‘छोरो शेरबहादुर प्रधानमन्त्री भयो, अब रुवा खोलामा पक्की पुल बन्ला कि ?’

आफ्नो छोरा शेरबहादुर देउवा प्रधानमन्त्री भएकामा प्रसादसिंह निकै खुसी थिए । उनले छोरा प्रधानमन्त्री होला भन्ने नसोचेको बताए । तर उनी रुवा खोलामा पुल नभएर फड्के हालेर तर्नुपरेको घटना भने बेलाबेलामा सम्झिरहन्थे । प्रसादसिंहले फड्के हालेको रुवाखोलामा अहिले पक्की पुल बनिसकेको छ ।

चैत्र ५, २०८२

कान्तिपुर संवाददाता

”My son Sher Bahadur has become the Prime Minister. Will a concrete bridge be built over the Ruwa River?”

What you should know

काठमाडौँ — आजभन्दा लगभग ३० वर्षअघि । सुदूरपश्चिम डडेलधुराको साबिक आसिग्राम गाविस–१ रुवाखोला पुग्न सडकबाट एक घण्टा हिँड्नु पर्थ्यो । बाटोमा रुवा खोला भेटिन्थ्यो । पुलको अभाव भएपछि ५० को दशकमा सल्लाको मुडो तेर्स्याएर उक्त खोलाबाट आउजाउ गरिन्थ्यो । उक्त पुल तर्ने बित्तिकै तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको घर भेटिन्थ्यो । उक्त घरमा २०५२ भदौमा पहिलो पटक प्रधानमन्त्री भएका शेरबहादुरका ७९ वर्षीय पिता प्रसादसिंह देउवा बस्थे । 

बिजुली, टेलिफोन, सडक लगायतका पूर्वाधारको अभाव रहेको उक्त स्थानमा सामान्य एकतले ढुंगेघरमा शेरबहादुर पिता प्रसादसिंह रमाइरहेका थिए । देउवाको पुर्ख्यौली घर त्यही थियो । २०५३ मा शेरबहादुर संयुक्त सरकारका प्रधानमन्त्री थिए । रिपोर्टिङका क्रममा ०५३ कात्तिकमा डडेलधुरा पुगेका पत्रकार विश्वमणि पोखरेलसँग शेरबहादुरका पिता प्रसादसिंहले उनकै गाउँमा लामो भलाकुसारी गरेका थिए ।

आफ्नो छोरा प्रधानमन्त्री भएकामा प्रसादसिंह निकै खुसी थिए । उनले छोरा प्रधानमन्त्री होला भन्ने नसोचेको बताए । तर उनी रुवा खोलामा पुल नभएर फड्के हालेर तर्नुपरेको घटना भने बेलाबेलामा सम्झिरहन्थे । उनले कुराकानीका क्रममा उभिएर रुवा खोला देखाउँदै भनेका थिए, ‘मेरो छोरो प्रधानमन्त्री छ, ऊ गृहमन्त्री हुँदा मैले भनेँ, त्यहाँ एउटा पुल हालिदे तर उसले भन्यो, काठ तेर्स्याए हुन्न ? हुन्छ भने हामीले मुढाको फड्के बनाइदियौं ।’

मेरो छोरो प्रधानमन्त्री भएको एक वर्ष भयो, त्यहाँ अब पक्की पुल बन्ला कि ?’ उनले अगाडि भनेका थिए । उनले छोरो शेरबहादुर प्रधानमन्त्री भएको एक वर्ष भए पनि घर नआएको बताएका थिए । गृहमन्त्री हुँदा एकपटक घर गएका थिए । पिता प्रसादसिंहका अनुसार ०५१ कात्तिकको मध्यावधिमा एक रात बिताएर फर्केका शेरबहादुर फर्केका थिएनन् । त्यसैले प्रसादसिंहले भनेका थिए, ‘ऊ (शेरबहादुर) मेरा लागि परदेशी हो ।’ मधेशमा १० बिघा र पहाडमा करिब ८० रोपनी खेतका धनी प्रसादसिंहले भनेका थिए, ‘म कसैको कमाइ खान्न ।’ 

उनले शेरबहादुरको नाममा एक कठ्ठा पनि जमिन नभएको बताएका थिए । हाँस्दै भनेका थिए, ‘ऊभन्दा म धनी छु नि !’ छोरो प्रधानमन्त्री बनेको खबर उनले रेडियोबाट सुनेका थिए । उनका ६ भाइमध्ये जेठो शेरबहादुर प्रधानमन्त्री भएको भन्दा पनि बिहे गरेकामा प्रसादसिंह ज्यादै खुसी थिए । भाइहरूको बिहे गरिसक्दा पनि जेठो चाहिँले ब्रह्मचारी बन्न खोजेकामा उनी दिक्क थिए ।

‘शेरबहादुरकी आमा (त्यही वर्ष दिवंगत भएकी) बढी चिन्तित थिई । शेरबहादुरसँग धेरै कचकच गर्थी– बिहे गर् कि गर् भनेर । हामीले थुप्रै केटीसँग कुरा पनि चलायौं । चार वर्षसम्म कचकच गरेपछि ऊ राजी भयो । हामी बूढाबूढी काठमाडौंमै थियौं, उसले आफ्नो बुढी रोज्यो । मैले खोजेको केटी अनपढ हुन सक्थी, उसैले खोज्यो राम्रो भयो,’ प्रसादसिंहले भनेका थिए । ”My son Sher Bahadur has become the Prime Minister. Will a concrete bridge be built over the Ruwa River?”

राणा परिवारकी छोरी ठूलाबढा बिहे गर्नुभयो नि भन्ने प्रश्नमा प्रसादसिंहको जवाफ थियो, ‘ऊ (आरजु राणा) त ठूलो मान्छेकी श्रीमती पो हो । मेरो छोरो प्रधानमन्त्री, ऊ कसरी ठूली हुन्छे ?’ हाँस्दै प्रसादसिंहले थपेका थिए, ‘ऊ (आरजु) पढेलेखेकी छ, ज्ञानी छ, सुशील छ । उसले त्यतै काठमाडौं बस्नु भनेर आग्रह गर्छे तर ऊ पनि यहाँ आएकी छैन ।’

छोरो प्रधानमन्त्री भएपछि बुहारी आरजुले राम्रो संस्थाको जागिर छाडेकामा प्रसादसिंहलाई चित्त बुझेको थिएन । त्यसैले उनले कुराकानीका क्रममा भनेका थिए, ‘राम्रो नोकरी छोडिदिई, अब प्रधानमन्त्रीले के गर्छ, गराउाला । उसकी श्रीमती हो ।’ आफ्ना अन्य छोराहरूले नपढेकामा प्रसादसिंहको गुनासो थियो । छोराहरूलाई सरकारी जागिरका लागि प्रधानमन्त्रीलाई भन्नुभएको छैन भन्ने प्रश्नमा उनले भनेका थिए, ‘पढेका भए पो जागिर खान्छन्, पढेकै छैनन् कहाँ घुसाउनू, खेतीपाती गर्छन्, आफ्नो आफ्नो बुद्धि र भाग्यको कुरा हो ।’ 

शेरबहादुर गाउँमा बीए पास गर्ने पहिलो व्यक्ति थिए । उनले पढेको स्कुलमा ०५३ सम्म ९ कक्षासम्म पढाइ हुन्थ्यो । ‘मेरा जेठो छोरो (शेरबहादुर) पढ्नमा रुचि राख्थ्यो । बैतडीबाट स्कुल सकेर राजधानी गएको ऊ राजनीतिमै लाग्यो,’ प्रसादसिंहले भने ।

उनले डडेलधुरा मालपोतमा जागिर खाएर शेरबहादुरलाई पढ्ने खर्च काठमाडौं पठाउने गर्थे । काठमाडौंमा पढ्न वार्षिक १० हजार लाग्थ्यो । उनले भनेका थिए, ‘सालको १० हजार रुपैयाँ जति लाग्थ्यो, रजिस्ट्री गरेर पठाइदिन्थे ।’ घरमा तीन चार वर्षमा मात्र जाने शेरबहादुरको आनीबानी सुनाउँदै प्रसादसिंहले सुनाएका थिए, ‘जेलबाट छुटेका बेला र जाँच सकेर आउँथ्यो । पास भएको सुनेर जान्थ्यो ।’ छोराले सम्पत्ति नजाडेकामा उनलाई कुनै गुनासो छैन । महाकाली सन्धि पास भएपछि बिजुली र पानी आउने उनले बुझेका थिए । राजनीतिलाई सरल रूपमा बुझेका प्रसादसिंहले आफ्नो छोरा आफूसँग कहिल्यै नरिसाएको बताएका थिए ।

शेरबहादुर चुरोट त निकै सेवन गर्नुहुन्छ नि भन्ने प्रश्नमा प्रसादसिंहले भनेका थिए, ‘खान्छ भन्ने त थाहा छ, तर मेरो सामुन्ने कहिल्यै पिएको छैन ।’ गृहमन्त्री भएका बेला पुल्चोकस्थित आवासमा चुरोट खाएको आफूले पहिलो पटक देखेको प्रसंग उनले सुनाएका थिए । ‘तीन वर्षअघि कोठाभित्र खाँदै रहेछ, मलाई देख्नासाथ चुरोट खाटमुनि फालिदियो,’ उनले रसिलो ढंगले सुनाएका थिए । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका पिता प्रसादसिंहसँग पत्रकार पोखरेलले गरेको कुराकानीलाई कान्तिपुर दैनिकले २०५३ कात्तिक ३ मा ‘प्रधानमन्त्रीका पिता भन्नुहुन्छ– मलाई बालुवाटार मन पर्दैन’ शीर्षकमा प्रकाशन गरेको थियो ।’ 

कुराकानीका क्रममा उनले आफूलाई बालुवाटार (प्रधानमन्त्री निवास) मन नपर्ने बताएका थिए । उनको भनाइ थियो, ‘मलाई बालुवाटार मन पर्दैन, यही गाउँ रमाइलो लाग्छ, कहिलेकाहीँ मधेश (कञ्चनपुर) झर्छु र फर्केर यहीं बस्छु ।’ प्रसादसिंहले फड्के हालेको रुवाखोलामा अहिले पक्की पुल बनिसकेको छ ।

प्रस्तुतिः ऋषिराम पौड्याल

कान्तिपुर

Link copied successfully