नेपालले राष्ट्रिय अर्थतन्त्रमा गरेको विकासको चिनियाँ राष्ट्रपतिले खुलेर प्रशंसा गरेका थिए । ‘हिमालहरूले दुवै देशलाई परस्पर जोडेका छन् । सर्वोच्च शिखर सगरमाथाले चीन र नेपालबीच मित्रताको संकेत गर्छ,’ उनले भनेका थिए ।
What you should know
काठमाडौँ — ठूला मुलुकहरूका राष्ट्रध्यक्ष तथा सरकार प्रमुखहरूको नेपाल भ्रमण विरलै हुने गरेको छ । चीन, भारत, अमेरिका, बेलायतजस्ता मुलुकबाट राष्ट्राध्यक्षको भ्रमण अझ धेरै कम हुने गरेको छ ।
नेपालका दुई छिमेकी चीन र भारतका राष्ट्रध्यक्षहरू भ्रमणमा आउनु कूटनीतिक हिसाबले निकै फलदायी मानिने गरेको छ । यही पृष्ठभूमिमा नेपालमा बहुदलीय प्रजातन्त्र प्राप्तिपछि २०५३ मंसिर १९ मा चीनका राष्ट्रपति जियाङ जेमिन दुई दिने भ्रमणमा आएका थिए । उनी तत्कालीन राजा वीरेन्द्रको निमन्त्रणामा नेपाल आएका थिए ।
चिनियाँ राष्ट्रपति जियाङ भारत र पाकिस्तानको भ्रमण सकेर लाहोरबाट एयर चाइना विमानमा नेपाल आएका थिए । उनलाई लिन राजा वीरेन्द्र त्रिभुवन अन्तर्राष्ट्र्रिय विमानस्थलमा आफैं गएका थिए । केही महिनाअघि राजा वीरेन्द्र र प्रधानमन्त्री शेरबहादुर देउवाले चीनको औपचारिक भ्रमण गरेका थिए । त्यसलाई राष्ट्रपति जियाङको भ्रमणको पृष्ठभूमि मानिएको थियो ।
विमानस्थलमा तत्कालीन शाही नेपाली सेनाको एक टुकडीले राष्ट्रपति जियाङलाई सम्मान गारत अर्पण गरेको थियो । सेनाले जियाङलाई २१ तोपको सलामी दिएको थियो । उनी विमानस्थलमा आइपुग्नुअघि राष्ट्रिपति जियाङका तर्फबाट बाँडिएको प्रेस विज्ञप्तिमा नेपाल र चीनलाई हिमाल र नदीले जोडेको भन्दै दुई देशबीचको सम्बन्धको चर्चा गरिएको थियो । ![[Archive] The visit of the Chinese President at the invitation of King Birendra...](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/page1kpr-main-2532026055637-1000x0.jpg)
विज्ञप्तिमा भनिएको थियो, ‘चिनियाँ सरकार र जनता नेपाल र चीनको परम्परादेखि चलिआएको पारस्परिक मित्रताको सम्बन्धलाई महत्त्व दिन्छन् ।’ नेपाल–चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४१ वर्ष भएको स्मरण गराउँदै विज्ञप्तिमा भ्रमणले दुई देशबीचको मित्रता र समझदारीमा अभिवृद्धि तथा सहयोगको क्षेत्र विस्तार हुने उल्लेख गरिएको थियो ।
राष्ट्रपति जियाङलाई काठमाडौंको राष्ट्रियसभामा आयोजित कार्यक्रममा महानगर प्रमुख पीएल सिंहले महानगरको साँचो हस्तान्तरण गरेका थिए । उक्त अवसरमा महानगरका तर्फबाट राष्ट्रपति जियाङलाई कलात्मक झ्याल र अभिनन्दन–पत्र प्रदान गरिएको थियो । उनी राजा वीरेन्द्रका साथ नारायणहिटी दरबारमा गएका थिए । दरबारमा पनि उनको सम्मानमा सम्मान गारत अर्पण गरिएको थियो । उक्त अवसरमा दुवै देशका राष्ट्रिय धुन बजाइएको थियो । राष्ट्रपतिका साथ चीनका उपप्रधान तथा विदेशमन्त्री छियाङ छिलगायत मन्त्री र तिब्बत जनसरकारका अध्यक्ष ग्याल्सेन नोर्बू नेपाल आएका थिए ।
सोही दिन राती राजा वीरेन्द्रले नारायणहिटी दरबारमा राजकीय भोजको आयोजना गरेर राष्ट्रपति जियाङलाई टोस्ट प्रस्ताव गरेका थिए । त्यस अवसरमा राजाले व्यापार, पर्यटन तथा अन्य क्षेत्रको माध्यमबाट चीनको लगानी भित्र्याउन चाहेको धारणा राखेका थिए । उनले भनेका थिए, ‘दुवै मुलुकको आपसी हितका निम्ति निजी क्षेत्रलाई समेत संलग्न गराई व्यापार, पर्यटन तथा अन्य क्षेत्रमा संयुक्त लगानीको माध्यमबाट हाम्रो स्रोतहरूको सदुपयोग गर्दै आर्थिक गतिविधि विस्तार गर्न चाहन्छौं ।’
वर्षौंदेखि नेपाल–चीन असल छिमेकी भएको उदाहरण सुनाउँदै राजाले आफूले चीन भ्रमण गरेको स्मरण गराएका थिए । चीनले आफ्ना देशका नागरिकको जीवनस्तर सुधार्न गरेको प्रयत्नको प्रशंसा गर्दै राजा वीरेन्द्रले भनेका थिए, ‘नेपालमा विकासका विभिन्न पूर्वाधारको निर्माणका लागि चीनबाट उपलब्ध सहायताले हाम्रो विकास कार्यमा गहकिलो टेवा पुगेको छ ।’
उक्त समारोहमा राष्ट्रपति जियाङले चीन नेपाली जनतासँग मिलेर काम गर्न तयार रहेको बताएका थिए । उनले नेपालको विदेश नीतिको सराहना गर्दै शान्ति र स्थिरता कायम राख्न, अन्तर्राष्ट्रिय सहयोग अभिवृद्धि गर्न नेपालले खेलेको भूमिका सकारात्मक रहेको बताएका थिए । नेपालले राष्ट्रिय अर्थतन्त्रमा गरेको विकासको उनले खुलेर प्रशंसा गरेका थिए । ‘हिमालहरूले दुवै देशलाई परस्पर जोडेका छन् । सर्वोच्च शिखर सगरमाथाले चीन र नेपालबीच मित्रताको संकेत गर्छ,’ उनले भनेका थिए ।
चीनका राष्ट्रपतिले नेपालको औपचारिक भ्रमण गरेको विषयलाई कान्तिपुर दैनिकले २०५३ मंसिर २० मा ‘श्री ५ बाट राष्ट्रपति जियाङको स्वागत’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो । राजा वीरेन्द्रले राष्ट्रपति जियाङको सम्मानमा नारायणहिटी दरबारमा आयोजित रात्रिभोज र दुवै देशका राष्ट्रप्रमुखबाट व्यक्त विचारलाई कान्तिपुरले प्रकाशन गरेको थियो ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] The visit of the Chinese President at the invitation of King Birendra...](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/page1kpr-2nd-2532026060401-1000x0.jpg&w=1001&h=0)