[अर्काइभ] देउवा सरकार ढाल्न एमाले–राप्रपाबीचको त्यो गोप्य बैठक...

एमालेले राप्रपासँग मिलेर सरकार बनाउन स्थायी समिति सदस्य केपी शर्मा ओली र राधाकृष्ण मैनाली सम्मिलित ‘हाइकमान्ड’ बनाएको थियो । हाइकमान्डले राप्रपा नेताद्वय सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दसँग वार्ता गरिसकेको थियो ।

माघ १०, २०८२

कान्तिपुर संवाददाता

[Archive] That secret meeting between UML and RPP to topple the Deuba government...

What you should know

काठमाडौँ — आजभन्दा ३० वर्षअघि यही महिनाको दोस्रो साता अर्थात् २०५२ माघ ८ मा नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवा पहिलो पटक प्रधानमन्त्री भएको ४ महिना १२ दिन भएको थियो । उनी २०५२ भदौ २६ मा प्रधानमन्त्री नियुक्त भएका थिए । देउवाको नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) समेतको समर्थनमा संयुक्त सरकार बनेको थियो ।

२०५१ मा भएको संसदीय मध्यावधि निर्वाचनबाट सबैभन्दा ठूलो दल एमालेको नौ महिने अल्पमतको सरकार ढालेर देउवा प्रधानमन्त्री भएका थिए । देउवा प्रधानमन्त्री भएको चार महिनामै एमालेले राप्रपाको एउटा समूहसँग सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने खेल सुरु गरेको थियो । उक्त सरकार ढाल्न प्रमुख प्रतिपक्षी दल एमालेले निरन्तर छलफल गरिरहेको थियो । 

 एमाले र राप्रपाबीच देउवा सरकार बनेको चार महिनामै चारपटक वार्ता भइसकेको थियो । एमालेले राप्रपासँग मिलेर सरकार बनाउन स्थायी समिति सदस्य केपी शर्मा ओली र राधाकृष्ण मैनाली सम्मिलित ‘हाइकमान्ड’ बनाएको थियो । हाइकमान्डले राप्रपा नेताद्वय सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दसँग वार्ता गरिसकेको थियो ।

२०५२ पुस ३० मा एमाले केन्द्रीय कमिटीको बैठक चलिरहेका बेला ओली र ओझा राप्रपासँग वार्ता गर्न भन्दै पहिलो पटक सरकार बनाउने प्रस्ताव लिएर थापा र चन्द भेट्न पुगेका थिए । छलफल निरन्तर चलिरहेको पृष्ठभूमिमा एमालेको २०५२ माघ ८ मा बसेको केन्द्रीय कमिटी बैठकमा ‘हाइकमान्ड’ ले राप्रपासँग मिलेर सरकार बनाउने विषयमा भएको प्रगतिको जानकारी गराएको थियो । [Archive] That secret meeting between UML and RPP to topple the Deuba government...

राप्रपा नेताहरूले आफैं सहभागी सरकार ढाल्न कसरत गरेका थिए । राप्रपा नेता चन्दले राजाको विषयमा एमाले अस्पष्ट भएकाले सरकारमा जान असजिलो भएको बताएका थिए । चन्दलाई एमालेका तत्कालीन महासचिव माधवकुमार नेपालले आफ्नो पार्टी राजतन्त्रविरोधी नभएको र एमालेको गणतन्त्रको लाइन स्वतः खण्डित भएको स्पष्टीकरण दिएका थिए । त्यसपछि राप्रपाले आफ्नो पार्टीसँग मिलेर सरकार बनाउने हो भने एमालेले केन्द्रीय कमिटीबाट निर्णय गराउनुपर्ने प्रस्ताव गरिएको थियो ।

एमालेको अघिल्ला मिटिङमा राप्रपासँग मिलेर सरकार बनाउन नहुने धारणा नेताहरूले राखेका थिए । तर ओलीले माघ ८ को बैठकमा भनेका थिए, ‘ज–जसले अघिल्ला बैठकका राप्रपासँग मिल्न हुँदैन भने त्यो गल्ती थियो ।’ पार्टीको संसदीय विभाग प्रमुखसमेत रहेका ओलीको प्रतिवेदनमाथिको छलफलमा अल्पमत पक्षका सीपी मैनालीले पनि मौन समर्थन गरेका थिए । केन्द्रीय कमिटीमा एमालेका केही नेताले राप्रपालाई पनि प्रजातान्त्रिक पार्टी भएको बताउन थालेका थिए ।

राप्रपाका ‘सिनियर’नेताहरू सरकारमा मन्त्री थिए तर त्यही सरकार ढाल्न उनीहरू लागिरहेका थिए । राप्रपासँग सरकार बनाउने विषयमा छलफलका लागि सांसदहरूलाई समेत केन्द्रीय कमिटी बैठकमा बोलाइएको थियो । बैठकमा भाग लिन एमाले संसदीय दलका प्रमुख सचेतक देवीप्रसाद ओझा झापाबाट काठमाडौं आएका थिए । राप्रपासँग सरकार बनाउने विषय गोप्य रूपमा गर्न खोजिएको छलफलको विषयलाई एमाले निकट सोमबारे एक छापाले सार्वजनिक गरेको थियो ।

गोप्य बैठक सार्वजनिक हुने भएपछि पार्टीका अन्य निकट छापाहरूलाई फोन गरेर समाचारको खण्डन गराउने प्रयास पनि गरिएको थियो । कान्तिपुरको प्रश्नमा ओझाले बैठकमा सामान्य छलफलको विषय भए पनि साथीहरू सबै नआएकाले भेटघाट नभएको बताएका थिए । तर प्रमुख सचेतक ओझाले माघ २ र ३ मा ह्वीप जारी गरेर बैठकमा भाग लिन काठमाडौं आउन जरुरी रहेको व्यहोराको पत्र लेखेर पठाइसकेका थिए । 

देउवा प्रधानमन्त्री भएको चार महिनामा एमालेले राप्रपासँग मिलेर आफू सहभागी भएको सरकार बनाउन खोजेको विषय र पार्टीको केन्द्रीय कमिटीमा भएको छलफलमा केन्द्रित रहेर पत्रकार गुणराज लुइँटेलले तयार गरेको सामग्री कान्तिपुर दैनिकले ‘राप्रपासँग संयुक्त सरकार गठन गर्न एमाले संसदीय दलको गोप्य बैठक’ शीर्षकमा २०५२ माघ ९ मा समाचार प्रकाशित गरेको थियो । 

प्रस्तुतिः ऋषिराम पौड्याल

कान्तिपुर

Link copied successfully