नयाँदिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ८० किमि पश्चिम आकाशमा दुवै विमान एकापसमा जुध्दा भएको दुर्घटनामा ३ सय ५१ यात्रुको मृत्यु भएको थियो । १५ हजार फिट उचाइमा जुधेका विमानमा आकाशमै आगो लागेको थियो ।
What you should know
काठमाडौँ — नेपाली ५३ सहित तीन सयभन्दा बढी यात्रु बोकेको साउदी अरव एयरलाइन्स नयाँदिल्लीबाट साउदी अरवको राजधानी रियादतर्फ जाँदै थियो । उक्त विमानमा अधिकांश भारतीय र नेपाली रोजगारीका लागि खाडी क्षेत्रमा जाँदै थिए । हरियाणा प्रान्तको भिमानी जिल्लास्थित चरखी दादरी नजिकै धानी फोगट र खेटी साँवल गाउँको बीचमा बोइङ ७४७ विमान र विपरीत दिशाबाट आइरहेको मजाक टीयू १५४ विमान २०५३ कात्तिक २७ को बेलुकी ७ बजे आकाशमै ठोक्किएका थिए ।
नयाँदिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ८० किमि पश्चिम आकाशमा दुवै विमान एकापसमा जुध्दा भएको दुर्घटनामा ३ सय ५१ यात्रुको मृत्यु भएको थियो । १५ हजार फिट उचाइमा जुधेका विमानमा आकाशमै आगो लागेको थियो ।
विमान दुर्घटना भएको चरखी दादरी क्षेत्र व्यावसायिक उडानका लागि विश्वकै व्यस्त विमान मार्गमध्ये एक मानिन्छ । दुर्घटनास्थलमा मृतकको शव, लत्ताकपडा, सरसामानसहित ठूलो मात्रामा विभिन्न मुलुकका मुद्रा यत्रतत्र छरिएको देखिन्थ्यो । शवहरूलाई ट्रयाक्टर र ट्रकमा राखेर अस्पताल लगिएको थियो । यात्रुहरूमध्ये ५३ जना नेपाली थिए । उनीहरू कामका लागि खाडी मुलुक जाँदै थिए । नेपालीहरू अरव एयरलाइन्सबाट रियाद जाँदै थिए ।
कजाक सरकारका अनुसार कजाक विमानमा १७ जना यात्रु र १० जना चालक दलका सदस्य थिए । उक्त विमानका यात्रुहरू अधिकांश रसिया र किरगिस्तानका नागरिक थिए । विमान खसेको तोरीबारीमा राती पटक–पटक आगोको ज्वाला निस्केको देखिन्थ्यो । प्रहरीले भने घटनास्थलमा जीवित यात्रु भेटिन्छन् कि भनेर खोजी गरिरहेको थियो । ![[Archive] The horrific plane crash that killed 53 Nepalis...](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/page1kpr-29-2332026050032-1000x0.jpg)
नेपालस्थित परराष्ट्र मन्त्रालयले नेपालीको केही शव खोजी भइरहेको जानकारी दिएको थियो । दुर्घटना भएकै दिन ३ सय १२ शव फेला परिएको थियो । १ सय ९० जनाको सनाखत दुर्घटना भएको भोलिपल्ट भइसकेको थियो । साउदी जम्बो जेटको ब्ल्याक बक्स फेला परिसकेको थियो । विशेषज्ञहरूले दुर्घटनाको विषयमा अनुसन्धान सुरु गरेका थिए । नेपालीको शव भने दुर्घटना भएको मंसिर १ बाट नेपाल ल्याउन सुरु गरिएको थियो ।
विमानमा रहेका ५३ नेपालीको मृत्यु भएको घटनाले मुलुकमा एक प्रकारको शोकको अवस्था सिर्जना भएको थियो । उक्त घटनाले आजभन्दा २९ वर्षअघि नै ठूलो संख्यामा नेपालीहरू रोजगारीका लागि विदेश जाने गरेको तथ्य पनि सार्वजनिक भएको थियो । उक्त कहालीलाग्दो विमान दुर्घटनामा नेपालीको निधन भएको र शवहरू नेपाल ल्याउन थालिएको विषयलाई समेटेर तयार गरेको समाचार कान्तिपुर दैनिकले २०५३ कात्तिक २९ मा ‘भारतीय आकाशमा साउदी र कदाक विमान जुधे, दुर्घटनामा त्रिपन्न नेपालीको मृत्यु’ शीर्षकमा प्रकाशन गरेको थियो । पत्रकार केदार ओझाले खिचेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शव राखिएका बाकसको तस्बिर २०५३ मंसिर २ मा प्रकाशन गरिएको थियो ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] The horrific plane crash that killed 53 Nepalis...](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/page8kpr-mansir-2-2332026050036-1000x0.jpg&w=1001&h=0)