटिलताका विषयमा नेपाल र भारतका अधिकारीहरूबीच भएको वार्ता र सहमति हुन नसकेको सन्दर्भमा केन्द्रित भएर कान्तिपुरले २०५४ असोज १ मा ‘महाकालीको पानी बाँडफाँटबारे भारतको उदेकलाग्दो प्रस्ताव’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो ।

प्रस्तुतिः ऋषिराम पौड्याल

कान्तिपुर अर्काइभ

कान्तिपुर

Link copied successfully