[अर्काइभ] काली नदीको मुहान खोज्न कालापानी जाने संसदीय समितिको त्यो निर्णय...

महाकाली सन्धि अनुगमन गर्न गठित संयुक्त संसदीय समितिको बैठकले ०५३ कात्तिक १७ मा सरकारसँग कालापानी नदीको उद्गम स्थलबारे जानकारी माग गर्ने निर्णय गरेको थियो । दार्चुलाको कालापानीमा १९६२ देखि भारतीय सेनाद्वारा सीमा अतिक्रमण भएको सम्बन्धमा समितिले छानबिन सुरु गरेको थियो ।

चैत्र ८, २०८२

कान्तिपुर संवाददाता

[Archive] That decision by the parliamentary committee to go to Kalapani to find the source of the Kali River...

What you should know

काठमाडौँ — पछिल्लो समय संसदबाट चुच्चे नक्सा पारित हुनुपूर्व कालापानीको सीमाको विषयमा निकै छलफल र बहस भएको थियो । विशेषतः भारतले काली नदीको नयाँ मुहान तयार गरेर नेपालको भूभाग आफ्नो नियन्त्रणमा लिएको भन्दै घटनाले सदन र सडक तातेको थियो । अहिले पनि भारतले नेपालको संसद‍्बाट सर्वसम्मत रूपमा २०७७ जेठ ३१ मा दुईतिहाई बहुमतले पारित भएको चुच्चे नक्सालाई मान्यता दिएको छैन । 

कतिपयले आफ्नो सीमा मिचिँदा नेपाल सरकारले थाहा नपाएको वा थाहा पाएर पनि चुपचाप बसेको जस्ता सन्दर्भ उठाउँदै आएका छन् । यद्यपि, काली नदीको मुहान परिवर्तन गरेर भारतले सीमा हेरफेर गरेको विषय लगभग ३० वर्षअघि अर्थात् २०५३ मै नेपालको संसदमा प्रवेश गरिसकेको थियो । त्यसैले नेपालले काली नदीको मुहान फेरेको विषय चुच्चे नक्सा पारित गर्ने समयमा मात्र चर्चामा आएको होइन । 

प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकलमा सभामुख रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको महाकाली सन्धि संयुक्त संसदीय अनुगमन समितिले काली नदीको मुहान सारेको विषयमा अध्ययन गर्ने निर्णय गरेको थियो । सुगौली सन्धिले कालापानी नदीलाई सिमाना मानेकामा भारतले के कसरी कुन प्रचलनका आधारमा पूर्वतिर सार्दै ल्यायो र नेपाल तथा चीनले कुन आधारमा त्रिदेशीय मिलनबिन्दु तय गरे भन्नेबारे अध्ययन गर्न संसदीय समिति कालापानी जाने निर्णय भएको थियो । 

महाकाली सन्धि अनुगमन गर्न गठित संयुक्त संसदीय समितिको बैठकले ०५३ कात्तिक १७ मा सरकारसँग कालापानी नदीको उद्गम स्थलबारे जानकारी माग गर्ने निर्णय गरेको थियो । दार्चुलाको कालापानीमा १९६२ देखि भारतीय सेनाद्वारा सीमा अतिक्रमण भएको सम्बन्धमा समितिले छानबिन सुरु गरेको थियो । सभामुख पौडेलको अध्यक्षतामा बसेको संयक्त बैठकमा नापी विभागका तत्कालीन महानिर्देशक पुण्यप्रसाद ओलीले महाकाली नदीको उद्गम कालापानी रहेको जानकारी गराएका थिए ।

तत्कालीन परराष्ट्रमन्त्री प्रकाशचन्द्र लोहनीले सन्धि पारित हुनुपूर्व लेपुलेक नै महाकालीको शिर हो भन्ने नेपालको अडान प्रस्तुत गरेका थिए । तर महाकालीको मुहान लेपुलेक कालापानीको १० किमिभन्दा बढी दक्षिण कृत्रिम कालापानी र कृत्रिम नदी बनाई महाकालीको पूर्वपट्टि नै ‘भारत तिब्बत सीमा प्रहरी शिविर’ नामबाट अर्थसैन्य प्रहरी तथा सैनिक राख्दै आएको थियो । [Archive] That decision by the parliamentary committee to go to Kalapani to find the source of the Kali River...

महाकाली सन्धि पारित हुनुपूर्व काठमाडौंस्थित भारतीय राजदूत केभी राजनले नेपालको भूभागमा आफ्नो सैनिक रहेको भए तत्काल हटाउने जानकारी दिएका थिए । तर महाकाली नदीको उद्गम कुन हो भन्ने प्रश्नमा भने राजदूत राजन मौन बसेका थिए । त्यतिबेला दार्चुलाको स्थलगत स्थिति बुझ्न नेपाल–भारत संयुक्त सीमा प्राविधि समिति त्यही वर्षको हिउँदमा पठाउने निर्णय गरिएको थियो । तर हिउँ पर्ने मौसममा जान नसक्ने भनिएकामा कुन समयमा जाने निर्णय हुन सकेको थिएन ।

सीमा प्राविधिक बैठक हरेक वर्ष दुवै देशमा पालैपालो हुने गरेको थियो । तर ०५३ कात्तिकसम्म भारतबाट निम्तो आएको थिएन । त्यो वर्ष भारतले बोलाउनुपर्ने पालो थियो । बैठक बस्न सकेन भने प्राविधिकहरू कालापानी जाने योजना पनि रद्द हुने अवस्था थियो । त्यतिबेला नेपालले काली नदीको उद्गमस्थल लिपुलेक मानेमा स्थलगत भ्रमणमा जान नपर्ने अपेक्षा राखेको थियो । तर भारतले लिपुलेकलाई उद्गमस्थल मान्ने सम्भावना थिएन । किनकि, तिब्बतसँगको सामरिक नाकाको महत्त्वपूर्ण स्थान राख्ने कालापानीमा भारत–चीन युद्धदेखि नै भारतीय सेना राख्दै आएको थियो ।

चीनबाट भारतको दिल्लीसम्मको सबैभन्दा छोटो बाटो लेपुलेक कालापानी भएकाले यो सामरिक हिसाबले भारतका लागि अहिले पनि निकै महत्त्वपूर्ण रहेको छ । पर्यटन र व्यापारका लागि यो सबैभन्दा होचो र सहज नाका भएकाले पनि महत्त्व बढेको थियो । महाकाली नदी –कञ्चनपुरको ब्रह्मदेवमण्डीभन्दा उत्तर) सीमांकनबारे त्यतिबेलासम्म नेपाल र भारतबीच छलफल भएको इतिहास थिएन ।

सीमाको नक्सा तयार गर्नुपर्ने र अर्को वर्ष सीमांकन गरिने भए पनि बैठक बस्ने छाँट थिएन । संसदीय समितिका सदस्य झलनाथ खनालले २०५३ मंसिरको दोस्रो सातासम्म कालापानी निरीक्षणमा जाने जानकारी दिएका थिए । संसदीय समितिले नेपाल र तत्कालीन ब्रिटिस भारतबीच १८१६ मा भएको सुगौली सन्धिदेखि दुई देशबीचको दस्ताबेज खोजी गरेको थियो । 

कान्तिपुरको समाचार अनुसार सुगौली सन्धिमा पश्चिम सीमा काली नदी भनिए पनि उद्गम प्रस्ट गरेको डकुमेन्ट प्राप्त भएको थिएन । सन्धि भएको दुई दशकपछि सन् १८३७ मा जेवी टासेन नामक एक जना भारतीय नागरिकले व्यक्तिगत प्रयासमा हाते नक्सा बनाएका थिए, जुन नक्सा अनुसार कालीको उद्गमस्थल लिम्पियाधुरा हो । लिम्पियाधुराबाट बग्ने नदी काली हो भने भारतले सैनिक अतिक्रमणका कारण नेपालले २० हजार एकड जमिन गुमाएको जानकारी संसदीय समितिलाई थियो । ब्रिटिस भारतको नापी विभागले १८५६ तिर पहिलो पल्ट गरेको नापीमा पनि महाकालीको उद्गम लिम्पियाधुरा उल्लेख गरिएको थियो । तर त्यसमा नेपाल–भारत सिमाना भने लिपुलेक कालापानीबाट झर्ने नदी भनिएको थियो । भारतले एकपक्षीय रूपमा नेपालको सीमा पूर्व धकेको बुझाइ नेपाललाई थियो । 

ब्रिटिस भारतको नापी विभागले १९७७ तिर तयार गरेको नक्सामा लिम्पियाधुराबाट निस्कनेलाई कुटियाङ्दी (कुटी नदी) र लिपुलेक कालापानीबाट निस्कने नदीलाई मात्र काली नदी भनिएको थियो । भारतले दाबी गरिएको काली नदीभन्दा कुटियाङ्दी चार गुणा ठूलो छ । यसले गर्दा कुटी र कालीबीचमा पर्ने कुटी, डावे र गुञ्जी नामका तीनवटा गाउँ भारतमा पारिएको थियो । नेपालको सिमाना नदी काली (कुटियाङ्दी) हो भन्ने आधार के थियो भने तीन गाउँहरूमा राणाकालीन ताम्रपत्र रहेको स्थानीयले बताएका थिए ।

भारतको पुरानो पाठ्यक्रममा पनि काली कहाँ से निकल ते हे ? कुटियाङ्दी से भन्ने पाठ पढेको दाबी स्थानीयले गरेका थिए । उनीहरूले उक्त पाठ पढेको झण्डै विसं २०१०/०१२ तिर थियो । भारतमा गाभिएको गाउँलेहरू आफूलाई नेपाली भन्न रुचाउँदैनथे । किनकि, भारतले उनीहरूलाई पर्याप्त सेवा सुविधा दिएको थियो । त्यसैले उनीहरू नेपाललाई छिमेकी भन्थे । उनीहरूको जग्गा जमिन नेपालमा थियो । नेपालको जमिन भारतीयको नाममा गराउन नमिल्ने भएपछि नेपालले ४० को दशकमा गरेको नापीपछि ती जमिन उनीहरूले छाडेका थिए । ५० को दशकसम्म उनीहरूले छाडेको घरगोठको भग्नावशेष त्यही थियो । १९०५ मा दोस्रो पल्ट ब्रिटिस भारतले एकलौटी रूपमा अर्को नक्सा बनाएको थियो । जुन नक्सामा कालीको उद्गम कालापानी हो भन्ने आफ्नो पुरानो मान्यतालाई समेत अस्विकार गरेको थियो । चीनसँगको युद्ध सुरु भएपछि त्यहाँ भारतीय सेना तैनाथ गरिएको थियो । 

विभिन्न प्रमाणका आधारमा नेपालको बुझाइमा भारतले पंखागाडको सुख्खा नालाभन्दा तीन सय मिटर उत्तर कृत्रिम कालापानी तयार गरेर कृत्रिम काली बनाएको थियो । भारतले लिपुलेक कालापानी अस्विकार गरेर नेपालको अर्को ३५ किमि भूभाग अतिक्रमण गरेको नेपाली अधिकारीहरूले आजभन्दा २९ वर्षअघि नै यकिन गरेका थिए । नेपालले कुटियाङ्दी नै काली हो भन्ने अडान सन् १९६१ मा छाडेको देखिन्छ तर त्यसको प्रस्ट कारण पत्ता लागेको थिएन । ५ अक्टोबर १९६१ मा राजा महेन्द्र र चीनका तत्कालीन राष्ट्रपतिले पेकिङमा हस्ताक्षर गरेको देखिन्थ्यो ।

नेपाल–चीन सीमा सम्झिौतामा त्रिदेशीय मिलनबिन्दु लिपुलेक छेउको च्याङ्ला भञ्ज्याङलाई कायम गरिएको थियो । तर भारतले त्यसलाई पनि अस्विकार गरेको थियो । च्याङ्ला भञ्ज्याङमा तीनै देशका व्यापारीको मेला लाग्ने गरेको थियो । त्यसैले सम्झौतामा उक्त स्थानलाई त्रिदेशीय क्षेत्र मानिएको थियो । नेपाल–चीन सम्झौता हुने समयसम्म प्राविधिक निरीक्षणमा नेपालका तर्फबाट पनि भारतीय प्राविधिकले भाग लिने गर्थे । त्यसपछि मात्र नेपालले आफ्नै नापी प्राविधिक तयार गर्न बेलायतमा पढाउन पठाउने चलन बसालिएको थियो । पहिलो व्याजका रूपमा बेलायतमा पढेर फर्किने दुई जनामध्ये पुण्यप्रसाद २०५३ मा नापी विभागका महानिर्देशक थिए । नेपालले आफ्ना प्राविधिकहरूबाट पहिलो पटक १९७९ मा नेपाल–चीनबीच विस्तृत सीमांकन गरेकामा भारतले विरोध जनाएको थियो । 

नेपालको संसदीय व्यवस्थाको इतिहासमा कालापानी र काली नदीको उद्गमका बारेमा पहिलो पटक विषय प्रवेश गरेको र यसको अध्ययन गर्ने तयारी गरेको सन्दर्भलाई पत्रकार नारायण वाग्लेले तयार गरेको तस्बिरसहितको समाचारलाई कान्तिपुर दैनिकले २०५३ कात्तिक १८ मा ‘कालापानी अतिक्रमणबारे संसदीय छानबिन सुरु : महाकाली नदीको उद्गम कुन हो ?’ शीर्षकमा प्रकाशन गरेको थियो । उक्त विषयलाई भारतले अहिलेसम्म पनि स्विकारेको छैन । 

प्रस्तुतिः ऋषिराम पौड्याल

कान्तिपुर

Link copied successfully