अविश्वास प्रस्तावको पक्षमा १ सय १ मत र विपक्षमा ८४ मत परेको थियो भने १४ जना सांसद अनुपस्थित भएका थिए । यसरी प्रधानमन्त्री देउवाविरुद्ध दोस्रो पटक एमालेले ल्याएको अविश्वास प्रस्ताव सदनबाट अस्विकृत भएको थियो ।
What you should know
काठमाडौँ — अघिल्लो दिनसम्म सरकार गिराउने पक्षमा लागेका राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद मिर्जादिलसाद वेग र सद्भावना पार्टीका अनिश अन्सारी अविश्वासको प्रस्तावमाथि मतदान हुने दिन संसद्मा उपस्थित भएनन् । उनीहरूले शेरबहादुर देउवा सरकार ढालेर राप्रपाको लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाउन राजी भएको समावेदनमा हस्तक्षर गरेका थिए । राजालाई चढाएको समावेदनमा उनीहरूको हस्ताक्षर थियो । तर मतदान हुने दिन सांसद मिर्जा र अन्सारी उपस्थित नै भएनन् ।
यी दुई सांसदहरूकै कारण लोकेन्द्रबहादुरलाई प्रधानमन्त्री बनाउने रणनीतिमा एमालेले राखेको अविश्वास प्रस्ताव दोस्रो पटक पनि सफल हुन सकेन । २०५३ पुस ६ देखि सुरु भएको अविश्वासको औचित्यमाथिको छलफलपछि ९ गते मतदान गरिएको थियो ।
विशेष गरी राप्रपाका सांसदहरूले आफ्नो अडान फेरिरहने भएकाले अविश्वास प्रस्तावमाथिको छलफलभन्दा पनि अन्य विषयमा आपत्ति र नियमापत्ति नै चलिरहेको थियो । सांसदहरूबीच एकले अर्कालाई दोषारोपण र आरोप–प्रत्यारोप लगाइरहेका बेला मतदानमा २ मतले अविश्वास प्रस्ताव विफल भएपछि एमाले निकै आक्रोशित भएको थियो । देउवा नेतृत्वको सरकार दोस्रो पटक २ मतले जोगिएको थियो ।
अविश्वास प्रस्तावको पक्षमा १ सय १ मत, विपक्षमा ८४ मत परेको थियो भने १४ जना सांसद अनुपस्थित भएका थिए । सरकार ढाल्न १ सय ३ मत चाहिन्थ्यो । अविश्वासको पक्षमा एमालेका ८७, राप्रपाका ९, सद्भावना पार्टीका १, मसालका २ र नेमकिपाका २ जनाले मतदान गरेका थिए । नेमकिपाका २ जना सांसदले समावेदनमा हस्ताक्षर नगरे पनि अविश्वासको पक्षमा मतदान गरेका थिए । सत्तापक्षका १४ जना सांसदले मतदानमा भाग लिएनन् ।
कांग्रेसका खुमबहादुर खड्का, राजेन्द्रबहादुर शाह, देवेन्द्रराज कँडेल, ज्योतेन्द्रमोहन चौधरी, शिवराज जोशी, राप्रपाका सूर्यबहादुर थापा, बालाराम घर्ती मगर, बुद्धिमान तामाङ, शान्तिशमशेर, महेन्द्रराय विष्णुविक्रम थापा, मिर्जादिलसाद, नेमकिपाका भक्तबहादुर रोकाय अनुपस्थित भएका थिए । राप्रपाका मिर्जादिलसाद र सद्भावनाका अन्सारीले राजालाई चढाएको समावेदनमा हस्ताक्षर गरे पनि मतदानको दिन अनुपस्थित भएपछि प्रमुख प्रतिपक्षले संसद्मा निकै ठूलो हंगामा गरेको थियो ।![[Archive] Deuba's Prime Ministerial post was saved by sending MPs abroad...](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/page1kpr-10-3132026071830-1000x0.jpg)
एमालेले कम्तीमा १ सय ३ मत पुग्ने गरी अविश्वास प्रस्ताव अघि सारेको थियो । तर २ जनाको अनुपस्थितिले अविश्वास प्रस्ताव विफल भएपछि प्रतिपक्ष सरकारमाथि खनिएको थियो । मतदान सुरु हुनुअगावै संसद्मा सत्ता र प्रतिपक्षबीचको विवाद लामो समय चलेको थियो । त्यसैले १ बजे बैठक सुरु गरे पनि मतदान भने ५ बजे भएको थियो । अविश्वास प्रस्ताव आएपछि सदनमा भएको गतिविधिका विषयमा छानबिन गर्ने सहमति भएको जानकारी सभामुख पौडेलले दिएका थिए ।
सांसदहरूको अनुपस्थिति र गुट परिवर्तन
सरकार जोगाउने र हटाउने खेल निकै रोचक भएको थियो । जसलाई नेपालको संसदीय इतिहासमा अहिले पनि आलोचना हुने गरेको छ । सांसदहरू यता र उता गरेर गुट परिवर्तन गर्न थालेपछि सरकार र प्रतिपक्षी दलहरू रनभुलमा परेका थिए । एकातिर नेपकिपाका सांसद रोकाय सम्पर्कविहीन थिए भने राप्रपाका सांसद मिर्जादिलसादले रातारात प्रधानमन्त्री निवास बालुवाटार गएर संसद्मा अनुपस्थित भएका थिए । त्यसैले मतदान सुरु हुनुअगावै प्रतिपक्षको मत घट्ने आंकलन गरिएको थियो ।
सांसद मिर्जादिलसादलाई आफ्नो पक्षमा ल्याउन नसकेपछि सत्ता र प्रतिपक्षबीच संसद चलाउने सहमति भएको थियो । मिर्जादिलसाद मध्यरातमा प्रधानमन्त्री निवास बालुवाटार गएको र संसद्मा पनि अनुपस्थित भएको सूचनाले धेरै शंका उत्पन्न गराएको थियो ।
गृहमन्त्रीमाथि सांसद अपरहणको आरोप
संसद्मा गृहमन्त्री खड्काले सांसद अपहरण गरेको आरोप प्रतिपक्षले लगाएका थिए । नेमकिपाका सांसद रोकायको खोजी गर्ने विषयमा गृहमन्त्री खड्काले जवाफ दिनुपर्ने माग प्रतिपक्षले गरेका थिए । राप्रपाका पद्मसुन्दर लावतीले सांसद रोकायलाई गृहमन्त्रीले अपहरण गरेर बालुवाटार लगेको आरोप लगाएका थिए । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले गृहमन्त्री खड्काको निर्देशनमा आफ्नो पार्टीका सांसद रोकायलाई अपहरण गरिएको बताएका थिए ।
बिजुक्छेले सांसद रोकायको भारतको पूर्णियामा मोटरसाइकल दुर्घटनामा पारेर हत्या गरेको आशंका गरेका थिए । उनको भनाइले प्रतिपक्षी दलहरू सरकारविरुद्ध थप आक्रोशित भएका थिए । नेमकिपाका सांसद रोकाय संसद्मा उपस्थित नभएपछि प्रतिपक्षले संसद नै चल्न नदिने अडान राखेको थियो । तर मध्यान्ह प्रतिपक्ष अडानबाट पछि हटेको थियो ।
सदनमा हो–हाल्ला भएको थियो । प्रतिपक्षले बैठक अगाडि बढाउन नमिल्ने भन्दै गृहमन्त्री खड्कालको जवाफ माग गरेका थिए । राप्रपा चन्द पक्षका सांसद कमल थापाले आफ्नो पार्टीका सांसद मिर्जादिलसादलाई काश्मीरी आतंकवादीसँग जोडेर मन्तव्य राखेका थिए । उनले भनेका थिए, ‘काठमाडौंमा ठूलो परिमाणमा ध्वंशात्मक साधनसहित पक्राउ परेको विषयमा केही सम्झौता भएको हुनुपर्छ, मैले अहिले त्यो भन्दा बढी केही भनिनँ ।’
एमालेका सांसदहरू देवीप्रसाद ओझा, केपी शर्मा ओली, राजेन्द्र पाण्डेलगायतले सांसद रोकायको विषयमा गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका थिए । उनीहरूले गृहमन्त्रीको जवाफका लागि सभामुखले रुलिङ गर्नुपर्ने माग गरेका थिए । उनीहरूको मागअनुसार सभामुख पौडेलले विषय अति संवेदनशील भएकाले गृहमन्त्रीले जवाफ दिनुपर्ने निर्देशन दिएका थिए ।
संसद्को रोस्टममा जवाफ दिन उभिएका गृहसहायक मन्त्री दीपकप्रकाश बास्कोटालाई प्रतिपक्षी दलले रोकेका थिए । प्रतिपक्षले सहायक मन्त्री होइन, गृहमन्त्री खड्का नै उपस्थित भएर जवाफ दिनुपर्ने माग गरेका थिए । तर सभामुखले सरकारका तर्फबाट जिम्मेवार व्यक्ति उपस्थित भएर जवाफ दिन पाउने भन्दै बास्कोटलाई बोल्ने अनुमति दिएका थिए । बास्कोटाले सांसद रोकाय दुर्घटनामा परेको जानकारी नभएको बताएका थिए ।
एमाले सांसद वामदेव गौतमले सहायक मन्त्री बास्कोटाको जवाफ चित्त नबुझेको भन्दै सांसद रोकायको अवस्थाबारे सदनलाई जानकारी गराउन भनेका थिए । नेमकिपाका बिजुक्छेले पनि सांसद रोकायका बारेमा थप जानकारी मागेका थिए । सभामुख पौडेलले जिउँदो मान्छेलाई मरेको भनेर सदनमा हंगामा मच्चाउन नपाइने भन्दै बैठक अघि बढाउने बताएका थिए । सभामुखको भनाइपछि सदन शान्त भएर अविश्वास प्रस्तावबारे कारबाही अघि बढेको थियो ।
सूर्यबहादुर छिरेपछि सदनमा हंगामा
अविश्वास प्रस्तावलाई निर्णयमा पुर्याउन मतदान हुने समयमा राप्रपा अध्यक्ष थापा संसद् भवनबाट बाहिरिएका थिए । उनी फर्केर मतदानका लागि आउँदा संसदको बेल बजाएर ढोका बन्द गरिसकिएको थियो । थापालाई देखेपछि मर्यादापालकले संसद हलको ढोका खोलिदिएका थिए । थापा हलभित्र पसेर कुर्सीमा बस्न खोज्दा एमालेसहितका प्रतिपक्षी सांसदहरू हो–हल्ला गर्दै थापा नजिक पुगेका थिए । हो–हल्ला आफ्नो कारणले भएको उनलाई थाहा थिएन । त्यसैले उनी एकछिन अलमलमा परेका थिए ।![[Archive] Deuba's Prime Ministerial post was saved by sending MPs abroad...](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/page1kpr-pus-1-3132026071828-1000x0.jpg)
सभामुखले मतदानका लागि ढोका बन्द गर्ने रुलिङ गरिसकेपछि थापा भित्र छिरेकाले मतदान गर्न नपाउने अडान प्रतिपक्षको थियो । सदनमा वादविवाद भएपछि थापामाथि प्रतिपक्षी सांसदहरूले भौतिक रूपमा आक्रमण गर्न खोजेका थिए । एमाले र राप्रपाका चन्द समूहका सांसदहरूले थापा आउट, आउट भन्दै नारा लगाएका थिए । तर थापा त्यतिन्जेल पनि अलमलमा थिए । सभामुख पौडेलले थापाले मतदान गर्न नपाउने र गरे पनि उनको मत मान्य नहुने जानकारी गराएका थिए । तर यति गर्दा पनि संसद्मा हो–हल्ला रोकिएको थिएन ।
विवाद रोकिएन र थापालाई किन प्रवेश दिइयो भन्दै एमाले सांसदहरू आक्रमणको शैलीमा सभामुखतिर लागेका थिए । त्यसक्रममा प्रधानमन्त्री अगाडिको माइक एमाले सांसदहरूले भाँचेका थिए । त्यसपछि सत्तापक्षका सांसदहरूले थापालाई मतदान चलिरहेको बताएपछि उनी बाहिर निस्केका थिए । थापाले संवाददाताहरूसँग कहिलेकाहीं ठूलो मान्छे हुनु पनि अभिशाप रहेछ भन्ने प्रतिक्रिया दिएका थिए । उनले यो घटनालाई मानमाथिको भुक्तमान भनेका थिए ।
आफूलाई मतदान भइरहेको थाहा नभएर भित्र पसेको स्पष्टीकरण थापाले दिएका थिए । उनी सदनमा गृहमन्त्रीको जवाफको माग भइरहेकाले त्यही समय पारेर खान बाहिर निस्केका थिए । प्रमुख प्रतिपक्ष दलका सांसदहरू भरतमोहन अधिकारी, देवी ओझासहितले थापालाई भित्र पठाउन ढोका खोल्ने मर्यादापालकमाथि कारबाही गर्नुपर्ने माग गरेका थिए । सभामुख पौडेलले असमयमा ढोका खोल्नेलाई छानबिन गरेर कारबाही गर्ने जानकारी सदनलाई दिएका थिए । राप्रपा अध्यक्ष थापाले भने गल्ती आफ्नै भएको बताएका थिए ।
सांसदहरूबीच व्यंग्य र घोचपेच
सदनमा हंगामा भइरहेका बेला सत्तापक्ष कांग्रेसका प्रमुख सचेतक आनन्दप्रसाद ढुंगाले सांसदहरूले आ–आफ्नो पार्टीको सिद्धान्तमा बस्नुपर्ने भन्दै वैशाली र समिट होटलमा भएको राजनीतिक फोहोरी खेलको छानबिन हुनुपर्ने बताएका थिए । तर उनको कुराको जवाफ दिँदै राप्रपा नेता चन्दले ‘सबै कुरा गर्नुस्, आदर्शका कुरा नगर्नुस्’ भनेका थिए । चन्दले आक्रोशको शैलीमा भनेका थिए, ‘शंकर होटलमा हामीसँगै बस्दा ठिक हुने, समिट होटलमा एमालेसँग बस्दा बेठिक हुने कुरा छैन ।’
कांग्रेस सांसद प्रदीप गिरिले भने व्यंग्यात्मक रूपमा भनेका थिए, ‘पद, पैसा, प्रहरी र प्रशासन नभइ चुनाव जितिँदैन भन्ने ज्ञान एमाले र कांग्रेसले राप्रपाको संगतबाट सिक्दैछन् । एमालेले आज चन्दलाई प्रधामन्त्री बन्न आग्रह गर्यो, भोलि हामी थापालाई गरौंला ।’ अविश्वास प्रस्तावको क्रममा कांग्रेस र एमालेबीच भएको घटना पौराणिककालमा समुद्र मन्थन गर्दा निस्केको हलाहल विष मात्र भएको तर्क गिरिले गरेका थिए । उनले प्रजातन्त्र रक्षाका लागि महादेवको रूपमा रहनु भएका एमाले अध्यक्ष मनमोहन र कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाबाट विष ग्रहण हुने व्यंग्य गरेका थिए ।
‘मनमोहनजीलाई हेर्नुस्, जसलाई पदको कुनै लोभ छैन,’ गिरिले यसो भन्दा राप्रपा नेता चन्दले नियमापत्ति गरेका थिए । चन्दले भनेका थिए, ‘गिरि महाभारत र रामायणका कथा हालेर शिक्षा दिनुहुन्छ तर महाभारतमा त सत्यको विजय हुन्छ भन्ने देखाएको छ ।’ गिरिले ठूला पार्टीलाई बैंकक र साना पार्टीलाई पुर्णिया भन्दै व्यंग्य गरेका थिए । नेमकिपाका सांसद रोकायलाई पुर्णिया पुर्याइएको र राप्रपा मन्त्रीहरू बैंकक पठाएको चर्चा भइरहेका बेला गिरिले यस्तो व्यंग्य गरेका थिए । गिरिको भनाइ सुनेपछि एमाले सांसदहरूले सांसद रोकायलाई पुर्णिया पठाएको स्किारेको भन्दै हो–हल्ला गरेका थिए । पुनः सांसद गिरिले सभामुखलाई प्रश्न गरेका थिए, ‘सदनमा कहिलेकाहीं ठट्टा गर्न पाइन्छ कि पाइँदैन ?’
संसद् बैठक सुरु हुनुअघि एमाले अध्यक्ष मनमोहन अधिकारी र युवा, खेलकुद तथा संस्कृति मन्त्री बलबहादुर केसीबीच भनाभन भएको थियो । अध्यक्ष अधिकारीले केसीलाई सांसदहरू कति पैसामा किने भनेर हातले इसारा गरेका थिए । मन्त्री केसीले त्यसको के जवाफ दिए भन्ने सुनिएको थिएन । तर नजिकै बसेका प्रतिपक्षी सांसदहरूले हाम्रो अध्यक्षलाई हेप्ने भन्दै हो–हाल्ला गरेपछि केसी चुप लागेका थिए । ![[Archive] Deuba's Prime Ministerial post was saved by sending MPs abroad...](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/page1kpr-pus-10-3132026071838-1000x0.jpg)
संसद्मा मत सच्याउने समयमा राप्रपाका सांसद सर्वेन्द्रनाथ शुक्लाले भन्दै थिए, ‘हाम्रो पार्टीका अध्यक्ष (सूर्यबहादुर थापा) मत दिन आउनु भएन । कम्तीमा उहाँले दलको ह्वीप उल्लंघन गर्नुभएन, उहाँलाई धन्यवाद ।’ शुक्लाको व्यंग्यले प्रतिपक्षी दलका सांसदहरूबीच हाँसो चलेको थियो । त्यति नै बेला अध्यक्ष थापा पछाडिको ढोकाबाट सुटुक्क छिरेको देखेपछि प्रतिपक्षी सांसदहरूले ‘ऊ ऊ आउनु भो’ भन्दै देखाएका थिए । मिनेटभरमै प्रतिपक्षी सांसदहरू उफ्रिँदै रोस्टमतिर पुगेर सभामुखलाई धम्क्याउन थालेका थिए ।
संसद्मा भोटिङ भइरहेका बेला भित्र छिरेका अध्यक्ष थापाले स्थिति नबुझी कांग्रेस सभापति गिरिजाप्रसादसँग के के हल्ला हो भनी सोधेका थिए । थापाको उपस्थितिलाई सभामुखको रुलिङविपरीत भन्दै एमाले सांसद कृष्णगोपाल श्रेष्ठसहितका सांसदहरूले सिधै गएर सभामुखको टेबुल ठोकेका थिए ।
संसद्मा हो–हल्ला र सुसेलीको वातावरणमा बाहिरिन लागेका अध्यक्ष थापा मूल ढोका पुग्न लाग्दा एमाले सांसद रकम चेम्जोङलगायतका प्रतिपक्षी सांसदले उनीमाथि मुक्का प्रहार गर्ने प्रयास गरेका थिए । केहीबेर सदन नियन्त्रण बाहिर पुगेजस्तो देखिएको थियो । रोस्टम र सभामुखको आसनको सुरक्षाका लागि मर्यादापालकहरू पलेटी कसेर डेढ घण्टा बसेका थिए । एमाले सांसदहरूले मर्यादापालकको अगाडि हाम्रो तलब भत्ता बाँड्नै पर्छ, हाम्रो माग पूरा होस् भन्ने नारा लेखेर टाँसिदिएका थिए ।
प्रधानमन्त्री देउवाविरुद्ध दोस्रो पटक ल्याइएको अविश्वास प्रस्ताव सदनबाट अस्विकृत भएको, सांसदहरूको नैतिकताको विषयमा प्रश्न उठेको र संसदीय व्यवस्थामा सांसद संख्या आफ्नो पक्षमा पुर्याउनका लागि जे पनि गर्ने प्रवृत्ति बढेको लगायतका सन्दर्भलाई जोडेर तयार गरेको समाचार कान्तिपुर दैनिकले २०५३ पुस १० मा ‘सरकारविरुद्धको अविश्वास प्रस्ताव विफलः प्रस्तावको पक्षमा १०१, विपक्षमा ८४ र अनुपस्थित १४’ शीर्षकमा प्रकाशन गरेको थियो । सोही दिन संसद्मा भएको गतिविधिलाई विशेष ‘अधिवेशनको अन्तिम दिन’ शीर्षकमा व्यंग्यात्मक समाचार प्रकाशन गरेको थियो ।
सदनमा भएको उक्त अस्वाभाविक गतिविधिलाई कान्तिपुरले सांसद, सभामुख र मन्त्रीहरूको व्यंग्यात्मक घोचपेच प्रकाशन गरेको थियो । बैठकमा राप्रपा अध्यक्ष थापाले बोलेको विषयलाई शीर्षक बनाएर छापिएको थियो । शीर्षक थियो, ‘ठूलो मान्छे हुनु पनि अभिशाप रहेछ ।’ उल्लेखित सबै विषय र घटनाक्रमलाई संसदीय व्यवस्थाको इतिहासमा अहिले पनि विकृतिका रूपमा वर्णन गरिँदै आएको छ ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] Deuba's Prime Ministerial post was saved by sending MPs abroad...](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/third-party/deuba-10102021043831-2932025082400-watermarked-0122026014758-1000x0-3132026071557-1000x0.jpg&w=1001&h=0)