[अर्काइभ] अरुणविरोधी नै कालीगण्डकी ‘ए’ असफल बनाउने खेलमा लागेपछि...

आयोजनाका विषयमा स्याङ्जाका स्थानीयलाई दुईपटक बृहत् छलफल गरेर सबै जानकारी दिइसकिएको थियो । तर गैरसरकारी संघसंस्थाले आयोजनाको निर्माणले आर्थिक, सामाजिक र वातावरणीय प्रभाव पर्ने विषयलाई उठाइरहेका थिए ।

माघ १७, २०८२

कान्तिपुर संवाददाता

[Archive] After the anti-Arun campaign was launched to make Kaligandaki 'A' a failure...

What you should know

काठमाडौँ — वातावरण र विकास आयोजना प्रभावितको वकालत गर्दै आएका गैरसरकारी संघसंस्था र अभियानकर्ताको विरोधका कारण अरुण तेस्रो जलविद्युत् आयोजनाको निर्माण अनिश्चित बनेको थियो । २०४८ मा बनेको नेपाली कांग्रेस नेतृत्वको सरकारले अघि बढाएको अरुणविरुद्ध गैसस मात्र होइन, संसदमा तत्कालीन प्रमुख प्रतिपक्षी दल एमाले पनि संलग्न थियो ।

उनीहरूले स्थानीय वातावरण बिग्रने र आयोजनाको समग्र उपलब्धि नेपालको हितमा नभएको भन्दै ऋण लिएर अरुण निर्माण गर्न नहुने धारणालाई अन्तर्राष्ट्रियकरण गरेका थिए । विश्व बैंकको ऋणबाट अरुण बनाउने प्रस्ताव गरिएको थियो । अरुण नेपालको हितमा नभएको भन्दै एमालेले त्यतिबेला सडक र सदन तताएको थियो । गैसस र केही स्थानीयले पनि अरुणविरुद्ध गतिविधि सञ्चालन गरेका थिए । 

२०५१ मा नौ महिने सरकार बनेपछि एमालेले विश्व बैंकले दिने ऋण र उसले राख्ने प्रावधानमा परिवर्तन गरेर अरुण बनाउन सकिने प्रस्ताव अघि सारेको थियो । त्यसैमा छलफल चलिरहेका बेला एमाले सरकार ढलेर कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा २०५२ भदौमा प्रधानमन्त्री बनेका थिए । 

अरुण अनिश्चित भएका बेला देउवाको प्रधानमन्त्रीकालमा कालीगण्डकी विद्युत् आयोजना कार्यान्वयनका लागि अन्तिम प्रयास भइरहेको थियो । देउवा आउनुअगावै प्रक्रिया सुरु गरे पनि टुंगिएको थिएन । त्यतिबेला जलस्रोत मन्त्री पशुपतिशमशेर राणा थिए । प्रक्रियामा रहेको कालीगण्डकी बनाउन सकेमा विद्युत् आपूर्तिमा सहजता आउने भनाइ जलस्रोतविज्ञहरूको थियो । 

निर्माण अवधिभर लाग्ने व्याजसमेत झण्डै ४० करोड अमेरिकी डलर लागत अनुमान गरिएको कालीगण्डकीको क्षमता १ सय ४४ मेगावाटको थियो । त्यतिबेला निजी क्षेत्रले आयोजनाहरू निर्माण गरिसकेका थिएनन् । कालीगण्डकी अन्तर्राष्ट्रिय ऋणदाता तथा दातृराष्ट्रहरूको सहयोगमा बनाउने प्रस्तावमा छलफल भइरहेको थियो । 

 यही पृष्ठभूमिमा लामो समयदेखि अरुण बनाउन नहुने लबिइङ गरिरहेका गैससहरू कालीगण्डकीतिर लागेका थिए । इन्हुरेड नामको गैरसरकारी संस्थाका गोपाल सिवाकोटीले कालीगण्डकीका विषयमा विभिन्न प्रश्न उठाएका थिए । यसको आधारमा जलस्रोत मन्त्रालयका अधिकारीहरूले अरुण असफल तुल्याउने गैरसरकारी संस्थाहरू फेरि कालीगण्डकीलाई पनि गर्भमै तुहाउनेतिर सक्रिय हुन थालेको बताएका थिए ।[Archive] After the anti-Arun campaign was launched to make Kaligandaki 'A' a failure...

जलस्रोत मन्त्रालयका प्रवक्ता अनन्तराज पौडेलले तत्काल नेपालमा भएका आयोजनामध्ये सर्वोत्तम कालीगण्डकी भएको दाबी गरेका थिए । आयोजनाको अध्ययन गर्न जापानको एक टोली नेपाल आएको थियो । एसियाली विकास बैंकले पनि १२ करोड अमेरिकी डलर सहयोगको वचन दिएको थियो । ०४६ को राजनीतिक परिवर्तनअघि नेपालको कुल विद्युत् उत्पादन क्षमता सवा दुई सय मेगावाट मात्र थियो । त्यसैले पनि स्वदेशी निजी क्षेत्रलाई आकर्षित गरेर वा विदेशी लगानी भित्र्याएर विद्युत् उत्पादनमा लगानी गर्न सरकार बाध्य थियो । 

सरकार वा विद्युत् प्राधिकरणसँग ठूला आयोजना बनाउने आर्थिक स्रोत थिएन । केही गैरसरकारी संस्था र जलस्रोतविज्ञहरूले भने लागत घटाउने उपाय खोज्नुपर्ने आवाज पनि उठाइरहेका थिए । उनीहरूले लागतसम्बन्धी के कस्ता उपाय अपनाउन सकिन्छ, त्यो विषय पनि सार्वजनिक गर्नुपर्ने माग गरिरहेका थिए ।

परियोजनासम्म पुग्न सिद्धार्थ राजमार्गबाट २८ किमि सडक विद्युत् प्राधिकरण र सरकारले संयुक्त रूपमा निर्माण गरिसकेको थियो । आयोजनाका विषयमा स्याङ्जाका स्थानीयलाई दुईपटक बृहत् छलफल गरेर सबै जानकारी दिइसकिएको थियो । तर गैरसरकारी संघसंस्थाले आयोजनाको निर्माणले आर्थिक, सामाजिक र वातावरणीय प्रभाव पर्ने विषयलाई उठाइरहेका थिए ।

अरुणमा पनि त्यही विषय उठाइएको थियो । विद्युत् प्राधिकरणले भने कालीगण्डकीको अधिकांश पानी सुरुङबाट पावर हाउसमा लैजाने र त्यहाँबाट निस्केको पानी पनि नदीमा नै छाडिने भएकाले गम्भीर रूपमा वातावरण बिग्रने ठूलो आपत्ति आइनलाग्ने दाबी गर्दै आएको थियो । आयोजनाको सडक बनाउँदा बोटे जातिका ८ परिवार विस्थापित भएका थिए । उनीहरूलाई घर–गोठको मुआब्जा दिइएको थियो । स्याङ्जाबाट जितेका सांसद शंकरप्रसाद पाण्डेले भने गुठी जमिनको समस्या हल गर्नुपर्ने धारणा राखेका थिए । जलस्रोत मन्त्रालयका प्रवक्ता पौडेलले आयोजना निर्माणका लागि नेपाली प्राविधिक सक्षम रहेको जानकारी पनि दिएका थिए ।

इलामको पुआ खोला, पर्वतको मोधी, रसुवाको चिलिमे आयोजना निर्माणमा नेपाली प्राविधिक नै संलग्न रहेकाले कालीगण्डकी बनाउन पनि नेपाली सक्षम हुने पौडेको दाबी थियो । अरुणपछि कालीगण्डकी पनि अभियानकर्ताको कोपभाजनमा पर्ने खतरा बढ्दै गएको सरकारी अधिकारीहरूले बताउने गरेका थिए । कालीगण्डकीको निर्माणमा आर्थिक सहयोग जुटाउन सरकारले गरिरहेको प्रयास, गैससहरूले उठाएका सवालहरूसहित समेटेर पत्रकार राजेन्द्र सुनुवारले तयार गरेको समाचार कान्तिपुर दैनिकले ‘कालीगण्डकी ‘ए’ लाई पनि तुहाउन गैरसरकारी संस्थाहरू सक्रिय’ शीर्षकमा २०५२ चैत २ गते प्रकाशित गरेको थियो ।

प्रस्तुतिः ऋषिराम पौड्याल 

कान्तिपुर संवाददाता

Link copied successfully