[अर्काइभ] प्रधानमन्त्री पद जोगिएपछि देउवा हाँस्दै बाहिरिएको त्यो दृश्य...

अविश्वास प्रस्तावमाथि मतदान हुनु केही दिनअघि राप्रपाका प्रमुख सचेतक विष्णुविक्रम थापा अपहरणमा परेका थिए भने राप्रपाबाट सहायक मन्त्री बनेका महेन्द्र रायमाथि पुल्चोकस्थित मन्त्री निवासमै हातपात भएको थियो ।

माघ २०, २०८२

कान्तिपुर संवाददाता

[Archive] That scene of Deuba laughing after being saved from the Prime Minister's post...

What you should know

काठमाडौँ — मनमोहन अधिकारीले नेतृत्व गरेको एमालेको नौ महिने सरकार ढालेर २०५२ भदौमा प्रधानमन्त्री बनेका कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले ६ महिनामै अविश्वास प्रस्तावको सामना गरेका थिए । २०५१ कात्तिकमा भएको मध्यावधि निर्वाचनपछि प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलको हैसियतमा गठन भएको एमाले सरकार ढाल्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सघाएको थियो ।

आफूलाई सरकारबाट हटाएकामा एमालेले राप्रपालाई विभाजन गरेर फेरि सत्तामा जाने रणनीति बनाएको देखिन्थ्यो । त्यही रणनीति अनुसार ६ वर्षअघि आन्दोलनमार्फत फ्याँकेको पञ्चहरूको पार्टीका संसदीय दलका नेता लोकेन्द्रबहादुर चन्दलाई एमालेले प्रधानमन्त्री दिने प्रस्ताव गरेको थियो । राप्रपा संसदीय दलका नेता चन्दले राप्रपाका सांसदले समेत मत दिने वचन दिएपछि एमालेले प्रधानमन्त्री देउवाविरुद्ध प्रतिनिधिसभामा अविश्वास प्रस्ताव राखेको थियो । 

अविश्वास प्रस्तावले राप्रपालाई फुटको संघारमा पुर्‍याएको थियो । राप्रपा अध्यक्ष सूर्यबहादुर थापा अविश्वास प्रस्तावको विपक्षमा थिए भने चन्द प्रधानमन्त्रीको लोभमा परेका थिए । विवाद बढ्दै गएपछि उक्त पार्टीका नेताहरूबीच हात हालाहालको अवस्था सिर्जना भएको थियो । 

पार्टीभित्रको अन्तरविरोधका कारण राप्रपाका मन्त्रीहरू नै असुरक्षित भएका थिए । अविश्वास प्रस्तावमाथि मतदान हुनु केही दिनअघि राप्रपाका प्रमुख सचेतक विष्णुविक्रम थापा अपहरणमा परेका थिए भने राप्रपाबाट सहायक मन्त्री बनेका महेन्द्र रायमाथि पुल्चोकस्थित मन्त्री निवासमै हातपात भएको थियो । हातपातका बेला पञ्चायतकालका चर्चित मन्त्रीहरू निरञ्जन थापा र दीपक बोहराको उपस्थिति थियो । विवादकै क्रममा देउवा सरकारबाट राप्रपाका पाँच जना मन्त्रीले राजिनामा दिएर आफैं सहभागी सरकारविरुद्धको अविश्वास प्रस्तावको पक्षमा उभिएका थिए । [Archive] That scene of Deuba laughing after being saved from the Prime Minister's post...

तर मतदानका दिन नाटकीय ढंगले राप्रपाका सांसदहरू एउटै थलोमा उभिएका थिए । एमालेले २०५२ फागुन २९ मा राखेको अविश्वास प्रस्तावको छिनोफानो गर्न संसदको विशेष अधिवेशनको माग गरेको थियो । अविश्वास प्रस्तावमा एमालेले देउवा सरकारले मुलुकको अर्थतन्त्र ध्वस्त बनाएको र विकासको गति अवरुद्ध बनाएको लगायतका आरोप लगाएको थियो । देउवाले भने प्रतिपक्षले राखेको अविश्वास प्रस्ताव फिर्ता लिन आग्रह गर्दै १३ पृष्ठ लामो भाषण गरेका थिए । संसदमा राप्रपाका सांसदहरूमाथि निगरानी बढाएर राखिएको थियो । राप्रपाका सचेतक विष्णुविक्रमले आफ्ना मन्त्रीहरू शौचालय जाँदा पनि निगरानी गरेका थिए । कांग्रेसका प्रमुख सचेतक आनन्द ढुंगाना तथा सचेतक पद्मनारायण चौधरी आफ्ना सांसदहरूको विषयमा जानकारी लिइरहेका थिए । 

उक्त अविश्वास सम्बन्धमा ०५२ चैत ११ मा भएको मतदानमा प्रस्तावको पक्षमा ९० मत मात्र परेपछि प्रधानमन्त्री देउवा सरकार बचेको थियो । एमालेका ८८ र नेकपा (मसाल)का दुई सांसदले मात्र अविश्वास प्रस्तावको पक्षमा मतदान गरेका थिए । मतदानमा राप्रपा नेता चन्द र सद्भावना पार्टीबाट निष्कासनमा परेका हृदयेश त्रिपाठी अनुपस्थित भएका थिए । मतदानका लागि घन्टी बजेपछि मजदुर किसान पार्टीका नारायणमान बिजुक्छेले बोल्न खोज्दा एमाले सांसदहरूले ‘हुटिङ’ गरेका थिए । त्यसपछि विजुक्छेसहित उक्त पार्टीका आशाकाजी बासुकला र भक्तबहादुर रोकायसहित मजदुर किसान पार्टीका तीन जना सांसदले मतदान बहिष्कार गरेका थिए । [Archive] That scene of Deuba laughing after being saved from the Prime Minister's post...

मतदान बहिष्कार गरेर बाहिरिने बेला एमाले सांसदहरूले नेमकिपा सांसदहरूलाई ‘आउट,’ ‘आउट’ भनेका थिए । स्वतन्त्र सांसद मोतीप्रसाद पहाडीले अविश्वास प्रस्तावको विपक्षमा मतदान गरेका थिए । चन्दसँग भएका ८ जना, नेमकिपाका ३, पहाडी र हृदयेशसमेत १३ जना सांसद भएमा एमाले र मसालको ९० समेत गरी सरकार बनाउन पुग्ने १०३ आकलन गरिएको थियो । त्यतिबेला कुल सांसद २ सय ५ जना थिए । त्यसको बहुमत १ सय ३ जना सांसदले सरकार बनाउन सक्थे । तर नेमकिपाले प्रेस विज्ञप्ति नै निकालेर अविश्वास प्रस्तावलाई सघाउनुको बदला एमालेलाई निष्ठाच्यूत पार्टीको संज्ञा दिएको थियो । नेमकिपाले आफू राजनीतिक सिद्धान्तका दृष्टिले सबैभन्दा सम्पन्न भएको ठहर गर्दै अविश्वास प्रस्तावमा मतदान गर्न नसक्ने दृष्टिकोण सार्वजनिक गरेको थियो । [Archive] That scene of Deuba laughing after being saved from the Prime Minister's post...

अविश्वास प्रस्ताव विफल भएर प्रधानमन्त्री पद जोगिएपछि देउवा हँसिलो मुद्रामा सिंहदरबारस्थित संसद् भवनबाट बाहिर निस्केका थिए । उनी पहिलो पटक प्रधानमन्त्री भएको ६ महिना बितेको थियो । एमालेले राप्रपाका चन्दलाई प्रधानमन्त्री बनाउने गरी ल्याएको अविश्वास प्रस्तावमा भएको मतदान, राप्रपाभित्रको अन्तरद्वन्द्व तथा सरकार ढल्नबाट जोगिएको प्रसंगलाई आधार बनाएर पत्रकारहरू हरिबहादुर थापा, विश्वमणि पोखरेल र नारायण वाग्लेले तयार गरेका विभिन्न शीर्षकका समाचार तथा तस्बिर कान्तिपुरले २०५२ चैत १२ मा पहिलो पृष्ठमा प्रकाशित गरेको थियो । समाचारका शीर्षक ‘अविश्वासको प्रस्ताव अस्विकृत,’ र ‘सरकार यसरी बच्यो’ रहेका थिए ।

राप्रपालाई प्रधानमन्त्री अफर गरेकामा एमालेलाई इंगित गरेर चैत ११ मा व्यंग्यात्मक कार्टुन पनि प्रकाशित गरिएको थियो । पञ्चायतविरुद्ध आन्दोलन गरेको ६ वर्षमा नै पूर्वपञ्च चन्दलाई एमालेले प्रधानमन्त्रीको अफर गरेको विषयवस्तुलाई आधार बनाएर उक्त कार्टुन प्रकाशित गरिएको थियो । 

प्रस्तुतिः ऋषिराम पौड्याल 

कान्तिपुर

Link copied successfully