विशेष अधिवेशन माग गर्ने १ सय २ जना सांसदहरूमध्ये संयुक्त सरकारका बहालवाला मन्त्री र सांसदहरू कोही सत्तापक्ष र कोही विपक्षी बेन्चमा बसेको दृश्यले संसदीय व्यवस्थामा नौलो र अनौठो अभ्यास देखिएको थियो ।
What you should know
काठमाडौँ — अन्ततः शेरबहादुर देउवा सरकार ढाल्न २०५३ पुस १ मा प्रतिनिधिसभाको विशेष अधिवेशनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्री र सांसदहरू नै विपक्षी बेन्चमा बसे । सत्तामै बसेर संसदमा विपक्षी बेन्चमा बस्नु संसदीय परम्पराविपरीत थियो । तर राप्रपा संसदीय दलका नेता लोकेन्द्रबहादुर चन्दले प्रधानमन्त्री बन्ने लोभमा संसदमा अनौठो अभ्यास देखाएका थिए ।
विशेष अधिवेशन माग गर्ने १ सय २ जना सांसदहरूमध्ये संयुक्त सरकारका बहालवाला मन्त्री र सांसदहरू कोही सत्तापक्ष र कोही विपक्षी बेन्चमा बसेको दृश्यले संसदीय व्यवस्थामा नौलो र अनौठो अभ्यास देखिएको थियो ।
बैठक सुरु भएपछि सभामुख रामचन्द्र पौडेलले विशेष अधिवेशनका लागि राजालाई समावेदन चढाउने प्रमुख प्रतिपक्षी दलका नेता मनमोहन अधिकारीलाई बोल्ने अनुमति दिएका थिए । तर विपक्षी बेन्चमा बसेका राप्रपा नेता चन्द, राप्रपा उपाध्यक्ष पद्मसुन्दर लावती र एमालेसहितका सांसदले संसदमा होहल्ला सुरु गरेर ८ मिनेटसम्म बैठक अघि बढ्न दिएनन् ।
विशेष अधिवेशनको माग गर्न पहिलो हस्ताक्षर गर्ने एमाले अध्यक्ष मनमोहनलाई बोल्न दिए पनि होहल्ला गरेर अवरोध सिर्जना गरिएको थियो । संसदमा राप्रपा नेता चन्दले पनि बोल्न पाउनुपर्छ भन्ने विवाद राप्रपा र एमालेबीच नै चलेको थियो । अविश्वास प्रस्ताव राख्ने पक्षबीच नै बोल्ने विषयमा विवाद भएको थियो । तर प्रतिनिधिसभा नियमावली अनुसार पहिलो हस्ताक्षरकर्ता वा उसले अधिकृत गरेको व्यक्तिले मात्र बोल्न पाउने जानकारी सभामुख पौडेलले गराएका थिए । तर पनि होहल्ला र नियमापत्ति रोकिएन । त्यही वातावरणमा चन्दले आफ्नो भनाइ राखेका थिए । उनले राप्रपाका मन्त्रीहरूले राजिनामा दिएको विषय सदनलाई जानकारी हुनुपर्ने विचार राखेका थिए ।
चन्दले बोलेपछि जलस्रोत राज्यमन्त्री शर्वेन्द्रनाथ शुक्ला र आपूर्ति सहायकमन्त्री अनिश अन्सारीले आफूले दिएको राजिनामा किन स्विकृत भएन भन्दै प्रश्न गरेका थिए । राप्रपाका ९ जना र सद्भावना पार्टीका दुई जना सांसद भने सत्तापक्षको बेन्चमा बसेका थिए । यो दृश्य देखेपछि प्रमुख प्रतिपक्षी एमाले सांसद विरोध खतिवडाले सत्तापक्षका सांसद र मन्त्री विपक्षी बेन्चमा किन बसेछन् प्रस्ट पार्न माग गरेका थिए । तर सभामुख पौडेलले उक्त मागलाई बेवास्ता गरेका थिए । ![[Archive] After ministers sit on the opposition bench in Parliament...](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/page1kpr-pus-2-2932026090409-1000x0.jpg)
सदनमा होहल्ला कायमै थियो । त्यही माहोलमा सभामुख पौडेलले विशेष अधिवेशन माग गर्ने पहिलो हस्ताक्षरकर्ता मनमोहनलाई बोल्ने अनुमति दिएका थिए । मनमोहनले विशेष महाधिवेशन माग गर्नु आफ्नो रहर नभएको दाबी गर्दै विद्यमान अन्योल र अस्थिरताको पीडाबाट मुलुकलाई मुक्त गर्न खोजेको बताएका थिए । अधिवेशन माग गर्नुको औचित्य राख्दै उनले सत्तारुढ सांसदहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले संविधानतः प्रधानमन्त्री संसदमा अल्पमतमा परेको बताएका थिए । उनले देउवाले राजिनामा दिनुपर्ने माग गरेका थिए ।
राप्रपाको समर्थनमा बनेको संयुक्त सरकारले संवैधानिक र संसदीय मूल्यविपरीतका गतिविधि गरेको भन्दै मनमोहनले संसदलाई प्रभावकारी हुन नदिएको दोष लगाएका थिए । प्रधानमन्त्री देउवाविरुद्ध धेरै प्रश्न उठेको भन्दै सरकार बन्ने समयमै आफूहरूले देश र जनताको पक्षमा काम हुन नसक्ने विश्लेषण गरेको स्मरण उनले गराएका थिए । देउवा सरकार भ्रष्टाचार, कमिसनतन्त्र, महँगी र बेरोजगारको नमुना नै बनेको आरोप उनले लगाएका थिए ।
सांसदहरूको रोचक बसाइ
एमालेले प्रस्ताव गरेको प्रधानमन्त्रीका उम्मेदवार तथा राप्रपा नेता चन्द बैठक सुरुहुनु केही बेरअघि हलभित्र पसेर विपक्षी बेन्चको नवौं लहरमा बसेका थिए । एमाले प्रमुख सचेतक देवीप्रसाद ओझाले चन्दलाई आगाडि बस्न अनुरोध गरेका थिए । तर चन्दले मानेनन् । उनीसँगैको लहरमा राप्रपा सांसदहरू कमल थापा, रामकृष्ण आचार्य तथा सद्भावनाका हृदयेश त्रिपाठी बसेका थिए । बहालवाला राज्यमन्त्री शर्वेन्द्रनाथ शुक्ला, प्रेमबहादुर भण्डारी, राजीव पराजुली, सहायकमन्त्री अनिश अन्सारी र उपसभामुख रामविलास यादव विपक्षी बेन्चमा बसेका थिए ।
राप्रपा अध्यक्ष सूर्यबहादुर थापा, पशुपतिशमशेर राणा, फत्तेसिंह थारु भने सत्तापक्षको बेन्चमा बसेका थिए । चन्द पक्षले आफ्नो पक्षमा उभिएको भनेर दाबी गरेका सहायकमन्त्रीद्वय विष्णुविक्रम थापा र खोभारी राय भने सदनमा उपस्थित थिएनन् । विशेष अधिवेशन सुरु भएको दिन नेपाल मजदुर किसान पार्टीका सांसदहरू पनि उपस्थित थिएनन् । संसद् बैठक सकिएपछि आएका राप्रपा सांसद प्रकाशचन्द्र लोहनीले भने आफू जहाँ छु, त्यहीँ छु भन्दै सत्तापक्षमा उभिएका थिए । तर राप्रपाका प्रवक्ता थापाले संसदीय दलले आफ्ना सबै सांसदहरूलाई विपक्षी बेन्चमा बस्न ह्वीप जारी गरेको बताएका थिए । उनले भनेका थिए, ‘विपक्षीमा बस्ने पार्टीको आधिकारिक निर्णय हो, हामीले त्यही निर्णयलाई पालना गरेका हौं ।’
सभामुख पौडेलले २०५३ पुस ६ देखि अविश्वास प्रस्तावमाथि छलफल हुने जानकारी दिएका थिए । छलफल ८ पुससम्म हुने र प्रधानमन्त्रीले जवाफ दिएपछि अविश्वास प्रस्तावमाथि मतदान हुने जानकारी सभामुखले दिएका थिए । एमालेले देउवा नेतृत्वको सरकार ढाल्न चन्दलाई प्रधानमन्त्री प्रस्ताव गरेका कारण राप्रपामा भने सरकारमा बस्ने र छाड्ने मुद्दामा द्वन्द्व बढेको थियो । अध्यक्ष थापा सरकार टिकाउने पक्षमा थिए भने चन्द गिराउने पक्षमा थिए ।
२०४६ को आन्दोलनले पञ्चायत ढालेको ७ वर्ष नबित्दै बहुदलीय व्यवस्थामा प्रधामन्त्री हुन पाउने असर गुमाउन नहुने बुझाइ चन्दको थियो । चन्द पञ्चायतका अन्तिम प्रधामन्त्री थिए । यो अविश्वास प्रस्तावले भने राप्रपालाई मानसिक रूपमा विभाजनको बिन्दुमा पुर्याएको थियो । आफ्नो नौ महिने सरकार ढालेको ‘इगो’ एमालेलाई थियो । त्यसैले एमालेले पूर्वपञ्च चन्दलाई प्रधानमन्त्री बनाएर भए पनि देउवालाई ढालेर बदला लिने दाउमा चन्दलाई अघि सारेको थियो ।
२०५१ को मध्यावधि निर्वाचनबाट बनेको मनमोहन अधिकारीको सरकार राप्रपाको समर्थनमा कांग्रेसले नौ महिनामा ढालेको थियो । मनमोहनलाई अविश्वास प्रस्तावबाट हटाएर २०५२ भदौमा प्रधानमन्त्री बनेका देउवाको सरकार हटाउन एमालेले राप्रपालाई नै साथ लिएको थियो । एमालेको आश्वासनमा राप्रपाले सरकार ढाल्ने भएपछि देउवाले प्रधानमन्त्री पद जोगाउन राप्रपासँग अनेक सम्झौता गरेका थिए ।
मध्यावधि निर्वाचनबाट २० सिट जितेको राप्रपालाई उपसभामुखसहित १७ जनालाई मन्त्री बनाइएको थियो । चन्द र अध्यक्ष थापा बाहेक एक जना सांसद मात्र मन्त्री हुन बाँकी थिए । तर पनि राप्रपाका सांसदले देउवा सरकार ढाल्न सत्तामै बसेर अविश्वास प्रस्ताव राख्ने नियतले ल्याएको समावेदनमा हस्ताक्षर गरेका थिए ।
सत्ता ढाल्ने र बनाउने खेलले अस्थिर बनेको राजनीतिक माहोलमा केन्द्रित भएर तयार गरेको समाचार कान्तिपुर दैनिकले २०५३ पुस २ मा ‘हो–हल्लाका साथ विशेष अधिवेशन प्रारम्भः मन्त्रीहरू नै विपक्षी बेन्चमा बस्ने नौलो अभ्यास’ शीर्षकमा प्रकाशन गरेको थियो ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] After ministers sit on the opposition bench in Parliament...](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/page1kpr-photo-2932026090732-1000x0.jpg&w=1001&h=0)