[अर्काइभ] राष्ट्रिय मुद्दा बनेको त्यो हवाई फायर...

२०५२ माघ १८ मा सिन्धुपाल्चोकको कुबिण्डे गाउँमा सादा पोसाकका प्रहरीमाथि सर्वसाधारणले गरेको आक्रमणको घटना राष्ट्रिय मुद्दा नै बन्यो । सर्वसाधारण र प्रहरीबीच भएको त्यतिबेलाको मुडभेडको घटनालाई कुबिण्डेवासी धेरैले अहिले पनि बिर्सेका छैनन् ।

माघ १२, २०८२

कान्तिपुर संवाददाता

[Archive] That aerial fire that became a national issue...

What you should know

काठमाडौँ — त्यतिबेला सर्वसाधारणले प्रहरीको हत्या गरेको वा सर्वसाधारणमाथि राज्यले गोली चलाएको घटनालाई निकै ठूलो विषय मानिन्थ्यो । सादा पोसाककै किन नहुन्– प्रहरी गाउँसहरमा भेटिए भने नागरिक डराउने गर्थे । डराउने मात्र होइन, नागरिकको प्रहरीमाथि एक प्रकारको विश्वास र भरोसा पनि थियो ।

तर २०५२ माघ १८ मा सिन्धुपाल्चोकको कुबिण्डे गाउँमा सादा पोसाकका प्रहरीमाथि सर्वसाधारणले गरेको आक्रमणको घटना राष्ट्रिय मुद्दा नै बन्यो । सर्वसाधारण र प्रहरीबीच भएको मुडभेडको घटनालाई कुबिण्डेवासी धेरैले अहिले पनि बिर्सेका छैनन् । 

साबिक कुबिण्डे गाउँ विकास समितिका सचिव कृष्णप्रसाद सापकोटाले आफूमाथि नकाबधारी समूहले आक्रमण गरेको उजुरी जिल्ला प्रहरी कार्यालयमा दिएका थिए । उजुरीमा २०५२ माघ २ मा आक्रमण भएको उल्लेख थियो । उक्त उजुरीमा विद्यालयका एक शिक्षक पनि नकाबधारी समूहमा सहभागी रहेको उल्लेख थियो । उजुरीका आधारमा प्रहरी कुबिण्डेस्थित सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयमा शिक्षक पक्राउ गर्न गएको थियो । प्रहरी सहायक निरीक्षका(असई) निलबहादुर केसीको नेतृत्वमा सादा पोसाकका प्रहरी टोली विद्यालय प्रांगणमा गएको थियो । 

प्रहरीले विद्यालय प्रशासनसँग शिक्षको बारेमा सोधपुछ गरेको थियो । विद्यालय प्रशासनले निज शिक्षक विद्यालयमा नभएको जानकारी दिएको थियो । उक्त जानकारी लिएर फर्कने क्रममा शिक्षकलाई भाग्दै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो । शिक्षक नियन्त्रणमा लिएको भन्दै विद्यालयका विद्यार्थी र स्थानीय अभिभावक प्रतिकारमा उत्रेका थिए । तीन जना प्रहरीको टोली शिक्षकलाई छाडेर भागेका थिए । स्थानीय हातहतियारसहित आएकाले प्रहरीले सामना नगरी भागेको थियो । भाग्ने क्रममा दुई जना सदरमुकाम चौतारा सकुशल पुगेका थिए भने एक जना बेपत्ता भएका थिए ।[Archive] That aerial fire that became a national issue...

प्रहरी जवान सोमबहादुर सुनार भने स्थानीयको अक्रमणमा परेका थिए । उनलाई ढुंगामुढा गर्दै जलबिरे खोलातर्फ लखेटेको भनाइ प्रत्यक्षदर्शीको थियो । प्रहरी जवान लखेटिएको बाटोमा उनको घडी, ज्याकेट, जुत्ता फेला परेको थियो । स्थानीयका अनुसार महिला र स्कुले विद्यार्थीले प्रहरी जवान सुनारलाई लखेट्दै र कुट्दै खोलाको किनारसम्म लगेका थिए । 

प्रहरीमाथि भएको आक्रमणको सूचना पाएपछि सदरमुकाम चौताराबाट प्रहरी निरीक्षक केशवबहादुर रानाभाटको नेतृत्वमा प्रहरी टोली घटनास्थल गएको थियो । कुबिण्डेगाउँबाट उत्तरपूर्वतर्फ साविक फुलपिङकोट गाविसस्थित नौविसेमा संयुक्त जनमोर्चा नेपाल (भट्टराई समूह) का नेता अग्निप्रसाद सापकोटाको घर थियो । आक्रमणकारीहरू त्यही घरमा लुकेको आशंकामा प्रहरी खोजी गर्न गएको थियो । तर स्थानीयले प्रतिकार गरेपछि पक्राउ परेका दुई जनालाईसमेत छाडेर प्रहरी फर्केको थियो । प्रहरी जवान सुनार सम्पर्कमा आएका थिएनन् ।

रानाभाटकै नेतत्वमा गएको टोलीले अग्निप्रसादको घरमा छापा मारेको थियो । त्यसक्रममा पक्राउ परेकाहरूलाई छुटाउन प्रहरीमाथि ढुंगामुढा गरिएको थियो । स्थानीय महिलाहरूसमेतले प्रहरीमाथि ढुंगामुढा गरेर पक्राउ परेकालाई छुटाउन खोज्दा पुनः झडप भएको थियो । त्यसक्रममा प्रहरीले १९ गते विहान करिव ७.३० मा हवाई फायरिङ गरेको थियो । जिल्ला प्रहरी कार्यालयका तत्कालीन प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरतबहादुर शाहले प्रहरीले आत्मारक्षाका लागि हवाई फायरिङ गरेको जानकारी दिएका थिए । त्यतिबेला प्रहरीको लाठीबाट अग्निप्रसादका परिवारका सदस्यहरू घाइते भएका थिए । महिलाहरू पनि घाइते भएका थिए । उनीहरूको ढुंगामुढाबाट निरीक्षक रानाभाट तथा जवान रेशम गिरीसहितका दर्जन प्रहरीलाई चोट लागेको थियो ।

उक्त घटनापछि कुबिण्डेका धेरै पुरुषहरूले घर छाडेका थिए । गाउँ नै सुनसान भएको थियो । तत्कालीन जनमोर्चाको पकड मानिएको उक्त गाउँबाट हराएका प्रहरी जवान सुनार सम्पर्कविहीन भएपछि मुलुकभरि नै उक्त घटना चर्चामा थियो । तत्कालीन प्रमुख जिल्ला अधिकारी रामकृष्ण भूर्तेलले कुबिण्डे गाउँ शान्त रहेको र आक्रमणकारीको खोजी भइरहेको बताएका थिए । कुबिण्डे घटनाको अघिल्लो सदरमुकामस्थित श्रीकृष्ण रत्नगंगा माविका शिक्षक यज्ञप्रसाद दंगालमाथि खुकुरी प्रहार गरिएको थियो । सदरमुकामबाट स्थानीय मेलचौरस्थित घर जाने क्रममा जंगलमा दंगालमाथि अज्ञात व्यक्तिले खुकुरी प्रहार गरेका थिए। उक्त घटनाले स्थानीय प्रशासन सशंकित थियो । 

त्यतिबेला मुलुकको पश्चिम भेग रोल्पा र रुकुमसहितका जिल्लामा ‘गुरिल्ला युद्ध’को तयारी गरेको सूचना प्राप्त भएकाले स्थानीय प्रशासन कतै त्यही सुरुवात भएको त होइन भन्ने शंका गरिरहेको थियो । पश्चिमी जिल्लाका जंगलहरूबाट बन्दुकहरू बरामद गरिएको थियो भने स्थानीयमाथि अज्ञात व्यक्तिले आक्रमण गरेका घटना सार्वजनिक भएका थिए ।

खासगरी २०५२ असोजदेखि यस्ता घटना भएको प्रमाण फेला परेको थियो । जनमोर्चाले पश्चिमी जिल्लामा ‘सिज अभियान’ चलाएको थियो । कुबिण्डेमा भएको घटनालाई स्थानीय प्रशासनले पश्चिमी जिल्लाहरूसँग जोड्ने गरेका थिए । तर सर्वसाधारणले भने यसलाई गुरिल्ला युद्धकै तयारीको रूपमा भने बुझेका थिएनन् ।

कुबिण्डे घटनामा सर्वसाधारणको आक्रमणमा प्रहरी जवान हराएको र प्रहरी कारबाहीका क्रममा हवाई फायरिङ गरेको विषयलाई समेटेर कान्तिपुर दैनिकले तयार गरेको समाचार २०५२ माघ २० मा ‘सिन्धुपाल्चोकमा छ राउण्ड हवाई फायरः एक प्रहरी बेपत्ता’ शीर्षकमा प्रकाशित भएको थियो । प्रहरीले गरेको हवाई फायर र जवान हराएको समाचारले मुलुकभर चर्चा कमाएको थियो । 

प्रस्तुति : ऋषिराम पौड्याल

कान्तिपुर संवाददाता

Link copied successfully