तत्कालीन महासचिव माधवकुमार नेपालले एमालेमा बहुपत्नी समस्या मात्र होइन, रक्सीप्रेम पनि त्यत्तिकै रहेको भन्दै आफैंले रक्सी खाएपछि समाजमा कस्तो प्रभाव पर्ला भन्नै चिन्ता प्रतिवेदनमा उजागर गरेका थिए ।
What you should know
काठमाडौँ — २०५२ माघ १५ मा एमाले केन्द्रीय कमिटी बैठकमा महासचिव माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रस्तावले निकै चर्चा पाएको थियो । राजनीतिक प्रतिवेदनको एउटा अंशमा एमाले नेताहरूको चरित्रमाथि गम्भीर प्रश्न उठाइएको थियो ।
नेताहरूको आचरण बिग्रिएको भन्दै महासचिव नेपालले जाँड/रक्सी प्रेम, जुवा खेल्ने, बहुपत्नी ल्याउने र बलात्कारीहरूको संख्या पार्टीमा बढ्न थालेको प्रतिवेदनमा उल्लेख गरेपछि यो विषयले निकै हंगामा भएको थियो ।
केन्द्रीय किमिटीको २५ औं बैठकमा सतहीपन, हाउडेपन र तदर्थवादी कार्यशैली बढेको र एकभन्दा बढी घरबार जोड्ने विकृति झांगिएको प्रतिवेदनमा उल्लेख गरिएको थियो । प्रतिवेदनमा भनिएको थियो, ‘अनैतिक कार्यमा संलग्न हुने, श्रीमती हुँदाहुँदै अर्की बिहे गर्नेजस्ता गलत प्रवृत्तिको विकास हाम्रो पार्टी पंक्तिमा हुन थालेको छ ।’
यस्ता विकृतिहरूमा एमालेका जिम्मेवार नेताहरूमा समेत यस्ता विकृतिमा देखिन थालेको भन्दै प्रतिवेदनमा ट्युसन पढाउने नाममा पार्टीको कामको सिलसिलामा, घरकीबाट सन्तुष्ट नभएको आधारमा, सन्तान नभएको आधारमा महिलाहरूलाई ललाइफकाइ यौन दुराचार गर्ने काममा राष्ट्रिय राजनीतिका चर्चित नामहरूसमेत परेका छन् । यही तथ्यलाई मनन गर्दै तत्कालीन महासचिव नेपालले पार्टी पंक्तिलाई सजग गराउँदै भनेका थिए, ‘अनैतिक बलात्कारी र बहुपत्नीवालाहरू नै बढ्न लागे भने यसले पार्टीलाई विनाशतिर लान्छ ।’ ![[Archive] That report by the then UML General Secretary Nepal...](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/page1kpr-12-2712026043650-1000x0.jpg)
कतिपय ठाउँमा पार्टीका नेताहरूले नै अनैतिक कार्य गर्न सघाउ पुर्याएको सुन्नमा आएको प्रतिवेनमा उल्लेख गरिएको थियो । तत्कालीन महसचिव नेपालले एमालेमा बहुपत्नी समस्या मात्र होइन, रक्सीप्रेम पनि त्यत्तिकै रहेको भन्दै आफैंले रक्सी खाएपछि समाजमा कस्तो प्रभाव पर्ला भन्नै चिन्ता गरेका थिए । उनले प्रतिवेदनमा भनेअनुसार एमालेमा त्यतिबेला युवती, जुवा र रक्सीले निकै प्रभाव पारेको थियो ।
पार्टीमा भ्रष्टाचारको कुरा
एमालेका कतिपय नेताको आर्थिक भ्रष्टाचारको विषयमा सार्वजनिक रूपमा टीका/टिप्पणी हुने गरेको छ । अन्तरिमकाल र नौ महिने शासनकालमा पनि एमाले नेताहरूमाथि अनियमितताका प्रश्न उठेको थियो । नेपालको प्रतिवेदनमा भनिएको थियो, ‘हाम्रै पंक्तिमा कतिपय ओहदा सम्हालेर बसेकाहरूको आर्थिक चरित्रका बारेमा प्रश्न उठ्न थालेका छन् । त्यसको खोजबिन गर्नुपर्छ र दोषी ठहरिए सजाय गर्नुपर्छ ।’
सम्भवतः यही करणले महासचिव नेपालले प्रतिवेदनमा पार्टीमा जथाभावी बोल्ने, पिठ्युपछाडि नेतृत्वको कुरा काट्ने, अशिष्ट आचरण गर्ने, जनतामा निराशा फैलाउने, असन्तुष्टि पोख्दै हिँड्ने प्रवृत्ति बढेको उल्लेख गरेका थिए । यस्तो प्रवृत्ति बढ्दै गएमा सबै तहका कार्यकर्तालाई सबैले खुइल्याउने अवस्था सिर्जना हुने भन्दै महासचिव नेपालले आफ्नो प्रतिवेदनमा चिन्ता प्रकट गरेका थिए । तर प्रतिवेदनमा पार्टीको लेवी तिरेर आ–आफ्नो परिवारका लागि खर्च गर्दा कसैले पनि इर्ष्या गर्न नहुने नेपालको प्रतिवेदनमा उल्लेख थियो । भ्रष्ट काम गर्नेलाई पार्टी पंक्तिबाट संरक्षण दिइएको, कारबाही गर्न खोज्दा पार्टीमाथि धम्की र दबाब दिने गरेको पनि प्रतिवेदनमा स्विकारिएको थियो ।
प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल एमालेमा देखिएको विकृतिलाई महासचिव नेपालले राजनीतिक प्रतिवेदनमा उल्लेख गरेर पार्टीको केन्द्रीय समितिमा प्रस्तुत गरेको सन्दर्भलाई मुख्य आधार बनाएर पत्रकार गुणराज लुईंटेलले तयार गरेको समाचार कान्तिपुरले २०५२ माघ २१ मा ‘नेकपा एमालको सामाजिक समस्या जाँड, जुवा र जारी’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] That report by the then UML General Secretary Nepal...](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/politics/madhavkumar-nepal-1152025033657-1000x0-2112026105737-1000x0.jpg&w=1001&h=0)